[अभिमत] लेख्न छाडेर सन्न्यासतिर ?

- अभि सुवेदी

६ चैत ०७४ मा नेपालमा प्रकाशित खगेन्द्र संग्रौलाको ‘कन्न छाडेर सन्न्यासतिर’ शीर्षक निबन्धले मलाई भावुक, चिन्तनशील र ऊर्जावान बनायो । त्यसका धेरै र मिश्रित कारण छन् । म खगेन्द्र भाइको लेखन नजिकैबाट पढिआएको मानिस हुँ । विश्वास, निरपेक्ष भाव र स्वतन्त्र मनले उनका निबन्ध र लेखहरू पढ्छु । म पाठकका रूपमा र लेखकका रूपमा अलिक अराजक भावको मानिस हुँ, त्यसैले यी मभन्दा सिद्घान्तनिष्ठ, स्वतन्त्र र सिर्जनशील अराजक मानिसका लेखन मलाई मन परेका हुन् । यो विरोधाभास हो तर त्यही विरोधाभास नै मेरो खगेन्द्र भाइलाई पढ्ने, बुझ्ने र मन पराउने आधार हो । खगेन्द्र भाइका शतप्रतिशत विचारसँग पाठकका विचार मिल्नु पर्छ भन्ने भाव लिएर जो पढ्छन्, तिनका निम्ति ती असहज र कडा लाग्न सक्छन् । तर, उनलाई बुझ्ने आधार उनीसँग शतप्रतिशत सहमत हुनु होइन । म पनि ती आधार राख्दिनँ । तर, जब एउटा यति वलबान, सिर्जनशील र स्वतन्त्र लेखकले ‘म अब सन्न्यास लिन्छु, म अखबारमा अब लेख्दिनँ’ भन्छ, त्यसलाई उसको साहित्यिक उद्घोषका रूपमा विश्वास गरिनु भनेको साहित्यिक कर्मइतरको विषय भएको मैले देखेँ र झस्केँ । एक लेखक, साहित्यको सिद्घान्तको अध्येता र गुरु भएकाले मैले यही विरोधाभासलाई लिएर थोरै शब्दमा भए पनि केही लेख्नुपर्ने देखेँ ।

म त रोला बार्थको लेखक निरपेक्ष सिद्घान्त मान्ने मान्छे । अन्तिम दिनहरू भन्ने किताबमा मलाई मन पर्ने फ्रान्सेली मौरिस ब्लाँसोका कुरा क्रिस्टोफर फिन्कस यसरी राख्छन्, ‘लेखन भन्ने सधैँ आपैँmले भनेकै अनुसार हुने आफ्नो सामथ्र्यभित्रको कुरा होइन । अन्तहीन द्वन्द्व र अरू शक्तिलाई पनि साथमा लिएर साधना गरिने विषय हो, लेखन ।’ साहित्य सिद्घान्तका केही बहसमा विमति राख्न अनि साइबरनेटले जन्माएका असंख्य दैनिक घटना र जीवनका न्याना कथाको बीचमा भ्रम छर्ने कर्मलाई खगेन्द्र भाइले अन्तरे उत्तरआधुनिकता भन्ने नामकरण गरेका छन् । नेपालको इतिहासले अभूतपूर्व मोडहरू लिएका बेला अनि युद्घ, जीवनका अनिश्चितता र हिंसा भएका बेला, क्रान्तिकारी तथा एकतन्त्री शासकहरूको भाष्यमा मानिस निरीह रूपमा देखिएका बेला आफ्नो विवेक अनुसार नेपालका विपन्न र सवाल्टर्नहरूको विश्वास र तिनको पक्षमा रत्तिभर डर नलिई लेखिरहने र प्रकाशन गरिरहने खगेन्द्र संग्रौलाबाहेक एकाध अरू लेखक पनि छन् कि त †

खगेन्द्र संग्रौलाले बिसाउँदैमा, उनले घोषणा गर्दैमा उनको जीवनमुखी लेखनको काल नापिँदैन । उनका कथानकका पात्रहरू, निजात्मक निबन्ध र संस्मरणहरूमा उनको त्यही जीवनमुखी लेखन–सामथ्र्य देख्न सकिन्छ । उदाहरण लिएर भन्छौँ, कुन्साङ काकाका कथा भाग एक र दुईमा चित्रित पात्रहरू यसै बिलाएर जाने प्राणी होइनन् । तिनले आजको समाजकै चित्र दिन्छन् र मानिसका विवशता र संघर्षका अनेकौँ आयामको परिचय दिन्छन् । लीला कथाको लेखकीय तथा डाक्टरीका धुमिल सपनामा बसेको शम्भुप्रसाद र विश्वनाथको नियतिमा रहेको जीवनको खेलले त्यही जीवन अनि संघर्षको विश्वास देखाउँछन् । भाग दुईमा यस्तै राजनीतिक चेतना र स्थानीय परिवेशका संघर्षका कथा छन् । पात्रहरूका अभियान शाश्वत छन् । महाप्रलयपछिमा धरानको ०४९ को भूकम्पमा नैनीकी आमाले गरेको संघर्ष अनि उसको भत्केको घरमा दु:खीरामले जबर्जस्ती घर बनाउन लाग्दा उसले बघिनीजस्तै झम्टेको सम्झिन्छु । उल्टो नैनीकी आमालाई प्रहरीले पक्रेर परपर झन्–झन् पर लगेको दृश्यले नैनीकी आमाजस्तै भूकम्पपीडित अनि दु:खीरामजस्ता ठगहरू आजका भूकम्पपीडितको दु:ख र समस्याका कारक हुन् भन्ने पनि देखाउँछ । अरू कथामा अनेकौँ किसिमले प्रकट भएका पात्रमा संघर्षशील चेतना छ । लेखकले बन्दीपुरमा मास्टरी गर्दा लेखेको सानो उपन्यास फूलमायामा चुँदीतिरका पात्र छन् । ती जहाँ भए पनि उपन्यासमा जीवित छन् । त्यहाँ जीवन र साहित्यको सम्बन्धको आयाम वाचाल हुन्छ ।

