त्यो माक्र्सको घाउ, यो प्रजातन्त्रको मृत्यु

- रमेश केसी

अहिले संसारमा जति पनि क्रान्ति भएका छन्, ती सबै दक्षिणपन्थी क्रान्ति हुन् । युरोपियन युनियनबाट अलग हुने बेलायतको निर्णय र अमेरिकाजस्तो पुरानो प्रजातन्त्रमा लोकप्रियतावादी ट्रम्पको विजय यी क्रान्तिका उदाहरण हुन् । नेपालका संघीय संसद् र प्रादेशिक सभाहरूमा भने दुई कम्युनिस्ट पार्टीको गठबन्धनले झन्डै दुई तिहाइ बहुमत हासिल गरेको छ । र, राज्यका सबै संवैधानिक पद उनीहरूले पाएका छन् । नेपाल वाममय भएको छ । के नेपालमा चुनावमार्फत कम्युनिस्ट क्रान्ति भएको हो ? यसको उत्तर त्यति सजिलो छैन । अहिले उत्तरविचारधाराको युग हो । पुराना सिद्धान्तले संसारभर काम गर्न छाडेका छन् । नेपाली कम्युनिस्टहरू शास्त्रीय माक्र्सवादमार्फत सर्वहारा वर्गको अधिनायकत्वको राजनीति गरिरहेका छैनन्, अहिले उनीहरूले वर्गको राजनीति छाडेर सबै तह र तप्काका जनताको राजनीति गरेकाले यो सम्भव भएको हो । सन् १९९० को दशकमा विश्वबाट साम्यवादी शासन ढलेपछि माक्र्सको महाभाष्यमा ठूलो घाउ लाग्यो । माक्र्स उदार–प्रणाली प्रजातन्त्र र खुला अर्थतन्त्रबाट उनको जन्मभूमि युरोपमै पराजित बने । उनको यो घाउबाट आत्तिएर एमाले महासचिव मदन भण्डारीले बहुदलीय जनवादको कार्यक्रममार्फत खुला प्रतिस्पर्धात्मक राजनीतिको सुरुआत गरे । तर, नौलो जनवादमार्फत सर्वहारा वर्गको अधिनायकत्व ल्याउने भनी माओवादीले सन् १९९६ देखि दसवर्षे जनयुद्ध गर्‍यो । शान्ति प्रक्रियामार्फत संसदीय राजनीतिमा प्रवेश गरेपछि यसको मूलधार अहिले एक्काइसौँ शताब्दीको जनवादमार्फत एमालेसँग एकीकरण गर्न गइरहेको छ । हालै चुनावमा यी दुई दलको गठबन्धनको सफलता संसदीय राजनीतिमार्फत भएको छ, जसलाई उनीहरू बुर्जुवा तथा प्रतिक्रियावादी राजनीति भन्ने गर्थे । उनीहरूको यो रूपान्तरणलाई वामपन्थी चिन्तक हिगेलवादी स्लोभोज जिजेकले ‘फुकुयामा वामपन्थी’को संज्ञा दिएका छन् । फ्रान्सिस फुकुयामा तिनै दार्शनिक हुन्, जसले सन् ’९० मा ‘इतिहासको अन्त्य’को विमर्श सिर्जना गरेर साम्यवादमाथि उदार प्रजातन्त्र र अर्थतन्त्रको विजय घोषणा गरेका थिए । तर, आज चीन र रुसजस्ता ठूला राष्ट्र इतिहासको अन्त्यको विरोधी हुँदै झन् एकाधिकारवादी शासनतर्फ गएका छन् । नेपालमा भने साम्यवादीहरू फुकुयामावादका उदारवादी तत्त्व आत्मसात् गरेर सत्ता प्राप्त गर्न सफल भए । माक्र्सको दर्शन जगैदेखि अधिनायकवादी थियो । यो सर्वसत्तावादलाई सन् १९४० को दशकमै दार्शनिक कार्ल पोपरले ओपेन सोसाइटी एन्ड इटस इनेमिज नामक पुस्तक लेखेर विरोध गरेका थिए । माक्र्सको ज्ञान मीमांसीय दर्शन गलत थियो । जुन ज्ञानमार्फत उनीहरूले सत्यमा पुग्ने दाबी गरेका थिए, उनीहरू पुग्न सकेनन् । ७० वर्षको प्रयोगपछि सोभियत साम्यवादी साम्राज्य असफल भयो । माओकालीन चीनलाई देङले रूपान्तरण गरे । कम्बोडियाका नरसंहारक पोलपोटहरू