सपनाको देश नेपाल

- विश्वास हमाल

नर्वेको सहर बर्गेनको टुप्पोबाट चारैतिर देखाउँदै उसले भनी, “यो सहरलाई सातवटा पहाडले घेरेको छ ।” एकहप्ते बसाइमा लोकल गाइड थिई अन्ना । नर्वेका ती पहाड अनि खोलानाला साँच्चिकै सुन्दर र मनमोहक थिए । जब–जब म नर्वेको प्राकृतिक सौन्दर्यको वर्णन गर्थें, उसले अप्ठ्यारो मानेझैँ गरी भन्थी, “तिमीहरूको देशजस्तो चाहिँ छैन होला । हामीकहाँ स–साना पहाड मात्र छन् ।”

अन्ना मेरो साथी हो, जसलाई फिनल्यान्डमा पढ्दा भेटेको थिएँ । यो सहरदेखि केही परको गाउँ उसको पुख्र्यौली थलो रहेछ । बाबुआमा अझै पनि गाउँमा माछा मार्दै बुढेसकाल बिताउँदै रहेछन् । कामको खोजीमा बर्गेन सरेकी रहिछे । हाम्रो पहिलो भेटमै उसले नेपाल–मोह देखाएकी थिई । हिमाल चढ्ने अनि अन्नपूर्ण पदयात्रा गर्ने उसको सपना अधूरै रहेछ । भूकम्पका बेला आफूले काम गर्ने बारबाट १४ सय क्रोनर जम्मा गरेर नेपाल पठाएकामा निकै गर्व गर्थी उसले ।

 नेपाल आउन के समस्या छ त ? कम छुट्टीले कता भ्याउनू ! समय हुनेसँग आउने सामथ्र्य हुँदैन । अमेरिका, अस्ट्रेलिया अनि युरोपबाट नेपाल आउन सस्तो पनि त छैन । सबै गोरा धनी पनि नहुँदा रहेछन् ।

अन्नाजस्ता धेरै विदेशी भेटेको छु मैले विदेशमा, जो सपनाको देश नेपाल जान आतुर छन् । कति त धेरैपटक पुगिसकेका छन् भने कति त्यही सपना पछ्याउँदै छन् । विदेशमा हुने नेपाली कार्यक्रम अनि समारोहमा भेटिन्छन्, यस्ता धेरै नेपालप्रेमी जो अरूभन्दा निकै सक्रिय रूपमा सहयोग गरिरहेका हुन्छन् । सधैँझैँ ढिला सुरु हुने कार्यक्रममा ‘नेपाली टाइम’सँग पनि अभ्यस्त भइसकेका हुन्छन् उनीहरू । तापनि, केही गुनासो गर्दैनन् किनभने उनीहरूलाई थाहा छ, सधैँ समयसँग बाँधिएर काम गरिरहँदा कहिलेकाहीँ यस्तो समयको पाबन्दीबिनाको कार्यक्रमले छुट्टै आनन्द दिन्छ ।

समारोहमा भेटिए, एक जोडी बेलायती । ढाकाटोपी अनि ‘टप अफ द वल्र्ड नेपाल’ लेखिएको टिसर्ट लगाएका र रातो सारी–चुरा पोतेमा सजिएकी उसकी श्रीमती । उनीहरू प्रत्येक वर्ष दुई महिना पोखरा र गोरखामा बिताउँदा रहेछन् । त्यहाँको माटोसँग उनीहरूको पूर्वजन्मको नाता छ भन्थे, सायद नेपालीले देखाएको आत्मीयता होला । नेपाल कतिपटक जानुभो भन्ने प्रश्नको जवाफमा औँला भाँचेर गन्दै नेपालीमै भनी, ‘दुई दर्जनपटक होला ।’

