'राजनीतिक परिवारबाट आएकाहरू सौन्दर्य प्रतियोगितामा भाग लिन आउनु राम्रो’

- विभु लुइटेल

मिस नेपाल– २०१८ मा हेटौँडाकी शृङ्खला खतिवडा, २२, ले अन्य २४ प्रतिद्वन्द्वीलाई उछिन्दै मिस नेपाल वल्र्डको ताज पहिरिन् । यसका अतिरिक्त ‘मिस ब्युटिफुल हेयर’ र ‘फेस अफ फेसिनो’को उपाधि पनि उनकै पोल्टामा परे । थापाथली इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चरमा स्नातक खतिवडाले आउँदो डिसेम्बरमा चीनमा हुने मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । मिस नेपाल चुनिएको पर्सिपल्ट नेपालसँग कुराकानी गर्न उनी कान्तिपुर मिडिया ग्रुपको कार्यालयमा तयार भइन् उनीसँग कुराकानी :

मिस नेपाल ताजको भार कस्तो हुँदो रहेछ ?

ताज त हल्का नै छ । तर, यससँगै आएका जिम्मेवारीचाहिँ भारी छन् । कुनै अन्तर्राष्ट्रिय मञ्चमा देशको इज्जतका लागि प्रतिस्पर्धा गर्नु सानो कुरो होइन । यसका लागि मैले प्रशस्तै मिहिनेत गर्नुपर्ने हुन्छ ।

तपाईंको उपाधिलाई बुबा (विरोध खतिवडा)को राजनीतिसँग जोडेर पनि हेरियो नि ?

सकारात्मक रूपमै हेर्छु । राजनीतिक परिवारबाट आएकाहरू यसरी सौन्दर्य प्रतियोगितामा भाग लिन आउनु राम्रो हो । पहिले पनि धेरै आउनुभएको छ । पहिले राजनीतिक स्तरबाटै यस्ता प्रतियोगिताको विरोध हुने गर्थे । अहिले त्यस्तो भएन ।

बुबा के भन्नुहुन्छ ?

‘आई एम प्राउड अफ यू’ भन्नुहुन्छ । मेरो जितले उहाँ निकै खुसी हुनुहुन्छ । मेरो उद्देश्य मिस नेपाल बन्नुभन्दा पनि समाजमा केही परिवर्तन ल्याउनु हो । आफूले कमाएको लोकप्रियताको सदुपयोग गरी अरूको हितका लागि काम गर्ने इच्छा छ मेरो । बुबा यसबारे अवगत हुनुहुन्छ । त्यसैले, अझ प्रगति गर्दै जान प्रेरणा दिइरहनुहुन्छ ।

नयाँ सरकारका सुरुआती कामलाई कसरी हेर्नुभएको छ ?

देश बल्ल प्रभावकारी ढंगले संघीयतातर्फ अघि बढ्ने क्रममा छ । विकासका थुप्रै आयोजना प्रस्तावित भएका छन् । उहाँहरूले अहिले आप् mनो क्षमता प्रमाणित गर्ने समय हो । सफल पनि हुनुहोला भन्ने लाग्छ । तर, मैले नबुझेको एउटा कुरा, नयाँ सरकार पुराना सरकारले प्रस्ताव गरेका राम्रा परियोजनामा पनि काम गरौँ भन्नेचाहिँ किन सोच्दैन ?

नेपालमा महिला किन पछि परेका होलान् ?

राजनीति तथा विकास निर्माणका कार्यमा पुरुषकै बाहुल्य छ । तिनमा महिलाको संख्या किन यति न्यून ? लैंगिक विभेद अहिलेचाहिँ पहिलेभन्दा निकै कम भएको हो । यसलाई अझै कम गर्दै लैजान महिला आफैँ पनि सचेत हुनुपर्छ ।

नेपालीचाहिँ किन पछि परेका ?

हामी आफू केही गर्नुभन्दा बढी अरूले किन गरेनन् भन्ने गुनासा धेरै गर्छौं । अधिकार खोज्छौँ । तर, जिम्मेवारी निर्वाह गर्ने बेला पछि हट्छौँ । अब यस्तो तरिका बदल्न जरुरी छ ।

विदेश जानेबारे सोच्नुभएन ?

अहँ, सोचिनँ । मलाई नेपालमै केही गर्नु छ । मैले थुप्रै परियोजनाका अवधारणा पनि तयार गरेकी छु । बिस्तारै सबै पूरा गर्दै जानेछु ।

मिस वल्र्डको ब्युटी विद अ पर्पसमा के विषयमा काम गर्नुहुनेछ ?

भूकम्पले भत्किएका घर बनाउन सरकारले हरेक घरका लागि तीन लाख रुपियाँ छुट्याएको थियो । सबैले पहिलो किस्ता मात्र हात पारेका छन् । दोस्रो किस्ता पाउन घरको नक्सा बनेको हुनुपर्छ । सहरमा आर्किटेक्ट र इन्जिनियरको संख्या ठूलो छ । तर, कतिपय गाउँमा एक जना आर्किटेक्ट पनि छैनन् । म पेसाले आर्किटेक्ट हुँ । भूकम्पछि सिन्धुपाल्चोकमा २ सय २५ घरका लागि नक्सा बनाएको अनुभव छ मसँग । यस्तै कार्य अब भीमफेदीमा गर्ने लक्ष्य राखेकी छु ।

मिस नेपालमध्ये धेरैजसो त्यत्तिकै हराउँछन् नि ?

सबैले समाजका लागि आफूले सकेको गरिरहेका पनि छन् । सबै आफ्नै करियरलाई अघि बढाइरहेका छन् । सञ्चारमाध्यमले नयाँ मिस नेपाललाई बढी स्थान दिने हुँदा पुराना ओझेल परेका मात्र हुन् ।

प्रकाशित: वैशाख २, २०७५

ट्याग: अचानक