आडम्बर झल्काउने विम्ब [नाटक : क्लब सेभेन]

- गोकर्ण गौतम

नाटक : क्लब सेभेन

निर्देशक : राजन खतिवडा र दयाहाङ राई

आलेख : सोमनाथ खनाल र सिजन दाहाल

कलाकारहरू : सविन घलान, युमिषा निरौला, सरिता ढुंगाना, प्रमिला खनाल, किरण चन्द, सुनील तामाङ, रिजन परियार आदि ।

स्थान : मण्डला थिएटर, अनामनगर

आफूसँग जे– जति छ, त्यसमै रमाउने संस्कार करिब लोप भइसकेको छ । खोक्रो शान र सौकतलाई प्रधान मानिन्छ । अनि, हामीमध्ये अधिकांश दोहोरो चरित्रमा बाँचिरहेका छौँ, हुन्छ एउटा, देखाउछौँ अर्कै । विसंगत व्यवहार हावी छ । ब्यांकेट यस्तै प्रवृत्तिको केन्द्र बनिरहेको छ । देखावटी नै सही, आफ्नो उपस्थिति र अस्तित्व स्थापित गर्न ब्यांकेट रोजाइमा पर्छ । हाम्रो यही रवैयालाई उतारिएको छ, अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक क्लब सेभेनमा । जहाँ ब्यांकेटमार्फत समसामयिक सहरी जीवनशैली र ढोंगलाई व्यंग्य कसिएको छ । थिएटरमा नाम कमाएका दयाहाङ राई र राजन खतिवडा निर्देशित यस नाटकलाई सोमनाथ खनाल र सिजन दाहालले लेखेका हुन् । कलाकारचाहिँ मण्डलाले वार्षिक रूपमा सञ्चालन गर्ने तीनमहिने अभिनय प्रशिक्षण कार्यक्रमका सहभागी । विषयवस्तुको गहनतालाई आत्मसात् गर्ने कलाकारको अभावमा नाटक अपेक्षाकृत जीवन्त लाग्दैन । मात्र कामचलाउ ।

क्लब सेभेन ब्यांकेट र तलब नपाएर छट्पटाइरहेका त्यहाँका कर्मचारीको व्यथा हो । सतहमा यस्तो देखिए पनि यथार्थमा हाम्रो समाजको आडम्बर चियाउने ऐना हो । यसका लागि क्लब सेभेन ब्यांकेटमा लगालग तीन पार्टी देखाइन्छ । पहिलो, एउटी अविवाहित महिलाले ‘एडप्ट’ गरेकी जेनीको जन्मदिन । दोस्रो, आफ्नो घर बनाउन नसकेपछि परदेशबाट फर्किएका एक युवकले ब्यांकेटमै गर्ने पूजा । तेस्रो, सिर्जना कर्मबाट टाढा रहेको एक सर्जकलाई सात लाख रुपियाँको पुरस्कार तथा सम्मान वितरण कार्यक्रम । यति भव्य उत्सव मनाउने आयोजकचाहिँ भित्रबाट  मक्किसकेका छन् । कतिसम्म भने ब्यांकेटलाई तिर्ने पैसासम्म छैन तर पनि बाहिर बडो सम्पन्न देखिने अभिनय गर्छन् । उनीहरूका निम्तालुका पनि आफ्नै पीडा छन् ।

क्लब सेभेन कथाभन्दा पात्रकेन्द्रित नाटक हो । उस्तै प्रकृतिको कथालाई स्थापित गर्न फरक आयामका पात्रहरूको सहारा लिइएको छ । र, पार्टीमा आइपुग्ने अनेक पात्रहरू हाम्रै समाजका प्रतिनिधि हुन् । मूलत: परम्परागत नाट्य निर्माण शैलीकै नाटक हो यो । सँगै ‘इप्रोभाइजेसन’ अर्थात् आशुरचना विधिलाई पनि अवलम्बन गर्ने प्रयास गरिएको छ । पात्र र सेट यथार्थपरक छन् । पाहुना, उनीहरूका गफगाफ र व्यवहारबाट ब्यांकेटको माहोल सिर्जना हुन्छ । तर, ती उत्सवलाई मञ्चमा उतार्ने गति केही धीमा लाग्छ । एउटै प्रकृतिका घटना दोहोरिन्छन् । कति अनावश्यक दृश्यलाई समावेश गरिएको छ । यसभन्दा खट्कने पक्षचाहिँ अधिकांश कलाकारले परिस्थितिको भाव अनुरूप प्रस्तुति दिन सकेका छैनन् । सोही कारण पात्र, प्रवृत्ति र नियतले दर्शकको दिमागमा दरिलो झटारो हान्न सक्दैन, नाटक यहींनेर चुकेको छ ।

