[नोटबुक] पाँच खलपात्र

- रामबहादुर रावल

शाही शासनकालमा न्युज रुममै जर्नेलहरु आएर बस्थे । पत्रकारिता जीवनमा त्यो सबैभन्दा अप्रिय क्षण थियो । तर, गणतन्त्रमा पनि केही यस्ता पात्र उपल्लो तहमा पुगे, जसलाई झेल्नुपर्दाका अनुभव तीता तर रोमाञ्चक छन् ।

सुवास निरौला : नेपाल पर्यटन बोर्डका धेरै जना निर्देशकमध्ये एक थिए, सुवास निरौला । तर, उनी आफैँलाई प्रमुख कार्यकारी ठान्थे । टेकबहादुर डाँगीदेखि प्रचण्डमान श्रेष्ठ प्रमुख हुँदा निरौलाकै हालीमुहाली चल्थ्यो । नचल्दा नेतृत्वलाई असफल बनाउने खेल खेल्थे । नेतृत्व खाली हुँदा उनी नपाएको पगरी आफैँ बोकेर ‘मै हुँ कार्यकारी’ भन्दै डाडुपन्यू कब्जा गर्थे । बोर्डका सदस्यलाई समेत उनी हातैमा नचाउँथे । मन्त्री, सचिवदेखि सबै खालको शक्ति सन्तुलनमा राख्ने कला उनमा थियो । बोर्डको स्रोत–साधन निजीसरह प्रयोग गर्थे । त्यो हर्कतमा असहमति राख्ने कर्मचारी खेदिन्थे । महेन्द्र पुलिस क्लबसामु रहेको बोर्ड कार्यालयमा उनले गुरिल्ला (बाउन्सर) राखेर कब्जा जमाएका थिए । उनको अनुमतिबिना कोही भित्र पस्न सक्दैनथ्यो । तर, त्यो बाहुबली शासनको रिपोर्टिङका लागि भित्रको अवस्था अवलोकन गर्नैपथ्र्यो । एक दिन जसोतसो बहाना बनाएर गुरिल्लाका तह–तहका घेरा तोडेर भित्र छिरियो । त्यतिखेर भारतीय फिल्ममा देखिने भूमिगत गिरोहको नियन्त्रणमा पुगेजस्तो महसुस भइरहेको थियो । उनका अनियमितताको रिपोर्टिङ त्यसअघि नै गरिसकिएको थियो । हामी उनको कार्यकक्षमा पुग्नेबित्तिकै असामान्य व्यवहार देखाए । सुरुमा आक्रोश पोखे, क्रमश: फकाउन थाले र अन्तिममा आफू राष्ट्रवादी भएकाले दु:ख पाएको गुनासो पनि पोखे । हामीलाई भने उनले गुरिल्ला शैलीमा कब्जा गरेको बोर्डको रिपोर्टिङ गर्नु थियो । सहकर्मी रवि मानन्धरले क्यामेराको फ्ल्यास मिलाएजस्तो गरेर गुरिल्लाहरुको तस्बिर लिए । बोर्डबाट निस्केपछि ठूलै जोखिमबाट उम्किएजस्तो भयो ।

लोकमानसिंह कार्की : सूर्यनाथ उपाध्याय र त्यसपछिका प्रमुख आयुक्त हुँदासम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोग हामी पत्रकारको पहुँचमा थियो । पदाधिकारी र कर्मचारीसँग कुराकानी गथ्र्यौं । भ्रष्टाचार मुद्दाका विषयवस्तु र प्रक्रियाको जानकारी लिन्थ्यौँ । विशेष अदालतमा जाँदाजाँदै हामी अभियोग–पत्र पढ्न पाउँथ्यौँ । जब लोकमानसिंह कार्की आए, ती सबै कुरामा बारबन्देज गरियो । अख्तियारमा गेटैदेखि कसलाई भेट्ने, किन भेट्ने भन्नेदेखि नांगेझार पारेर खानतलासी गर्न थालियो । अभियोग–पत्र हेर्न र कर्मचारीलाई भेट्न मुस्किल भयो । अख्तियार आयुक्तहरुले समेत फोन उठाउन छाडे, लोकमानले थाहा पाउँछन् भनेर । त्यो रातो घरभित्र हुने जायज–नाजायज क्रियाकलाप हल्लाका रुपमा बाहिर आउँथे । तर, तिनको सत्यता जाँच गर्न सजिलो थिएन । खोजी गर्दै जाँदा जब राष्ट्रिय अनुसन्धान विभागका प्रमुखले गुप्तचरी संयन्त्र प्रयोग गरी १ सय ९५ जना प्रमुख नेता र उच्च प्रशासकको सम्पत्ति, कारोबार र सम्बन्धहरुको प्रतिवेदन नै तयार गरेको पत्ता लाग्यो । त्यो कतिसम्म गोप्य थियो भने प्रतिवेदन तयार गर्दा बाहिरै भूमिगत कार्यालयमा लोकमान र गुप्तचर प्रमुख दिलीपराज रेग्मीका विश्वासपात्र खटिएका थिए । रेग्मीले १० असोज ०७३ मा कार्कीलाई प्रतिवेदन बुझाए । राज्यका दुई उच्च ओहोदावालले ‘हातोहात’ गरेको कारोबारको प्रमाण पाउन ६ महिना लाग्यो । लोकमानले हाम्रा लागि ढोका बन्द गरे पनि सूचना भने जस्केलाबाट लिएरै छाडियो ।

