‘राजनीतिक क्रान्ति गरियो, अब विकासमा क्रान्ति’

- नेपाल संवाददाता

वर्षव्यक्ति अंकका लागि नेपाल टिमले भेटेको भोलिपल्ट २३ चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँदिल्ली उड्नुपर्ने थियो । सायद राजकीय भ्रमणकै तयारी हुनुपर्छ, दस्तावेजजस्ता लाग्ने कागजका प्रतिहरु बोकेर मन्त्री र उच्च तहका कर्मचारीहरु ओहोरदोहोर गरिरहेका थिए । पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतिरै व्यस्त देखिन्थे । मधेसवादी नेताहरु आउँदै–जाँदै थिए । ओलीको सहयोगी टिम पनि हस्याङफस्याङमै थियो । स्वयं ओली भने आफ्नै सुरमा । कुनै हतारोभाव थिएन ।

प्रधानमन्त्री भएको दुई महिना पुग्नै लाग्दा पहिलोपल्ट नेपाली प्रेसका लागि ओली खुल्दै थिए । डेढ घन्टा लामो अन्तर्वार्ताका क्रममा उनले आफ्नो पहिलो प्रधानमन्त्रीकालको सगर्व सम्झना गरे । वाम एकताका सजिला–अप्ठ्याराहरुको चर्चा गरे । विकास र समृद्धिका एजेन्डा छुटाउने कुरै भएन । भारत र चीनसँगको भूराजनीतिक उहापोह, प्रधानमन्त्रीका आफ्ना प्राथमिकता अनि भविष्यमुखी इच्छाहरु– यो अन्तर्वार्ता यसैको वरिपरि छ । प्रधानमन्त्री ओलीसँग सुधीर शर्माबसन्त बस्नेत र बाबुराम विश्वकर्माका प्रश्नहरु :

दुई तिहाइभन्दा बढी मतसहित शक्तिमान् प्रधानमन्त्री बन्नुभएको छ । जनअपेक्षा बढ्तै छन् । कत्तिको जिम्मेवारीबोध भइरहेको छ ?

म जेलमा थुनिँदा पनि आफूलाई देश र जनताप्रति समर्पित इमानदार नागरिक ठान्थेँ । ममा देशप्रतिको माया–ममता, निष्ठा र कर्तव्यबोध थियो । कर्तव्य पूरा गर्ने परिस्थिति र सामथ्र्यको अधिकता वा न्यूनता फरक हुन सक्छ । तर, देशप्रतिको निष्ठा फरक हुँदैन ।

म सम्पूर्ण इमानका साथ काम गर्छु । मलाई जनताले दिएको अभिमत र शक्ति काम गर्न सजिलो होस् भनेर हो । त्यसले मेरो निष्ठा र कर्तव्यबोधमा कुनै फरक पार्दैन । मैले यसपटकको निर्वाचनमा व्यक्तिगत तबरमा सर्वाधिक मत पाएँ । संसद्मा ऐतिहासिक रूपमा करिब ७८ प्रतिशत मत पाएँ र मानिसले कल्पना गरेभन्दा फरक ढंगले मधेसकेन्द्रित दलको पनि समर्थन पाएँ । नेपाली कांग्रेसका केही साथीहरूले पनि भने, तपार्इंलाई संसद्मा भोट हाल्ने इच्छा थियो तर दलीय बन्धनले गर्दा सकिएन, नमज्जा लागेको छ । यो समर्थन र सद्भावलाई मैले दुरुपयोग गर्दिनँ, सदुपयोग नै गर्छु ।

देशको अर्थतन्त्र नाजुक छ तर प्रकृति धनी छ । हिमाल, नदीनाला, हरिया पहाड, उर्बर फाँट सबै जीवनमय छन् । हावा, पानी, जमिन र जंगलमा जीवन छ, त्यसकारण यसलाई विकास गर्न सकिन्छ । राजनीतिक संघर्ष गरेर अहिलेको स्थितिमा पुगेका हौँ । अब हाम्रा एजेन्डा सुशासन र भ्रष्टाचार नियन्त्रण हुनेछन् । प्रशासनयन्त्रलाई शासन गर्ने नभई जनतालाई सेवा दिने यन्त्रका रूपमा प्रयोग गर्ने हो । विकासको औजार, उपकरण, अभियन्ता र संयोजन गर्ने सेतुका रूपमा प्रशासनयन्त्र प्रयोग हुन्छ । विकासको चालकका रूपमा प्रशासनयन्त्रलाई अघि बढाइन्छ ।

समृद्धिका लागि विज्ञान र प्रविधिको प्रयोग तथा योजनाबद्ध जनशक्ति विकास अबको प्राथमिकता हुन्छ । देशका लागि मानवीय स्रोतको विकास जरुरी छ । विज्ञ, विशेषज्ञ उत्पादन अहिलेको संसद् र मेरो प्रधानमन्त्रीको कार्यकाल (पाँच वर्षको होला वा कतिको होला, बेग्लै कुरा)मा एउटा महत्त्वपूर्ण काम हुनेछ । तर, हामीले पाँच वर्षमा सक्ने मात्र योजना बनाउने होइन, देशलाई विकास र अग्रगमनमा लैजान बाटो, बिजुली र कनेक्टिभिटी, हवाई मैदान र रेलको काम तीव्र गतिमा हुन्छ ।

विकास र समृद्धिको नारामा चुनावी समर्थन पाउनुभयो । तपाईंका खास प्राथमिकताचाहिँ केके हुन् ?

