फेसबुकमा म्यासेज अनसेन्ड फिचर !

- नेपाल संवाददाता

प्रयोगकर्ताका व्यक्तिगत डाटा सुरक्षित नभएको र सार्वजनिक हुने गरेको खुलासा भएपछि फेसबुकले चौतर्फी आलोचना खेपिरहेको छ । यतिसम्म कि फेसबुकका सीईओ मार्क जुकरवर्गले यसै विषयबारे अमेरिकी कंग्रेसमा उपस्थित भएर जवाफ दिनुपरेको छ । 

डाटा लिकबाट रुष्ट भएका प्रयोगकर्तालाई फकाउन फेसबुकले अहिले अनेक उपाय रच्दै छ । सोही योजना अनुरुप उसले प्रत्येक प्रयोगकर्तालाई यस्तो नयाँ फिचर प्रयोग गर्न दिने भएको छ, जसले गर्दा कसैलाई पठाइसकेको म्यासेज पनि प्रयोगकर्ताले अनसेन्ड गर्न सक्नेछन् । यसको अर्थ के हो भने यदि कसैलाई कुनै म्यासेज पठाइसकेर पनि अनसेन्ड गरेमा त्यो म्यासेज पठाउने र पाउने दुवैको च्याटबक्सबाट हराउनेछ, पाउने व्यक्तिले चाहे त्यो म्यासेज हेरिसकेको होस् वा नहोस् । अहिले पठाइसकेको म्यासेज कसैले डिलिट गरेको खण्डमा उसको च्याटबक्सबाट डिलिट भए पनि पाउनेको च्याटबक्समा रहिरहन्छ । अनसेन्ड फिचरले यसलाई दुवैको च्याटबक्सबाट हटाउनेछ । 

प्रत्येक प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाउन अझै महिनौँ लाग्ला । तर, फेसबुकका उच्च अधिकारीका लागि भने यो कुनै नौलो फिचर होइन । केही वर्षअघि सोनी पिक्चर्सको इमेल ह्याक भएपछि फेसबुकले आफ्ना गोप्य सूचना सुरक्षित राख्न उच्च अधिकारीका अकाउन्टबाट पठाइएका म्यासेज गोप्य रुपमा अनसेन्ड गर्दै आएको रहस्य पनि हालै मात्र खुल्न आएको हो । 

 

प्रकाशित: वैशाख ४, २०७५