प्रचण्डपछि को ?

- माधव बस्नेत

घटना १ : संघीय चुनाव सकिएलगत्तै माओवादी केन्द्रका प्रदेश–७ इन्चार्ज तथा सचिवालय सदस्य लेखराज भट्ट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगे । लेखराज त्यहाँ पुग्नुको अर्थ, जितको बधाई आदान–प्रदान गर्नु र बन्दै गरेको सरकारमा मन्त्रीको कुरा उप्काउनु पनि थियो । भट्ट आसन्न सरकारका मन्त्रीहरुको प्रसंग उठाउन खोज्दै थिए । प्रचण्डले फ्याट्टै भनिदिए, ‘अब तपाईं कतिपटक मन्त्री बन्नुहुन्छ ? अरुलाई अवसर दिनूस् ।’

जुँगा चल्यो, कुरा बुझ्यो । सशस्त्र संघर्षका लागि सबैभन्दा पहिले ०४१ तिरै प्रचण्डलाई पेस्तोल उपलब्ध गराएका भट्टले ‘उद्देश्य’ नबुझ्ने कुरै भएन । उनले तुरुन्तै झोलाबाट लेटर प्याड निकाले र कञ्चनपुर–१ बाट विजयी बुहारी विना मगरलाई प्रदेश–७ बाट मन्त्री बनाउन सिफारिस गरे । प्रचण्डकी बुहारी विनालाई यस्तो सिफारिस गर्दा भट्टले न प्रदेश कमिटीका सदस्यसँग छलफल गरे, न त बैठक राखेर निर्णय नै गराए । उनले केवल प्रचण्डको ‘मुड’ मात्रै पढे । २ चैतमा तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दा प्रधानमन्त्री केपी ओलीले प्रचण्डको सिफारिसमा विनालाई खानेपानीमन्त्री बनाए ।

घटना २ : जेठ ०७३ । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री थिए । एमाले र माओवादी गठबन्धनको सरकार थियो । दुई दलबीच स्थानीय तहदेखि संघीय संसद्सम्म सँगै निर्वाचनमा जाने सहमति भइरहेको थियो । यही मेसोमा कुन–कुन स्थानीय तहमा को–को लड्ने  ? मोटामोटी छलफल भयो । प्रचण्डले भरतपुर महानगरपालिका आफूले पाउनुपर्ने प्रस्ताव राखे । ओलीले त्यसमा असहमति जनाउँदै भरतपुर एमालेलाई छाड्न र ललितपुर महानगरपालिका लिन आग्रह गरे । अनेक कोसिस गर्दा पनि प्रचण्ड टसमस भएनन् । यस्तै अरु अन्तरविरोध बढ्दै गएपछि एमाले–माओवादी गठबन्धन भत्कियो । ओली प्रधानमन्त्रीको कुर्सीबाट ओर्लन बाध्य भए ।

कांग्रेस–माओवादी केन्द्रको गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री भए । स्थानीय तहको निर्वाचनमा यी दुई दलबीच सहकार्य भयो । पहिलो चरणमा सम्पन्न चार महानगरपालिकाका चुनावमध्ये माओवादी केन्द्रले काठमाडौँ, ललितपुर र पोखरा–लेखनाथ महानगरपालिकामा कांग्रेसलाई सहयोग गर्‍यो । भरतपुर महानगरपालिका पाएका प्रचण्डले माइली छोरी रेणुलाई मेयर उम्मेदवार बनाए । रेणुविरुद्ध एमालेले देवी ज्ञवालीलाई मैदानमा उतार्‍यो । मत गणनास्थलमै मतपत्र च्यातेर पुन: मतदान गर्न लगाएर प्रचण्डले रेणुलाई जिताएरै छाडे ।

यी दुई दृष्टान्तले प्रस्ट्याउँछन्, प्रचण्ड आफ्नो विरासत परिवारकै सदस्यलाई हस्तान्तरण गर्न चाहन्छन् । उनीहरूले भार थेग्न सकून्/नसकून्, प्रचण्डले ठूलठूला राजनीतिक कुम्ला–कुटुरा बोकाइरहेकै छन् । त्यसमध्येकै दुई प्रतिनिधि पात्र हुन्– माइली छोरी मेयर रेणु र कान्छी बुहारी मन्त्री विना । रेणु र विनाबीचको शक्तिसंघर्ष बढ्ने क्रममा छ । प्रचण्डको विरासतमाथिको यो दाबी तत्कालै साम्य हुने छाँटकाँट देखिँदैन ।