प्राथमिकता भनेर एउटा क्षेत्रमा मात्र जोड दिने कुरा होइन । हामी चौतर्फी विकासका प्रयासलाई अघि बढाउँछौँ । यसको अर्थ हो, ४०–५० लाख युवा देशबाहिर छन्, तिनलाई फर्काउन आकर्षक रोजगारी सिर्जना गर्नुछ । किनभने, युवाहरूले तुलनात्मक आकर्षण अन्यत्र देखे भने विदेश जाने खतरा हुन्छ, जुन अहिले भइरहेको छ । त्यसलाई रोक्न रोजगारीको विकल्प छैन । पूर्वाधार, ऊर्जा, कृषिको आधुनिकीकरण अनि त्यसले उत्पन्न गर्ने स–साना औद्योगिकीकरणबाट लाभ उपलब्ध गराउने अवसर सिर्जना गर्नेछ ।

पर्यटन, होटल व्यवसाय, विज्ञान प्रविधि, ई–गभर्नेन्स, ई–एजुकेसनका क्षेत्रमा व्यापक आधुनिकीकरण जरुरी छ । यसका लागि राष्ट्रिय अभियान छेडिन्छ, ड्राइभ दिइन्छ । सरकारी तबरबाट मात्र नभई निजी तबरबाट यसरी नै काम हुनुपर्छ । कर्णाली वा दुर्गमको साक्षरता प्रतिशत, विद्यालय भर्ना र पढाइ छाड्ने दर हेरियो भने ९६ प्रतिशत छ । अनि, रौतहटजस्तो सुगम ठाउँको भर्ना दर साह्रै न्यून छ । त्यसलाई बदल्नु छ । यसमा सबैले सहयोगी हात बढाउनैपर्छ । हरेक क्षेत्रमा यसरी ड्राइभ दिन्छौँ । राजनीतिक क्रान्ति गरियो, अब विकास, कृषि, व्यापार र औद्योगिक क्षेत्रमा क्रान्ति सुरु हुन्छ ।

उत्तरदक्षिणपूर्वपश्चिम रेलको कुरा गर्नुहुन्छ । नेपालीले कहिले देख्न पाऊलान् ?

तपाईंहरूले सम्पादन गर्दा यो लाइनचाहिँ नकाट्नुहोला, उत्तर–दक्षिण रेल, रक्सौल–काठमाडौँ रेल, केरुङ–काठमाडौँ रेल, काठमाडौँ–पोखरा रेलमार्ग बन्ने पक्का छ । काठमाडौँमा मेट्रो रेल अनि पूर्व–पश्चिम रेल गुड्छ, त्यो पनि निकट भविष्यमै ।

कतिपय मानिस भन्छन्केपी ओली सपना देखाउँछन्काम गर्दैनन् !

केपी ओलीले काम गर्दैन भन्नेहरूका लागि म एउटा रजिस्टर राखिदिन्छु । र, त्यहाँ नाम लेखेकाहरूलाई मैले कम्तीमा एकपटक काठमाडौँ–पोखराको रेल टिकट नि:शुल्क उपलब्ध गराउँछु । (प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालतिर हेर्दै) एउटा रजिस्टर राखिहाल्नुपर्‍यो, काम गर्दैन भन्नेहरूको नाम लेख्न । मेरो कुरा कति झूटो, कति साँचो भनेर उहाँहरूले रजिस्टरमा कमेन्ट पनि लेखे हुन्छ । त्यो कमेन्टको फोटोकपी म उहाँहरूलाई दिन्छु ।

म विद्रोही स्वभावको रहेँ । सत्ताविरुद्ध विद्रोह बोलेँ । धेरै वर्ष जेल बसेँ । अहिले मलाई जनताले कार्यकारी प्रधानमन्त्रीको कुर्सीमा यत्रो विश्वासका साथ राखेका छन् । मैले अरू गर्नु के छ ? अनेक घटना–दुर्घटनाबाट जोगिँदा–जोगिँदा नाफा (फाउ)को जिन्दगी पाएको छु, मलाई अरू केही गर्नु छैन । अविश्वास र शंका गर्न चाहनेलाई देखाइदिन चाहन्नँ । तर, म नेपालमा विकास गर्न चाहन्छु, त्यो विकास तिनीहरू आपैँmले देख्छन् ।

यी सब कुरा हँुदाहँुदै पनि तपाईंको यो कार्यकालको सुरुआत ज्यादै सुस्त भएन र ?

