लिली बिली : सूत्रमै संकुचित

- गोकर्ण गौतम

सुकिला–मुकिला र चिरिच्याट्ट परेका हिरो–हिरोइन, रोमान्टिक गीत, केही पन्चलाइन, रोनाधोना अनि युरोपका मनोरम लोकेसन । यी गुणले मात्र फिल्मलाई स्तरीय बनाउँछ त ? नबनाउँदो रहेछ, लिली बिली त्यसको नमुना हो । यसको आवरण चहकिलो छ तर गुदी फिक्का । फिल्म केवल सुन्दर दृश्यहरूको कोलाज त पक्कै होइन । हरेक दृश्यमा कथा अन्तरनिहित हुनुपर्छ । तर, निर्देशक मिलन चाम्स कथाभन्दा लोकेसन अनि चरित्रभन्दा स्टारमा बढी भर परेकाले लिली बिली हेर्दा आँत भरिँदैन, केवल आँखालाई शीतलता दिन्छ, दृश्यले । लोभलाग्दो फ्यान फलोइङ कमाएका प्रदीप खड्काले ‘ म्याजिक’ देखाएका छैनन् । निर्देशक चाम्स, पटकथाकार प्रदीप भारद्वाज र अभिनेता प्रदीप जेनतेन तन्नेरी दर्शकलाई ‘होल्ड’ गर्न एकहदसम्म सफल छन् ।

विछोडले छट्पटिइरहेकी श्रुति (जसिता गुरुङ) को संयोगले आभास (प्रदीप)सँग भेट हुन्छ । आभासको आगमनले श्रुति राहत महसुस गर्छिन् । दुवै बिस्तारै नजिक हुन्छन् । तर, त्यही बेला श्रुतिको ‘इन्गेजमेन्ट’ तय हुन्छ । उनीहरूको प्रेमयात्रा यहीँ टुंगिएला ? कि कुनै नयाँ मोड आउँछ ? यत्ति हो, आक्कल–झुक्कल नेपाली फिल्म हेर्नेले पनि मध्यान्तरपछि क्लाइमेक्स अन्दाज लगाउन सक्छन् ।

हामीकहाँ बन्ने फिल्मको मूल समस्या पात्रको ‘इमोसन’ दर्शकसम्म प्रवाह नहुनु हो । यो कमजोरीबाट लिली बिली उम्कन सकेको छैन । सुरुआती दृश्यबाटै श्रुतिका आँखा टिल्पिलाइरहेका हुन्छन् । तर, त्यसको कारण दर्शकसम्म पर्याप्त सञ्चार हुँदैन । त्यस्तै सतही लाग्छ, उनी र आभासको सम्बन्ध पनि । बरू, आभासले उनलाई फकाएका दृश्य रमाइला छन् । उनीहरूको पहिलो भेटको प्रसंगलाई अन्तिमसम्मै जोड्ने प्रयास गरिएको छ । तर, मुख्य पात्रको पृष्ठभूमिलाई पटकथाकार र निर्देशकले गरेको नजरअन्दाज खट्किने अर्को पक्ष हो । मध्यान्तरसम्म आभास को हुन्, युरोपमा के गर्छन्, उनको अन्य व्यक्तिसँगको सम्बन्ध र स्वभावजस्ता पक्ष बेवास्ता गरिएको छ । सोही कारण उक्त पात्र अपेक्षाकृत आत्मीय लाग्दैन । मध्यान्तरपछि आभासको पृष्ठभूमि केही खुलाइए पनि प्रभावकारी छैन ।

