डीपी भण्डारीको वेडिङ कार्ड

- कुमार नगरकोटी

ग्राउन्ड फ्लोरको लिभिङ रुममा मौन बस्या छु । मन भने निर्मौन छ । अटोप्ले–मनमाथि मेरो कुनै नियन्त्रण छैन । चित्त बहलाउन भित्तामा अनेक चित्ताकर्षक चित्रहरू छन्, कफी टेबलमा मिल्क टी विथ थिन आरारुट बिस्कुट र म्यागजिनहरू छन् । तैपनि, मन म्लान्त छ, काया क्लान्त छ ।

यो डीपी भण्डारीको आश्रम हो । दुइटा सोफामा तीन जना बस्या छौँ । एउटामा निर्मल बाबा बस्या छन् र अर्कोमा म छु, भण्डारीसितै । एकनासले भण्डारीलाई हेर्दो छु । र, उनीचाहिँ एकतमासले निरन्तर वेडिङ कार्ड खेलाइरहेका छन्, जसरी कुनै बालक आफ्नो खेलौना खेलाइबस्छ ।

यो रातो वेडिङ कार्ड कसले छाडेर गएको थियो ? डब्लू बी यिट्सले ? सन्तनेता कृष्णप्रसाद भट्टराईजीले ? अभि सुवेदीले ? खगेन्द्र संग्रौला या ओशोले ? भण्डारीलाई बिहेभोजमा निम्त्याउने मनुवा को थियो ? आजसम्म यिनी त्यही वेडिङ कार्ड सुमसुम्याइ बसेका छन् ।

१ वैशाख ०७४ । आफूले जीवनभर प्रेम गरेको मनुष्यलाई नूतन वर्षको शुभकामना व्यक्त गर्न म यसरी प्रकट भएको होइन । त्यसो त म शुभकामना–मैत्री–मानव पनि होइन । हू केयर्स शुभकामनाज् †

मलाई त यहाँ आउँदैछु भन्ने बोधसमेत थिएन । म त एकाबिहानै निर्मल बाबाको बाइकमा सहर–सर्फिङ गर्न हिँडेको थिएँ । उनैले मलाई यहाँ लुसुक्क ल्याइपुर्‍याए र डीपी भण्डारीसितै बसाउँदै भने, “भण्डारी एकातिर र नगरकोटी अर्कातिर † यस्तो कसरी हुन सक्छ ? काठमाडौँका दुई जीवित आत्मा एकअर्कादेखि टाढा र अपरिचित कसरी रहन सक्छन् ? यो त अस्तित्वकै अपमान हुन्छ ।”

लौकिक मनुष्य डीपी भण्डारीलाई मैले सदा अलौकिक प्रेम गर्न रुचाएँ । एक गहन स्पिरिचुअल प्रेम । यिनका अनेक किस्सा र परिहास अनेकका मुखबाट सुनेँ । प्रिय लेखक खगेन्द्र संग्रौलालाई यिनले आत्मीयपूर्वक ‘चाबेलको चाउरे’ भनेको सुन्दा पुलकित भएँ । ओशोले आफ्नो प्रवचनमा प्रेमपूर्वक यिनको नाम लिँदा डबल पुलकित भएँ । यिनलाई स्नेह र स्निग्धताको गंगोत्री सम्झी आफ्नो किताब समर्पण गरेका मित्र शेखर खरेलको मुखबाट भण्डारीको अल्जाइमर्सबारे सुनेँ, तब म ट्रिपल पुलकित भइगएँ । लाग्यो, जगत्का सारा कुरा बिर्सीवरी भण्डारी इन्लाइटेन्ड भइगए ।

र, इन्लाइटेन्ड म्यानको हातमा अहिले वेडिङ कार्ड छ । कार्डलाई यिनी खामभित्र राख्ने अथक प्रयास गरिरा’छन् । ती हात र औँलाहरू हुरी–बतासमा अल्झेका पातझैँ कामिरहेछन् । बेलाबेला चियाको मग उठाउँछन्, ओठमा पुर्‍याउँछन् । मग रित्तो छ, चिया अघि निख्रिसकेको छ । तैपनि, सुरुप–सुरुप गर्छन् । मुख मिठ्याउँछन् । र, पुन: कार्डलाई खामभित्र राख्ने प्रयास जारी राख्छन् ।