म जादुगर होइन, रुमाल देखाएर अन्डा बनाउने अनि अन्डा देखाएर रुमाल बनाउने । मैले रेल बनाउने कुरा एकछिनको होइन । सोचाइ, योजना, इन्जिनियर, सर्वे, लगानी आदि सबैको परिपूर्तिमा रेल चल्छ । यो कष्टसाध्य प्रयास र आकांक्षाको प्रतिफल हुन्छ । त्यसैले यो गफ होइन ।

अर्थमन्त्रीले सार्वजनिक गर्नुभएको श्वेतपत्रमा देशको ढुकुटी रित्तो नै देखाइएको छविकासको काम अघि बढाउन स्रोतको जोहो कसरी गर्ने त ?

देशको ढुकुटी रित्तिँदै गएको अलिअघिसम्म मात्र भन्न मिल्थ्यो । अब यो सरकार बनेपछि रित्तिँदै गएको भन्न मिल्दैन । नेपालले अब कहिल्यै पनि यसरी रित्तो अर्थतन्त्रको श्वेतपत्र जारी गर्ने छैन । दुई वर्षभित्र तुइन विस्थापित गरेर झोलुंगे पुल निर्माण गर्ने भनँे । मैले जनताको दु:ख नजिकबाट देखेकाले भारतसँग कुरा गरिरहेको छु, महाकालीपारिका गाउँको तुइन विस्थापित गरेर झोलुंगे पुल हाल्न देऊ भनेर । आज देशमा जुन रफ्तारमा झोलुंगे पुल बनेका छन् र तुइन विस्थापित भएका छन्, त्यो कुनै कथा होइन । कतिले भन्छन्, केपी ओलीले उखान–टुक्का हाल्यो । म भन्छु, झोलुंगे पुल उखान–टुक्का हो ?

तपाईंलाई आफ्नाबारेमा गरिने टीका– टिप्पणी र आलोचना कसरी थाहा हुन्छ ?

(हाँसो) । म नेपालमै छु ।

तपाईं राती अबेरसम्म इन्टरनेटसोसल मिडिया आदि चलाउनुहुन्छ रे !

हो, म अध्ययन गर्न रुचाउँछु । म मेला हेर्न जाने मानिसभन्दा पनि मेला सुरु गर्ने मान्छे हँु । म अभियानमा सरिक हुनेभन्दा अभियान सिर्जना गर्ने मान्छे हुँ ।

भनेपछि तपाईं आपैँसूचना लिनुहुन्छ ?

हो, म ब्रिफिङ सुन्नेभन्दा बढी आफू अध्ययन गर्छु ।

वाम सरकारप्रति निजी क्षेत्र आश्वस्त हुन सकेको छैनयस्तो स्थितिमा आर्थिक स्रोत जुटाउन कसरी सहज होला ?

म त्यसमा चिन्ता गर्दिनँ । पैसा भएर, धनी भएर कसैले विकास गरेको होइन र छैन । विकास गरेर मात्र देशहरू धनी भएका छन् । चीनसँग पैसा भएर विकास गरेको होइन, विकास गरेर धनी भएको हो । भारतले पनि पैसा भएर विकास गरेको होइन, विकास गर्‍यो अनि पैसा हुन थाल्यो । विकास पहिलो कुरा हो अनि पैसा । विकास आकांक्षा हो, विकास दृष्टिकोण र भिजन हो, विकास संकल्प हो । यति भएपछि विकास व्यवहारमा बदलिन्छ । बजेट नभएर विकास नभएको होइन ।

उदाहरण हेरौँ : खेत बाँझै छन् । तर, हाम्रा युवा गाउँतिर खाट जोडेर पप्लु–म्यारिज खेलेर बस्छन् । त्यहाँ पैसा नभएर खेत बाँझा भएका होइनन्, बाजी राख्न पैसा पुग्छ, कोदालो लिएर बारी खन्ने जाँगर छैन । बाँझो खेत खन्न बजेट र मानसिकतामध्ये दोस्रोले बाधा पारेको छ । हाम्रो जमिन, पाखुरा र पसिनाको सदुपयोग गर्ने हो, विकास हुन्छ । यहाँ बजेटको कुरा कहाँ छ ? त्यसैले विकासका कुरा आउनेबित्तिकै सम्पूर्ण कुरा बजेटको टाउकोमा हाल्ने प्रवृत्ति उचित होइन ।

कोदालो लिएर खेतमा नजाने, खाटमा बसेर पप्लु खेल्ने अनि भाग्यका भरमा बसेर उन्नति हुँदैन । काम नगरेर गरिब भएको हो भने त्यो उल्टिनुपर्छ । त्यसकारण विकासका लागि बजेट बाधक बन्दैन । किनभने, हाम्रा विकासका आकांक्षाहरूमा हाम्रा सबल छिमेकीहरू सहयात्री हुन तयार छन्, विकास अघि बढाउन अप्ठ्यारो छैन ।

तपाईं अलि ठूला पूर्वाधारमा लगानी बढाउनेमा ध्यान दिँदै हुनुुहुन्छ तर कतिपयले जनतालाई चाहिँ सफा हावासफा पानीमहँगी नियन्त्रणसुलभ शिक्षास्वास्थ्य चाहिएको भनी बहस गर्छन् । आवश्यकता र योजनाबीच कसरी सन्तुलन मिलाउने ?