नेपाली सपना बुन्ने विदेशीहरू भेट्ने क्रममा मैले देखेको रमाइलो अर्को घटना हो, स्कटल्यान्डका एउटा चिनारु साथीको । नेपालीसँग विवाह गरी दुईवटा बच्चा पाएको उसले त्यही सपना साकार पार्न आफ्नी नेपाली श्रीमतीलाई बेलायती राहदानी नलिन आश्वस्त पारिसकेको छ । ऊ अहिले लन्डनमा ठूलै कम्पनीमा कम्प्युटर क्षेत्रमा काम गरिरहेको छ । तर, उसको सपना छ, काठमाडौँमा सानोतिनो अफिस खोल्ने, केही नेपाली युवालाई रोजगारी पनि दिने अनि सपरिवार नेपाल बसाइ सर्ने । त्यही सपना पछ्याउने क्रममा गएको दुई वर्षमा धेरैपल्ट नेपाल आइसक्यो ऊ । भारतबाट जस्तै आउटसोर्सिङको सम्भावना रहेको र आफूलाई निकै मन परेको देश अनि पारिवारिक सम्बन्ध पनि भएकाले ऊ सधैँका लागि नेपाल बस्न चाहन्छ । र, त्यसका लागि उसकी श्रीमतीको नेपाली नागरिकता धेरै सहयोगी हुन सक्छ, कम्पनी दर्तादेखि नेपाल बसाइ–सराइका लागि ।

नेपाली सपना पनि धेरैको फरक–फरक हुँदो रहेछ– हिमाल चढ्न आउने, बरालिन आउने, आत्माको शान्ति खोज्न आउने, हराउन आउने । विकसित मुलुकका नागरिकसँग धेरै विकल्प हुन्छन्, नेपालीलाई जस्तो जुन देशको भिसा पायो, त्यहीँ जाने भन्ने हुँदैन । विश्वका १ सय ५० भन्दा बढी देशमा उनीहरू अनअराइभल भिसामा जान सक्छन् । तर पनि, धेरै विदेशीको सपनामा नेपाल छ ।

युरोपको सानो देश लाटभियाको राजधानी रिगाको एउटा बारमा जम्काभेट भएको रसियनले बियर ठोक्याउँदै विश्वमा कहीँ जाने मौका पाए पहिलो रोजाइ ‘काठमाडौँ सहर’ हुने कुरा भनेको थियो । युरोपका धेरै देश चहारेको फिरन्ते रसियन नेपालको मौलिक संस्कृतिबाट प्रभावित रहेछ । अनि, नेपाल जाँदा रमाइलो चाडको मौका पार्छु भन्दै उसले शिवरात्रिको गाँजाको कुरा निकाल्यो । युरोपका पुराना चर्च, भवनहरू र टाउन सेन्टर घुम्दाघुम्दा दिक्क भएको उसले केही फरक ठाउँका लागि नेपाललाई गन्तव्य बनाएको रहेछ । एक–दुई वर्ष काम गरी पैसा जम्मा पारेर ६ महिनाका लागि नेपाल आउने सपना सुनाउँदै थियो ऊ ।

अमेरिका पुगेर आएका नेपालीको भन्दा कम फूर्ति हुँदैन यी विदेशीको, जसले नेपाल घुमेर फर्किन्छन् । बिनासन्दर्भ पनि नेपाल अनुभव जोडिहाल्छन् । हुन पनि यो चानचुने उपलब्धि होइन, नेपाल आउनु अनि यहाँको जनजीवन बुझ्न पाउनु सायद एउटा भाग्य नै हो ।

नेपाल साँच्चिकै सपनै सपनाको देश हो, लाखौँ नेपाली विदेशको सपना पनि यही भूमिमै देख्छन् भने विदेशीहरू नेपाली धर्तीमा टेक्न सात समुद्रपारिबाट सपना देखिरहेका हुन्छन् । फरक यत्ति हो, नेपालबाट देखिने सपनामा बाध्यता मिसिएको हुन्छ भने नेपाल जाने सपना रहरले देखिएको हुन्छ । जेहोस्, सपना सपना नै हो ।

प्रकाशित: चैत्र १८, २०७४

ट्याग: विचार