सेक्रेट स्टार

- विभु लुइटेल

अहिले नेपालमा सर्वाधिक रुचाइएका गायक को हुन् भनी सर्वेक्षण गरिए सायद अघिल्लो पंक्तिमै पर्लान्, नितेशजंग कुँवर, २५ । एक वर्षअघि मात्रै आफ्नो पहिलो गीत युट्युबमार्फत सार्वजनिक गरेका कुँवरलाई लोकप्रिय हुन धेरै समय लागेन । सबैले उनलाई सफल गायक तथा गीतकारका रूपमा हेर्न थालिसकेका छन् । कन्सर्टमा उनको नाम लिई चिच्याउने अनगिन्ती प्रशंसक हुन्छन् । युट्युबमा उनको च्यानल सब्स्क्राइब गर्नेको संख्या करिब एक लाख छ । उनका लागि मरिमेट्ने त झन् कति–कति ! युट्युबमा अपलोड गरिएका ३१ भिडियोलाई एक करोडपटक हेरिएको छ । तर, यिनै नितेशजंगले आफूलाई यो स्थानसम्म पुर्‍याउन के–कति संघर्ष गरे भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।

सानैदेखि संगीतमा तीक्ष्ण, पढाइमा कमजोर । यही बानीलाई मलजल गर्ने काम गरिदिए नितेशका बुबाले । छोरालाई सांगीतिक कार्यक्रममा लिएर जानेदेखि गितार बजाउनसम्म सिकाए, विभिन्न देशका गीत–संगीत सुनाए । नितेशको पढाइ खस्किँदै गयो । तर, गीत लेखन तथा गायनमा भने उनी निखारिँदै गए । स्कुल र कलेजका कार्यक्रममा उनी गितार बजाउँथे । भीडबाट गीत गाउन फर्माइस आएपछि उनी गाइदिन्थे । उनका साथीहरू नै पहिला दर्शक–श्रोता बने । उच्च शिक्षा सकिएपछि उनले रेस्टुराँहरूमा गीत गाउन थाले । पारिश्रमिक लिनुपर्छ भन्ने थाहासमेत थिएन, सित्तैँमा पाउने खाना र मदिरामा चित्त बुझाउँथे । पछिपछि पारिश्रमिक पनि माग्नुपर्ने रहेछ भन्ने चेत पलाउँदै गयो उनमा । तर, समयमै पैसा कसैले नदिने । उनले आक्रोश पोखे, “एक–दुई हजारका लागि दसपटक एकै ठाउँ धाउँथेँ ।” अहिले भने नितेशजंग सोचेभन्दा बढी पैसा कमाउँछन् ।

नितेशजंग कतै घुम्न गएका थिए, कक्षा १२ को परीक्षाफल प्रकाशित भइहाल्यो । फर्कने बेलासम्म राम्रो विषय पढाइ हुने प्राय: कलेज प्याक भइसकेका थिए । अन्त्यमा केही नलागेर बैंकिङ र बिमा पढ्न थाले । पढाइसँगै नाम चलेको एक कार कम्पनीमा काम गर्न थाले उनले । घरको आर्थिक समस्या टर्दै गयो । पैसाका लागि आमासामु हात फैलाउन पर्ने बाध्यता टर्‍यो । तर, उनी खुसी भने थिएनन् । भन्छन्, “म कुनै कम्पनीमा दैनिक आठ घन्टा काम गर्दै आफ्नो जीवन खेर फाल्न चाहँदैनथेँ ।”

एक दिन उनले जागिरबाट राजीनामा दिए । अब छोराले जीवनमा केही गर्दैन भन्ने बाआमालाई लाग्न थालिसकेको थियो । त्यसपछि उनले एक युट्युब च्यानल खोले । पहिलेदेखि नै गीत लेख्दै गाउने गर्थे । तर, युट्युबमा राख्न रेकर्डिङ गर्नुपथ्र्यो । उनलाई त्यसको आइडिया थिएन । आफ्नो पुरानो ल्यापटपमै उनी गीत रेकर्ड गर्थे । कोठा नै उनको रेकर्डिङ स्टुडियो भयो । गीत–संगीतसँग सम्बन्धित सबै काम उनी त्यहीँ गर्थे । अहिले भने उनका दिन फेरिएका छन् । सुविधासम्पन्न स्टुडियो सञ्चालक उनलाई रेकर्डिङका लागि बोलाउँछन् ।

मन थिएन यहाँ आउनलाई

मरिमेटी धन कमाउनलाई ।

के गर्नू देशभरि बेरोजगारी

थाम्न सकिएन ऋणको भारी ।

यो अंश वैदेशिक रोजगारमा गएका युवालाई लिएर उनले सिर्जना गरेको ‘हाम्रो नेपालमा’ गीतको हो । यो गीत करिब एक महिनासम्म नेपालमा युट्युब ट्रेन्डिङमा रह्यो । उनका अधिकांश गीत आममानिसले भोग्दै आएका समस्यालाई लिएर बनेका छन् । उनी सबैको आवाज बन्न सकूँ भन्ने सपना देख्छन् । उनको इच्छा छ, सबैले उनलाई नसुने पनि हुन्छ । “तर, सुन्नेमध्ये कम्तीमा एक जनाको जीवनमा पनि केही प्रभाव पर्‍यो भने म आफूलाई भाग्यमानी सोच्नेछु,” उनले आफ्नो आकांक्षा सुनाए ।

