[आवरण टिप्पणी] धनी बन्ने दलाल काइदा

- विद्यानाथ कोइराला

शास्त्रले भन्यो– विद्या ठूलो धन हो, पैसा हातको मयल हो । व्यवहारले भन्यो– विद्या हुनेहरू सम्मानित भए, पैसा हुनेहरू पनि मर्दा खाली हात गए, बाँच्दा त्यसैमा अलमलिए । शिल्पीको अनुभवले भन्यो– गुजारा त चल्यो, चाहिएको बेलामा पैसा भएन । सीप हुनेको पैसा भए पनि विद्या हुने जतिको सम्मान भएन । पैसा र सम्मानलाई विद्याको समकक्षी ठानियो । को जिम्मेवार हो यसमा ? वर्णाश्रम ब्रह्म जान्ने सम्मानित, लड्न जान्ने सम्मानित । खेती र व्यापार गर्न जान्ने कम सम्मानित, सेवा गर्न जान्ने अपमानित । आर्थिक सम्पन्नता तथा विपन्नतामा को जिम्मेवार हो त ? सम्पन्न सेवाकर्मी पनि अपहेलित भए ।

भोट–बर्मेली समुदायमा बेग्लै मान्यता छ त ? द्रविड र आग्नेयको चालमा केही फरक छ त ? नेपाली अनुभवले भन्छ– हामी जटिल छौँ, संस्कारको मान्यता पनि छाड्दैनौँ । वर्गको सम्मान पनि छाड्दैनौँ । यही जटिलताबीच धनी बन्ने चिरागको खोजी गर्नुपर्छ । वर्गीय दर्शनबाट मात्र उत्तर खोज्ने काइदा एकांगी हो । वर्णाश्रमबाट मात्रै उत्तर खोज्नु पनि एकांगी सोच नै हो । सेवा–समूह असम्मानित भए भन्नु पनि गाह्रो भयो । ठूला होटलका वेटर र हवाईजहाजको परिचारिका असम्मानित छैनन् । सफाइ कामदारहरू सम्मानित छैनन् । गुजारामुखी शिल्पी दलितहरू हुन् । सम्मानित छैनन् । उद्यमी दलित भएमा सम्मानित हुन्छन्, जातिमा लिइँदैनन् । यो जटिलताले हामीलाई अर्को पाठ सिकायो । विद्याप्रेमी संस्कारले पढाइ खोज्यो, धनप्रेमी व्यवहारले पैसा कमाउने तागत खोज्यो । दलितहरूको अनुभवले नवीन संस्कार, विद्या र धन एकसाथ खोज्यो । मानवशास्त्र तथा समाजशास्त्रीय आँखाबाट हेर्दा शिक्षाले भोगाइ र खोजाइबीच समन्वय गर्न जानेन, सकेन ।

►[नेपालको आवरण कथा पढ्नुहोस्» धनवादी शिक्षा : संविधानमा नि:शुल्क स्कुलमा शुल्कैशुल्क]

धनाढ्यको प्रयास

स्वदेशी तथा विदेशी धनाढ्यले कसरी आर्जन गरे ? यो प्रश्नको सहज उत्तर हो– प्रवृत्तिले, अथक लगनले, बेच्ने वस्तुको पहिचानले र बेच्ने ठाउँको सुनिश्चितताले । अर्थात्, धनी बन्न यी चीज चाहिने रहेछ– प्रवृत्ति, बेच्ने वस्तु र बेच्ने ठाउँ । उनकै अनुभवले भन्यो, धन अत्यावश्यक हो भन्ने भौतिकवादी धारणाको खेती गर्नुपर्छ । ‘चल्छ’ भन्ने मानसिकता भत्काउनुपर्छ । सार्थक चिन्तनलाई स्वीकार्नुपर्छ । यो धारणाले धनमुखी प्रवृत्ति बन्छ । लगनले सिर्जना गर्छ । प्रयत्नलाई त्यतातिर फर्काउँछ । बेच्ने कुराको खोजी गराउँछ । दिमाग बेचे सल्लाहकार । सीप बेचे नर्तक, क्षमता बेचे खेलाडी । वस्तु बेचे व्यापारी । ठूलो ठाउँमा बेच्न जाने धनी । धनाढ्यको मन्त्र त्यही हो ।

