‘जनवादी केन्द्रीयताको मनो विज्ञानले संघीयता चल्दैन’

- सन्तोष आचार्य

जुझारु शैली, सक्रियता र वैचारिक प्रस्टताका लागि चिनिन्छन्, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा । निर्वाचन परिणामपछि पार्टी नेतृत्वलाई चुनौती दिादै आएका ‘सात भाइ’को समूहमा थिए, शर्मा । तर, सभापति शेरबहादुर देउवाले प्रवक्ताको भूमिका दिएपछि शर्मा पार्टीभित्र रक्षात्मक बनेका छन् । श्वेतपत्रको सन्दर्भदेखि पार्टी पराजयसम्मका विषयमा प्रवक्ता शर्मासँग सन्तोष आचार्यका प्रश्नहरु :

सरकारद्वारा जारी श्वेतपत्रलाई ‘लालपत्र’ मात्र नभनी ‘अबौद्घिक र अव्यावसायिक मुचुल्का’ भन्नुभयो । अर्थमन्त्रीले मुलुकको आर्थिक स्थितिबारे जनतालाई जानकारी दिन पाउँदैन ?

मुलुकको अर्थतन्त्रबारे अर्थमन्त्रीले श्वेतपत्र जारी गर्न नपाउने वा जारी गर्नु नै गलत हो भन्ने बिलकुल होइन । श्वेतपत्रमा नकारात्मक सूचकहरू छानी–छानी राखिएको छ । सकारात्मक सूचकहरू हालिएको छैन । श्वेतपत्रको पनि आफ्नै शास्त्र हुन्छ । यति–यति अवधिको विश्लेषण गर्ने भनेपछि त्यही अवधिको हुनुपर्छ । तर, यो श्वेतपत्रमा त कतै दुई वर्ष मात्र, कतै पाँच वर्षको मात्र, कतै १० वर्षको त कतै २५ वर्षका जति पनि नकारात्मक सूची छन्, तिनलाई टिपेर राखिएको छ । यस हिसाबले के भयो भने कुनै पनि कालखण्डका नकारात्मक सूचक बाहिर आए, सकारात्मक सूचकमा अर्थमन्त्रीले आँखा चिम्लिनुभयो । प्रतिपक्ष दलको नाताले हाम्रो कर्तव्य त्यसलाई सम्झाउनु हो ।

श्वेतपत्रको दाबीजस्तै देशको ढुकुटी रित्तो, लथालिंग र भताभुंग छ । सरकारले देशलाई शून्यबाट समृद्घितिर लानुपर्ने कथनको सन्देश के हो ?

श्वेतपत्र आउँदै गर्दा सायद उहाँहरू दुइटा मनोविज्ञानमा हुनुहुन्थ्यो । एउटाचाहिँ, निर्वाचनका बेलादेखि नै मतदातासमक्ष जुन सपना बाँडिएका थिए, ती सपनाको व्यावहारिक प्रयोग हुने यो बेलामा त्यसले पूर्णता प्राप्त नगर्न सक्छ । त्यस्तो अवस्था बन्दा के गर्ने ? ढुकुटी रित्तो भएकाले गर्न सकिएन भन्न मिल्छ भन्ने मनोविज्ञान होला । नकारात्मक दृश्यहरू देखाइदिएपछि भोलि आफूले भनेका कुरा पूरा गर्न नसक्दा अरूमाथि दोष थोपरेर आफू उम्कन मिल्छ कि भन्ने सोच होला । दोस्रोचाहिँ, अहिलेसम्म समृद्घिका लागि केही भएन, त्यसको इतिहास अब सुरु हुन्छ/भयो भन्न खोजिएको देखिन्छ ।

समृद्ध नेपाल, सुखी नेपाली’को सरकारी नाराप्रति कांग्रेसको कुनै टिप्पणी छ ?

हाम्रोमा कुनै नयाँ कथाकारले कथा लेख्न आँटेजस्तो ‘समृद्ध’ नाम गरेको नयाँ कथा यहाँबाट सुरु हुन लागेको होइन । यसको पृष्ठभूमि छ, इतिहास छ । सकारात्मक र नकारात्मक पाटाहरू छन् । यसको आर्थिक मात्र नभएर राजनीतिक, सामाजिक र मनोवैज्ञानिक पाटाहरू छन् । ००७ देखि ०७४ सालसम्म आइपुग्दा कांग्रेसको अगुवाइमा प्राप्त राजनीतिक उपलब्धिको जगमै नेपाल समृद्घ हुने हो, नेपाली सुखी हुने हो ।

