[नेपाल वर्षव्यक्ति २०७४ : केपी ओली] शक्तिशाली कार्यकारी

- नेपाल संवाददाता

हरेक वर्षजसो नयाँ प्रधानमन्त्री पाइरहने नेपालले अब भने स्थिर सरकार र गतिमान् अर्थतन्त्र पाउने सम्भावना देखाएको छ । यो राष्ट्रिय आशाको अगुवाइ गरेका छन्, सर्वोच्च कार्यकारी बागडोर सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीले ।

प्रधानमन्त्री ओली, नेपालको वर्षव्यक्ति–२०७४ यसर्थ कि– बिनाकुनै सम्झौता उनी राजनीतिक असन्तुष्टिका एजेन्डाहरुको बैठान गराउन सफल भए । आफ्ना अडानका लागि तीन तहका चुनावमार्फत व्यापक जनअनुमोदन पाए । अर्को ठूलो वाम घटक माओवादीसँग एकताको मार्गचित्रसहित चुनावी गठबन्धनमार्फत उदाएका यी नेताले प्रधानमन्त्री चुनिएसँगै संसद्मा हालसम्मकै सर्वाधिक तीन चौथाइ विश्वासको मत पाए ।

एमाले अध्यक्ष ओली सत्ताको नेतृत्वमा झैँ आफ्नो पार्टीभित्र पनि प्रतिस्पर्धीविहीन देखिए । प्रधानमन्त्रीमा अधिकार केन्द्रीकृत गर्दै उनी हालसम्मकै शक्तिशाली लोकतान्त्रिक कार्यकारी बन्दैछन् । अनि, बराबरीका आधारमा छिमेकीसँग सम्बन्धको वकालत गर्दै उनी भूराजनीतिक मैदानका उल्लेख्य खेलाडीका रुपमा अघि सर्ने तयारीमा छन् ।

प्रकाशित: चैत्र २७, २०७४

ट्याग: आवरण