ब्वाय फ्रम खैरेनी

- राजकुमार बानियाँ

घाघडान अनुवादक खगेन्द्र संग्रौला र मञ्जुश्री थापा घरीघरी नाम लिइरहन्छन्, प्रवीण अधिकारी, ३७, को । यी तन्नेरीको नाम किन पनि आउँछ भने हालसालै इन्द्रबहादुर राईका हाडेओखरजस्ता १६ कथालाई समेत अंग्रेजी जहाजमा राखिदिएका छन्, लङ नाइट अफ स्ट्रोम

साँच्चै भन्ने हो भने लीला लेखनमा गएपछिका राईका कथा नेपालीमै पढ्न पनि गाह्रो छ । उनले सोधेछन्, ‘कुन–कुन कथा छानिएको छ त ?’ ‘बाघ’, ‘झ्याल’, ‘खीर’ आदि कथाको बनिबनाउ सूचीमा राईले तत्काल संशोधन हालेछन्, ‘होइन, यिनीहरू त पहिले पनि गरेकै हुन् तर यसको अनुवाद राम्रो हुनै सक्दैन ।’ अब अलि सजिला कथाको अर्को सूची बन्यो । विपना कतिपयका १० र कथास्थाका आधा दर्जन कथा ।

यी युवा हलकारा शब्दभण्डारले भन्दा पनि लेखनशिल्पले सिँगार्न सिपालु छन् । अनुवादलाई पनि कताकता श्रुतिमधुर बनाइहाल्छन् । अनुवादकका रूपमा उनको यो पहिलो पाइला होइन । यसअघि पनि उनले सुभाष दर्नालको अ ल्यान्ड अफ आवर वन र आमोद भट्टराईको कथासंग्रह च्याप्टर्स पाठकको हातमा पुर्‍याइसकेका छन् ।

खासमा अनुवादकमा मात्र सीमित छैनन् प्रवीण । नयाँदिल्लीको प्रकाशक रूपाले केही वर्षअघि बजारमा ल्याएको उनको पहिलो पुस्तक द भ्यानिसिङ एक्टका केही कथा मस्र्याङ्दी खोला किनारको गाउँ आँबु खैरेनीको सेरोफेरोमा छन् । ‘द ब्वाय फ्रम बनौती’, ‘मायापुरी’, ‘फच्र्युन’ आदि कथाको भावभूमि आँबु खैरेनी नै रहेछ प्रवीणको जन्मथलो । दीपक अधिकारीले यसरी चिनाएका छन् उनलाई, ‘मध्य पहाडमा दु:खजिलो गर्ने किसान, साना व्यापारी र तिनका स–साना सपना र संघर्षका कथा भन्ने एक कटुवाल ।’

रूपासम्म पुग्ने सूत्र रहेछन्, जयपुरमा भेटिएका पेन्गुइनका सम्पादक अनुराग बस्नेत । पाठक प्रतिक्रिया, समीक्षा र टिप्पणी राम्रो पाए उनले । एक महिना पोखरा बसेर पुनर्लेखन गरी किताब छापिँदासम्म कालिम्पोङका अनुराग अलेफ हुँदै स्पिकिङ टाइगर पुगिभ्याएछन् । “काठमाडौँका प्रकाशकसँग राम्रो सम्पादक हुने हो भने हामी बाहिर जानु पर्दैन,” उनको अनुभव छ, “आईएनजीओहरूले सम्पादक र अनुवादकलाई क्वाँप्पै निल्दिहाल्छन्, अफिसमा दिनभरि घोटिने उनीहरू साहित्यका लागि एक अक्षर गर्नेवाला छैनन् ।”

लेखनबाहेक अन्य करिअरबारे सोच्दै सोचेनन् प्रवीणले । आँबु खैरेनीमा हजुरबुबाको आँगनबाट सुरु भएको स्कुल सनसाइन बोर्डिङमा ३ कक्षासम्म पढेपछि उनको रवाना भयो, बूढानीलकण्ठ स्कुलमा । त्यहाँ १० वर्ष कैदी भएर बसेको अनुभव छ उनीसँग । खैरेनीमै टीकाराम परियारको किताब पसलमा दुई रुपियाँ धरौटी राखेर कमिक्स र सुरेन्द्रमोहन पाठक, वेदप्रकाश शर्मा मार्का हिन्दी उपन्यास पढ्ने बानी लगाए उनले । जेठाबाठाले किताब साटासाट गर्दा उनलाई हुलाकी बनाउँदा रहेछन् । त्यसबीचमा उनी किताब चप पार्दा रहेछन् ।