सरकारमा रहेको पक्षले आशा वितरण गर्छ । विपक्षले चाहिँ निराशा बताइरहेको हुन्छ । विपक्षले प्रश्न गरिरहेको हुन्छ, उत्तर सत्ताले दिन्छ । विपक्षले देश डुब्यो भनिरहेको हुन्छ, देश अगाडि बढिरहेको छ राज्यले भन्ने हो । तर, यहाँ उल्टो भयो । राज्यको नेतृत्व गर्नेले चाहिँ देश डुब्दैछ, धराशयी हुँदैछ भन्दैछन् । उल्टो बाटोमा हिँडेर कसरी लक्ष्य प्राप्ति होला !

कांग्रेसले कम्युनिस्टहरू अधिनायकवादको अभ्यासमा लागेको आरोप लगाएको छ । वास्तविकता के हो ?

हाम्रो पार्टीका कुनै नेताले कम्युनिस्ट अधिनायकवाद सुरु भयो भनेर कतै भन्नुभएको भए त्यो उहाँहरूको कुरा हो । मेरो भनाइचाहिँ के हो भने कसैले अधिनायकवादको परिकल्पना गर्छ भने त्यो दिवा सपना मात्र हो । त्यो सम्भव नहुने कुरा हो ।

प्रधानमन्त्रीले शक्तिशाली निकाय आफूमातहत राख्नुको अर्थ के हो ?

संघीयता भन्नु र जनवादी केन्द्रीयता भन्नु विपरीत ध्रुवका विषय हुन् । कम्युनिस्ट सत्तामा केन्द्रीकरणको मनोविज्ञान हुन्छ । त्यसले एकैचोटि दुइटा कुरा भइरहेको छ । एकातिर, पहिलोपटक नेपाल संघीयतामा गएर सात प्रदेश बनेका छन् । केन्द्रले चाहिँ आफ्नो अधिकार बढीभन्दा बढी विकेन्द्रीकरणमा लैजानु छ । तर, सातवटा संघीय प्रदेशका सातवटै मुख्यमन्त्रीले शपथग्रहण गरेको सात दिन नबित्दै काठमाडौँमा प्रधानमन्त्री कार्यालयले राज्यका महत्त्वपूर्ण निकायलाई आफू अन्तर्गत राख्यो । यहीँनेर विरोधाभास भयो । उहाँहरू जुन मानसिकता लिएर हिँडिरहनुभएको छ, त्यो जनवादी केन्द्रीयताको मनोविज्ञान हो । यसले संघीयता चल्दैन ।

एमाले र माओवादी वैचारिक अस्पष्टतातिर गएको तपाईंको आशय हो ?

उहाँहरूलाई कांग्रेसले भनेको संसदीय व्यवस्था मन पर्दैन । संसदीय व्यवस्थाको प्रधानमन्त्री हुँला भनेर न केपी ओलीले राजनीति सुरु गर्नुभएको थियो, न त प्रचण्डले । अब के उहाँहरूले संसदीय व्यवस्थाको पार्थिव शरीरमाथि सर्वहाराको अधिनायकवाद स्थापना गर्ने ? तर, अब उहाँहरू त्यता जान सक्नुहुन्न ।

त्यो देखिसकियो । अर्थनीतिको सन्दर्भमा पनि कांग्रेसले लिएको बाटोलाई आफ्नो पनि मान्न नसकेको र त्यसमा हिँड्न पनि नचाहेको तर यो बाटो छाड्न पनि नसकेको देखिन्छ । यस्तो विरोधाभास श्वेतपत्रमै देखियो ।

फरक सन्दर्भ, कांग्रेस पराजयको आन्तरिक कारण के थियो ?

बदलिएको चुनावी चित्रलाई बदल्न सक्ने गरी हामीले आफूलाई बदल्न नसक्नु नै हो । स्थानीय निर्वाचन परिणामले खतराको घन्टी बजाइसकेको थियो । कांग्रेसको हार कतिपय नेताले भनेजस्तै अनपेक्षित थिएन । हार निश्चित थियो । यसलाई चिर्न सक्ने गरी हाम्रो तयारी पुगेन । कांग्रेस परम्परागत ढंगले चल्दै आयो ।

पार्टी पराजयको नैतिक जिम्मेवारी कसैले लिनु पर्दैन ?

