टोयटा रसको प्रि–बुकिङ सुरु

- नेपाल संवाददाता

पाँच महिनाअघि मात्रै सार्वजनिक भएको टोयटाको नयाँ एसयूभी रसको प्रि–बुकिङ नेपालमा पनि सुरु भएको छ । तर, यो कार आधिकारिक रूपमा कहिले नेपाल आइपुग्ने बताइएको छैन । भारतमा पनि कहिले यो गाडी लन्च हुने हो, अझै टुंगो लागेको छैन । भारतीय बजारमा यसको मूल्य आठ लाख भारुबाट सुरु हुने अनुमान गरिएको छ । नेपालमा भने यसको मूल्यबारे कुनै जानकारी दिइएको छैन । 

नयाँ आउने टोयटा रस दोस्रो जेनेरेसनको एसयूभी हुनेछ । र, यसमा चालकसहित सात जनाका लागि ठाउँ हुनेछ । यो गाडी १५ सय सीसीको पेट्रोल इन्जिनबाट सञ्चालित छ । यो इन्जिनबाट १ सय ४ ब्रेक हर्षपावर बराबरको अधिकतम शक्ति निस्किन्छ । यसको टर्क क्षमता भने १ सय ४० न्युटन मिटरको छ । 

यो गाडीमा चार गियरको अटोमेटिक अथवा पाँच गियरको म्यानुअल ट्रान्समिसन सिस्टम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स २२ सेन्टिमिटरको छ । त्यस्तै, यसका अन्य उपयोगी फिचरमा इलेक्ट्रोनिक ब्रेक डिस्ट्रिब्युसन, हिल स्टार्ट एसिस्ट आदिसहित ६ वटा एयरब्याग रहनेछन् ।  

प्रकाशित: वैशाख २, २०७५