पार्टीका स्वतन्त्र

- जनक नेपाल

वि सं ०६४ को संविधानसभा निर्वाचनबाट पहिलो पार्टी बन्दा माओवादी नेता बाबुराम भट्टराई सर्वाधिक लोकप्रिय थिए । पार्टीभित्र गुट कमजोर हुँदाहुँदै उनलाई त्यही लोकप्रियताले कार्यकारी प्रधानमन्त्री बनायो । उनको पक्षमा यति माहोल थियो कि गैरमाओवादी शुभेच्छुकले समेत ‘ बाबुरामलाई काम गर्न देऊ’ भन्दै नारा लगाउन भ्याए । तर, एक दशकपछि उनी एकसिटे पार्टीका स्वतन्त्र सांसदको हैसियतमा संसद्भित्र पुगेका छन् ।

२१ फागुनमा सुरु भएको प्रतिनिधिसभामा चैत पहिलो साता संसद् सचिवालयले सदस्यहरूको परिचयपत्र बाँड्यो । भट्टराईजस्तै तीन प्रतिशत थ्रेसहोल्ड नकटाएका साना पार्टीका सांसदहरूको परिचयमा ‘स्वतन्त्र’ लेखिएको थियो । संसद् कक्षको कुर्सीमा पनि नयाँ शक्ति पार्टीका सांसदको सट्टा पूर्वप्रधानमन्त्री मात्र थियो । भट्टराईले पार्टी नखुलाएको परिचयपत्र स्वीकार गरेनन् । अनि, साना पार्टीहरूको टोलीसहित गुनासो बोकेर संसद् सचिवालयका महासचिव मनोहर भट्टराईकहाँ डेलिगेसन गए । “म थ्रेसहोल्डको विपक्षमा छैन । संविधानमा तीन प्रतिशत नकटे समानुपातिक प्रतिनिधित्व नहुने भनिएको हो,” उनी भन्छन्, “प्रत्यक्ष निर्वाचित सांसदको प्रतिनिधिसभामा दलीय हैसियत नहुने भनिएको होइन । गलत व्याख्या भयो, त्यसैले हामी विरोध गरिरहेका छौँ ।” संसद्भित्र पार्टीको नामै नहुने भए त्यो पञ्चायतकालमा झैँ दलमाथि अघोषित प्रतिबन्ध हुने उनको टिप्पणी छ ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले सिंहदरबारस्थित संसद् सचिवालयको सुविधा शाखा गएर परिचयपत्र लिइन् । तर, त्यसमा पनि दलीय पहिचान नदेखेपछि सच्याउन आग्रह गरेकी छन् । “पार्टीका नेता हौँ । स्वतन्त्र लेखिएको परिचयपत्र कसरी लिन सक्छौँ ?” सांसद पौडेल भन्छिन्, “राष्ट्रिय पार्टीले पाउने सेवा–सुविधामा हाम्रो कुनै दाबी छैन । तर, संसद्भित्र पार्टीले मान्यता पाउनुपर्‍यो ।”

अहिलेको संसद्मा एकसिटे पार्टीका स्वतन्त्र सांसदले चाहेर पनि कुनै प्रस्तावमा संशोधन पेस गर्न सक्ने स्थिति छैन । किनभने, प्रस्ताव दर्ता गर्न प्रस्तावक र समर्थक चाहिन्छ । शून्य र विशेष समयमा मात्र उनीहरू बोल्न पाउँछन् । महत्त्वपूर्ण विषयमा संकल्प प्रस्ताव ल्याउन सक्छन् । “अप्ठ्यारो हुँदो रै’छ । संसद्मा आफ्ना मुद्दा अघि बढाउन प्रस्तावै दर्ता गराउनसमेत प्रस्तावक र समर्थक अभाव हुने रहेछ । मतदानमा गए एक्लो भइन्छ,” जनमोर्चा सांसद पौडेल भन्छिन्, “तर, यो एउटा राजनीतिक मञ्च हो । प्रतिनिधित्व हुँदै नहुनुभन्दा भएर धेरै गर्न सकिन्छ भन्ने लागेको छ ।” आफ्ना मुद्दा राख्न र सत्ता पक्षका गलत कदमको भण्डाफोर गर्न भने थोरै सांसद पनि पर्याप्त हुने उनको धारणा छ ।