सभापति पार्टीको मुख्य नेतृत्व, वरिष्ठ नेता निर्वाचन परिचालन समितिको संयोजक र महामन्त्री पार्टी प्रशासन प्रमुखको जिम्मेवारीमा रहेकाले पराजयको जिम्मेवारीबाट कोही पनि भाग्न मिल्दैन । हामी सबै जिम्मेवार छौँ । सबैले आ–आफ्नो भागको दोष स्वीकार्नैपर्छ । मात्रात्मक रूपमा साइज–साइजको नेतृत्व र साइज–साइजको दोष सबैको भागमा पर्छ ।

पार्टी शुद्घीकरणका लागि विधान महाधिवेशनको माग भइरहेको छ । संस्थापन पक्ष यसमा सहमत छ ?

पार्टीे रूपान्तरणका लागि यदि महाधिवेशन नै प्रथम र अन्तिम हुन थाल्यो भने त्यसले हामीलाई कहीँ पुर्‍याउँदैन । त्यसले नै आगामी चुनाव जिताउँछ भन्ने पनि होइन । हामीभित्र अहिलेसम्मकै स्थापित मनोविज्ञान के छ भने अमुक नेतृत्वको असफलताको जडमा अर्काे कुनै नेतृत्व उदाउन खोज्ने । गिरिजाबाबुमाथि प्रहार गरेर शेरबहादुर देउवाको उदय भएको हो । र, अब शेरबहादुरमाथि प्रहार गर्दा अर्को नेतृत्वको उदय हुन्छ भन्ने मानसिकता छ । यो परम्पराले कांग्रेस बदलिँदैन । महाधिवेशनमा जम्मा एउटा नेतृत्व परिवर्तन गर्ने हो ।

कांग्रेसले अबको पाँच वर्षलाई दुइटा खण्डमा छुट्याएर जानुपर्छ । महासमितिदेखि महाधिवेशनसम्म संगठनको सम्पूर्ण व्यवस्थापनको एउटा खण्ड, त्यसपछि महाधिवेशनदेखि महानिर्वाचन (स्थानीय निर्वाचन, प्रदेश निर्वाचन र केन्द्र निर्वाचन)सम्म कांग्रेस पूर्ण रूपमा केन्द्रित हुनैपर्छ ।

ठूला वामशक्ति पुन:गठित भइरहेको परिवेशमा कांग्रेसलाई विघटन गरेर पुन:गठन गर्न जरुरी छैन ?

प्रजातन्त्रमा विश्वास राख्ने सबै पक्षलाई ल्याएर एउटा दल बनाउने भन्ने सुन्दा बडो सुन्दर लाग्छ । तर, त्यो अलि बढी जोखिमयुक्त हुन्छ । कांग्रेसले आफूलाई पुन:परिभाषित र व्यवस्थित गर्न जरुरी छ । कांग्रेसको आजको आवश्यकता विस्तार होइन, व्यवस्थापन हो । व्यवस्थापनको कला आफूभित्र खोज्नु जरुरी छ । हाम्रो नेतृत्वमा भएका उपलब्धिलाई ब्रान्डिङ गर्न जरुरी छ ।

कांग्रेसले आफूलाई ‘ब्रान्डिङ’ गर्न नसकेकै हो कि जनताले रुचाउन छाडेका हुन् ?

भनिन्छ, विज्ञापन त्यो कला हो, जसले हिमालमा बस्ने मान्छेलाई पनि फ्रिज किन्नलाई प्रेरित गर्छ । कांग्रेसले चाहिँ मधेसमा पनि फ्रिज बेच्न सकेन । फ्रिज मात्रै होइन, मधेसमा पंखा पनि बेच्न नसक्ने अवस्थामा छ, कांग्रेस । आइसक्रिम पनि बेच्न नसक्ने अवस्थामा छ । तर, यो पराजयको क्षण मात्रै होइन, आधुनिक कांग्रेस प्रारम्भ गर्ने ऐतिहासिक अवसर पनि हो ।

पार्टी प्रवक्ताको नियुक्ति पाउनासाथ ‘युवा नेताहरूको कांग्रेस–जागृति अभियान’बाट तपाईंले हात झिकिदिनु भयो नि ?

होइन, त्यो बुझाइ गलत हो । कांग्रेस रूपान्तरणको दिशामा विश्वप्रकाश नलाग्ला ! विश्वप्रकाशचाहिँ कांग्रेसलाई ओरालो लाग्ने, परिवर्तन छेक्ने कुरामा लाग्छ कि भनेर यदि कसैले भन्छ भने त्यो मेरो राजनीतिक पृष्ठभूमि नबुझेको ठहरिन्छ ।

प्रकाशित: वैशाख ३, २०७५

ट्याग: संवाद