इन्स्टाग्राममा फोकस मोड

- नेपाल संवाददाता

इन्स्टाग्रामको इनएप क्यामेरा प्रयोग गरेर फोटो खिच्दा अब अर्को नयाँ सुविधा प्रयोग गर्न पाइने भएको छ । फोटो खिच्दा क्यामेराको फ्रेमभित्र परेकामध्ये मुख्य वस्तुमा फोकस गरेर पृष्ठभूमिलाई हल्का धमिलो बनाउन मिल्नेछ ।

फोटोग्राफीमा यसलाई पोट्रेट मोड भन्ने गरिन्छ । मुख्य वस्तुमा फोकस बढाएर पृष्ठभूमिलाई धमिलो बनाउँदा फोटोमा अझ चमक आउने हुँदा यो एकदमै लोकप्रिय फिचर हो । इन्स्टाग्रामले यसलाई फोकस नाम दिएको छ र यो बुमर्‍याङ र सुपरजुम फिचरसँगै उपलब्ध छ । 

यो सुविधा आएपछि इन्स्टाग्राम प्रयोगकर्ताले पोट्रेट मोडमा फोटो खिच्नकै लागि अन्य कुनै एप डाउनलोड गरेर चलाउनुपर्ने बाध्यता रहने छैन । इन्स्टाग्रामको यो नौलो फिचर आईओएस र एन्ड्रोइड दुवैमा उपलब्ध छ । 

 

प्रकाशित: वैशाख ६, २०७५