गाउँमा एउटा बूढा थिए, हिँड्दाखेरी एक दिन उनको गोडाले ठक्कर दिएर लोटाको पानी पोखियो । उनले भने, ‘अलि छेउमा राख्नुपर्छ नि लोटा, बीचमा राख्ने ?’ सबैले उनको कुरा सुनेर गल्ती भएको महसुस गरे । अर्को दिन कुनामा राखेको लोटा बूढाले फेरि लडाएर पानी पोखे । फेरि भने, ‘कुनामा लगेर राखेकाले लोटा देखिएन, देखिने ठाउँमा राख्नुपर्ने’ । केही मान्छे यस्ता हुन्छन्, जसरी पनि आलोचना गर्छन् ।

खुद्रा कुरामा अल्झेको छ सरकार भनेर जति पनि आलोचना गर्न सकिन्छ । कहिले आउँछ मेलम्ची ? कहिले आउँछ रेल ? कहिले बन्छ एयरपोर्ट ? स्वच्छ पानी दिन नसक्ने, स्वच्छ हावा दिन नसक्ने, ठूला कुरा गर्ने ? सरकारलाई यस्तो भनेको सुन्छु । तर, त्यस्तो होइन, सबै कुरा आवश्यक छ । ठूला एयरपोर्ट, ठूला सफा बाटा, सफा सहर, स्वच्छ खानेपानी, स्तरीय र सुलभ शिक्षा, सुलभ स्वास्थ्य सबै चाहिन्छ ।

यी सबै काम गर्न विज्ञ टिम र सहयोगीको खाँचो पर्लात्यस्तो विशेषज्ञता हासिल गरेको जनशक्ति छ तपार्इंसँग ?

क्याराभान फिल्मका थिन्ले कलाकार होइनन्, जिविस सदस्य हुन् । त्यो फिल्ममा धेरै व्यावसायिक कलाकार छैनन् । उनीहरूलाई भनियो, तिम्रो ठाउँको तिम्रो कथा तिमीले भन्दा राम्रोसँग अरू कसले भन्न सक्छ ? तिमीजस्तै मान्छे तिमीबाहेक अरू को हुन सक्छ ? तिम्रोजस्तो दैनिकी अरू कसको हुन सक्छ ? त्यसकारण सबभन्दा राम्रो नायक तिमी हुन सक्छौ भनियो, थिन्लेलाई उत्प्रेरित गरियो र अभिनय गराइयो । थिन्लेको अपर डोल्पाको कला उत्कृष्ट बन्यो । हो, त्यसैगरी हाम्रा मान्छेले पनि विकास गर्न सक्छन् । गरेपछि जानिन्छ, हुन्छ । जन्मिँदा आइन्सटाइन वैज्ञानिक थिएनन्, पछि पढ्दै गएर बनेका हुन् । हामी पनि त्यस्तै हौँ । नेताहरूलाई प्रेरित गर्नुपर्छ, आत्मविश्वास जगाउनुपर्छ, काम हुन्छ । हामी यस्ता पुर्खाका सन्तान हौँ, जो असाधारण थिए, ती विद्वान् अनुसन्धाता थिए । हामीसँग भएको जनशक्ति र प्रकृतिको संयोजनबाट अधिकतम उपलब्धि हासिल गर्ने हो ।

तपाईंले प्रधानमन्त्री कार्यालयलाई थप शक्तिशाली बनाएर आफ्नो क्षेत्राधिकार पनि बढाउँदै लैजानुभएको छशक्तिमान् प्रधानमन्त्रीले त्यो शक्ति सदुपयोग नै गर्छ भनेर कसरी ढुक्क हुने ?

म शक्तिशाली भएर जनताले अनुमोदन गरेका होइनन् । मसँग केही शक्ति छ र हो भने त्यो जनताले बनाएको शक्ति हो । मैले लिएको राष्ट्रिय एकता, समृद्धि, जनताको सुख र सुन्दर भविष्यको विचार सही भएकाले त्यसलाई समर्थन गरे । त्यो समर्थन शक्तिलाई होइन । सरकार सञ्चालनको अनुमति जनताले दिनु भनेको शक्ति दिनु नै हो । शक्तिलाई दुई आधारमा लिइन्छ । पहिलो, द्रव्य शाहले जस्तो लोकतन्त्र मासेर प्राप्त गरिन्छ । दोस्रो, राम्रो विचारका कारण जनताको समर्थनबाट प्राप्त गरिन्छ । द्रव्य शाहले जसरी शक्तिमा पुगेपछि आफ्नो वरिपरि किल्ला बनाए, शक्तिमा बसिरहन, टिकिरहन । तर, म किल्ला बनाउने होइन, किल्ला भत्काउने मान्छे हुँ । किल्ला निर्माण गरेर मलाई शक्ति आर्जन गर्नु छैन, किल्ला भत्काएर टाकुराबाट जनतासँग मिलेर देश बनाउनु छ । यो जमाना शक्ति हातमा लिएर शासन गर्ने होइन । पुरानो जमानामा शासकहरूले दण्ड हातमा लिएर शासन गर्थे, दण्ड शक्तिको विम्ब थियो । अहिले त्यसो गर्न खोजियो भने त्यही नै पतनको कारण बन्छ ।

अर्को प्रसंगएमालेमाओवादीबीचको पार्टी एकता प्रक्रिया कहाँ पुग्योहुन्छ पार्टी एकता ?