संविधानमा तीन प्रतिशत थ्रेसहोल्ड कटाउनेले मात्र राष्ट्रिय पार्टीको मान्यता पाउने उल्लेख छ । तर, थ्रेसहोल्ड नकटाउने पार्टीका प्रत्यक्ष निर्वाचित सांसदलाई स्वतन्त्र लेख्नुपर्ने कुनै संवैधानिक बाध्यता नभएको भन्दै उनीहरूले संसद् सचिवालयमा गुनासो पोखेका छन् । संसद् सचिवालयका महासचिव भट्टराईले निर्वाचन आयोगले पठाएको मापदण्ड अनुसारै सिट व्यवस्थापन र परिचयपत्र जारी गरिएको भन्दै सांसद टोलीलाई फर्काएका थिए । सिटमा भने नाम र पार्टी लेखिएको छ । संसद् सचिवालयका प्रवक्ता भरत गौतम संवैधानिक व्यवस्था र संसदीय परम्परा अनुसार साना पार्टीहरूको सिट व्यवस्था गरिएको बताउँछन् । “थ्रेसहोल्ड कटेका राष्ट्रिय पार्टी र नकटेका पार्टीबीच फरक पक्कै छ,” उनी भन्छन्, “तर, स्वतन्त्र भनेर संसद्मा कुनै सदस्यलाई फरक व्यवहार हुँदैन । सांसदहरूका गुनासाको उपयुक्त सुनुवाइ हुनेछ ।”

राष्ट्रिय मान्यता नपाएका पार्टीहरूलाई स्थानीय तह निर्वाचनमा दलीय चुनाव चिह्न नदिने भनिएकामा पनि पूर्वप्रधानमन्त्री भट्टराईको आपत्ति छ । ऐन संशोधन नभए साना पार्टीलाई अघोषित प्रतिबन्धसरह हुने उनको तर्क छ । कार्यकारी प्रधानमन्त्री भइसकेको नेता स्वतन्त्र सांसदको हैसियतमा संसद्मा बस्दा कस्तो अनुभूति भइरहेको होला  ? भट्टराई भन्छन्, “अहिले अँध्यारो सुरुङमा पसेजस्तो देखिए पनि एउटा इन्जिनियरलाई थाहा हुन्छ, सुरुङदेखि कति पर उज्यालो छ । मैले उज्यालो देखिसकेको छु । त्यसैले धेरैले अनुमान गरेजस्तो विचलित छैन, बरू उत्साही छु ।” 

पूर्वसभामुख दमननाथ ढुंगाना राष्ट्रिय मान्यता नपाएका पार्टीहरूको हैसियत संसद्मा राजनीतिक समूहजस्तै हुने बताउँछन् । तर, व्यक्तिगत भूमिका भने कुनै ठूला पार्टीका सांसदभन्दा कम नहुने उल्लेख गर्दै भन्छन्, “संसदीय दलको व्यवस्था र सुविधा हुँदैन । पार्टीगत औपचारिक मर्यादा पाउँदैनन् । त्यसबाहेक राष्ट्रिय पार्टीको भन्दा कुनै कुरामा कमी हुँदैन ।”