चूडामणि शर्मा : चूडामणि शर्मा जहाँ गए, त्यहीँ विवादित थिए । तालुकवाला मन्त्री र सचिव भने जो आए पनि प्रिय । जहिल्यै ‘मालदार’ निकायका हाकिम । आन्तरिक राजस्व विभागको महानिर्देशक छँदा कर फस्र्योट आयोगका नाममा नियतवश कर नतिर्ने व्यवसायीलाई फाइदा पुर्‍याउन पद र शक्तिको दुरुपयोग गरेको हिसाब महालेखा परीक्षकको गत वर्षको प्रतिवेदनले औँल्यायो । त्यसको भित्री कथा खोज्ने क्रममा अन्य स्रोतबाट धेरै जानकारी प्राप्त गरे पनि शर्माबाटै ‘भेरिफाइ’ गर्नुपथ्र्यो । सुरुमा भेट्नै आनाकानी गर्ने उनी बल्लतल्ल ८ वैशाख ०७४ बिहान भेट्न तयार भए, जुन दिन मेरो स्टोरीको ‘डेडलाइन’ थियो । कुर्ने धेरै समय थिएन तर नभेटी पनि भएन । अनि, मैले उनकै कार्यकक्षलाई अड्डा बनाएँ । आरामदायी सोफामा ल्यापटप झिकेर स्टोरी तयार गरियो । बिहान साढे ९ बजे भेट्ने समय दिएका शर्मा ढल्किँदै ३ बजेतिर आइपुगे । उनले मेरो तीनपुस्ते नै सोधे । पढाइ–लेखाइ, घर–परिवारको अवस्था, सुख–दु:खका कुरा गरे । मैले सोधेका अधिकांश प्रश्नमा भने ‘बाबु ! विषय एकदम कठिन छ, पछि लेख्दा हुन्छ नि’ भन्दै पन्छिए । स्टोरी तयार भइसकेको थियो, उनको प्रतिक्रिया रेकर्ड गरेँ । बिहानै बोलाएर ढिला आउने र आएपछि पनि अरु नै विषयमा अलमल्याउन खोजे पनि उनको रणनीति सफल भएन ।

गोपाल पराजुली : गोपाल पराजुलीले न्यायाधीश र प्रधानन्यायाधीश बन्न, कार्यकाल लम्ब्याउन अचाक्ली गरे । न्यायाधीश हुँदा उनले गरेका र प्रधानन्यायाधीश भइसकेपछि उनी अनुकूलका इजलासका आदेश/फैसलाले पनि उनको चरित्र उदांगो भइसकेको छ । सुरुमा उनले कानुन व्यवसायीको ठूलै जमातलाई वरिष्ठ अधिवक्ताको उपाधि बाँडेर झ्याली पिटाए । सञ्चारकर्मीसँग पनि व्यक्तिगत सम्बन्ध राख्न चाहे । उनका आफन्त, सहयोगी कर्मचारीहरु ‘कति खेदेको, सहयोग गर्नुपर्‍यो, मिलेर काम गर्नुपर्‍यो’ भन्थे । तर, सर्वोच्च अदालतको ढोकामा भने पत्रकारलाई तगारो थियो । अरु नाममा अदालत पस्न सजिलो तर पत्रकार भनेपछि कडाइ । जो–कोही जान पाउने खुला इजलासमा पत्रकारलाई नियन्त्रण गरियो । उही लोकमान शैली अदालतमा पनि देखियो । यस्तै अँध्यारो कालखण्ड विगतमा दामोदरप्रसाद शर्मा प्रधानन्यायाधीश हुँदा बेहोरिएको थियो ।

प्रकाशित: चैत्र २१, २०७४

ट्याग: नोटबुक