निकट भविष्यमै एमाले र माओवादी केन्द्रबीच एकता हुन्छ । यो एकता गरिबी, पछौटेपन, झगडालु मानसिकता, साम्प्रदायिक विद्वेषविरुद्ध र राष्ट्रिय एकताको पक्षमा हो । यो समृद्धि, लोकतन्त्र र राष्ट्रियताका निम्ति हो । त्यसकारण यो एकताबाट अधिनायकवाद आउँछ, लोकतन्त्र खतरामा पर्छ भन्ने गरिएको छ भने केही ठाउँ नपाएपछि त्यस्तो भनिएको हो ।

चुनावका बेला पनि हामीले हाम्रा नीति र कार्यक्रम भन्यौँ । तर, अरूसँग न भन्ने नीति छ, न त कार्यक्रम । त्यसकारण यिनीहरू आए भने अधिनायकवाद ल्याउँछन् भने । चुनावमा पनि हामीले गरेका राम्रा कामको चर्चा गर्‍यौँ, अरूसँग राम्रा काम गरेको रेकर्ड नै नभएकाले त्यसो गरेनन् । हामीले सुन्दर भविष्य बनाउने केही योजना भन्यौँ, अरूसँग भविष्यका कुनै योजना नभएकाले केही भन्न सकेनन् ।

वाम वर्चस्वले लोकतन्त्र खतरामा पर्छ भनेर प्रमुख विपक्षी नेपाली कांग्रेसले शंका गरिरहेको छके भन्नुहुन्छ ?

लोकतन्त्रका लागि जनताले लामो बलिदान गरेका छन् । त्यसमध्येको एउटा सामान्य पात्र हुँ म । लोकतन्त्रका लागि आधा शताब्दी खर्च गरेको छु । मेरोजति निष्ठाका साथ अथवा देखावटी नै सही, कसैले लोकतन्त्रका लागि योगदान गरेको भए प्रतिस्पर्धामा आए हुन्छ । चिलीमा आइन्देको निर्वाचित सरकारलाई अनिर्वाचित ढंगले गिरफ्तार र हत्या गर्ने काम गरे, त्यो पनि लोकतन्त्र बचाउने नाममा । त्यसपछि तानाशाही लादियो । त्यसैले यहाँ अधिनायकवाद ल्याउँछन् भन्नु पिनोसेका प्रेतहरूको कुरा हो । सुकार्नो राष्ट्रपतिलाई गिरफ्तार गरेर हत्या गर्ने काम गरे इन्डोनेसियामा, लोकतन्त्र खतरामा पर्ने भो भनेर । त्यसपछि ३२ वर्ष सुहार्तोले तानाशाही लादे, २० वर्ष मार्कोसले लगाए, लोकतन्त्रका नाममा । तिनका प्रेतहरू सलबलाउँछन् कहिलेकाहीँ यता पनि । अरू केही होइन । हामी लोकतन्त्रका लागि लडेका हाँै र लोकतन्त्रको रक्षा गर्छौं । हामीलाई अहिले बहस, वादविवाद र यताउतामा धेरै रुचि, समय र फुर्सद छैन । हामी विकास र सुशासनका काममा केन्द्रित भएर अघि बढ्न चाहन्छौँ । तसर्थ, विभाजित होइन, एकताबद्ध भएर अघि बढ्नुपर्छ भनेर पार्टी एकता गर्न लागिएको हो । देश बनाउने हो, भाइब्रेन्ट इकोनोमी हो हाम्रो लक्ष्य । त्यसका लागि पार्टी एकता । कांग्रेस कोमामा छ, भेन्टिलेटर लगाएर मुद्दा जिउँदो राख्छु भन्दैछ, यसमा हाम्रो रुचि होइन ।

तपाईं हिजो माओवादी र प्रचण्डको खुब आलोचक हुनुहुन्थ्योदेश बनाउने आवश्यकताले विगत बिर्सेर चुनावी गठबन्धन हुँदै पार्टी एकतामा पुग्नुभएको हो ?

मैले जतिबेला जसले जहाँ अनुपयुक्त नीति र बाटो लिन्छ, देशका सन्दर्भमा त्यहाँ आलोचना गरेको हुँ, त्यो पनि बिनाआग्रह, बिनावैरभाव । म ओपन छु, बेठीक भएको छ भने बेठीक भन्छु, बेठीक नगर्नेबित्तिकै अब राम्रो भो भन्छु । राम्रो गर्ने भनेपछि लौ अघि बढौँ साथसाथै भन्छु ।

पहिलो प्रधानमन्त्री कालपछि र माओवादीसँगको चुनावी गठबन्धनअघिसम्म तपाईंको भारतमाओवादी र मधेसी दलसँग कटाक्ष थियो तर दोस्रोपटक प्रधानमन्त्री बन्नुअघि नै तीनै पक्षसँग तपाईंको सम्बन्ध राम्रो भयोके जादु गर्नुभयो ?