नेपालमा प्रयुक्त ‘कन्ने’ शब्दको उनको लेखनमा इतिहास छ । १९ कात्तिक ०६० को दिन खगेन्द्र भाइको निबन्धसंग्रह घोडा, ईश्वर र मेरा बाको विमोचन भयो काठमाडौँमा । यो संग्रहको पहिलो शीर्षक छ ‘कनेर नलेख्नू, लेख्दा नढाँट्नू ।’ यो शीर्षक भूतका भिनाजुले खगेन्द्र भाइलाई दिएको मन्त्र थियो । यो कन्ने प्रसंग त्यसपछि अनेकौँ रूपले उनका निबन्धमा वाचाल भएर आएको छ । यो निबन्धसंग्रहमा शीर्ष लेख ‘घोडा, ईश्वर र मेरा बा’ अत्यन्तै मार्मिक र वाचाल निबन्ध हो । त्यो धेरै जनाको कथा हो । अर्को यस्तै निबन्ध छ त्यसमा, जसको ओज र विस्तारको आयाम फरक छ । त्यसको शीर्षक छ ‘माओवाद र साहित्यिक पुरेत्याइँ ।’ माओवादको यथार्थ र फेसन चरित्रको उनले जुन चित्रण गरेका छन्, त्यो आज आएर पढ्दा कस्तो वाचाल र अर्थपूर्ण भएको छ, थाहा हुन्छ ।

आफ्नो लेखकीय स्वतन्त्रता र विश्वासबारे आफ्नै आँखाको लयमा खगेन्द्र भाइ भन्छन्, ‘कम्निस्ट पार्टीको कर्तव्य र अनुशासनको सूत्रले बाँधिएर म कहिल्यै कम्निस्ट भइनँ । प्राय: मुक मुद्रामा माथिका हस्तीहरूको आदेश लिने र तलका मौन मानवहरूलाई आदेश दिने, माथिकाले खटाएजति बोल्न पाइने, आफूले देखे–भोगेको कुरा धक फुकाएर बोल्न नपाइने संस्कृति र शैली देखेर कसोकसो म हच्किएँ ।’

त्यही निबन्धसंग्रहभित्र उनले लेखेका छन्, ‘मेरो लेखन–प्रक्रिया भने प्राय: उमंग र झिझ्याटको एक संगम हो । कहिले लेख्नलाई मनको टेबुलमा अनेक विषय तँछाडमछाड गरिरहेका हुन्छन् । र, रुचि–दख्खल हेरी विषय चयन गर्न सजिलो हुन्छ । कहिले न विषय फुर्छ, न त मनका छिद्रहरू खुलेका हुन्छन् । यस्तो कर्मकाण्ड धान्नका लागि कनेर लेख्न विवश हुनुपर्छ ।’ संग्रहमा संकलित निबन्धहरूमा करुणा, क्रान्ति र हास्यको बेजोड संगम छ । तिनमा एउटा अत्यन्त ‘हिपोक्रिटिकल’ समाजमाथि व्यंग्य गरिएको भेटिन्छ । निबन्धहरूमा मानवीय आयाम बलियो छ, जसमा त्रासद चेतना, क्रान्ति र निजत्वको अनौठो संगम भेटिन्छ । राज्य स्थूल हुन्छ र त्यसको चिन्ता पनि ठृ्लो हुन्छ । त्यो स्थूलसँग सम्बन्धित पात्रहरूमा एउटा साझा चरित्र हुन्छ । ती सूक्ष्म वा सानोलाई देख्दैनन् । खगेन्द्र भाइका सम्पूर्ण लेखनको मूल सार भनेको नै त्यही हो । ती स्थूलका अतिवादलाई प्रहार गर्छन् अनि सानोको अस्मितालाई बाहिर ल्याइदिन्छन् । साहित्यकारको लोकप्रियता र साहित्य पठनपाठनका आयामहरूको तिनले यसका निबन्धहरूमा सूक्ष्म चित्र खिचेका छन् । कथावाद र प्रगतिवादको मिलनबाट राम्रो साहित्य जन्मिन्छ भन्ने उनको धारणा छ ।