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल प्रतिपक्ष कमजोर हुँदा प्रतिनिधिसभामा कुनै पनि विषयको बृहत् छलफल नभएको दुखेसो पोख्छन् । “ठूला र राष्ट्रिय भनिएका पार्टीका सांसदहरू हुन्छ र हुन्नमा हात उठाउनेबाहेक अरू केही गर्दैनन् । साना पार्टीको कुनै अस्तित्व छैन,” उनी भन्छन् । पार्टी अध्यक्ष नारायणमान बिजुक्छेको परम्परागत निर्वाचन क्षेत्र भक्तपुर–१ बाट विजयी भई उनी संसद्मा पुगेका हुन् । त्यसो त नेमकिपाजस्ता साना पार्टीका लागि राष्ट्रिय पार्टीको मान्यता नपाउनु कुनै नौलो घटना होइन । ०४७ को संविधानले पनि एक प्रतिशत लोकप्रिय मत पाउने दललाई मात्र राष्ट्रिय पार्टीको मान्यता दिएको थियो । त्यस हिसाबले ०५६ सम्मका निर्वाचनमा साना पार्टीहरू राष्ट्रिय पार्टी हुनबाट वञ्चित थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्रीसमेत रहेका सांसद राजेन्द्र लिङ्देन एउटा सांसदका रूपमा आफ्नो कुरा राख्न पार्टी ठूलो हुनैपर्छ भन्ने नभएको तर्क गर्छन् । “अहिले सरकार ढाल्ने कुनै कल्पना छैन । सरकारले जनसरोकार सुन्ने गरी राख्न एउटै सांसद काफी छ,” उनी भन्छन् । थ्रेसहोल्ड क्रस नगरेकाले संसदीय दलको मान्यता नपाए पनि संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न कुनै अवरोध नभएकाले धेरै चिन्ता नगरेको लिङ्देन बताउँछन् । मिलेर शक्ति आर्जन गरेका वामपन्थीहरूले अब पनि कुनै बहानामा अल्मलिए देश भयानक अस्थिरतामा जाने र आमनागरिकमा ठूलो निराशा पैदा हुने उनको बुझाइ छ ।

पार्टीबाट बागी उम्मेदवार उठेर जित्ने एक्ला सांसद हुन्, हुम्लाका छक्कबहादुर लामा । ०४८ को निर्वाचनमा तत्कालीन संयुक्त जनमोर्चाबाट जित्ने नौ सांसदमध्ये एक थिए, उनै लामा । उनी ०६१ मा राजा ज्ञानेन्द्र नेतृत्वको सरकारमा पनि सहायकमन्त्री भएका थिए । ०७० को संविधानसभा निर्वाचनमा माओवादी केन्द्रबाट उठेर तेस्रो भएका लामाले यसपटकको निर्वाचनमा पार्टीले उम्मेदवार नबनाएपछि स्वतन्त्र उम्मेदवारी दिए । वाम गठबन्धनका दलहरू एमाले र माओवादीको आन्तरिक सहयोगमा उनी विजयी भए । “प्राविधिक रूपमा मात्र म स्वतन्त्र हुँ । वास्तवमा म वाम गठबन्धनको सांसद हुँ,” लामा भन्छन् ।

कांग्रेसको इतिहास लेखेका पुरुषोत्तम बस्नेत नेपाली संसद्मा बागी र विद्रोहीको परम्परा कांग्रेसभित्रको असन्तुष्टिले जन्माएको बताउँछन् । तर, ०१५ यताका कांग्रेसका सबै बागी उम्मेदवार निर्वाचित भएपछि कांग्रेस प्रवेश गर्ने गरेका छन् । “राजनीतिक अस्थिरता ल्याउन स्वतन्त्र सांसदहरूको ठूलो भूमिका छ,” उनी भन्छन्, “संविधानसभाका दुई निर्वाचनपछि भने स्वतन्त्रभन्दा साना पार्टीहरूले विकृति निम्त्याए । थ्रेसहोल्डले कम्तीमा त्यो विकृति मत्थर हुँदैछ ।”

