[झटारो] ठोकेरै ठीक हुन्छ

- लक्ष्मण गाम्नागे

हाम्रो देशका जनप्रतिनिधि, मन्त्री र नेताहरू पहिल्यैदेखि नै बलिया र झोँकी हुन् । संघीयता लागू भएर गाउँ–गाउँमा सिंहदरबार पुगेपछि त झन्–झन् पहलमान हुँदै जाँदैछन् । उनीहरू आफ्ना एजेन्डालाई मुड्की ठोकेरै लागू गराउन सक्षम छन् । देश र जनताको सेवामा स्थानीय तहमा पनि लात्ती–मुड्कीको प्रयोग हुन थालेको छ । यसको पछिल्लो उदाहरण सुनसरीमा देखियो । अस्ति भर्खरै दुहवी नगरपालिकाकी उपमेयर उर्फ स्थानीय निकायकी न्यायाधीश र उनका लोग्नेसमेत मिलेर एक वडाध्यक्ष र सदस्यलाई भकुरेर अनुकरणीय न्यायिक सेवा प्रदान गरेछन् ।

दुहवीमा जनप्रतिनिधिले जनप्रतिनिधिलाई नै ठोकेर तह लगाएको समाचार नसेलाउँदै उदयपुरको गाईघाटबाट अर्को क्रान्तिकारी समाचार आयो । गाईघाट इलाका वन कार्यालयका उपसचिवले राष्ट्रिय वनक्षेत्रमा डोजर चलाउन नदिएको भनेर केही जनप्रतिनिधिले उनलाई बेस्सरी भकुरेछन् । ती उपसचिवले डोजर चलाउन नदिएको मात्र होइन, जनप्रतिनिधिले वनक्षेत्रमा बाटो खन्न खटाएको डोजर चालकलाई समातेर थुन्ने दुस्साहस गरेछन् । चुनाव जितेर आएका जनप्रतिनिधिलाई सरकारी नियम सिकाउने ती अनुशासनहीन कर्मचारीलाई हाम्रा जनप्रतिनिधिहरूले लछारपछार पारेर, सर्ट उधारेर, प्यान्ट च्यातिदिएर, नङ्ग्रयाएर ढुट्याएपछि बल्ल उनी ठेगानमा आएछन् र त्यहाँबाट कुलेलम ठोकेछन् ।

उसो त ठट्टाएरै यस्ता छाडा कर्मचारीलाई तह लगाउने लोकतान्त्रिक अभ्यास उहिल्यैदेखि हुँदै आएको हो । केही वर्ष  पहिला तत्कालीन वनमन्त्री मातृका यादवजीले आफ्नै मन्त्रालयका एक कर्मचारीलाई ठटाउँदै लगेर ट्वाइलेटमा थुनेको घटना ठोकतन्त्रको इतिहासमा एक कोशेढुंगा हो । किनभने, त्यो काण्डपछि आजसम्म एक जना कर्मचारीलाई पनि त्यसरी नर्ककुण्डमा दोहोर्‍याएर थुन्नुपरेको छैन । कर्मचारीहरू पूरै ठेगानमा आएका छन् । ठेगानमा नआएका फाट्टफुट्टले धुलाइ खाने क्रम छँदैछ ।

एक मन्त्रीज्यूले सरकारले थोत्रो गाडी दिएको भनेर गाडीलाई नै ठटाएकी थिइन् । मन्त्रीज्यूले ठोकेपछि त्यो गाडी बिग्रिनै छाड्यो भन्ने सुनियो । विभिन्न जिल्लामा सीडीओ र एलडीओहरू त सांसद, मन्त्री तथा नेताबाट कति ठटाइए कति † त्यसरी पटक–पटक कर्मचारीलाई ठटाउँदा–ठटाउँदै उनीहरूमा सुधार आई देशबाट भ्रष्टाचार एवं ढिलासुस्ती कम भएको र मुलुकले विकासको गति लिएको हो भनेर सर्वेक्षणले भनिरहेका छन् ।

एउटा कुरा के प्रमाणित भएको छ भने हाम्रो मुलुकलाई अगाडि बढाउन यस्ता रामधुलाइको नै मुख्य भूमिका छ । कर्मचारी मात्र होइन, हामी सबै नागरिक नै ठोकाइबाटै आफ्नो साइजमा आएका हौँ । घरमा बाबुआमादेखि स्कुलमा मास्टरका सिर्कना र लाठीका धुलाइ पचाउँदै हामी हुर्के–बढेका हौँ । अलिअलि भए पनि काम लाग्ने भएका हौँ । त्यसैले हाम्रो जात नढुट्याइ आँखा नदेख्ने, नठोकी अघि नबढ्ने जात हो ।

कांग्रेसका धेरै र कम्युनिस्टका अधिकांश नेताहरू पटक–पटक ठोकाइ खाएर सत्तामा पुग्न सफल भएका हुन् । नामै लिनुपर्दा प्रहरी, गुन्डा र मण्डलेहरूबाट मनग्गे धुलाइ खाएर नै हालका प्रधानमन्त्री ओली यत्तिका सक्षम र सफल भएका हुन् । गिरिजाबाबुले रत्नपार्कमा पुलिसको डन्डा खाएपछि नै उनको व्यक्तित्वले युटर्न लिएर उनी नेपाली राजनीतिमा नायक बनेका र मर्ने बेलासम्ममा अपार लोकप्रियता हासिल गरेको उदाहरण हाम्राअगाडि झलझली छ ।

त्यसैले नेता, मन्त्री, जनप्रतिनिधि आदिबाट ठोकाइ खाँदैमा कर्मचारीले वा कसैले पनि अपमानित महसुस गर्नुपर्दैन । बरू त्यसलाई आशीर्वाद सम्झनुपर्छ । त्यस्तो आशीर्वादको फल अवश्य प्राप्त हुनेछ ।

प्रकाशित: चैत्र २१, २०७४

ट्याग: व्यंग्य