खासगरी काकाले लेखेका राजनीतिक लेख सङ्कट कालमा कुन्साङ काकामा समेटिएका छन्, ती छुट्टै छन् । खगेन्द्र भाइले संकेत गरेका लेखहरूका प्रकृति छन्, यसमा । आफ्नै आँखाको लयमाघोडा, ईश्वर र मेरा बामा समेटिएका निबन्धहरूको सूक्ष्म अध्ययन नगरी खगेन्द्र भाइलाई बुझ्न गाह्रै हुन्छ भन्ने मेरो आफ्नो अनुभव छ । यो छोटो लेखमा तिनै केही प्रसंगहरू राखिएका हुन् ।

२ जुन २०११ म काठमान्डु पोस्टमा कोलिन कुपर चेस्टर भन्ने बेलायतका एक अध्येताले ‘नेपालमा किन व्यंग्य चाहिन्छ’ भन्ने लेखमा लेखे, ‘मेरो भनाइ नेपाली मिडियामा व्यंग्य छँदैछैन भन्ने होइन । सायद खगेन्द्र संग्रौलाका लेखनमा विरोधको सबभन्दा बलियो आवाज छ । अरू कसैले सीधै लेख्न साहस गर्न नसक्ने राजा ज्ञानेन्द्रको निरंकुश शासनका बेला तिनका कडा र आक्रामक किसिमले लेखिएका स्तम्भहरूमा त्यस्तो लेखन भेटिन्छ ।’ त्यसो त उनकै र प्रत्यूष वन्त भाइकी पनि मित्राणी मेरी डेसेनले उनीमाथि लेखेका कुराहरू निकै छन् । मेरीले बाबुरामलाई अंग्रेजीमा लेखेको पत्रको नेपाली अनुवाद गरे खगेन्द्र भाइले । राम्रा तर्क छन् । कतिपय माक्र्सवादीहरूका तर्कमा मैले रोमान्टिक चेतना पनि पाउने गरेको विषय छुट्टै छ । यस्तो लेखनको अन्तिम कडीमा पुगेको एउटा लेखन इतिहासमा कालो पोतिएको अनुहारमा प्रयुक्त शीर्षक ‘ भतिज,

दीपेन्द्र ! मलाई माफ गर’ले खगेन्द्र भाइको लेखनमा इतिहासको त्यही वर्षको दरबार हत्याकाण्डले बल्झाएको इतिहास हेर्ने चुनौती देखियो । यो उनकै भनाइमा ‘क्वाँटी संकलन’ इतिहासको अमूक मोडमा बाढीजस्तै भोगिएको अनुभवले जन्माएको अभिघातको भल बगेका बेला लेखिएको लेखनको संगालो हो । यो घटना र दसवर्षे युद्घले जन्माएका अभिघातमाथि गम्भीर अध्ययन भएका छन् । अंग्रेजी र नेपालीका विद्यावारिधिको निर्देशक र परीक्षक भएर थाहा पाएको छु ।

मलाई मन पर्ने खगेन्द्र भाइका अरू निबन्धहरू बाल्यकालका पदचापहरूमा संकलित छन् । त्यही भेकको म, ती निबन्धहरू धेरैमा आफूलाई देख्छु । माटो, लय र पात्रहरू मेरो आँखाअगाडि चल्न थाल्छन् । खगेन्द्र भाइ जन्मेको प्रसंगका यी हरफहरूमा म इतिहास र जीवन, विवशता अनि राजनीतिककालीन व्यंग्यको अत्यन्त सूक्ष्म संगम देख्छु । लेखक भन्छन्, ‘यसरी डर, त्रास र आतंक भएर मेरो घर–आँगनमा मेरो पहिलो प्रजातन्त्र आयो । र, प्रजातन्त्रले पहिले राई–लिम्बूलाई पाता फर्काएर लडायो । अनि, पछि तिनलाई समेत भोज खुवाएर राजाका सिपाहीसँगै प्रजातन्त्र बाटो लाग्यो । प्रजातन्त्रको त्यही आतंकमाझ मेरो जन्म भएको हो ।’ मेरो पनि त्यहीँ हो जन्म अनि लाग्छ, हामी धेरैका जन्म इतिहासका त्यस्तै अनुत्तरित कुइँनेटाहरूमा भएका हुन् ।

खगेन्द्र संग्रौलाको नेपालमा प्रकाशित पछिल्लो लेखमा उद्घोषित विचारलाई साहित्यिक र ऐतिहासिक सही अभ्यासका निम्ति हाम्रो आँखाको लयबाट पनि हेर्नुपर्छ । अहिले यत्ति भन्छु ।

प्रकाशित: चैत्र २१, २०७४

ट्याग: साहित्य