बूढानीलकण्ठ स्कुलमै पढ्दा उनले गन्तव्य निश्चित गरेका रहेछन्, साहित्य या फिल्म । लेखक बन्नु पहिले पक्का पाठक बन्नुपथ्र्यो । त्यसैले उनी कक्षा ४ देखि १२ सम्म लाइब्रेरियन बने । “मैले स्कुलमा सबभन्दा धेरै काम गरेको लाइब्रेरीमै हो,” उनी भन्छन्, “लाइब्रेरियन नवीन रायमाझीले मलाई राम्रा किताबतिर डोर्‍याइदिए ।” राहुल सांकृत्यायनको वोल्गा से गंगा र इटालो कालभिनोको ट्रिलोजीले उनलाई मोहनी लगाइदिए ।

कलेज जाने बेला सिनियरले निकाल्ने साहित्यिक पत्रिकाका पाना एम्बुलेन्स शैलीमा भरिदिने काम हुन्थ्यो प्रवीणकै । अभिनयमा मात्र नभएर पेन्टिङमा रुचि थियो उनको । नाटकको सेट बनाउन भागेर पुग्थे । राहुल गिरी, शिरीष दली, ठाकुर अम्गाईं उनका सहपाठी थिए । आदित्य अधिकारी एक ब्याच सिनियर ।

बूढानीलकण्ठपछि अमेरिका भयो उनको मुकाम । वासिङ्टन राज्यस्थित वालावाला गाउँको ह्विटम्यान नामक सानो कलेजमा पढे पूर्ण छात्रवृत्तिमा । समरको तीन महिनाजति आफैँले कमाएर खानुपथ्र्यो । केही समय घाँससास काटे र छाडे । तीन महिनाका लागि पाएको कथा लेखनको ग्रान्ट पनि सकिएपछि उनका साथी सुपरमार्केटअगाडि पोट्र्रेट कोर्न थाले । प्रवीणको काम ग्राहकको हात समातेर ल्याउने । त्यसले बियर र म:म खान पुगिहाल्थ्यो ।

जताततै स्याउ फल्थ्यो वालावालामा । कति दिन त फलफूल चोरेर पनि गुजारा चल्यो । त्यसपछि गए सान फ्रान्सिस्को । कलेजमा क्रियटिभ राइटिङ र वल्र्ड लिटरेचर नै पढेका थिए उनले । पोयट्री पढ्न गएछन् सुरुमा । प्रोफेसरले भनेछन्, ‘तिम्रो कविता कथाजस्तो छ, कथा कविताजस्तो छ । दुईमध्ये एउटा छान ।’ अब उनको रोजाइ कथा भयो, लामो लेख्न पाइने छुटका कारण । “म कलेजमा एक्टिङ सिक्न पनि गएकै हुँ,” उनी थप्छन्, “तर, मैले अंग्रेजी बोलेको कसैले बुझेन ।”

उनको पहिलो जागिर थियो सिलिकन भ्यालीमा । “मेरो तलब नै ३२ सय डलर थियो । तीन महिनापछि फेरि बढ्नेवाला थियो,” उनी रुटिन सुनाउँछन्, “बिहान साढे ५ बजेदेखि राती साढे ८ बजेसम्म काम गर्थें । साथी भेट्न जानुपर्‍यो भने रेलमा डेढ घन्टा लाग्थ्यो । नयाँ साथी बनाउने समय थिएन । मलाई लाग्यो, यो जिन्दगी खै के जिन्दगी ?”

बारमा भेटिने मान्छे त साथी हुन सक्दैन थियो । जिन्दगीभरि कथा लेख्छु, किताब लेख्छु भन्ने मान्छेको यो हविगत उनलाई सह्य भएन । फेरि उनी प्राविधिक थिएनन् । उनलाई रिक्रुटिङको काममा अल्छी लाग्न थाल्यो । साथी सुश्रुत आचार्य (अहिले युलेन्स स्कुलका शिक्षक) कम्प्युटर छाडेर काममा जान्थे, प्रवीण त्यसमै कथा लेखेर बस्थे । त्यतिबेलाका कतिपय कथा छन्, द भ्यानिसिङ एक्टमा ।

त्यसबीचमा कहिले रेस्टुराँ त कहिले पाकिस्तानीको रक्सी पसलमा काम गरे । पैसा नभएका बेला सुश्रुतकी सानिमाको रेस्टुराँबाट भात आइपुग्थ्यो । नत्र वाईवाई चाउचाउ उमाल्यो, खायो । उनले आफैँलाई लगातार सोधिरहे– होइन, म के गरिरहेको छु ? लेखक बन्न आएको मान्छे । अमेरिकामा बसेर गरिब हुनुभन्दा काठमाडौँमै गरिब हुनु ठीक होइन र ?

