नेपाल आइपुग्यो फोर्डको मस्ट्याङ

- नेपाल संवाददाता

फोर्डको बहुचर्चित मस्ट्याङ कार नेपालमा पनि उपलब्ध भएको छ । हालै नेपाली बजारमा लन्च गरिएको मस्ट्याङ गाडीलाई १ करोड ६९ लाख रुपियाँ पर्छ । यो गाडीलाई पछिल्लो नाडा अटो शोमा प्रदर्शनका लागि राखिएको थियो । 

नेपालमा लन्च भएको मस्ट्याङ कारमा पाँच लिटर अर्थात् पाँच हजार सीसीको भीएट इन्जिन छ । जसले ४ सय १० ब्रेक हर्षपावर बराबरको शक्ति निकाल्छ । र, यो कारमा ६ गियरको म्यानुअल ट्रान्समिसन सिस्टम छ । परिस्कृत इन्जिन र राम्रो ट्रान्समिसन सिस्टम भएका कारण यो मस्ट्याङ अघिल्ला मोडलभन्दा राम्रो माइलेजसहित अझ तेज गतिमा कुद्न सक्षम रहेको दाबी गरिएको छ । 

मस्ट्याङ कारको इन्फोटेनमेन्ट पनि आधुनिक प्रविधियुक्त छ । यसले गाडीहरुका लागि बनाइएको गुगलको एन्ड्रोइड अटो वा एप्पलको कार प्ले दुवै सपोर्ट गर्छ । जसको मद्दतबाट गाडी चलाउँदै गर्दा बोलेरै स्मार्टफोन प्रयोग गर्न सकिन्छ । र, बोलेरै कमान्ड दिएर यसमा नेभिगेसन, अडियोलगायतका फिचर पनि प्रयोग गर्न सकिन्छ ।

 

प्रकाशित: चैत्र २७, २०७४