स्वतन्त्र सांसदका कारण विगतमा अस्थिरता र संसद्को गरिमा घटेको इतिहास छ । ०५१ पछि नेपाली कांग्रेस, नेकपा एमाले र मालेबीच स्वतन्त्र सांसदलाई आफ्नो पक्षमा लिएर सरकार ढाल्ने र बनाउने होडबाजी नै चलेको थियो । ढल्ने र नयाँ बन्ने सरकार दुवैमा उनै स्वतन्त्र सांसदहरू हुन्थे । ०५१ देखि ०५६ सम्ममा २० सिट भएको राप्रपाबाट सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भए अनि सबै सांसदहरू मन्त्री । थ्रेसहोल्ड नहुँदा ०७० को संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ एउटै सिट नजितेको राप्रपा, नेपाल समानुपातिकतर्फ २५ सांसदसहित सरकार गठन र विघटनको सूत्र बन्यो । खासगरी ०६४ को संविधानसभापछि मधेसकेन्द्रित पार्टीका नेतापिच्छेका महत्त्वाकांक्षाले पार्टी टुटफुटको शृंखला नै चल्यो । मधेसी जनअधिकार फोरम झन्डै आधा दर्जन पटक फुट्यो । तराई–मधेस लोकतान्त्रिक पार्टी र मालेमा पनि त्यस्तै विकृति देखियो । टुटफुटको शृंखला थ्रेसहोल्डको व्यवस्था नहुँदासम्म कायम रह्यो । संवैधानिक व्यवस्थापछि भने फुटेका पार्टी जुट्न थाले । चुनावको मुखमा मधेसकेन्द्रित पार्टी र राप्रपा एकताको खास कारण त्यही थियो । “थ्रेसहोल्ड र बलियो सरकारले कम्तीमा विकृतिले धमिलिएको नेपाली संसदीय राजनीतिलाई केही सङ्ल्याउन सघाउने आशा गर्न सकिन्छ,” बस्नेत भन्छन् ।

‘सुरुङभित्र पसेजस्तो’

– बाबुराम भट्टराई

तपाईं संसद्मा नयाँ शक्तिको सांसद कि स्वतन्त्र ?

नयाँ शक्तिको सांसद । संविधानको गलत व्याख्या गरेर दलमाथि अघोषित प्रतिबन्ध लगाउन खोजिएको छ । त्यो हामीलाई मान्य छैन । थ्रेसहोल्ड समानुपातिक प्रतिनिधित्वका लागि हो । प्रत्यक्ष निर्वाचित सांसदहरूको दलीय पहिचान मेट्न पाइँदैन भनेका छाँै ।

सुनुवाइ भयो त ?

सिटमा पार्टीको नाम उल्लेख गर्न भनेका छौँ । स्वतन्त्र लेखिएका परिचय–पत्र नलिएर पार्टीको पहिचान खुलाउन भनेका छौँ, सुनुवाइ होला ।

दशकअघि ठूलो पार्टीको चर्चित नेता हुनुहुन्थ्यो । अहिले स्वतन्त्र सांसद हुनुहुन्छ । पीडा हुँदैन ?

नयाँ शक्ति पार्टी भर्खरै गठन भएको हो । जन्मिनासाथ चुनावमा जानुपरेकाले यसपटक धेरै सिट जित्न सकेनौँ । त्यसैले म एक्लै संसद्मा छु । तर, वैकल्पिक राजनीतिक शक्तिको भविष्यप्रति म पूर्ण विश्वस्त छु ।

तपार्इं हराउन लाग्नुभो भन्ने शुभेच्छुकको चिन्ता छ नि !

अहिले म अँध्यारो सुरुङभित्र पसेजस्तो, हराउने हो कि भनेजस्तो देखिएको छु । तर, एउटा इन्जिनियरलाई थाहा हुन्छ, सुरुङदेखि कति पर उज्यालो छ । मैले प्रस्टैसँग अँध्यारोपछिको उज्यालो देखिसकेको छु । त्यसैले धेरैले अनुमान गरेजस्तो म विचलित छैन, बरू उत्साहित भएर लागेको छु ।

प्रकाशित: चैत्र २६, २०७४