काठमाडौँमा त केही भएन भने कमसेकम घरमा आमाले पकाएको भात खान पाइन्छ । जहाँ पनि हिँडेरै पुगिन्छ । त्यसपछि सुरु भयो– काठमाडौँको लफंगा लाइफ । रमाइलो जिन्दगी । बिन्दास जिन्दगी । बेपर्वाह जिन्दगी ।

त्यतिबेला आईएनजीओमा पसेको भए ५०–६० हजार रुपियाँको जागिर गाह्रो थिएन उनलाई । तर, उनीभित्रको लेखकले रोकिहाल्यो– अहिले छिरियो भने लेखक बन्ने सम्भावना फेरि सकिन्छ । अहिले धेरै तलब खाएपछि त्यो भन्दा कममा जाने छुट पाइँदैन । अहिले आएर उनलाई लाग्छ, तलब थाप्ने हतारो गरेको भए न आफ्नो किताब हुन्थ्यो, न आईबी राईको अनुवाद, न त वर्ड वारियर्स र ल.लितकै काम ।

बूढानीलकण्ठ स्कुलकै सोम ढकाल (फिल्म गुडबाई काठमान्डूका निर्माता)ले १८ वर्ष पहिले नेपालीका लागि पहिलो च्याट साइट खोलेका थिए, सुस्केराडटकम । मञ्जुश्री थापा, सुषमा मानन्धर, सम्राट् उपाध्यायसँगै उनका पनि लेखरचना आए त्यसमा । नेपाली सेनाले प्रतिबन्ध नलगाउँदासम्म सराहना श्रेष्ठको समुदायडटवर्कमा पनि लेखे ।

“पछि आदित्य अधिकारीले मलाई साप्ताहिक स्तम्भ दिए, द काठमान्डू पोस्टमा । फोटो नछापिए पनि युवा पाठकले नोटिस गरे,” उनलाई सम्झना छ, “पत्रिकामा आउन थालेपछि ममीलाई अब छोराले पैसा कमाउँदैन भन्ने पक्का भयो ।” पत्रकार बा (गोविन्द अधिकारी)ले उनलाई न धाप दिए, न बाटो छेके ।

प्रवीणलाई अनुवादको काम दिएका रहेछन् आफ्नै बाले । हिमालय टाइम्सका लागि । एक शब्दको एक सुका दिने सर्तमा । बूढानीलकण्ठ स्कुलको छुट्टीभरि १ हजार ६ सय रुपियाँको काम गरेछन् उनले । गगन थापालाई जेल हाल्दा खगेन्द्र संग्रौलाको अखबारी लेख ‘हजारौँ गगन’को अंग्रेजी अनुवाद पनि उनले नै गरेका थिए ।

जनआन्दोलनका बेला पल्पसा क्याफे अनुवाद गर्न मन लाग्यो उनलाई । “नारायण वाग्लेलाई म बामार्फत चिन्थेँ,” उनी भन्छन्, “मैले सोधेँ, दाइले कलेज पढेको केटो भनेर वास्ता गर्नुभएन ।” त्यही सम्झाएर उनी वाग्लेलाई कहिलेकाहीँ जिस्काउँछन् पनि ।

उनी नेपाल फर्कनुको कथामा फिल्म पनि जोडिएको छ । अमेरिकामा कागबेनी फिल्म देखाउने जिम्मा लिएका थिए, कसिसदास श्रेष्ठले । कसिसमार्फत भास्कर ढुंगानासँग सम्पर्क भयो उनको । फिल्मले उनलाई सजिलै अमेरिकामुक्त गरिदियो ।

भास्करले काममा कति कजाए भने हरेक दिन दुई–चार हजार शब्द लेखाउँदा रहेछन् । चार–पाँच वर्षको बीचमा दुईवटा फिल्म लेखे, कोही मेरोसुन्तली । दुवै व्यावसायिक रूपमा भने सफल भएनन् । उनले लेखेका सात–आठवटा त फिल्म नै बनेनन् । “मैले लेखेका कुरा फ्लप हुन्छन् भन्ने निश्चितै हो,” उनी भन्छन्, “हामीकहाँ सहरी दर्शकका लागि बनाएको नक्कली नोस्टाल्जिया मात्रै छ । त्यो सक्कली गाउँले जीवन नै होइन ।”

