वर्षका ५ फिल्म

- नेपाल संवाददाता

तान्द्रो

दस वर्षसम्म चलेको माओवादी सशस्त्र विद्रोहको पूर्ण दस्तावेजीकरण होइन, तान्द्रो । विद्रोहमा सामेल एक घाइते योद्धाको जीवनप्रतिको प्रेम र अनुराग मात्र हो । तर, निर्देशक साम्तेन भुटियाले सोही पात्रमार्फत युद्धभित्रको मानवीयता/अमानवीयता, विद्रोहीहरुको मनोविज्ञान र द्वन्द्व, नागरिकको द्वेष, तत्कालीन शाही सेनाको ज्यादतीजस्ता पक्षलाई उतारेका छन् । कलात्मक प्रस्तुतिका हिसाबमा माओवादी विद्रोहमाथि बनेका मध्ये तान्द्रो एक सशक्त सिनेमा हो । मृत्यु पर्खिरहेको छापामारको भूमिकालाई दयाहाङ राईले जीवन्तता दिएका छन् ।

नाका

पात्र, कथा र कथा भन्ने नवीन शैलीले नाकालाई सम्झनायोग्य बनाएको छ । विद्यमान सूत्रको संक्रमणबाट मुक्त फिल्म नेपाल–तिब्बत नाकामा हुने मानव तस्करीमा केन्द्रित छ । निर्देशक अमित श्रेष्ठले यस्तो संवेदनशील कथाको सुरक्षित अवतरण गराएका छन् । मूल विषयलाई खँदिलो बनाउन सहायक कथा र पात्रको प्रयोग प्रभावकारी छ । निर्दयी र धोकेबाज तस्कर बनेका विपिन कार्की अनि उनका सहयोगी प्रकाश गन्धर्वजस्ता पात्र नेपाली पर्दामा सितिमिति देख्न पाइन्न । खासमा नाका नयाँपनको अभ्यासको उज्यालो प्रतिविम्ब हो ।

गाँजाबाजा

यो फिल्मको क्यानभास साघुँरो छ, दुई केटाको एकदिने गाँजा ‘हन्टिङ’ हो । निर्देशक गणेशदेव पाण्डेले कथालाई मूर्त बनाउन रोचक र विश्वसनीय दृश्यलाई प्रधानता दिएका छन् । पात्र अनुरुपको हुलिया, हाउभाउ र संवादले फिल्मको ‘ब्युटी’ बढाएको छ । मौलिक विषय र प्रस्तुति निर्माणमा तल्लीन नेपाली फिल्मका लागि गाँजाबाजाको योगदान उल्लेख्य हुन सक्छ । कन्टेन्ट र कमेडीको केमिस्ट्री सुहाउँदो छ । फिल्म सशक्त हुन स्टार होइन, जीवन्त अभिनय गर्ने कलाकार चाहिन्छ भन्ने प्रमाणित गरेका छन्, मुख्य कलाकारद्वय अनुपम शर्मा र सुशील सिटौलाले ।

देश खोज्दै जाँदा

झापाको शरणार्थी शिविरमा रहेका भुटानी शरणार्थीको पीडा र स्वदेश फर्कने तीव्र अभिलाषाको मार्मिक प्रस्तुति हो, देश खोज्दै जाँदा । निर्देशक प्रकाश आङदेम्बेले फिल्म कोरा मनोरञ्जन मात्र होइन, समाजको प्रतिविम्ब र सवाल खडा गर्ने माध्यम पनि हो भन्ने मान्यतालाई आत्मसात् गरेका छन् । शरणार्थीका स–साना भोगाइलाई काव्यिक स्वाद दिएका छन् । हामीकहाँ यस्तो जटिल विषयलाई पर्दामा पस्कने जाँगर र साहस भएका फिल्मकर्मीको खडेरी छ । सोही कारण नेपाली फिल्मको समृद्धि र दीर्घायुका लागि पनि देश खोज्दै जाँदालाई बेवास्ता गर्नै सकिन्न/मिल्दैन ।

घामपानी

तामाङ केटा र बाहुनी केटीको प्रेमविवाहको कथा हो, घामपानी । ग्रामीण भेगको जीवनशैली, फरक जातिको मनोविज्ञान, व्यवहार, प्रेमप्रतिको दृष्टिकोणलाई रोचक शैलीमा बुनेका छन्, निर्देशक दीपेन्द्र लामाले । सामाजिक सद्भाव जागृत गराउन पनि यस्ता कोटिका फिल्म प्रभावकारी हुन सक्छन् । यसले भिन्न जाति, संस्कृति र संस्कारलाई सम्मान गर्नुपर्ने सन्देश दिन्छ । न सूत्र र मसलामा रुमल्लिएको छ, न त कहीँ–कतैबाट थोरै पनि ‘कपी–पेस्ट’ गरिएको छ । बरु, दयाहाङ राई र केकी अधिकारीको जोडी हाम्रो सन्दर्भमा झर्रो लाग्छ ।

प्रकाशित: चैत्र २६, २०७४

ट्याग: फिल्म