शिक्षालयको संस्कार

शिक्षालयले तीन काम गर्छ । संस्कारको संरक्षण, संरचनाको प्रत्युत्पादन र समाजको रूपान्तरण । पहिलो कामले विद्या ठूलो भनिरह्यो । दोस्रो कामले जातजाति, वर्ग र सामाजिक जटिलतालाई ज्यूँका त्यूँ रहन दियो । तेस्रो कामले नजानिँदो ढंगको रूपान्तरण मात्र गर्‍यो, धीमा गतिको । यसले गर्दा धन कमाउने बाटो नै बनेन । कृषिमा आश्रित जीवनले थप धन खोजेन । अंश पाइने आश्वस्तताले युवालाई कमाउने बाध्यता सिर्जेन । आमाबाबुले सन्तानका लागि पनि आर्जन गरिदिनुपर्छ भन्ने मान्यताले सन्ततिमा जाँगर आएन । शिक्षालयले यो क्रम तोडेन, बरू जोड्यो । त्यसैले धन कमाउने कला नै जानेन विद्यार्थीले । कमाउनैपर्छ भन्ने बाध्यता नै महसुस गरेन, संस्कार र कानुनको प्रबन्धले । प्रवृत्ति नै बनाएन, शिक्षालयको धीमा गतिमा रूपान्तरण गर्ने मान्यताले । चलेकै छ, चल्छ भन्ने बलवती संस्कारका मध्यमार्गी शिक्षकको शिक्षाले । अर्थात्, धनाढ्यहरू शिक्षालयमा पसेनन् । धन कमाउन बाध्य हुने गरिबहरूले शिक्षालयबाट धन कमाइन्छ भन्ने काइदा नै जानेनन् । विद्यार्थीको पनि त्यही स्थिति रह्यो । परिणामत: शिक्षालयहरूले धन कमाउने उपाय नै जानेनन्, सिकाएनन् । एक जना विद्यार्थीको मनमा पढुन्जेल धन कमाउन कसैले सिकाएन । शिक्षकले, घरले, पढाइ सकेको भोलिपल्ट सबैले कमाइ खोजे । यो स्थितिमा विद्यार्थी रहेन ।

