हुवावेको नयाँ स्मार्टफोन

- नेपाल संवाददाता

नेपाली प्रयोगकर्तामाझ हुवावेका स्मार्टफोनले राम्रै बजार पाइरहेका छन् । यसैबीच हुवावेले नयाँ स्मार्टफोन वाई–नाइन पनि नेपाली बजारमा ल्याएको छ । यसको बजार मूल्य २५ हजार ९ सय रुपियाँ तोकिएको छ । कतै–कतै यो स्मार्टफोन हुवावे नोभा टुआई लाइट नामले पनि चिनिन्छ । किनभने, यसका कयौँ फिचर नोभा टुआईसँग मिल्दाजुल्दा छन् । नोभा टुआई पनि नेपालमा रुचाइएको स्मार्टफोनमध्येमा पर्छ । 

हुवावे वाई–नाइनको मुख्य फिचर हो, यसको क्यामेरा । फ्रन्ट र रियर दुवै क्यामेराका लागि यसमा दुई–दुइटा सेन्सर जोडिएका छन् । यस अर्थमा यो स्मार्टफोनमा चार क्यामेरा छन् । यसको फ्रन्ट क्यामेरा १६ र दुई मेगापिक्सेल क्षमताका छन् । त्यस्तै, रियर क्यामेरा १३ र दुई मेगापिक्सेल क्षमताका छन् । फुल हाई डेफिनेसन (एचडी) प्लस गुणस्तरको डिस्प्ले स्क्रिन यसको अर्को राम्रो पक्ष हो । यसको डिस्प्ले स्क्रिन ५.९३ इन्चको छ । 

हुवावे वाई–नाइनमा ३२ जीबीको आन्तरिक मेमोरी क्षमता हुन्छ । र, यसमा २ सय ५६ जीबीसम्मको मेमोरी कार्ड प्रयोग गर्न सकिन्छ । यसको र्‍याम क्षमता तीन जीबी छ । यो स्मार्ट फोनमा अपरेटिङ सिस्टमका लागि एन्ड्रोइड एड अर्थात् ओरियो प्रयोग भएको छ । यसको ब्याट्री क्षमता चार हजार एमएएचको छ । फिंगरप्रिन्ट, एक्सिलोमिटर र प्रोक्सिमिटीजस्ता सेन्सर पनि यसमा छन् । र, यो कालो, नीलो र सुनौलो गरी तीन रङमा बजारमा उपलब्ध छ ।

 

प्रकाशित: वैशाख ३, २०७५