हाम्रो वरपरका तीता विडम्बनालाई समेट्ने मामलामा चाहिँ चलाखी अपनाइएको छ । भड्किलो लाग्ने भेषभूषामा सशक्तीकरणको कुरा गर्ने कथित शिक्षित महिला, आफूलाई संसारका हरेक विषयमा जानकार ठान्ने भ्रमित पुरुष, जसरी भए पनि फाइदै खोज्ने जग्गा दलाल, प्रभावकारी फिल्म बनाउन नसके पनि घमण्डले भरिएका निर्माता, बीसौँ फिल्म बनाइसक्दा पनि पहिचान बनाउन नसकेका निर्देशक, फोनबाटै पूजा गराउने चालु ब्राह्मणजस्ता अनेकौँ पात्रहरूले नाटकको सौन्दर्य बढाएका छन् । यद्यपि पात्रहरूको संयोजन मिलाउन निर्देशकद्वयको अब्बलता देखिएको छैन । बिस्कुनझैं  असरल्ल छरिएका पात्रले आँखा बिझाउँछ । प्रकाश र ध्वनिसँग कलाकारको ‘रिदम’ नमिलेको आभास हुन्छ, पटक–पटक ।

नाटकमा २७ जना कलाकारले अभिनय गरेका छन् । ती सबै नयाँ हुन् । सायद उनीहरूले भोगेको भन्दा अलि माथिको कथा हो यो । त्यसमाथि पहिलो नाटकमा फरक–फरक चरित्रमा काम गर्नुपर्‍यो । त्यसैले कलाकारको ‘ग्याङ’प्रति केही नरम भाव राख्न सकिएला । तर, नाटक हेरिरहेका दर्शकका लागि मञ्चमा देखिने कलाकारको पृष्ठभूमि र बाध्यताले अर्थ राख्दैन । उनीहरूले मात्र जीवन्त चरित्र खोजिरहेका हुन्छन् । अझ नाटक त कलाकारको माध्यम (एक्टर्स मिडियम) हो । यस मामलामा क्लब सेभेनका कलाकारले दर्शकलाई निरास पार्ने खतरा छ । यसको दोष निर्देशकद्वयलाई पनि जान्छ । बूढी भएपछि कुप्रो हुनैपर्छ, बोली लरबराउनैपर्छ, ‘मिमिक्री’ गर्नैपर्छ भन्नेजस्ता बासी सूत्रबाट बेलैमा बचेको उत्तम । तुलनात्मक रूपमा सविन घलान, युमिषा निरौला, सरिता ढुंगाना, प्रमिला खनाल, किरण चन्दलगायतका कलाकार उम्दा लाग्छन् । नामी सर्जकको कपडा उतारेर हस्ताक्षर गरिएको क्लाइमेक्स कठोर विम्ब हो ।

समाजको ताजा नियति र बलिया चरित्रका कारण क्लब सेभेन  हेर्नु उपयुक्त हुन्छ । प्यास नमेटिए घाँटी भिजाएर राहत दिन्छ । तर, राजन र दयाहाङको टिमप्रतिको दायित्व र अपेक्षा यही स्तरको नाटकले पूरा गर्दैन । नाटक सोमबारबाहेक २३ वैशाखसम्म मञ्चन हुनेछ ।

प्रकाशित: वैशाख ७, २०७५

ट्याग: नाटक