यी तीनवटै पक्षसँगको सम्बन्धलाई उल्टो गियरमा लगेको होइन, फर्वार्ड गियरमा लगेको हुँ । बरू, अरूले रिभर्स गियरमा सम्बन्धलाई धकल्दै थिए । तर, मैले त्यसलाई अलिकति न्युट्रलमा लैजानेबित्तिकै मान्छेहरू छक्क परे । पहिला पनि नेपाल–भारत सम्बन्ध, नेपाल–चीन सम्बन्ध र नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध न्युट्रल गियरमा छ भन्ने तर त्यो न्युट्रल भनेको कतै ढल्केको र झुकेको भन्ने रहेछ । मैले न्युट्रल भनेको कतै पनि ढल्केको होइन, साँच्चै न्युट्रल हो भनेँ । यो न्युट्रल गियर हामीलाई अघि बढ्न चाहिएको हो । त्यसपछि गियर नम्बर एक, गियर नम्बर दुई, गियर नम्बर तीन एन्ड पुस द एक्सलेटेर अगेन गर्ने हो । अहिले मधेसी, भारत र माओवादी सबैसँग गरिएको यही हो ।

२० वर्षपछिको पुस्ताले केपी ओलीलाई कसरी सम्झियोस् भन्ने चाहनुहुन्छ ?

त्यो मलाई मतलब नै नभएको कुरा । म नेपालको गरिबी हटाउन चाहन्छु, जनतालाई सुखी बनाउन चाहन्छु । मलाई मरेपछि मान्छेले सम्झिन्छन् कि सम्भिँmदैनन्, राम्रो भन्छन् कि नराम्रो भन्नेमा केही मतबल छैन । आउँदो पुस्ताले दु:ख नपाओस् । मेरो यही सपना छ । मरेपछि मलाई सम्झिनुभन्दा आफ्ना सन्ततिको भविष्य बनाउनेतिर लाग्नु राम्रो हुन्छ ।

सम्झिनु त पर्दोरहेछ नितपार्इं पनि इतिहास र पुर्खालाई बेलाबेला सम्झिनु हुन्छ ?

इतिहासको कुरा एउटा हो । जहाँसम्म मेरो कुरा हो, निस्पृह छु यसमा । लोभ छैन ।

अब छिमेक सम्बन्धको प्रसंग । तपार्इंको यो भ्रमणले नेपालभारत सम्बन्धमा केकस्तो आयाम थप्ने अपेक्षा गर्न सकिन्छ ?

हामीले समय, सन्दर्भ, उद्देश्य र आकांक्षालाई बुझ्नुपर्छ । एउटा युगमा समृद्धि हासिल गर्न कुनै देशलाई उपनिवेश बनाउने, कच्चा पदार्थ कब्जा गर्ने अनि तयारी वस्तु उत्पादन गरेर बजारमा बेच्ने गरिन्थ्यो । त्यो औपनिवेशिक युग थियो, समाप्त भयो । अरूको सम्पदा खोसेर, अरूमाथि शोषण गरेर विकास गर्ने पुरानो जमानाको मोडल हो । त्यो मोडल आजको जमानामा काम लाग्दैन, थोत्रो भइसक्यो । अब आफ्नो विकास आपैँmले गर्नुपर्छ । हिजो आक्रमण, दमन र नियन्त्रणबाट विकास गर्ने तरिका थियो, आज मित्रता र सहकार्यबाट मात्र विकास गर्न सकिन्छ र गर्नुपर्छ ।

जमानासँगै विकाससम्बन्धी अवधारणा पनि बदलिएकाले छिमेकीसँगका हाम्रा सम्बन्ध के हुन् भन्ने बुझिन्छ । हाम्रो मात्र होइन, ठूला देशको हकमा पनि यही कुरा लागू हुन्छ । अहिले ठूला र बलिया देशको पनि विकासबारे दृष्टिकोण बदलिएको छ । आजको विकासको तरिका नै फरक छ । एक्काइसौँ शताब्दी, संयुक्त राष्ट्रसंघको स्थापना, उपनिवेश युग समाप्ति र शीतयुद्धपछिका सम्बन्धलाई अब पारस्परिक लाभ, समानता, अहस्तक्षेप र आपसी सम्मानका साथ सहकार्य गरेर अघि बढाउन जरुरी हुन्छ । छिमेकीसँग सम्मानका साथ सहकार्य गरेर पारस्परिक लाभ लिने हो । यसभित्र छिमेकी, क्षेत्रीय, महादेशीय र विश्व अवधारणा पनि पर्छन् । यी अवधारणामा सन्तुलन कायम गर्नुमै हाम्रो जोड हुन्छ । तथापि, कतिपयले छिमेकीसँगको सम्बन्धलाई सैद्धान्तिक वा भावनात्मक विषय बनाउँछन् । त्यो बेठीक हो ।

यो तपार्इंको नयाँ बुझाइ हो कि पुरानै अडान ?

