[तीन किताब] फिक्सन र ननफिक्सन २०–२०

- नेपाल संवाददाता

अन्तिममा के हुन्छ भन्ने पाठकलाई पहिल्यै थाहा हुन्छ, गाब्रियल गार्सिया मार्खेजको उपन्यास क्रोनिकल अफ अ डेथ फोरटोल्डमा । घटना त हुन्छ तर कसरी हुन्छ भन्ने कौतूहलले किताबको अँगालोमा बाँधिराख्छ । एउटा रियालिटी बिस्तारै ‘म्याजिकल रियालिजम’ (जादुयी यथार्थ)मा परिणत हुँदो रहेछ ।

कथावाचन नै यसको एउटा कडी हो । अरू उपन्यासमा प्लट बीच–बीचमा आउँछन् । तर, यसमा पहिले नै खुले पनि छाड्न मन लाग्दैन । प्राय: कथावाचनका फ्ल्यास ब्याक र फ्ल्यास फरवर्ड टेक्निक हुन्छन् । यसले फ्ल्यास फरवर्ड टेक्निक समातेको छ ।

प्रारम्भमै कसैलाई मार्न गइरहेको हुन्छ, कथा–नायक । सारा हत्या योजना बुनिएको छ उपन्यासमा । उपन्यासको विषयवस्तु हाम्रो सामाजिक यथार्थसँग पनि मेल खान्छ । माओवादीले ०५२ मा सशस्त्र विद्रोहमार्फत गणतन्त्र ल्याउँछौँ भन्दा हामीले जोकजस्तो मात्रै ठानिदियौँ । त्यसलाई गम्भीर रूपमा लिएको भए अकालमै १७ हजारको ज्यान नजान पनि सक्थ्यो ।

मार्खेजको उपन्यासमा सान्टियागोको हत्याका लागि महिला पात्रका दाजुहरूले गाउँमा धेरै हल्ला फिजाइसकेका हुन्छन् । तर, त्यसलाई रक्सीको ताल या ख्याल–ख्यालमा भनेजस्तो हल्का रूपमा मात्रै लिइयो । र, त्यो व्यक्ति–हत्यालाई रोक्न सकिएन ।

म सिफारिस गरिएका किताब प्राय: पढ्दिनँ । मेरो पुस्तक छनोटविधि आफ्नै खालको छ । कुनै किताब मन पर्‍यो भने लेखकका अरू किताब पनि खोज्न थाल्छु । यसको मतलब मार्खेजका पहिलेका किताब पनि मलाई मन परेका हुन् । म उनको लेखनशैलीबाट बढी प्रभावित छु ।

मलाई मन परेको अर्को उपन्यास हो, डासिएल हम्मेटको रेड हार्वेस्ट । रेमन्ड चन्डलरको द बिग स्लिप पढेपछि मैले विकिपिडिया नखोजी धरै पाइनँ । त्यहाँ के थाहा भयो भने रेमन्डले डासिएल हम्मेटबाट प्रभावित भएर हार्ड बोएल्ड–डिडेक्टिभ फिक्सन लेख्न थालेका रहेछन् । रेमन्डले गुरु थापेका लेखकका किताब कस्ता रहेछन् भन्ने उत्सुकता मैले मार्न सकिनँ ।

म जेम्स बन्डका एक्सन मुभी हेरिराख्छु । फिल्ममा एक्सनका सिन कोरियोग्राफ गरिएको हुन्छ । एक्सन थिमलाई फिक्सनमा कसरी ढालियो होला ? मलाई यही प्रश्नले उपन्याससम्म पुर्‍यायो । उपन्यासको चरित्र चित्रण बेजोड छ । जासुसी उपन्यास मेरा लागि प्रिय छन् ।

०५८ पछि म रिसर्चमा जाँदा माओवादी द्वन्द्व उत्कर्षमा थियो देशमा । त्यतिबेला मैले झेलेका परिस्थिति मिल्दाजुल्दा रहेछन्, मोहन मैनालीको संस्मरण मान्ठा डराएको जुगमा । त्यो अप्ठ्यारो परिस्थितिलाई मैले आफ्नै किसिमले सम्हालेकी थिएँ । तर, लेखकले अर्कै तरिकाबाट ‘ह्यान्डल’ गरेका रहेछन् । मलाई लेखकको ‘डिल’ सशक्त लाग्यो ।

रिसर्चमा जाँदा हामी चेकलिस्ट बनाएर जान्छौँ । तर, त्यति मात्र पर्याप्त नहुन सक्छ । नसोचिएको स्थिति आइपरेमा के गर्ने भन्ने मार्मिक चित्रण छ, किताबमा । मलाई लाग्छ, स्नातकोत्तर रिसर्चमा जाने विद्यार्थीले पढ्नैपर्ने र अझ पाठ्यक्रममै राखे पनि हुने किताब हो यो ।

शान्तिवार्तामा आएपछि माओवादी कमान्डरहरूले हामीले यसरी लड्यौँ, उसरी लड्यौँ भनेर आफ्नो बहादुरीको रोमाञ्चक बखान गरेका छन् । सरकारी सेनाको पनि आफ्नै तारिफगिरी छ । तर, द्वन्द्वकालमा सरकारी र विद्रोही दुवैथरीको चेपुवामा परेका निर्दोष जनताका कथा–व्यथा छन् यसमा । ह्युमन स्टोरीविशेष छ ।

आख्यान र गैरआख्यान दुवैमा मेरो रुचि छ । १९–२० होइन, बरु २०–२० नै । मन परेका किताब किनिहाल्छु । मलाई मान्ठा डराएको जुगको शीर्षक पनि औधि मन पर्‍यो । ०६४ यता द्वन्द्वसम्बन्धी थुप्रै किताब लेखिए । मैले ती पढेकी पनि हुँ । तर, यस्तो किताब एउटा मात्रै पाएकी छु ।

प्रकाशित: चैत्र २१, २०७४

ट्याग: साहित्य