आउनूस् रि–ट्वीट गरौँ

- छुल्याहा गुरु

हाम्रा राष्ट्रपतिको ट्वीटर अकाउन्ट खोलिएकामा मन गद्गद छ । ट्वीटमा के लेखिएको रहेछ ? ज्यादै उत्सुक भएर कम्प्युटर खोलेँ । ‘कुनै भीआईपीको सवारीले नागरिकको शिक्षा र स्वास्थ्यको पहुँचमा बाधा नपुगोस् !’ सम्माननीयबाट यस्तै खालको ट्वीटको आशा गर्दै थिएँ । सवारीको कारणले पटक–पटक पीडित जो भएको थिएँ ।

तर, ‘सम्पूर्ण बालबालिकालाई शिक्षाको पहँुचमा पुर्‍याउने नेपाल सरकार र सम्बद्ध सबै पक्षको प्रयासको सराहना गर्दै सफलताको शुभकामना  !’ भन्दै ट्वीट गरिएको रहेछ । एकछिन खल्लो लाग्यो ।

यसो पुराना दिन सम्झेँ । शाहीकालमा राजा–रानीले जनताका नाममा बक्सने सन्देश यस्तै–यस्तै त हुन्थे नि, जुन रेडियो, टेलिभिजन र दैनिक अखबारका शान हुन्थे । अचेल आधुनिक युग चलिरा’छ । प्रविधिले फड्को मारिसक्यो । गणतान्त्रिक मुलुकको सम्माननीय संस्था प्रविधिमैत्री हातामा छिरेछ । लौ बधाई छ । सबैले रि–ट्वीट ठोकौँ ।

 

प्रकाशित: वैशाख २, २०७५