एक समय थियो, प्रचण्ड मुलुककै सर्वाधिक शक्तिशाली नेता थिए । माओवादी युद्धमाथि सर्वत्र चासो थियो । प्राधिकार प्रचण्डले १५ माघ ०५९ मा सरकार–माओवादीबीच युद्धविराम घोषणा गर्दा अरू त परै जाओस्, दोस्रो वरीयताका बाबुराम भट्टराईलाई समेत जानकारी दिन आवश्यक ठानेनन् । १८ पुस ०६१ सम्म आइपुग्दा प्रचण्डले भट्टराईको साधारण सदस्यतासमेत खोसेर ‘जनसेनाको हिरासत’मा राखिदिए । युद्धकालमा प्रचण्ड प्राधिकार भएका यस्ता दृष्टान्त अनेकौँ छन् ।

पुत्र प्रकाश जीवित रहुन्जेल विरासतको सवालमा एक्लो ‘उत्तराधिकारी’का रूपमा उनी अघि बढिरहेका थिए । हुन त १९ असार ०७३ मा प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री भइरहँदा बालुवाटारमा परिवारभित्रै बहुकेन्द्रको छाया देखिन थालिसकेको थियो । कतिसम्म भने दिदी रेणु र भाइ प्रकाशको बोलचाल पहिलेजस्तो बाक्लो हुन छाडेको थियो । प्रकाश प्रधानमन्त्रीका स्वकीय सचिव थिए । रेणुको हैसियत पूर्वसभासद्बाहेक केही थिएन । बाबुले माइती थलो चितवन लगेर भरतपुर महानगरपालिकाको मेयर बनाएपछि उनी अहिले विरासत आफूले पाएको ठम्याइमा छन् ।

रोचक कुरा के भने चैत ०७३ को पहिलो साता आईजीपी काण्डमा समेत दिदी–भाइको मत बाझिएको थियो । दिदी रेणु जयबहादुर चन्दलाई आईजीपी बनाउन बाबु प्रचण्डकहाँ धाएकी थिइन् भने भाइ प्रकाश नवराज सिलवालका पक्षमा । बैतडीकी माओवादी नेतृ तथा पूर्वसभासद् रेणु चन्द र प्रचण्ड–पुत्री रेणुबीच ‘गहिरो मित्रता’ छ । एकले अर्कालाई ‘मितिनी’ भन्छन् । आफ्नै भेगका चन्दको पक्षमा रहेकी बैतडीकी रेणुले मितिनी रेणुलाई चन्दका पक्षमा प्रभावित पारिन् । प्रचण्ड–पुत्रीले चन्दको पक्षमा वकालत गरे पनि भाइ प्रकाशले उनको सुरुआती प्रयासलाई निस्तेज पारिदिए । यसबीच सरकारले चन्दलाई नै आईजीपी बनाउने निर्णय गरेको थियो । यी र यस्ता अनेकौँ काममा भाइले दखल दिने गरेको बुझाइमा रेणु थिइन् । टक्कर दिदी–भाइको देखिए पनि पर्दापछाडि विना थिइन् ।

यसपटक विना मन्त्री बन्ने पहिलो कारण हो, प्रदेश–७ अर्थात् सुदूरपश्चिमको अन्तरविरोध । यो प्रदेशमा लेखराज भट्टको प्रभुत्व रहे पनि उनीविरोधी समूहले विनालाई अघि सार्‍यो । दोस्रो कारण, सासू सीताको दबाब । स्रोतका अनुसार सीताले नै बुहारी मन्त्री भएको हेर्ने सपना रहेको बताउँदै प्रचण्डलाई प्रभावित गर्न सफल भएकी थिइन् ।

माओवादी केन्द्रका प्रचण्ड निकट एक नेताका अनुसार प्रकाशको असामयिक निधनपछि पनि रेणु–विनाबीच बाबु/ससुराको विरासत कसले धान्ने भन्ने प्रतिस्पर्धा छ । “परिवारबाटै कसै न कसैले आफ्नो विरासत धानिदेओस् भन्ने सोचबाट निर्देशित छन् अध्यक्ष प्रचण्ड,” ती सचिवालय सदस्य भन्छन् “तर, कसले धान्ने भन्ने सवालमा शक्ति–संघर्ष बढ्दो क्रममा छ ।” स्रोतका अनुसार बुहारी विना चाँडै मन्त्री भएकामा आमाजू रेणुले आफू दौडमा पछि परेको महसुस गरेकी छन् ।

प्रकाश नभएपछि पत्नीको नाताले स्वत: ससुरा प्रचण्डको विरासत आफ्नो थाप्लोमा आएको विश्वासमा छिन्, विना । प्रेम–विवाह गरेको छोटो समयमै ०७० को निर्वाचनमा टिकट पाउनु र यसपटक त जितेरै मन्त्री हुनुले विरासतको शक्ति–संघर्ष आफूले जितिसकेको विनालाई लागेको छ । आमाजू रेणुभन्दा साधन–स्रोतमा पहुँच राख्न विना अघि छिन् । छोटै समय सही, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारभित्र छिरेर पनि ‘ पावर एक्सरसाइज’मा अभ्यस्त भइसकेकी छन्, उनी । यसले पनि प्रचण्डको प्राधिकार बन्न उनलाई सहयोग पुग्नेछ ।

सबैको परीक्षण !