सामाजिक सञ्जालमा नितेशजंग र स्वप्न सुमनलाई तुलना गरेर हेरिन्छ । उनीहरूका प्रशंसकबीच यी दुईमा को राम्रो भन्ने विषयलाई लिएर झगडा नै पर्ने गर्छ । “स्वप्नको आफ्नो कथा छ, मेरो आफ्नै । ऊ एक प्रकारको गीत गाउँछ, म अर्कै । हामीलाई कसरी तुलना गर्न मिल्छ ?” उनी ट्रोल बनाउनेलाई प्रश्न गर्छन् ।

स्वप्न सुमन (सुमन थापा), २२, पनि युवा पुस्ताद्वारा रुचाइएका गीतकार, संगीतकार र गायक हुन् । एक प्रशंसकले त आफ्नो हातमा उनको नामको ट्याटुसमेत कुँदेकी छन् । आर्बिट्ररी रेकड् र्ससँग आबद्ध भएर गाउने उनका ‘कफी सङ’, ‘के सारो राम्री भाको’ जस्ता गीत अत्यधिक रुचाइएकामा पर्छन् । देश–विदेशमा हुने सांगीतिक कार्यक्रमका लागि उनको माग एकदम धेरै छ ।

यस्तै गायकको सूचीमा बर्तिका राई पनि पर्छिन् । उनले विम्बाकाश नाम गरेको एल्बम युट्युबबाटै सार्वजनिक गरेकी छन् । यसमा भएका ‘खै’ र ‘नजिक’ शीर्षकका गीत १५ लाखभन्दा बढी पटक हेरिएका छन् । यसै एल्बमका ‘खुसी’, ‘तिमी र म’, ‘हवाईजहाज’ र ‘ विम्बाकाश’ पनि लाखौँचोटि हेरिएका छन् ।

नेपाली सञ्चार क्षेत्रमा समृद्धि राई चिरपरिचित नाम हो । सुरुका दिनमा मोडलिङ गर्नेदेखि लिएर केही सौन्दर्य प्रतियोगितामा भाग लिने समृद्धि अहिले नेपाली संगीतमा अभिरुचि राख्नेका लागि प्रिय नाम बनिसकेकी छन् । भूकम्पपीडितको सहयोगका लागि सिन्धुपाल्चोक पुगेका समृद्धिका साथी क्याप्टेन सुबेक श्रेष्ठको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भयो । उनकै सम्झनामा समृद्धिले लेखेको मर्मस्पर्शी गीत ‘सुबेक’ धेरैले मन पराएका छन् । रोहितजोन क्षत्रीसँग मिलेर उनले बनाएको गीत ‘प्रयास’ युट्युबमा २१ लाखभन्दा बढी पटक हेरिएको छ । उनको ‘मचाहिँ नेपाली’ शीर्षकको गीत १० लाखचोटिभन्दा बढी हेरिएको छ । संगीत र स्वरभन्दा पनि बढी यो गीतको बोल धेरैको रोजाइमा पर्छ ।

को आदिवासी, को जनजाति

के हामी एकै होइनौँ र ?

त्यसैले जातभात

छुट्याउनेलाई

तिमी यही भन्ने गर

तिमी को हौ थाहा

भएन

मचाहिँ नेपाली ।

पाँच वर्षको उमेरदेखि समृद्धिले गाउन थालेकी हुन् । त्यतिबेला उनी आफ्नो टोलको चर्चमा भजन गाउँथिन् । गीत लेख्न थालेको भने किशोरावस्थादेखि नै हो । यिनै समृद्धि काठमाडौँका धेरैजसो कफी सपमा बसी गीत लेखिरहेकी हुन्छिन् । अगाडि आएर कसैले प्रशंसा गरिदिँदा उनी हर्षित हुन्छिन् । आफ्ना प्रशंसकलाई उनी ‘फ्यान’ होइन, ‘ फ्रेन्ड’ भन्न रुचाउँछिन् ।

यस क्षेत्रमा आफ्नो पहिचान बनाउन संघर्षरत रहँदा समृद्धिले कहिल्यै हार खाइनन् । उनी यसैलाई आफ्नो सबैभन्दा महत्त्वपूर्ण उपलब्धि मान्छिन् । यस क्षेत्रमा आउन उनले जोखिम उठाइन् । नसोचेको सफलता पनि हात पारिरहेकी छन् । मिहिनेत गर्न भने छाडेकी छैनन् । ०७५ मा हरेक महिना कम्तीमा एउटा गीत सार्वजनिक गर्न चाहन्छिन् ।