सत्ताच्यूत भए । क्युबा गरिबी र पछौटोपनको सिकार बन्यो । उत्तर कोरिया आन्तरिक सुरक्षाका लागि आणविक हतियार बनाउन लाग्यो । भियतनामले खुला बजार अर्थतन्त्रतर्फ यात्रा बढायो । पूर्वी युरोपका हंगेरी, रुमानिया र अल्वानियाजस्ता राष्ट्र प्रजातान्त्रीकरणतर्फ लागे । साम्यवाद–सपनाको मृत्यु भएका यी विश्व घटनाक्रमले नेपाली साम्यवादीहरू ‘सर्बाइबल’को समस्याले संसदीय राजनीतिमा हाम फाले । माक्र्सको ‘युटोपियन’ संसारको दाबी गर्ने दर्शनमा घाउ लागेपछि नेपाली कम्युनिस्ट पनि त्यो घाउको उपचार सम्भव नदेखेर आफ्नो र दलको वर्चस्वका लागि कायापलट भए । यो उत्तरविचारधाराको युगमा यसप्रकारको राजनीतिलाई व्यवहारवाद पनि भन्न सकिन्छ । अहिले विश्वभरि उदार प्रजातन्त्र संकटमा परेको छ । रुस, हंगेरीदेखि भारतसम्म दक्षिणपन्थी एकाधिकारवाद हाबी भएको छ । प्रजातन्त्रको लिखित नियम संविधान हो भने यसका अलिखित मूल्य–मान्यता हुन्छन्, तिनलाई वाम गठबन्धन सरकारले मान्छ–मान्दैन, हेर्न बाँकी नै छ । सत्रौँ शताब्दीमा युरोपमा भएको प्रबोधन क्रान्तिले प्रजातान्त्रिक राज्य प्रणालीका आधारहरू तय गरेको थियो, जसको प्रभावमा अमेरिका र युरोपमा प्रजातन्त्र अहिलेसम्म चलिरहेको छ । प्रबोधन क्रान्तिको स्वतन्त्रता र विचार–विवेकलाई महत्त्व दिने दर्शनले प्रजातन्त्रको दार्शनिक आधारभूमि तयार गर्छ । के नेपालजस्तो कम विकसित र पछौटेपनको सिकार भएको राष्ट्रमा वर्तमान सत्ताले यी माथिका मूल्य–मान्यतालाई पालन गर्छ–गर्दैन, त्यसमा नै नेपालमा प्रजातन्त्रको आयु निर्धारण हुन्छ । युरोपियन प्रबोधन कालको सन्देश आज पनि नेपाललाई त्यत्तिकै चाहिएको छ । समृद्धिको नारा दिएर सत्ता कब्जा गर्न सफल वाम गठबन्धनले वर्तमान संविधान अन्तर्गत नै शासन गर्ने हो । संविधानवाद आजको प्रमुख आवश्यकता हो । विश्वास गरौँ, यी नयाँ फुकुयामा वामपन्थीहरूले प्रजातन्त्र, मानव अधिकार, स्वतन्त्र प्रेस, धार्मिक स्वतन्त्रता र स्वतन्त्र न्यायालयलाई सम्मान गर्नेछन् । उनीहरू शास्त्रीय कम्युनिस्ट दर्शनमा फर्कने छैनन् । अहिलेको युग खुला समाजको युग हो । नेपाली समाजलाई बन्द गरेर एकाधिकारवाद उनीहरूले लाद्ने छैनन् । निश्चितवाद र सिद्धान्तमा अहिले कुनै पनि राज्य प्रणाली सञ्चालन हुनै सक्दैन ।

अहिले अक्टोबर क्रान्तिको परिकल्पना सम्भव छैन । किनभने, साम्यवादमा पुगेर काल्पनिक स्वर्ग–धरती बनाउने लक्ष्य झूटो भएको हेक्का उनीहरूलाई छ । माक्र्सको घाउबाट आत्तिएका र सत्तामा पुगेपछि प्रजातन्त्रको स्वास्थ्य बिगार्न सक्ने वामपन्थीको वर्तमान सत्ता यस्तो युगमा निर्माण भएको छ, जुन अनिश्चयको युग हो । यदि उनीहरूले चुनावताका गरेको दुई शक्तिशाली छिमेकीसँगको सन्तुलित सम्बन्धबाट जनतामा समृद्धि ल्याएनन् भने उनीहरूलाई यस संसदीय राजनीतिमा अर्को चुनावसम्ममा नयाँ घाउ लाग्नेछ ।

प्रकाशित: चैत्र १९, २०७४

ट्याग: विचार