दिल्लीमा कार्पेट सीमामा लुट

- भवानी भट्ट/अर्जुन शाह/वसन्तप्रताप सिंह

गड्डाचौकी, कञ्चनपुर– प्रधानमन्त्री केपी ओलीको राजकीय स्वागतका लागि नयाँदिल्ली कार्पेट बिछ्याउँदै थियो । २३ चैतको त्यही बिहान प्रदेश–७ को मुख्य नाका कञ्चनपुरको वनबासा गड्डाचौकीमा भने सयौँ नेपाली भारतीय पक्षबाट लुटिँदै–कुटिँदै थिए ।

भारतका सहरमा मजदुरी गरी गड्डाचौकी नाका हुँदै घर फर्कनेहरूमाथि भारतीय सुरक्षाकर्मी र व्यापारीले काबु जमाइरहेथे । मानौँ, भारतबाट फर्कंदै गरेका सर्वसाधारण सबै चोर–फटाहा हुन् । सुदूरपश्चिमवासीको महत्त्वपूर्ण चाड बिसुपर्व मुखैमा आइसकेकाले अचेल सीमा नाकामा घर फर्किने नेपालीको संख्या बाक्लो छ । लामो समयपछि घर फर्किंदा पुलकित हुनुपर्नेमा बाटोमा खेप्नुपरेका अनेक सास्तीले महेन्द्रनगर पुगेका अधिकांश अँध्यारा देखिन्थे । भारतीय व्यवसायीले सञ्चालन गरेका टाँगाबाट सीमा पार गर्दै महेन्द्रनगर बसपार्कमा झरिसकेपछि बल्ल उनीहरूका अनुहार पिँजडामुक्त सुगाको जस्तै देखिन्थ्यो । धनगढी जोडिने गौरीफन्टा नाकाबाट आउनेहरूको हैरानी पनि वनबासाभन्दा पृथक् थिएन, नियन्त्रित नागरिकझैँ ।

बझाङ छविस पाथीभरा गाउँपालिकाका गगन चलाउने भारतको अल्मोडाबाट मजदुरी गरी घर फर्किंदै थिए । अल्मोडादेखि महेन्द्रनगर बसपार्क नपुग्दासम्म उनले खेपिनसक्नु हैरानी बे होर्नु पर्‍यो । यसअघि फर्कने क्रममा एसएसबी र अन्य सुरक्षाकर्मीबाट आठपटक पिटिएका उनी यसपल्ट लुटिए । वनबासादेखि महेन्द्रनगरसम्म १२ किमि दूरीको टाँगायात्राको भाडा साढे चार सय भारु वनबासामै अग्रिम असुलियो ।

अछाम, ढकारीका चन्द्रबहादुर बुढाको हालत पनि बझाङका चलाउनेको भन्दा फरक थिएन । क्षमताभन्दा बढी यात्रु कोचाकोच गरी ल्याइएका चन्द्रबहादुरबाट टाँगावालाले तीन सय रुपियाँ असुलेका थिए । बाजुराको गोत्रीका दलबहादुर विकले चार जनाको समूहबाट प्रतिव्यक्ति साढे तीन सय थुतिएको बताए । वनबासादेखि महेन्द्रनगरसम्मको भाडादर भारततर्फबाट आउँदा एक सय भारु र नेपालतर्फबाट जाँदा एक सय नेपाली रुपियाँ तिरे पुग्ने व्यवस्था छ । तर, त्यो नियम देखावटी मात्रै भएको छ ।

प्यूठानका हीराबहादुर रोकायाको उमेरले ५० वर्ष नाघ्यो । बाल्यकालदेखि नै भारतका ‘कालापहाड’ चहारेका उनलाई अहिले पनि रोजीरोटीका लागि त्यहाँ जानुको विकल्प छैन । चाडपर्व र खेतीपातीका बेला घर आउने उनलाई सीमामा हुने दुव्र्यवहार र अनावश्यक असुलीको हैरानी शृंखला जस्ताको तस्तै छ । उत्तराखण्डको अल्मोडामा मजदुरी गर्ने उनले घर फर्किंदा सीमामा जहिल्यै सुरक्षाकर्मीलाई एक–दुई सयदेखि डेढ हजार रुपियाँसम्म बुझाउनुपरेको छ । यसपल्ट उनले सात सय रुपियाँ तिरे । रोकाया दु:खेसो पोख्छन्, “दुव्र्यवहारको त कुरै छाडौँ ।” अल्मोडादेखि सीमावर्ती बजार वनबासा पुग्न लाग्ने खर्च र वनबासादेखि महेन्द्रनगर पुग्न लाग्ने खर्च बराबर भएको उनी बताउँछन् ।

