[तीन किताब] प्रिय फेन्टासी

- सञ्जीव उप्रेती

संसार चिम्पान्जी (एप्स)ले चलाइरहेका छन् । सेवकका रूपमा खटिएको छ, मानव जाति । घरेलु कामदार मानव, चिडियाखानामा मानव । चिम्पान्जीलाई के लाग्छ भने मानव जाति असभ्य छ । न बोल्न आउँछ, न लेख्न । तर, मानव जातिको संरक्षण जरुरी छ किनभने चिम्पान्जीको आदिपुर्खा मानव हो । भोलि मानव जाति विलुप्त हुँदै गयो भने हाम्रो घरको काम कसले गरिदिने ? डोमेस्टिक हेल्प कसले गर्ने ?

यसरी संसारलाई उलटपुलट गरिएको छ, विल सेल्फको उपन्यास ग्रेट एप्समा । फेन्टासीको संसार छ, यसमा । हामीकहाँ सामाजिक यथार्थवादी धारा चल्तीमा छ । त्यसको आफैँमा नोक्सान छैन । मनोवैज्ञानिक यथार्थवादलाई लिएर बीपी कोइरालाहरूले पनि राम्रा किताब लेखे । कहिलेकाहीँ यथार्थवादले गर्न नसक्ने कति काम फेन्टासीले गर्दो रहेछ । फेन्टासी मेरो प्रिय जानरा हो ।  

हाम्रो विश्वदृष्टि मानवकेन्द्रित छ अर्थात् परिवार, समाज, राष्ट्रियता, विश्वव्यापीकरण, पर्यावरणबारेका सबैजसो धारणा त्यसकै परिणति हुन् । त्यसको केन्द्रबाट मानवलाई हटाएर चिम्पान्जी या कागलाई राख्नेबित्तिकै संसार बेग्लै देखिन सक्छ । अलग दृष्टिकोण तयार हुन सक्छ । सांस्कृतिक मूल्य–पद्धतिमा उलटपुलट गरेपछि समाज या पृथ्वीको भविष्य के होला ? यस्ता उपन्यास पढ्दा भविष्यको रूपरेखा र आकारबारे बुझ्न अलि सजिलो हुन्छ ।

म प्राय: अफबिट किताब नै खोज्छु, लेखकले सजिलो बनाएर पस्केको भन्दा सक्रिय पठन हुने खालका किताब । पुरस्कार पाएका आधारमा पढ्दिनँ । मेरो सिफारिसमा अर्चना (थापा) पढ्छिन्, उनको सिफारिसमा म । न्युयोर्क टाइम्सका रिभ्यु र प्रोजेक्टका आधारमा पनि किताब पढ्छु ।

म कहिलेकाहीँ पुराना किताब पनि दोहोर्‍याइरहेको हुन्छु । जस्तो  : राचेल एडम्स र डेभिड सभरनद्वारा सम्पादित द मस्कुलिनिटी स्टडिज रिडर । अहिलेसम्मका सामाजिक मूल्य पुरुषले नै बनाएको हो । किनभने, सत्तामा पुरुष नै थियो र छ । वैकल्पिक या फरक मूल्य भएको भए समाज कस्तो हुन्थ्यो होला ? थुप्रै लेखकका निबन्ध समेटिएको यो किताबले सोच्न बाध्य बनाउँछ ।  

पुंसत्वको कर्मकाण्डसँग जोडिएको छ, वीरताको इतिहास । अर्थात्, दंगली मानसिकता । युद्ध गर्नैपर्ने, जित्नैपर्ने, नाम चम्काउनैपर्ने । सिपाही त लडाइँमा मरिहाल्थ्यो, राजाको नाम चम्किन्थ्यो । विरोधीलाई मात्र नभएर प्रकृतिलाई समेत जित्नैपर्ने । हिमाल चढेर देशको झन्डा गाड्नुपर्ने । जनावर, चिम्पान्जी या चरालाई त्यसको के मतलब ? सांस्कृतिक मूल्य नै फरक भयो भने संसारको स्वरूप कस्तो होला ? मेरो आगामी उपन्यास हाँसको कथाको केन्द्रमा पनि नन–ह्युमन नै छ ।

यस वर्ष आएका नेपाली नारी लेखकका थुप्रै आख्यानले मलाई पर्खिरहेका छन् । अनुकूल हुनासाथ म पढ्छु । निभा शाहको कवितासंग्रह मनसरा हालसालै पढेँ । पहिलो कविता ‘ मनसरा’ खुब मन पर्‍यो । त्यसमा ‘रेभुल्यसनरी फ्लेबर’ छ । निभा आपैँm गुरिल्ला भएर हिँडेकाले ‘अथेन्टिक साउन्ड’ आउँछ । उनी कवितामा क्रान्तिलाई महिमामण्डित गर्छिन् ।

उनका कवितामा माक्र्सवादी–नारीवादी दृष्टिकोण पनि आउँछ । एकातिर वर्ग–संघर्षको कुरा छ भने अर्कातिर महिलाको विषय । अर्को नारीवादी कविता रहेछ, ‘छिनाल’ । नारीको देहलाई समाज र बजारले वस्तुजस्तो बनाएको आक्रोश छ त्यसमा । अन्यमा पनि सर्वहाराको सत्ताका लागि लडेका नेताहरू आफैँ सुकिला–मुकिला भएपछि क्रान्तिप्रति मोहभंग भएको अभिव्यक्ति छ । बुधनी, रामसाइँली, बसुधा, पातली, डुम्नी, बुधवा, आइते तामाङ आदि गाउँघरदेखि सहरका सबाल्टर्न स्पेसमा भेट्न सकिने पात्रलाई लिएर कविता लेखिएका छन् । हल्का स्ट्रोक चलाइएका तर सलल्ल बगेका कविता ।

एकै समय म दुइटा किताब मात्रै पढ्न सक्छु । एउटा फिक्सन, अर्को ननफिक्सन । तर, दुइटै फिक्सन  पढ्न सक्दिनँ । किनभने, एकखाले पात्र, घटना, शैली र संरचना भएको संसारलाई अधूरै छाडेर अर्कोमा पस्दा अलि डिस्टर्ब हुन्छ ।

म केटाकेटीमा स्कुल गइनँ । मेरा दाजुभाइ, दिदीबहिनी पनि थिएनन् । त्यसैले मेरा साथी नै किताब भए । साथी नहुँदा कस्तो हुन्छ ? किताब नहुँदा मलाई त्यस्तै होला । किताबको विकल्पमा कागज दिए आख्यान लेखेर बस्छु । टीभी भए क्रिकेट हेर्छु । बाइक दिए घुम्न निस्कन्छु । शब्दसँग टाढै राख्ने हो भने हार्मोनियम त चाहियो ता कि म गीतको अभ्यास गर्न सकूँ ।

प्रकाशित: वैशाख ५, २०७५

ट्याग: किताब