भास्कर पनि प्राग (चेकोस्लोभाकिया)तिर पढ्न गए । त्यसबीचमा चार–पाँचवटा सर्ट फिल्म लेखे प्रवीणले । ती फिल्म विभिन्न फेस्टिभलमा गए । बुसानपछि सुन्तली अमेरिका, अस्ट्रेलियातिर जाने बेला भुइँचालो आइहाल्यो । फिल्मको काम अड्कियो । उनले सिंहदरबारको चार शृंखलामै चित्त बुझाउनु परेको छ । राजनीतिक अपराधलाई लिएर जासुसी उपन्यासको खाका तयार छ ।

जतिसुकै अप्ठ्यारो घुम्तीमा पनि लफंगा–लाइफ छाडेनन्, प्रवीणले । उनी आफ्नै मर्जीमा फिल्मका स्क्रिप्ट र कथा लेख्छन् या अनुवाद गर्छन् । जागिरेले पनि गर्ने आखिर यस्तै काम त हो । तर, उनको जीवन अरूले हेर्दा पनि लफंगा छ, आफूले हेर्दा पनि लफंगा नै । “म मात्रै किन ? कला क्षेत्रका सबै मान्छे लफंगा लाग्छन्,” उनलाई लाग्छ, “कलामा एउटा सफलता पाउन दशकौँ लाग्न सक्छ ।” उनलाई प्रिय छ, आफ्नो लफंगा जीवन ।

पाँच वर्ष अमेरिका बसे प्रवीण । अमेरिका उनले बहुत आनन्द लिएको ठाउँ हो । त्यही भएर हातमा डिग्री परेन । उनी कतिसम्म मस्त भए भने स्नातकोत्तरका लागि आवेदन समेत दिएनन् । बौद्धिक भइनँ भन्ने लाग्छ कहिलेकाहीँ । काठमाडौँ विश्वविद्यालयको कलेज अफ आर्टस्मा ‘भिजिटिङ फ्याकल्टी’ छन् पाँच वर्षयता ।

एउटा अनुवादकका रूपमा नेपालबाट देशबाहिर लाने, देशबाहिरबाट यहाँ ल्याउने, मातृभाषाबाट नेपालीमा, नेपालीबाट मातृभाषामा लैजाने आदि थुप्रै काम छन् उनका । अनुवादको औचित्य कति छ भने नेपालीले नेपालीकै कथा पढ्न पनि अंग्रेजी चाहिने बेला भइसक्यो । “रहरले अनुवाद कसले गर्ला र ? सेवाभाव नभई छिर्न गाह्रो छ,” उनी भन्छन्, “नेपाली साहित्य राम्रो नभईकन न फिल्म राम्रो बन्छ, न अनुवादकै सार्थकता रहन्छ ।” यत्ति हो, अनुवाद भयो भने देवकोटाले नोबेल पुरस्कार पाउँछन् भन्ने कुराचाहिँ झूर लाग्छ ।

प्रवीणलाई घरमै बसीबसी गर्ने खेताला कामजस्तो लाग्छ, अनुवाद । चौरासी व्यञ्जनको उनलाई आशा छैन, दाल–भात खान पाए पुग्यो । “मेरो नेम र फेम अधकल्चो छ । न लेखकका रूपमा, न त अनुवादककै रूपमा,” उनी भन्छन्, “मेरो मूल्यांकन तीन जना समकालीन लेखक, अनुवादकले गरे पुग्छ ।”

जम्मा एकपटक राजनीतिक दलको टिकट लिएछन् प्रवीणले । त्यो पनि लिम्बूवान मुक्ति मोर्चाको । नौ वर्षअगाडि साथीको भाइको करबलमा । उनलाई घेराबाहिर बसेर गाली गर्नै मजा लाग्छ । ट्राभलरका रूपमा हिँड्दा झम्सिखेल र सान फ्रान्सिस्को मेनु र सजावटमा फरक छैन । नेवारी खानाका पारखी प्रवीण बरू बुङमती र हरिसिद्धिको छोइला र ऐलाको स्वादमै बेस्मारी फरक भेट्छन् ।

सानेपामा एक्लै बस्ने अविवाहित प्रवीण सहरका चुल्ठे लेखक हुन् । साढे दुई वर्षअघि कैलाश घुमेयता कपाल काटेका छैनन् । अब १० इन्चको बुके बनाएर क्यान्सरपीडित बच्चालाई डोनेसन दिने विचारमा छन् । कपालको सरप्राइज पार्सल बनाएर पठाउने दिनको प्रतीक्षा छ, बस् ।

तस्बिर : रवि मानन्धर

प्रकाशित: चैत्र १९, २०७४