[नोटबुक] नेपालगन्जमा १९ वर्ष

- जनक नेपाल

नेपालगन्जले मलाई पत्रकार बनायो र १९ वर्ष त्यहीँं हुर्कायो । यसबीचमा माओवादी ‘जनयुद्ध’ उत्कर्षमा पुग्यो र शान्तिपूर्ण अवतरण गर्‍यो । संघीयता प्राप्तिका लागि मधेसले नेपालगन्जबाटै विद्रोह सुरु गर्‍यो । नेपालमा महिला क्रिकेटको उदय पनि यसै सहरबाट भयो । यी घटनाको उद्गमथलो नै बन्यो, नेपालगन्ज । एउटा रिपोर्टरका रुपमा यी सबैको साक्षी बन्ने मौका मलाई जुर्‍यो ।

युद्धको बेस क्याम्प

विसं ०५५ तिर माओवादी ‘जनयुद्ध’ चर्किएका बेला मैले मध्यपश्चिमलाई रिपोर्टिङको कार्यक्षेत्र रोजेको थिएँ । संकटकालपछि खारा, कुसुम, गणेशपुर, सतबरिया, भालुवाङजस्ता ठूलो मानवीय मूल्य गुमाएका भिडन्त स्थल पुगेर आलै रिपोर्टिङ गरियो । सयौँ शव र हजारौँ घाइते देख्नुपर्‍यो । त्यसभन्दा धेरै द्वन्द्वपीडितका दु:ख र आँसुलाई नजिकबाट हेरियो ।

युद्ध जहाँ–जहाँ भए पनि त्यसको बेस क्याम्प नेपालगन्ज बनेको थियो । भिडन्तको खबरले रातभर अनिँदो भएर आफन्तहरु सबेरै विमानस्थल र अस्पताल पुग्थे । आफन्तको वियोगमा मूच्र्छा परेर ढलेका परिवारजनको तस्बिर कसरी लिने ! दु:खको व्यथा कसरी सोध्ने ! त्यो गाह्रो काम पेसागत धर्म ठानेर गरियो ।

द्वन्द्वको मारमा आफैँ पनि परियो । दुवैथरी बन्दुकधारीले आफ्नो पक्षमा कलम चलाउन पटक–पटक धम्क्याए । माओवादी नेताको तस्बिर भेटिएकै कारण सेनाको नियन्त्रणमा बस्नुपर्‍यो । अनि, अनुमतिबिना रिपोर्टिङमा आएको भन्दै ‘जनअदालत’मा मुद्दा खेप्नुपर्‍यो । अहिले सम्झिँदा लाग्छ, धन्न बाँचिएछ र त रिपोर्टिङमा फेरि कुद्न पाइएको छ ।

महिला क्रिकेट

नेपालमा महिला क्रिकेट खेलिँदैनथ्यो, विसं ०६१ सम्म । नेपालगन्जका स्कुले छात्राहरुले त्यो रहर देखाए । क्षेत्रीय क्रिकेट संघले पहल गर्‍यो । अनि, बल र ब्याट लिएका छात्राहरु मैदानमा देखिन थाले । केटाहरु ‘अब्बे देखो, क्रिकेटर’ भन्दै मजाक उडाउँथे । माघे झरीमा पनि अभ्यास रोकिएन । सहकर्मी वेदप्रकाश तिमिल्सेनालाई लिएर छात्राहरुको क्रिकेट अभ्यास हेर्न नेपालगन्ज र कोहलपुरका थुप्रै स्कुल चहारियो । महिला क्रिकेटको थालनी पक्कै महफ्वपूर्ण समाचार थियो । हामीले लेख्यौँ र पठायौँ । त्यो समाचार कान्तिपुरमा एंकरका लागि छानियो । तर, पालो कुर्नुपर्‍यो ।