कतिपयलाई मैले हिजो भारतसँग सम्बन्ध बिगारेँ भन्ने भ्रम छ । म पहिलोपटक प्रधानमन्त्री हुनुभन्दा दुई–तीन महिना पहिला तराई बन्द थियो, तीन हप्तादेखि नाकाबन्दी थियो, मैले त्यसलाई खोल्ने नाममा अनुचित काम गरिनँ । नाकाबन्दी खोल्नुपथ्र्यो, खोल्ने प्रयास गरेँ । त्यसमा केहीलाई चित्त बुझेन । त्यसका राजनीतिक कारण छन् । उचित तबरले पारस्परिक लाभ र सम्मान अनि राष्ट्रिय स्वाभिमानसहित नै भारतसँगको सम्बन्ध सुधार्न सकिन्छ भनेर त्यसै अनुसार प्रयास गरेँ ।

अरूले हेपेका छन्, झुक्नुपरेको छ अथवा अरूले भनेर टेरिँदैनजस्ता मानसिकता लिएर कसैसँग वास्तविक मित्रता हुँदैन । आजको मित्रता समानता, विश्वास, समझदारी र पारस्परिक सम्मानको आधार हो, यो माथिल्लो स्तरको मित्रता हो । मैले पहिलो प्रधानमन्त्रीकालमा छिमेकसँगको मैत्री सम्बन्धलाई सही अर्थमा असमझदारी–अविश्वासरहित अनि सम्मानपूर्ण एवं पारम्परिक लाभका आधारमा अघि बढाउन खोजेको हुँ । त्यसको चुरो के भने हाम्रो आन्तरिक मामिलामा कसैले हस्तक्षेप नगर्ने । यस आधारमा मैले सम्बन्ध बनाउन खोजेँ र त्यो बाटोमा छिमेकीसँगको सम्बन्ध अघि बढ्यो पनि । त्यतिबेला पर्याप्त समय नहुँदा अरू प्रकारका गतिविधि हाबी भए ।

अरू प्रकारका गतिविधि भनेको के हो ?

अरू प्रकारका गतिविधिका कारण सरकार नै परिवर्तन भयो । त्यसबाट पाठ सिकेर यसपालिको भारत भ्रमणमा दुई देशबीचको मित्रता मुख्य विषय बन्छ । किनभने, हाम्रो विदेश सम्बन्धको मुख्य चुरो नै मित्रता हो । मित्रताको आधार असमानता, हेपाइ र थिचोमिचो हुन सक्दैन । समानताका आधारमा मित्रता हुन्छ । एउटाले थिचोमिचो गर्ने र अर्कोले सहनु मित्रता नै होइन, त्यो दास युगमा मालिकसँग दासहरूले सहेको अन्याय हो । यो दास युग होइन । त्यसैले नेपाल–भारत सम्बन्ध इतिहासमा पहिलोपटक समानता र पारस्परिक हितका आधारमा नयाँ ढंगले अघि बढ्दै छ ।

तपाईंकै कारण नेपालभारत सम्बन्धमा ठूलो बदलाव आएको देखिन्छभारत बदलिएको कि तपाईं ?

मित्रता जब सही बाटो र गन्तव्यमा छ भने यस्तो बेला हामीले कुनै कुरालाई भावनात्मक विषय बनाउनुहँुदैन । साना कुरालाई हारजितको विषय बनाउनुहुँदैन । समयक्रममा जहाँ समस्या देखिन्छ, तिनलाई संवादका माध्यमबाट समाधान गर्नुपर्छ ।

नेपाल–भारतबीच समस्या छन् भन्दा सम्बन्ध बिग्रने होइन । तपार्इं र म छिमेकमा बसेपछि समस्या हुन्छन्, समस्या छन् भनेको सम्बन्ध छ भनेको हो । जति नजिक सम्बन्ध छ, त्यति नै बढी समस्या हुन सक्छन् । एक दिन तपार्इंको बाख्राले मेरो बाली खान्छ, अर्को दिन मेरो गाईले तपाईंको बाली खान्छ, त्यसपछि समस्या हुन्छ । छिमेकमा पनि यही सन्दर्भ लागू हुन्छ ।

भारतसँग हाम्रो सम्बन्ध छ, त्यसकारण समस्या छन् । किनभने, यी भइपरी आउने समस्या हुन् । तर, कुनै बेला जानी–बुझी पुरानो मानसिकताले ल्याएका र थोत्रा मान्यताले उब्जाएका समस्या पनि आउँछन् । कहिले–कहिले ठूलो आकारले प्रकट गर्ने ठूलो अहंकार, सानो आकारले पैदा गर्ने सानो हीनता पनि प्रकट हुन्छ । तर, सानोले थिचिए पनि थिचिएँ भन्न नसक्ने, ठूलाले जानी–जानी थिच्छ अनि हामीले थिच्न पाउनुपर्छ भन्ने स्थिति पनि देखियो । अब यसरी निर्देशित हुने होइन ।

नेपालभारत सम्बन्धलाई सानोठूलोको अहंकार वा हीनभावनाबाट माथि उठाउनचाहिँ के गर्नुहुन्छ ?