अपनाउने बाटो

धनमुखी बनाउने अनेकन काइदा हुन्छन् । यसका लागि शिक्षकहरूले अनेकन उपाय गर्न सक्छन् । प्रश्न हो– गर्ने कि नगर्ने ? पहिलो काइदा हो, विद्यार्थीलाई ऋण दिने । एक–दुई साताको समय दिने । त्यो समयमा त्यो ऋण खर्चेर कमाऊ भन्ने । साउँ फर्काऊ भन्ने । ब्याज नतिर भन्ने । कमाऊ भन्ने र कमाएको रकम विद्यार्थीको खातामा जम्मा गर्न लगाउने । यो व्यवस्थाले सात–आठ दिनका लागि निब्र्याजी ऋण दिने शिक्षक खोज्छ । विद्यार्थी आफैँले उपाय खोज्छ । बजार खोज्छ । पुँजीवादी देशले धनवादी विद्यार्थी बनाउन त्यसै गर्छन् । दोस्रो काइदा हो, अभिभावकले केही रकम लगानी गर्ने । विद्यार्थीलाई नै कमाउन लगाउने । के गर्ने भन्ने नसिकाउने । उसले गरेको काममा स्याबासी दिने । काठमाडौँका केही विद्यालयले त्यो काइदा अपनाएको देखिन्छ । तेस्रो काइदा हो, विद्यार्थीलाई बजार सर्वेक्षण गराउने । के बिक्छ खोजाउने । सोच्न लगाउने । कमाउने उपाय त्यहीँ सिक्न प्रेरित गर्ने । यो काइदाले परियोजना कार्य माग्छ । कक्षाकोठामा मात्रै पढ्नु–पढाउनुपर्छ भन्ने पुरातन बुद्धिको विरोध गर्छ । अध्ययनका क्रममा विद्यार्थीले जे बुझे, त्यसैमा काम गर्न दिने घरायसी तथा शिक्षालयीय प्रेरणा माग्छ । चौथो काइदा हो, शिक्षालयले काम दिने । सुर्खेतको बड्डीचौरको माध्यमिक विद्यालयले त्यही काम गर्छ । स्कुलमा बाख्रापालक विद्यार्थी छन् । कुखुरापालक छन् । ऋण स्कुलको, आम्दानी विद्यार्थीको । जोखिम पनि उसैको । यसो गर्दा विद्यार्थीले कमाउने कुरा जान्दछ । भविष्यमा त्यही काम गर्छ । पाँचौँ, पढाइलाई गराइसँग जोड्ने । यसका लागि पाठ्यक्रम र पाठ्यपुस्तकलाई खाना, नाना र छाना आदिमा बाँड्ने सीप माग्छ । खोटाङको स्कुलले त्यही काम गर्छ । स्कुलमा विद्यार्थीले आफैँ खाना बनाउँछ । नाना बनाउँछ । छानाका निम्ति घर बनाउँछन् । त्यही सीपसँग जोडेर कक्षा–कोठामा पढ्छन् । छैटौँ काइदा हो, विद्यार्थीले उद्यमी तथा व्यापारीसँग सहकार्य गर्ने । यो कार्यले विद्यार्थीले कसका निम्ति आफ्नो क्षमता प्रयोग गर्ने भन्ने कुराको पहिचान गर्छ । उद्योगले खोजेको के ? बजारले खोजेको के ? मैले बेच्न सक्ने के ? यस्ता प्रश्नको उत्तर खोज्दा विद्यार्थी धनवादी बन्छ । साताँै काइदा हो, विद्यार्थीहरूबीच संवाद गर्ने । संवादले विद्यार्थीमा मैले के बेच्न सक्छु भन्ने कुरा खोजी गर्ने बानी बस्छ । ज्ञान बेच्ने कि सीप बेच्ने ? यस्ता अनेकन कुरामा संवाद गर्नाले विद्यार्थीमा धनमुखी हुने चिन्तन बढ्छ ।

आठौँ काइदा हो, सम्भावना खोजाउने । यो प्रक्रियामा विद्यार्थीले सम्भावनाको पहिचान गर्छ । कालीकोटमा ढुंगैढुंगा छ । त्यसमा मूर्ति कुँदे पैसा फल्छ कि त ? महोत्तरीमा सालका बोट छन् । त्यसको सामग्री बनाए बिक्छ कि त भनी खोज्न बाध्य गर्छ । नवाँै काइदा हो, अंश नलिई बाँच्ने अभियान सञ्चालन गर्ने । यो अभियानले अंशमा आश्वस्त हुने विद्यार्थीको चिन्तन फेरिन्छ । कसरी कमाउने भन्ने कुराको अवधारणा बन्छ । दसाँै काइदा हो, शिक्षालयले बजारयोग्य सीपको पहिचान गरी विद्यार्थीलाई त्यसमा लगाउने । घडी लगाउने सीप, रेडियो मर्मत गर्ने सीप, बाख्रा पाल्ने सीप, तरकारी खेती गर्ने सीप, जनसेवा गर्ने सीप । यसका बुझाइमा लगाउने हो भने विद्यार्थीले धन कमाउने काइदा सिक्छन् । बाह्रौँ काइदा हो, आफँैले कमाऊ । शुल्क तिरेर पढ्ने उपायले विद्यार्थीलाई कमाउनुपर्ने बाध्यता सिर्जना गर्छ । कमाएर पढ्नुपर्ने उपायमा धकेल्छ । महात्मा गान्धीले बार्धा शिक्षा योजनामा गरेको काम त्यही हो । अमेरिकाका सामुदायिक कलेजमा पढ्ने विद्यार्थीको उपाय त्यही हो । तेह्राँै काइदा हो, विद्यार्थीको रुचि तथा क्षमतामा आधारित छोटो अवधिको तालिम दिने । सीप प्रदायक तथा उद्यमी एवं व्यवसायीको सहकार्यमा यस्ता तालिम दिन सकिन्छ । तालिमप्राप्त व्यक्तिले तालिम प्रदायककै ठाउँमा काम पाउँछन् । चौधाँै काइदा हो, धनाढ्यहरूसँगको नियमित संवाद । यो संवादमा धनाढ्यहरू कसरी धनी भए भन्ने कुरा सुन्ने काम हुन्छ । विद्यार्थीले त्यो कुरा सुनेर मनमा गुन्छन् । अनि सोही अनुसार काम गर्छ ।