पाँच जनाको टोलीमा आएका उनीहरू जनही साढे चार सय भारु तिरेर अल्मोडाबाट वनबासा पुगेको बताउँछन् । तर, वनबासाबाट महेन्द्रनगरसम्म टाँगावालाले दुई सय भारु भन्सार र प्रहरी तथा नेपालतर्फका सुरक्षाकर्मीलाई पनि त्यति नै तिरेको रोकायाको कथन छ । घर फर्किंदा सीमा सुरक्षाकर्मीको अवैध असुली, सवारी साधनले लिने दोब्बर/तेब्बर भाडा आदिका कारण पहिल्यैदेखि नेपालीले सास्ती खेप्नुपरेको छ । चाडपर्वका बेला लत्ताकपडासहित गुन्टागुन्टी ल्याएर घर फर्किने क्रममा आफूहरूले अझ बढी पीडित हुनुपरेको कामदारहरूको गुनासो छ । १२ वर्षकै उमेरदेखि काम खोज्दै भारत पस्न थालेका बाजुरा, बुढीगंगाका काल्चे लोहार भन्छन्, “अचे ल त दुव्र्यवहार र असुली झन् बढेको छ, जाँच गर्ने ठाउँ पनि थपिएका छन् ।”

नेपालका प्राय: प्रधानमन्त्रीले आफ्नो पहिलो विदेश भ्रमणमा भारत रोज्छन् । दुवै पक्षबीच सीमा आवागमन सहज बनाउनेबारे छलफल पनि चल्छ । तर, व्यवहार फेरिँदैन । भारतबाट नेपाल पुगुन्जेल ठाउँठाउँमा लुटिन्छन् नेपाली कामदार । बीच बाटोमा सुरक्षाकर्मीबाट मात्रै होइन, लुटेराहरूसमेतको निसानामा पर्दै आएका छन् । काम गर्ने स्थलबाटै पछ्याएर बसपार्क, होटल, सीमा क्षेत्रमा नशालु पदार्थ खुवाएर बेहोस बनाई लुटिन्छन् ।

कतिपय सवारी साधन वनबासाबाट सीमासम्म मात्रै चल्छन् । बढी भाडा लिएमा तिनको पहिचान गर्नसमेत नसकिने नेपाली सुरक्षाकर्मीहरू बताउँछन् । तर, महेन्द्रनगरसम्म पुग्ने टाँगा र अन्य सवारी साधनलाई निगरानीमा राखिने गरेको पीडितहरू बताउँछन् । “बढी भाडा लिने चार टाँगा चालकलाई गत बुधबार कारबाही गरिएको छ,” महेन्द्रनगर बसपार्कमा रहेको प्रहरी विटका इन्चार्ज सई देवबहादुर कुँवर भन्छन्, “तर, यात्रुहरूले नै आफूले बढी भाडा तिरेको नबताउँदा कारबाही गर्न समस्या हुन्छ ।”

सधैँको मुद्दा, समाधान शून्य

नेपाल–भारत सीमास्तरीय बैठकमा जतिबेला पनि सीमामा हुने दुव्र्यवहार न्यूनीकरणका लागि पहल गर्ने सहमति हुन्छ । पहिलो प्राथमिकता पनि यही विषयले पाउँछ । तर, अवस्था भने जहाँको त्यहीँ छ । सीमा क्षेत्रका जिल्ला सुरक्षा प्रमुखहरू सम्मिलित समकक्षीहरूको बैठक हरेक तीन–तीन महिनामा भारत र नेपालमा पालैपालो सञ्चालन हुने गर्छ ।

यस्ता बैठकमा नेपाली पक्षले उठाउने पहिलो र सदावहार मुद्दा पनि यही हुन्छ । बैठकमा भारतीय अधिकारीहरूले सुधार गर्ने प्रतिबद्धता जनाउँछन् । “सीमास्तरीय हरेक बैठकमा सीमामा यात्रुमाथि हुने दुव्र्यवहार र अवैध असुली रोक्ने सहमति हुन्छ,” सीमा क्षेत्रका एक नेपाली सुरक्षाकर्मीको अनुभव छ, “तर, भारतीय सुरक्षाकर्मीको व्यवहार भने फेरिँदैन ।” साथै, सीमामा हुने आपराधिक गतिविधि नियन्त्रणका विषयमा दुवै पक्षले आपसी समन्वय गर्ने प्रतिबद्धता जनाउने गरेका छन् । तर, नशालु पदार्थ खुवाएर लुटिने गरेको अधिकांश घटना सीमा क्षेत्रमै हुने गरेको पाइन्छ । एक–दुई घटनामा बाहेक अधिकांश दोषी पत्तै लाग्दैनन् ।