हाम्रो परराष्ट्र सम्बन्धलाई ठूलो र सानोको मानसिकताबाट माथि उठाउनैपर्छ । त्यो भनेको समानतामा आधारित सम्बन्ध हो । हाम्रो विदेश सम्बन्ध तीन पक्षमा आधारित हुनुपर्छ । पहिलो– राष्ट्रिय हित, दोस्रो– न्याय र तेस्रो– अन्तर्राष्ट्रिय उत्तरदायित्व । त्यसमा पनि देशले कबुल गरेका दायित्व हुन सक्छन् ।

अन्तर्राष्ट्रिय रूपमा नेपालको सुरक्षाको दायित्व, भविष्यको दायित्व आदि धेरै पक्ष छन्, जसलाई हामीले पूरा गर्नुपर्छ । हाम्रो देशको आकार र हैसियत सानो–ठूलो जे भए पनि यस्ता अहं मामिलामा ध्यान दिनैपर्छ ।

चीन र भारतसँग कसरी सन्तुलित सम्बन्ध राख्ने तयारी छ ?

म एउटा निवेदन गर्न चाहन्छु, नेपाल एउटा सार्वभौम स्वतन्त्र देश हो । धर्तीबाट हेरे पनि गुगलबाट हेरे पनि नेपालको दुईतिर दुई छिमेकी छन् । यो छर्लंग यथार्थ हो, यो देश कुनै स्याटलाइट (उपग्रह) होइन, यो एउटा राष्ट्र हो । बलवान् अवधारणाको ग्रन्थी वा कमजोर अवधारणाको ग्रन्थी, जेसुकैले काम गरेको होस्, हामी एक देशवेष्टित होइनौँ, हाम्रा दुई छिमेकी छन्, हाम्रो सिमाना समुद्रसँग जोडिएको छैन । समुद्र साझा हुन्छ । आकाश, स्पेस र साझा समुद्रसम्म पुग्ने हाम्रा बाटाहरू यिनै दुई छिमेकी भएर नै अघि बढ्छन् । हामी भूपरिवेष्टित भने पनि एक देशवेष्टित भयौँ, त्यसैले अब हामी भूपरिवेष्टित पनि भन्दैनौँ, ल्यान्डलक्ड होइन, ल्यान्डलिंक्ड भन्छौँ । एउटा देशबाट मात्र होइन, अर्को देशबाट पनि हामी समुद्रसँग जोडिन चाहन्छौँ । छुद्र राजनीतिभन्दा माथि उठेर राष्ट्रिय हित हेरिनुपर्छ । अघिल्लोपल्ट प्रधानमन्त्री हुँदा नाकाबन्दी (जसलाई केहीले आपूर्ति व्यवस्था असहज भन्नेजस्ता शब्दावली पनि प्रयोग गरे) नभएको भए पनि मैले चीनसँग पारवहन र यातायातसम्बन्धी सम्झौता गर्थें । किनभने, त्यो हाम्रो हक र समयको माग हो । साझा समुद्रसम्म पुग्न ल्यान्डलिंक्ड देशले दुवैतिरबाट बाटो पाउनुपर्छ ।

तरहाम्रो देशमा नेतापिच्छे अलगअलग कार्ड खेल्ने प्रवृत्ति छ भनी टिप्पणी गरिन्छ नि ?

स्पष्ट छ, हामी एउटा छिमेकीका विरुद्ध अर्को कार्ड खेल्दैनौँ । हाम्रो भूमिमा छिमेकीविरुद्ध कसैको अनुचित क्रियाकलाप हुन दिँदैनौँ । हामीलाई कुनै छिमेकीतिर ढल्किनुपर्ने आवश्यकता पनि छैन । हाम्रो हितको कुरा गर्दा छिमेकीको जायज हितप्रति सजग छौँ, छिमेकीका जायज हितलाई अवमूल्यन र अनदेखा गर्दैनौँ । उत्तर र दक्षिण दुवैका चासो, चिन्ता र सरोकार के हुन् ? हामी तिनलाई सुन्न र सम्मान गर्न तयार छौँ, यदि जायज छन् भने । देशहरू प्रतिस्पर्धा गरिरहेका हुन्छन्, त्यस्तो प्रतिस्पर्धाका अवस्था र कारण होलान् । तर, हामी छिमेकीका प्रतिस्पर्धी होइनौँ । हामी शान्ति र समझदारी चाहन्छौँ । छिमेकीबीचको प्रतिस्पर्धा पनि स्वस्थ होस् भन्ने हाम्रो कामना हुन्छ । आपसी लाभका लागि आर्थिक र व्यापारिक प्रतिस्पर्धा हुन्छ भने सक्दो सहयोग गर्न तयार छौँ ।

प्रकाशित: चैत्र २७, २०७४

ट्याग: संवाद