शिक्षालयको भूमिका

अहिलेका शिक्षालयहरू छुट्टिए, कमाउने सीप नसिकाउनेहरू साधारण शिक्षक भए । सीप सिकाउनेहरू प्राविधिक एवं व्यावसायिक धारका भए । ती महँगा भए । यी दुई बिन्दुमा हेर्दा हाम्रो भूमिका रह्यो, सबैलाई धनवादी बनाउने सोचमा लाग्ने । व्यावसायिक तवरले कसैलाई बोक्यो । तिनका विस्तार कार्यक्रममार्फत सबै साधारण शिक्षालयका विद्यार्थीमा पुग्नुपर्छ । यसले साधारण तथा प्राविधिक शिक्षालयबीच सहकार्य माग्छ । त्यही क्रियाशील हुनु शिक्षालयको भूमिका हो । विद्यार्थीलाई के गरी हुन्छ धनमुखी बनाउनैपर्छ भन्ने भूमिका शिक्षालयको हुन्छ–हुनुपर्छ, स्कुल, क्याम्पस जुन भए पनि ।

मानवशास्त्री तथा समाजशास्त्रीसँगको सहकार्यमा शिक्षालयले विद्यार्थीमा धनवादी दर्शन भर्नुपर्छ । वर्ग, वर्ण र दर्शनबीचको सहसम्बन्धबारे संवाद गर्नुपर्छ । धन कमाउने परम्परागत तथा आधुनिक सीपवालालाई सम्मान गर्ने–गराउने प्रयत्न गर्नुपर्छ । गुजारामुखी हुने भए यसरी कमाऊ भन्नुपर्छ । बजारमुखी हुने भए यो काम गर भन्नुपर्छ । सरकारले धनी बन्न दिएन भने संस्कार बनाउनुपर्छ ।

छिटो धनी बन्ने अहिलेको सोच हो । त्यसले दलाल पुँजी पनि जन्मायो । दुई नम्बरी, घुसखोरी, कमिसनखोरी, जबर्जस्ती । यी र यस्ता सोचले पैसावाल नै जन्मायो । तर, इज्जतवाल जन्माएन । विनयी बनाएन । यो स्थिति बदल्न शिक्षालय प्रवेश हुनासाथ बचत गर्ने र कमाउने प्रबन्ध गर्नुपर्छ । लिम्बूहरूको बच्चा जन्मनासाथ रूख लगाएजस्तो । प्रतिदिन कमाउने । प्रतिदिन बचत गर्ने, कमाउने उमेर नभएकालाई दिनको कम्तीमा एक रुपियाँ बचत गर्ने अभिभावक तयार पार्ने । कमाउनेहरूले दैनिक निश्चित रकम बचत गर्नुपर्ने प्रबन्ध गर्ने । यसरी बचत भएको रकमलाई शिक्षालयमा लगानी गर्ने र बैंकले जस्तो विद्यार्थीले नै सञ्चालन गर्ने व्यवस्था मिलाउने । सो रकम निर्माणमा लगानी गरे हुन्छ, सञ्चारमा हुन्छ, पर्यटनमा हुन्छ, उद्योगमा हुन्छ । लगानीका यस्ता क्षेत्र पहिल्याउने काम शिक्षालयकै हुन्छ ।

धनाढ्य बन्ने प्रयास विद्यार्थीमा जगाउन शिक्षालयको भूमिका हुन्छ । यसो गर्न शिक्षक क्रियाशील हुनुपर्छ, विद्यार्थी परिचालन गर्न । अभिभावक सहमत हुन विद्यार्थीलाई शिक्षालयमा काम गर भन्न, शिक्षालयबाहिर काम गर भन्न विद्यार्थी भर्ना हुँदा कोरल्न मिल्ने अन्डा दिने काइदा केही शिक्षालयले गरेका छन् । क्याम्पसमै काम दिने केही शिक्षण संस्था छन् । यस्ता संस्थाहरूको तरिका खोजी विद्यार्थीमा पुर्‍याउने काम पनि शिक्षालयले नै गर्नुपर्छ ।