के यो त्यही मान्छे हो, जो हिटलरले नरसंहार गर्दा पुतलीहरू समाउँदै वन, उप–वन डुलिहिँड्थ्यो । के यो त्यही प्रोफेसर हो, जो आफूलाई प्रज्ञावान्, विद्वान् र चरित्रवान् नभई गोठालो ठान्थ्यो ∕ एकताका साप्ताहिक लेखमार्फत सहरका युवतीको सेक्सी मनभित्र राज गथ्र्यो ? प्रत्येक पानामा मुग्ध हुँदै मैले पढेको किताब मृगस्थली लेख्ने मान्छे यही हो ?

“हो कुमार ! त्यो मै हुँ । तर, अचेल मैले उसलाई बिर्सिसकेको छु । मेरो स्मृतिमा अब त्यो मान्छेको कुनै अवशेष छैन ।”

कम्तीमा यस्तै केही भनिदिए पनि हुन्थ्यो । अफसोस ! यिनले सबैलाई बिर्सिसकेका छन् र यिनलाई पनि सबैले बिर्सिसकेका छन् । जस्तो कि, गृह–बुहारीले भर्खरै भनेकी छन्, “हिजोआज बुबालाई कसैले याद गर्दैन । उहाँलाई पनि कसैको याद रहन्न ।”

हरेक मान्छेको मनभित्र यादहरूको एउटा संग्रहालय हुन्छ । ती यादहरू कहिले तीर्थयात्रामा निस्कन्छन्, कहिले शवयात्रामा । भनिन्छ, शवयात्रामा हिँडेका यादहरू नर्क पुग्छन् र तीर्थयात्रामा हिँडेका यादहरू स्वर्ग । डीपी भण्डारीका केही यादहरू नर्क गए हुनन्, केही याद स्वर्ग ।

यादहरूबिना मान्छे अनाथ हुन्छ । के म आज त्यही अनाथलाई भेट्न आएको हुँ ? यस्तो लाग्दैछ, कम्पित औँलाहरूमा चलमलाइरहेको कार्ड यिनको अन्तिम याद हो र खाम हो मन । आफ्नो रित्तो मनभित्र यिनी बाँकी रहेको अन्तिम यादलाई सँगाल्न चाहन्छन् । सजाएर राख्न चाहन्छन् ।

अन्तत: म उनको हातबाट वेडिङ कार्ड र खाम लिन्छु । उनी मलाई अज्ञेय भावले हेर्छन् । मेरो पालो कार्डलाई खामभित्र राखेर बन्द गर्छु । बन्द खाम उनैको हातमा प्रेमपूर्वक थमाइदिन्छु र भन्छु, “सर यो अन्तिम यादलाई मैले तपाईंको मनभित्र राखिदिएको छु । यसलाई सम्हालेर राख्नूस् ।”

उनको बालसुलभ मुहारमा कृतज्ञताको भाव झल्किन्छ ।

मान्छेलाई बाँच्नका निम्ति सायद एउटै याद पर्याप्त हुन्छ । त्यो यादको रचना मैले भर्खरै गरेको छु । डीपी भण्डारीको यो पहिलो एवं अन्तिम भेट यसरी यादगार भएको छ । निर्माैन मन पनि त मौन छ । यो आश्रममा म अब हजारौँ वर्षको विश्राम लिन सक्छु ।

नयाँ वर्ष ! तिमी आउँदै गर्नू, जाँदै गर्नू । दुइटा कुरा भने सदा मनन गर्नू :

१. शुभकामनाको काइते औपचारिकताद्वारा नगरकोटी र भण्डारीलाई कदापि डिस्टर्ब नगर्नू ।

२. आइन्दा यहाँ कहिल्यै पनि वेडिङ कार्ड नल्याउनू ।

प्रकाशित: चैत्र २५, २०७४

ट्याग: पर्सोनाज