भारु ल्याउन समस्या

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला पाँच सय र एक हजारका भारु नोट २५ हजारसम्म निर्वाध रूपमा ल्याउन दिने घोषणा गरेका थिए । केही समयसम्म मोदीको घोषणा कार्यान्वयन पनि भयो । तर, अघिल्लो वर्ष भारतमा नोटबन्दी भएपछि पाँच सयमाथिका भारु नोटहरू नेपाल ल्याउन समस्या भइरहेको छ । सीमामा जाँच गरेर भारु लैजान नपाउने भन्दै दु:ख दिने गरेको कामदारहरू बताउँछन् । “यसकै कारण हामीले उनीहरूलाई पैसा तिर्नुपरेको छ,” अल्मोडाबाटै हालै घर फर्किएका मुगुका रामबहादुर गिरीको दु:खसो छ, “भारतीय प्रहरीले भन्सार–चौकीमा लट्ठीले घोचेर निकाल भारु भन्दै धम्काए ।”

नोटबन्दीपछि पाँच सय र दुई हजारका नोट बोक्न झन् समस्या भएको कामदारहरू बताउँछन् । नेपालीले भारतमा खाता खोल्न नपाउने भएकाले बैंकबाट रकम पठाउन सक्दैनन् ।

तथ्यांक नै छैन

भारतमा कति कामदार छन्, वर्षमा कति जान्छन् र कति घर फर्किन्छन् भन्नेबारे सरकारी निकायमा कुनै जानकारी छैन । भारत–पाकिस्तान विभाजन हुनुअघिदेखि नेपालीहरू कामको खोजीमा लाहोरसम्म पुग्थे । लाहोर जाने कामदारलाई लाहुरे भन्ने चलन छ । सुरक्षित आप्रवासनको क्षेत्रमा कार्यरत संस्थाहरूका अनुसार भारतमा ३० लाखभन्दा बढी नेपाली कामदार छन् । दर्जनौँ सहरमा भरिया, भान्छेदेखि चौकीदारसम्मका छन् । उनीहरूको श्रमको तुलनामा पारिश्रमिक भने न्यून छ ।

पोहोर फागुनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको रोजगारी अवस्थालाई व्यवस्थित गरिने घोषणा गरेका थिए । त्यसबेला उनले परिचयपत्र, तथ्यांक संकलनसँगै बिमासमेत गरिने घोषणा गरेका थिए । तर, घोषणा भने घोषणामै सीमित रह्यो ।

भारतमा धेरै बेपत्ता

डोटीको केआईसिंह गाउँपालिका–६ का ३५ वर्षीय कृष्णराज जोशी १० वर्षअघि काम खोज्दै भारतको बैंग्लोर पुगेर दुई–तीन वर्ष काम गरी दिल्ली फर्किए । दिल्लीमा उनले ट्रयाक्टर सोरुमका कामदारका लागि खाना पकाउने काम पाए । तर, काम सुरु गरेकै साता कामदारबीच झगडा भएर एक नेपालीको मृत्यु भयो । उनी प्रत्यक्षदर्शी भएका कारण जेल परे ।

सम्पर्क हुन नसकेपछि परिवारले आसै मारिसकेको थियो । तर, ६ वर्षपछि उनी जेलमुक्त भएर घर फर्किंदा परिवार निकै खुसी भयो । केही दिन घरमा बसेर उनी फेरि भारततिरै लागे । “तिहाड जेलमा थुप्रै नेपाली छन्,” दुई महिनाअघि घर फर्किएका बेला जोशीले सुनाए, “अधिकांश नेपाली कामदार बिनाकारण तथा कसुरसमेत थाहा नपाएर दु:ख भोगिरहेका छन् ।”

जोशीकै भनाइलाई आधार मान्ने हो भने पनि भारतीय जेलमा रहेका नेपालीको तथ्यांक ठूलो छ । भारतस्थित नेपाली दूतावासले यही वर्षदेखि भारतका विभिन्न जेलमा रहेका नेपालीको खोजी गर्ने काम सुरु गरेको छ । गत मंसिरमा हिमाचलको एक कारागारमा २४ भन्दा बढी नेपाली भेटिएको कार्यवाहक राजदूत भरतकुमार रेग्मीे बताउँछन् । उनले अन्य कारागारमा पनि नेपालीको अवस्थाबारे अध्ययनका लागि केन्द्रीय कारागार प्रशासनलाई जानकारी दिइएको र त्यसबारे जवाफ आइनसकेको सुनाउँछन् ।

हालको प्रदेश–७ का अधिकांश जिल्लाबाट काम खोज्दै भारत जाने गर्छन् । भारतमै बेखबर हुनेको संख्या पनि धेरै छ । एउटै गाउँबाट २०/३० जनासम्म छन् । उनीहरू वर्षाैंदेखि बेपत्ता हुँदा परिवारको गुजारा चलाउने समस्यासँगै घरजग्गा नामसारीदेखि अंशबन्डा आदिका कामसमेत रोकिएका छन् ।

प्रकाशित: वैशाख २, २०७५

ट्याग: रिपोर्ट