अमेरिका बस्दै आएका सज्जनराज वैद्यका प्रशंसकको संख्या पनि कम छैन । उनको ‘चिट्ठीभित्र’ शीर्षकको गीत २८ लाखभन्दा धेरैपटक युट्युबमा हेरिएको छ । यो गीत रिलिज भएको केही सातासम्म ट्रेन्डिङमा पनि परेको थियो ।

सज्जनले गुरु मान्ने धेरै छन् । तर, उनी आफ्नो सबैभन्दा ठूलो गुरु लोडसेडिङलाई मान्छन् । घरमा बत्ती नहुँदा आमा, बा र दाइसँग भान्छामा खाना पकाउँदै उनी विभिन्न विधाका गीत गाउँथे । सिंगो घरमै सांगीतिक माहोल हुन्थ्यो । बिस्तारै उनी आपँैm गीत लेख्न थाले, गितार बजाउँदै तिनमा आपँैm संगीत भर्न थाले । अमेरिका गएपछि आफ्नै युट्युब च्यानल खोलेर आफ्ना गीतहरू अपलोड गर्न थाले । “अलि परिपक्व हुँदै गएपछि पुराना गीतमा गल्ती भेट्न थालेँ । त्यसैले डिलिट गर्दै गएँ,” उनले भने । तर, प्रशंसकका हृदयमा भने उनका गीतले अमिट छाप छाडिसकेका छन् ।

सज्जनको सुर जति कसिलो छ, त्यति नै बलियो छ ताल । उनले कुनै औपचारिक प्रशिक्षण भने लिएका छैनन् । नोवो अमोर, गेविन जेम्स, जोन मेयरजस्ता गायकका गीत सुनेरै उनले धेरै सिक्ने गरेका छन् । उनी यसरी नै अरूले बजाएको हेर्दै किबोर्ड र ड्रम बजाउन पनि सिक्न चाहन्छन् ।

सज्जनले युट्युबका माध्यमबाट हजारौँ प्रशंसक कमाएका छन् । अमेरिकामै पनि उनका कन्सर्ट टिकट काटेर हेर्न आउनेको संख्या ठूलो छ । युट्युबको प्रतिक्रियामार्फत आउने प्रेमप्रस्ताव पनि थुप्रै छन् । यी सबैले उनलाई खुसी तुल्याउँछन् ।

“सबैले माया गर्नुहुन्छ, खुसी लाग्छ । तर, आमाले ममाथि गौरव गर्छु भन्दाको जति खुसी अर्थोक केहीले बनाउँदैन,” उनले खुसीका शब्द खर्चिए ।

सज्जनजस्तै अमेरिकामा बसी नेपाली गीत गाउने अर्का प्रतिभा हुन्, बिक्की गुरुङ । उनी न्युयोर्कको एक कम्पनीमा व्यापार विश्लेषकका रूपमा काम गर्छन् । फुर्सदको समयमा गीत लेख्छन्, गाउँछन् अनि अपलोड गर्छन् । उनी पूर्णकालीन गायक होइनन् । उनका गीतको संख्या साह्रै थोरै छ । तर, सबैले तिनलाई रुचाएका छन् ।

“इन्टरनेट नै नभइदिएको भए म के गर्थें होला ?” आफ्ना गीत–संगीत लोकप्रिय हुनुका पछाडि इन्टरनेटको भूमिका महत्त्वपूर्ण रहेको बताउँछन् उनी । इन्टरनेट नभएको समयमा पनि नेपालमा गीतकार, संगीतकार तथा गायकहरू लोकप्रिय हुने गर्थे । तर, त्यसबेला मिहिनेत पनि प्रशस्त गर्नुपथ्र्यो । अहिले प्रविधि–विकाससँगै थोरै परिश्रम गरेर मात्रै पनि जो कोहीका लागि आफ्नो प्रतिभा प्रदर्शन गर्न सहज भएको उनको बुझाइ छ ।

राम्रो काम गरिरहेकाको खुट्टा तान्ने धेरै हुन्छन् । बिक्कीका हकमा पनि यो लागू हुन्छ । युट्युब र अन्य सामाजिक सञ्जालमा उनलाई थुप्रैले गाली गर्छन् । तर, गाली गर्नेसँग उनको कुनै गुनासो छैन । “मलाई गाली गर्नेलाई धन्यवाद भन्न मन लाग्छ,” उनले भने, “किनभने, राम्रा–नराम्रा प्रतिक्रियाले अझ राम्रा गीत सिर्जना गर्न हौसला दिन्छ ।”

“गीत–संगीतको क्षेत्रमा पैसा त छ तर धैर्य गर्न सिक्नुपर्छ । एउटा गीत निकालेँ, अब पैसाको छेलोखेलो हुन्छ भन्ने सोचचाहिँ राख्नुहुन्न,” बिक्की यस क्षेत्रमा आउन चाहने तथा आइरहेका नयाँ कलाकारलाईसुझाव दिन्छन् ।

प्रकाशित: वैशाख २, २०७५