फिल्ममा प्रियंका कार्कीको प्रवेशलाई निर्देशकले ‘ट्वीस्ट’का रूपमा प्रयोग गर्न खोजेका छन् । तर, अस्पताल जानुअघिको श्रुतिको मनोवादले त्यो रहस्यको पूर्वानुमान हुन्छ । प्रियंका र प्रदीपको पहिलो भेट नाटकीय लाग्छ तर, प्रियंकाले जब आफ्नो कथा सुनाउँछिन्, दर्शकको ध्यान खिचिँदै जान्छ । छोटै भए पनि उनको चरित्रलाई दर्शकले बिर्सन सक्दैनन् । जसले जे नाम भन्यो, त्यसकै छन्द मिलाएर आभासले आफ्नो नाम भन्नुको कारण मर्मस्पर्शी छ । बच्चा छँदा उनको र गाउँले जँड्याहाको सम्बन्धले भावुक बनाउँछ । तर, छुटाउनै नहुने कुरा लिली बिली हेरिरहँदा कथा र कथावाचन शैलीमा मौलिकताको छनक पाइन्न । करण जौहर र इम्तियाज अली मार्काको फिल्मको बरोबर झल्को आइरहन्छ । कारण पटकथाकार र निर्देशकलाई पक्कै थाहा होला । हिन्दी फिल्मका नियमित दर्शकचाहिँ कुन प्लट कुन फिल्मबाट सापटी लिइएको हो, ठम्याउँदा हैरान होलान् ।

गाडी हराउँछ तर भोलिपल्ट कुनै सुर्ता हुन्न । छोरी घरबाट भाग्छिन् तर बाबुको छटपटी पर्दामा देखिन्न । न अनुपविक्रम शाहीको हिंस्रक प्रवृत्ति स्वाभाविक लाग्छ, न क्षणभरमा उनमा देखिने उदारता । धरातल कमजोर भएका यस्ता पात्रको एउटै योगदान रहन्छ, फिल्मको साख गिराउने । कथावस्तु र चरित्र चयनमा प्रदीप फेरि पनि चनाखो देखिएनन् । अभिनयचाहिँ न बिग्रेको छ, न सप्रेको । उनले भुल्नु हुन्न, उनको दायित्व र उनीप्रतिको अपेक्षा यति मात्र होइन । पहिलो फिल्ममा जसिताको प्रभाव औसत छ । प्रियंकाको अभिनय स्वाभाविक लाग्छ ।

गीत श्रुतिमधुर छन् । युरोपका आँखा लोभ्याउने लोकेसनलाई सुदीप बरालले सुन्दर शैलीमा कैद गरेका छन् । एकाध ठाउँमा बाहेक ब्याकग्राउन्ड स्कोरले दृश्यको भावलाई आत्मसात् गरेको छ । छुटाउनै नहुने कुरा, निर्माताले जसरी दिल खोलेर खर्च गरेका छन्, पटकथाकार र निर्देशकले सोही अनुपातमा दिल र दिमाग खर्चेर दृश्य सिर्जेका छैनन् । फेरि पनि भनुँ, कति सानदार लोकेसनमा कति महँगो क्यामेराले खिचेको छ र कुन स्टारले फिल्म खेलेको छ, त्यसमा निर्देशकले पहिलो जस पाउँदैनन् । रसिलो कथालाई कसिलो शैलीमा भन्ने धर्म हो निर्देशकको । यसमा कति सफल छु, निर्देशक स्वयंले आत्ममूल्यांकन गर्नु उचित होला । दृश्यको भौतिक भव्यतासँग कथाको सिर्जनात्मक तादात्म्यता नमिल्दाको परिणाम हो, लिली बिली । हेर्दा यस्तै–यस्तै लाग्छ ।

मन छुने प्रेमकथा हेर्ने प्यास लिली बिलीले मेट्दैन । तर, प्रदीपका ‘हार्डकोर फ्यान’लाई रिझाउन सक्छ । अनि, परम्परागत सूत्रप्रेमीलाई पनि निराश नपार्ला । किनभने, लिली बिली सूत्रभन्दा रत्तिभर माथि उठेको छैन ।

प्रकाशित: चैत्र ३०, २०७४

ट्याग: फिल्म