जानकारका अनुसार प्रचण्ड माइली छोरी रेणु, बुहारीद्वय विना र सिर्जना, जेठा ज्वाइँ सागर केसी, कान्छा ज्वाइँ जीवन आचार्यमध्ये कसलाई अघि सार्ने भन्ने टुंगोमा पुगिसकेका छैनन् । यतिबेला उनी छोरी रेणु र बुहारी विनाको परीक्षण गर्दै छन् । यसमा कसले बाजी मार्छ, अहिल्यै भन्न कठिन छ ।

बिर्सनै नहुने पक्ष के छ भने रेणु र विना प्रचण्डका छोरी–बुहारी हुँदैनथे भने दुवैले सायदै यत्तिका अवसर पाउने थिए । किनभने, माओवादी केन्द्रभित्र रेणु र विनाजत्तिकै योगदान, समर्पण र दु:ख गरेका महिलाको संख्या सयौँ होइन, हजारौँ छ ।

बुहारी विनाको महत्त्वाकांक्षा बुझ्न अन्त जानै पर्दैन । पहिलो दाम्पत्य जीवन तोडेर प्रचण्ड–परिवारमा बुहारी बन्न आइपुगेकी उनी शक्ति–अभ्यासमा रमाउने गर्छिन् । यता, रेणु भने बाबुले आफूलाई नै अघि सारिसकेको ठम्याइमा छन् । भन्छिन्, “मलाई भरतपुर महानगपालिकाको मेयर बनाइनुले नै बुझिन्न र विरासत कसले थाम्दैछ भन्ने ? तर, विरासत थाम्छु भनेर मात्र थामिने कुरा होइन । जनताले जसलाई विश्वास गर्छन्, उसैले थाम्ने हो ।”

माओवादी केन्द्रका अर्का एक कार्यालय सदस्य भन्छन् “भावी उत्तराधिकारीका बारेमा प्रचण्ड परिवारभित्र भुसको आगोझैँ ठूलै शक्ति–संघर्ष चलिरहेको छ । यसमा बाजी कसले मार्ने हुन् ? अहिल्यै अनुमान गर्नु हतारो हुनेछ ।” 

पछिपछि अरु पनि

प्रचण्ड परिवारसँग जोडिएर पनि अहिलेसम्म ‘अभागी’ कोही छ भने सिर्जना नै हुन् । पहिलो विवाह असफल भएपछि ३ माघ ०६४ मा प्रकाशले मावली गाउँ कास्की, हेम्जाकी सिर्जनासँग दाम्पत्य गाँसेका थिए । तर, प्रकाशले विना भित्र्याएपछि उनीहरूको सहयात्रा लामो समयसम्म चल्न सकेन । उनी छोरासहित माइतीमा बसिरहेकी थिइन् ।

केही समयअघि मात्र प्रचण्डले सिर्जनालाई पोखरामा राजनीति गर्न पठाएका छन् भने नाति आपैँmसँग राखेका छन् । राजनीति गर्न सहज होस् भनेर प्रचण्डले नाति आपैँmसँग राखेर बुहारीलाई त्यता पठाएको निकटस्थहरू बताउँछन् । तैपनि, विरासत थाम्ने यो लडाइँमा सिर्जना भने धेरै पछि छन् ।

यद्यपि, ससुरा प्रचण्डसँग उनको सम्बन्ध राम्रो छ । स्रोतका भनाइमा प्रचण्ड आगामी दिनमा कान्छी बुहारी विनालाई आफूसँगै खुमलटारमा नराख्ने निर्णयमा पुगेका छन् । त्यसका लागि विनालाई छुट्टै घर बनाइदिने तयारी गरेका छन् । प्रचण्ड विनालाई सँगै नराख्ने निर्णयमा पुग्नुको एउटा कारण दुवै बुहारी, छोरी उत्तिकै सम्बन्धमा रहून् भन्ने पनि हो ।