कमाउन सिकाउनु एउटा भूमिका हो । बचत गर्न सिकाउनु अर्को भूमिका हो । बचत परिचालन गरी थप आर्जन गर्न लगाउनु तेस्रो भूमिका हो । मैले धन कमाउनुपर्छ भन्ने कुरा विद्यार्थीको दिमागमा भर्नु चौथो भूमिका हो । एक्लै वा साझेदारीमा कमाउने विद्यार्थीको रुचिमा सघाउनु पाँचाँै भूमिका हो । यी पाँचै भूमिकामा विद्यार्थीलाई सघाउने हो भने सोध्ने एउटै प्रश्न हुन्छ । बेच्छौ के ? यसको उत्तर विद्यार्थीमै खोजाउनुपर्छ । यसको टुंगो लागेपछिको प्रश्न हो, कसरी बेच्दा बढी आर्जन गर्न सकिन्छ ? थप प्रश्न हुन्छ, कहाँ बेच्ने ? अर्थात्, हर कुरामा थपिने प्रश्नहरूको उत्तर विद्यार्थीले जान्नुपर्छ । सिक्न पाउनुपर्छ । त्यसो गर्ने हो भने विद्यार्थीहरू धनमुखी हुन्छन् । धनआर्जन गर्न सक्छन् ।

टुंगो

गीतामा उल्लेख छ, ‘जे रहर गर्छाै, त्यही बन्छौ ।’ आशय हो, रहरले प्रवृत्ति चिनाउँछ । प्रवृत्तिले प्रयासमा दौडाउँछ । प्रयासले सफलता सुनिश्चित गर्छ । प्रक्रिया र परिवेश मिलाउन जाने व्यक्ति सदैव धनी बन्छ । धनको धनी । मनको धनी बन्ने अर्कै काइदा हो । ज्ञानको धनी भन्ने अर्कै उपाय हो । सन्तुलित धनी बन्ने बेग्लै प्रक्रिया हो । यी सबै प्रक्रियामा शिक्षालयको ठूलो भूमिका हुन्छ । शिक्षकको निर्णायक भूमिका हुन्छ । प्रशासनको सहयोगी भूमिका हुन्छ । अभिभावकको उपदेशी भूमिका हुन्छ । प्रश्न हो, शिक्षक, विद्यार्थी, अभिभावक, प्रशासक सबै राजनीतिज्ञहरूलाई कसरी त्यता फर्काउने ? यति टुंगो गरे लक्ष्मी, सरस्वती र काली एकै ठाउँमा बास गर्छन्, पहिलो धनकी देवी भएर । दोस्रो ज्ञानकी देवी भएर । तेस्रो शक्तिकी देवी भएर । सन्तुलन नजानेका हामीले धन बुझाउँदा ज्ञान छाड्यौँ, ज्ञान कमाउँदा धन छाड्याँै । शक्ति कमाउँदा ज्ञान र धन छाड्यौँ । अनि भन्न थाल्यौँ, लक्ष्मी र सरस्वती एकै ठाउँमा बस्दैनन् । काली र सरस्वती एकै ठाउँमा रमाउँदैनन् । अर्थात्, एकसाथ बसाउन नजान्ने हामी भयौँ असन्तुलित । दोष उनीहरूले पाए । किनभने, हामीले उनीहरूलाई एकअर्काका पूरक ठानेनौँ, प्रतिस्पर्धी मान्यौँ । त्यसैले शिक्षालयहरूले भन्न थाले, ज्ञानले पनि धन कमाउँछ । धन तथा ज्ञानले पनि शक्ति आर्जन हुन्छ । यही सोचान्तरणमा आर्थिक समृद्धि सुनिश्चित छ । शिक्षालयहरूले सहजै यो काम गर्न सक्छन् ।

प्रकाशित: वैशाख ४, २०७५

ट्याग: टिप्पणी