‘घरघरमा उद्यमी जन्माउँछौँ’

- नेपाल संवाददाता

रोहित तिवारी, २६, ले इलेक्ट्रोनिक्स इन्जिनियरिङ पढे । काम गरिरहेका छन्, फुड कल्चर बदल्ने । यी तन्नेरीको कुनै रेस्टुराँ छैन । तर, स्वादिला परिकार तपाईंको टेबुलमा सर्भ गर्छन् । तिवारीको फुडम्यारियो नामक स्टार्टअप कम्पनीले घरेलु भान्सामा पाकेका खानेकुरा बजारसम्म पुर्‍याइदिन्छ । उनको यही सिर्जनशील सोच पुरस्कृत पनि भयो । संयुक्त राष्ट्रसंघीय विकास नियोगले थाइल्यान्डमा आयोजना गरेको युथ को–ल्याबमा एसिया प्यासिफिक क्षेत्रका एक हजारभन्दा बढी प्रतिस्पर्धीलाई उछिन्दै तिवारी ‘टपटेन’ सूचीमा परे । सात महिनाअघि मात्रै खुलेको कम्पनीका संस्थापक तिवारीसँग यसै सन्दर्भमा गरिएको कुराकानी :

घरको भान्सामा पाकेका खानेकुरा बजारमा पुर्‍याउने यो आइडिया कसरी उब्जियो ?

मलाई उद्यमशीलताबारे सिकाउने एक जना गुरु हुनुहुन्छ । उहाँले ‘लौ न यो रेस्टुराँमा खानपिन गर्ने शैली बदल्न केही गरौँ’ भन्नुभयो । अनि, सोच्दासोच्दै अचानक मेरो दिमागमा यस्तो विचार आयो ।

यसको खास विशेषता के हो ?

हरेक घरमा ३०/४० वर्षदेखि विभिन्न परिकार बनाउने अनुभवी व्यक्ति हुनुहुन्छ । सौखिन पनि उत्तिकै हुनुहुन्छ । उहाँहरूको अनुभव र सीप त्यत्तिकै खेर गइरहेको छ । त्यसलाई उपयोग गरेर आम्दानी गर्नु नै यसको खास विशेषता हो ।

फुडमान्डुकै परिमार्जित रूप हो यो ?

फुडमान्डुभन्दा धेरै फरक छ । फुडमान्डुले रेस्टुराँको खानेकुरा पुर्‍याउँछ । खाना पुर्‍याएको पैसा लिन्छ । हामी घरको खाना, खाजा पुर्‍याउँछौँ । पैसा लिँदैनौँ ।

घरघरमा छरिएकालाई कसरी बजारसँग जोड्नुहुन्छ ?

खासमा यो घरमा बसेर परिकार पकाउन सिपालुहरूको व्यवसाय हो । हामी उहाँहरूका लागि प्लेटफर्म मात्रै हो । हाम्रो वेबसाइटमा लगइन गरेपछि आफूले बनाउने परिकार मूल्यसहित राख्न सक्नुहुन्छ । त्यो हेरेर ग्राहकले अर्डर गर्छन् । अनि, हामी डेलिभरी गर्छौं ।

यस्ता खानेकुरा स्वस्थ हुन्छन् भन्ने आधार के छ ?

सेफका रूपमा लगइन गरेपछि हामी उहाँहरूको भान्सा निरीक्षणमा जान्छौँ । सामान्यत: घरमा पञ्जा र टोपी लगाएर खाना पकाइँदैन । हामी उहाँहरूलाई यी कुरा अनिवार्य गर्छाैं । यस्तो परीक्षण १०/१५ दिनको फरकमा गरिरहन्छौँ । रेस्टुराँको भन्दा घरको भान्सा सफा हुन्छ ।

पैसा कमाउनुबाहेक यसको फरक उद्देश्य के हो ?

सीप भएका सबैले बराबर अवसर पाइरहेका हुँदैनन् । तर, हामीले समान अवसर दिन्छौँ । हामी घरघरमा उद्यमी जन्माउन चाहन्छौँ ।

अहिले कति घरेलु सेफ छन् र तिनीहरूले कस्ता खानेकुरा तयार गर्छन् ?

१५ जनाले १ सय ५० परिकार तयार गर्छन् । घरमा जे पाक्छ, त्यही नै हाम्रो मेनु हो । दालभात, म:म, चाउमिनदेखि योमरी, फापर, कोदोको रोटीजस्ता हम्मेसी नपाउने स्वादका खानासमेत छन् । अचेल रेस्टुराँमा शुद्ध शाकाहारी खानेकुरा पाउन मुस्किल छ । तर, हामीकहाँ पूरा घर शाकाहारी भएका सेफसमेत छन् ।

बढीजसो कस्तो स्वाद मन पराउँदा रहेछन् ?

दाल, भात र तरकारी नै हो । हलुवा धेरैको रोजाइमा पर्ने गरेको छ ।

अहिलेसम्मको सरप्राइज अनुभव केही छ ?

हामीसँग यस्ता सेफ पनि छन्, जसले एक सातामै १ लाख ६ हजार रुपियाँका खानेकुरा बेचे । यसले हामीलाई आश्चर्य र हौसला दुवै दिलायो । उनी नीता राई हुन् । उनले दाल, भातदेखि म:म, चाउमिन, फ्रेन्च फ्राइ जम्मै पकाउँछन् ।

सबै गृहिणी मात्रै हुन् सेफहरू ?

होइन । हामीसँग भर्खर पढ्दै गरेका विद्यार्थीसमेत छन् । एक जना त यति सौखिन सेफ पनि छन्, उनी खाना नबनाई बस्नै सक्दिनन् ।

नेपालीको खानपिन शैलीमा केही परिवर्तन आएको हो ?

मौलिक परिकार खोज्नेहरू बढेका छन् । फापर, कोदोको रोटी चाख्ने र त्यसैलाई निरन्तरता दिनेहरू पनि छन् । विविध जातिका आफ्नै संस्कार अनुसारका परिकार बनाउने हो भने धेरै चल्छजस्तो लाग्छ ।

–मनबहादुर बस्नेत

प्रकाशित: चैत्र २१, २०७४

ट्याग: अचानक