प्रचण्डका जेठा ज्वाइँ हुन्, सागर केसी । उनकी पत्नी तीन वर्षअघि स्तन क्यान्सरले बितिन् । प्रचण्डलाई सागरले अहिलेसम्म सहयोग गरिरहे पनि उनले कुनै लाभको पद पाएका छैनन् । यसपटकको निर्वाचनमा पनि प्रचण्डले उनको नाम समानुपातिक सूचीमा समेट्न लगाएका थिए । तर, बुहारी विनालाई कञ्चनपुर–१ बाट र कान्छा ज्वाइँ जीवनलाई मोरङ–६ को प्रदेशसभाको प्रत्यक्षमा टिकट दिइसकेकाले विरोध हुने डरले सागरको नाम समानुपातिक सूचीबाट हटाइएको थियो ।

स्रोतका अनुसार प्रचण्डका जेठा ज्वाइँ सागर आपैँm अघि सरेर प्रतिस्पर्धामा आउने भन्दा पनि कुरेर बसिरहे कुनै न कुनै दिन केही भाग आइलाग्ला भन्ने विश्वासमा छन् । “पछिल्ला दिनमा सागरले पनि राजनीति गर्ने रहर एकाएक बढाएका छन्,” स्रोत भन्छ, “तर, सबैले प्रतिस्पर्धा गरिरेहका बेला के मिसिनू ! एकपटक त ससुराले देलान् नि भन्नेमा छन् ।” ससुराको विरासत धान्ने रहर सागरमा पनि पलाएको बुझिन्छ ।

प्रचण्ड परिवारको राजनीतिमा सबैभन्दा पछि जोडिएका हुन्, कान्छा ज्वाइँ जीवन आचार्य । कांग्रेसी परिवारका जीवन ठमेलमा साइबर व्यवसाय गर्थे । प्रचण्ड परिवारले कान्छी छोरी गंगालाई ज्वाइँ नारायण श्रेष्ठबाट छुटाएर काठमाडौँ नयाँबजारमा आपँैmसँग राखेको थियो । यही मेसोमा ठमेलमा साइबर चलाउन आउँदा गंगाको जीवनसँग प्रेम बस्यो । पछि माओवादी नेता हरिबोल गजुरेलको अगुवाइमा उनीहरूको विवाह भयो ।

यतिबेला प्रचण्ड निवास खुमलटारमा बसिरहेका छन्, जीवन । अरूसँग सहज व्यवहार नगर्ने हुँदा युद्ध लडेर आएका र पुराना नेता–कार्यकर्ताले यिनलाई गन्ने कुरै भएन । २१ मंसिरको निर्वाचनमा प्रचण्डले ज्वाइँ जीवनलाई मोरङ–६ को प्रदेश–१ को सदस्यको टिकट थमाएका थिए । तर, पार्टीकै असहयोगमा उनी पराजित भए । सम्भवत: यिनी मन्त्री विनाको स्वकीय सचिव हुने तयारीमा छन् ।

मलाई अगाडि बढाउन नै बुबाले चितवन लैजानुभएको हो

–रेणु दाहाल

मेयर, भरतपुर महानगरपालिका

प्रचण्डको विरासतबारे परिवारभित्र छलफल हुन्छ कि हुन्न ?

त्यसरी छलफल भएको छैन । फेरि, उत्तराधिकारी भन्ने कुरा आफूले कल्पना गरेर हुने पनि होइन । पार्टीमा काम गर्दै जाँदा स्वत:स्फूर्त रूपमा नेता, कार्यकर्ता, जनताको मन जित्न सक्नुपर्‍यो । अहिलेदेखि नै मैले उत्तराधिकारी बन्ने लक्ष्य राखेँे भने नहुन पनि सक्छु । जनताको सेवा गर्दै जाँदा भोलि त्यो जिम्मेवारी आउन पनि सक्छ ।

त्यसो भए तपाईंले बुबाको विरासत धान्छु भनेर सोच्नुभएको छैन ?

अहिलेसम्म यही हुनुपर्छ, मलाई यो दिनुपर्‍यो भनेर बुबासमक्ष कुनै माग राखेकी छैन । सांसद भइसकेकी हुँदा मेयर बन्न त्यति धेरै इच्छुक थिइनँ । तर, बुबा र चितवनका नेता–कार्यकर्ताको आग्रहमा मेयर हुन गएकी हुँ । पार्टीको काठमाडौँ जिल्लाको सेक्रेटरी, अनेमसंघ (क्रान्तिकारी)को महासचिव, पार्टीको पोलिटब्युरो सदस्य हुनुका नाताले मै हुँ भन्न सक्थेँ होला । यद्यपि, उत्तराधिकारीको सवालमा मै हुनुपर्छ भनेकी छैन । तर, म नै अघि बढोस् भन्ने बुबाको चाहना भएरै मलाई चितवन लैजानुभएको हो । त्यसैले हाम्रो परिवारभित्र उत्तराधिकारीसम्बन्धी विवाद छ जस्तो लाग्दैन ।

प्रकाशित: चैत्र १८, २०७४

ट्याग: राजनीति