भोलिपल्टै १९ माघ ०६१ । राजा ज्ञानेन्द्रको सम्बोधनलगत्तै टेलिफोन काटिए । काठमाडौँसँग पूरै सञ्चार विच्छेद भयो । फोन–फ्याक्स बन्द भएपछि के रिपोर्टिङ गर्ने ? कसरी पठाउने ? सेना र प्रहरीका गाडीहरु त्रास फैलाउँदै रफ्तारमा कुदिरहेका थिए । नेताहरु कता छन् ? कांग्रेस नेता सुशील कोइराला निवास पुगेको केहीबेरमै प्रहरीले उनलाई पक्राउ गर्‍यो । सञ्चारमाध्यमका कार्यालयमा सैनिक टोली पुगिसकेको थियो । पत्रकारहरुले स्थानीय सञ्चारमाध्यम बन्द गरेर सीमापारि रुपैडिया पुगेर प्रेस स्वतन्त्रताका लागि प्रदर्शन सुरू गरे । त्यो नै शाही कदमविरुद्धको पहिलो आवाज थियो ।

अर्को दिन अखबारमा राजनीतिक समाचार थिएनन् । एंकरका लागि राखिएको समाचार मुख्य समाचार बनेछ । क्रिकेटको ‘ब्रेकिङ’ कभरेज जायजै थियो । तर, त्यो क्रिकेटको समाचार छाप्ने समय थिएन । पछि तिनै किशोरी क्रिकेटरहरु अन्तर्राष्ट्रिय मैदानसम्म पुगे । सुरुआती १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीमा कप्तान नेरी थापा मगरसहित सात सदस्य नेपालगन्जकै थिए ।

मधेस विद्रोह

९–११ पुस ०६३ । दुई कारणबाट नेपालगन्जले सधैँ सम्झिइरहने मिति हो यो । एक, सद्भावना पार्टीले आह्वान गरेको मधेस बन्द भड्किएर भएको मधेसी–पहाडी दंगा । अर्को, त्यही असन्तुष्टिको जगमा उठेको मधेस विद्रोह ।

बन्दमा त्रिभुवन चोक र सदरलाइन बन्द भए पनि सुर्खेत रोड खुलै थियो । बन्दकर्ता लाठी लिएर निस्किए । सटरहरु फटाफट बन्द हुन थाले । बन्दकर्ताले बीपी चोकको एउटा होटलमा पकाइरहेको खाना फ्याँकिदिए । होटलवालाले प्रतिकार गर्दै बन्दकर्तालाई लखेटे । भागेका बन्दकर्ताले रोकिरहेका माइक्रोबस र कारमा त्यो आक्रोश पोखे । थुप्रै गाडीका सिसा फुटाइए । विरोधमा अर्को दिन यातायात व्यवसायीले निकालेको प्रतिकार जुलुस र मधेसी कार्यकर्ताहरु आमने–सामने भए । ढुंगा हानाहान भयो । बीपी चोकमा एउटा समुदाय विशेषका पसल छानीछानी आगो लगाइयो, लुटपाट मच्याइयो । त्रिभुवन चोकमा अर्को समुदायविरुद्ध त्यस्तै व्यवहार गरियो । मधेसी समुदायविरुद्ध गरिएका हर्कत र आगजनीको भिडियो एक माओवादी कार्यकर्ताले खिचेका थिए । दंगा रोकिएपछि उनले त्यसको सिडी बनाएर नेता मातृका यादवलाई दिए । यादवले हृदयेश त्रिपाठीलाई देखाए । पछि मध्यतराईमा आन्दोलन उठाउन त्यो सिडी गाउँ–गाउँमा देखाइयो ।

नेपालगन्जबाट सुरु भएको मधेस आन्दोलनले मुलुकलाई संघीयतामा लगेको छ । तर, भित्रभित्रै सल्किएको मधेसी–पहाडी भड्काउ अभियान मत्थर हुन भने अझै केही समय लाग्नेछ । यो सहरले यस्ता विविध सामाजिक असन्तुष्टि, दंगा र हिंसा बेहोरेको छ । तर, आफैँ सम्हालिएर छिट्टै उठ्न सक्ने सद्भावपूर्ण सामथ्र्य मैले नेपालगन्जमा मात्र देखेँ ।

प्रकाशित: चैत्र २८, २०७४

ट्याग: नोटबुक