अचम्मका लघुराष्ट्रहरुबारे थाहा पाउनुहोस्

- विभु लुइटेल

सन् १९७९ मा अमेरिकाको मिल्वाकी सहरका १४ वर्षीय रोबर्ट बेन म्याडिसनले क्रिसमसको भोलिपल्ट आफ्नो कोठालाई नै देश घोषणा गरे । त्यस देशको नाम राखे, टलोसा । उनी बिस्तारै यसको साम्राज्य फैलाउँदै गए र १३ वर्ग किमीको एक लघुराष्ट्र निर्माण भयो । बिस्तारै म्याडिसनले त्यस ‘देश’ को झन्डा पनि डिजाइन गरे, हातैले लेखेर पत्रिका पनि सञ्चालन गरे ।

टलोसालाई देश नै नमान्नेहरू पनि थुप्रै छन् । त्यसरी हचुवाका भरमा कुनै क्षेत्रलाई देश बनाइन नहुने उनीहरूको तर्क छ । टलोसाभन्दा अगाडि पनि यस्ता लघुराष्ट्र नभएका होइनन् । तर, ती कम चर्चित थिए । टलोसालाई लोकप्रिय बनाउने काम त्यति बेला न्यूयोर्क टाइम्सले गरेको थियो । यस्तो विश्वविख्यात पत्रिकाले टलोसाका बारेमा खबर प्रकाशित गरेपछि सिंगो संसारको ध्यान त्यता केन्द्रित भयो र धेरैले त्यहाँको नागरिक बन्न पाउँm भनी निवेदन पनि दिए । 

२३ मार्च १९७३ मा अमेरिकाका राष्ट्रपति रिचार्ड निक्सनको सरकारले ‘बिटल्स’ का गायक जोन लेनन र उनकी पत्नी योको ओनोलाई ६० दिनभित्र अमेरिका छोड्न अल्टिमेटम जारी गर्‍यो । सोही वर्षको १ अप्रिलका दिन लेननले नयाँ देश ‘नुटोपिया’ को घोषणा गरे । निक्सनको आप्रवासी नीतिप्रति उपहास गर्दै उनले भने, “नुटोपियाको न कुनै भूमि हुनेछ, न त सीमा वा राहदानी नै । यहाँ केवल मान्छे हुनेछन् । यहाँ कुनै कानुन पनि हुने छैन ।” उनले संयुक्त राष्ट्रसंघसँग नुटोपियालाई वैधानिकता दिन अपिल गरे र न्युयोर्कस्थित आफ्नो घरलाई नुटोपियाको राजदूतावास नै घोषणा गरे । 

यस्तै रोचक ढंगमा स्थापना भएको अर्को लघुराष्ट्र हो– ‘एलोर’ । कोपनहेगन, डेनमार्कका केही शिक्षकले सन् १९४४ मा पिकनिकका लागि एक द्वीप किने । पछि यो साम्राज्य नै घोषित भयो । सन् १९४५ देखि आजसम्म यहाँ ६ राजाले राज्य सञ्चालन गरिसकेका छन् । हरेक वर्ष एक हप्ता यस राज्यमा जोकोही घुम्न पाउने प्रावधान छ ।

अन्तर्राष्ट्रिय एरोस्पेस अनुसन्धान केन्द्रका संस्थापक इगोर असुरबेलीले सन् २०१६ मा अज्गार्डिया नाम गरेको लघुराष्ट्रलाई राष्ट्रको मान्यता दिलाउन संयुक्त राष्ट्र संघमा दबाब दिन सबै मुलुकका जनतालाई अनुरोध गरे । सूचना निकालिएको दुई दिनमा नै राष्ट्र संघमा एक लाखभन्दा बढी आवेदन परे । एक महिनामा सो संख्या करिब ५ लाख पुग्यो । असुरबेलीले यसै वर्ष औपचारिक रूपमै राष्ट्र संघमा निवेदन दिने प्रक्रिया थालिसकेका छन् । अज्गार्डियामा संविधानसभाको चुनाव भई संविधान पनि बनिसकेको छ ।

असुराबेलीका अनुसार अज्गार्डियाको सीमित क्षेत्रफल मात्रै पृथ्वीमा हुनेछ । बाँकी सबै अन्तरिक्षमा हुनेछ । यसलाई विज्ञहरूले संसारमा भएका सबैभन्दा महत्त्वाकांक्षी परियोजनामध्ये एक मानेका छन् । 

अज्गार्डियाजस्तै सेलेस्टिया नाम गरेको अर्को लघुराष्ट्र पनि अन्तरिक्षमा स्थापना हुनुपर्छ भनी अमेरिकी नागरिक जेम्स टमस मोर्गनले सन् १९४९ मा प्रस्ताव गरेका थिए । त्यस समयमा उनी अमेरिका, बेलायत र सोभियत संघले अन्तरिक्षमा जमाइरहेको एकाधिकार तोड्न चाहन्थे । सन् १९५८ को जुन महिनामा अमेरिकाको एक टीभी च्यानलले सेलेस्टियाको चर्चा गर्‍यो । त्यसको भोलिपल्ट नै राष्ट्रसंघले न्युयोर्कस्थित आफ्नो केन्द्रीय कार्यालयमा सेलेस्टियाको झन्डा फहराइदियो । पछि भने सेलेस्टियाले संयुक्त राष्ट्रसंघबाट खासै महत्व पाएन ।

चेक गणतन्त्रका राजनीतिज्ञ तथा अभियन्ता भिट जेडलिकाले क्रोएसिया र सर्बियाबीचको दशगजा क्षेत्रलाई ‘लिबरल्यान्ड’ नाम दिए । १५ अप्रिल २०१५ मा उनले त्यसलाई देश नै घोषणा गरे । सोमालियाको स्वायत्त प्रान्त सोमालिल्यान्डसँग यसले अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरिसकेको छ । मनगढन्ते ढंगमा देश बनायो भन्दै क्रोएसियाका प्रहरीले लिबरल्यान्ड जाँदै गर्दा जेडलिकालाई कैयौँपटक हिरासतमा लिइसकेका छन् ।

अंग्रेजी हास्यकलाकार डेनियल फ्रेडरिक वालेस ‘ड्यानी’ले इन्टरनेटका माध्यमबाट लब्ली नाम गरेको अर्को राष्ट्र घोषणा गरे । पूर्वी लन्डनस्थित उनको घर नै लब्ली राष्ट्र हो । यसको वेबसाइटमा ५८ हजार १ सय ६५ जनाले यस देशको नागरिक बन्न पाऊँ भनी निवेदन दिइसकेका छन् । 

संसारमा अहिले यस्ता राष्ट्रको संख्या ८६ पुगिसकेको छ । अधिकांशका आफ्नै झन्डा, मुद्रा र हुलाक टिकट छन् । कतिले त संयुक्त राष्ट्र संघले मान्यता प्रदान गरेका अन्य देशसँग अन्तर्राष्ट्रिय सम्बन्ध पनि कायम गरेका छन् ।

–एजेन्सीको सहयोगमा

 

प्रकाशित: चैत्र २०, २०७४

ट्याग: विदेश