नेपाली रकको रजत यात्रा

- गोकर्ण गौतम

समय एक्काइसौँ शताब्दीको दोस्रो दशकको बिसौनीतिर छ । तर, हामीकहाँ यस्तो जमात अझ बाक्लै छ, जो रक–पप म्युजिक भन्नासाथ ओठ लेप्य्राउँछ, निधार खुम्च्याउँछ । पप गायकलाई ‘ट्यापे’ र ‘आवारा’को उपमा दिन्छ । रक गाउनेलाई ठाडै संगीत बिगारेको बात लाग्छ । अहिले त यस्तो छ, २५ वर्षअगाडि कति टोकसो सहनुपथ्र्यो होला !

यो नियति एकातिर थियो अर्कातिर संगीतप्रतिको साँघुरो सोचलाई चिर्ने तन्नेरी त्यही बेला जुर्मुराइरहेका थिए । जो आफूले चाहेको अर्थात् रक–पप म्युजिक सुन्थे अनि गाउँथे । पश्चिमा र नेपाली संगीतको फ्युजनमा रमाउँथे । समाज मात्र होइन, संगीतवृत्तबाटै ‘अछूत’ हुनुपथ्र्यो । तैपनि, पर्वाह थिएन । गिटार र ड्रम–प्रेम घनीभूत हुँदै गयो । गायनशैलीसँगै शब्दमा नयाँपन भित्रियो, स्वच्छन्द, सरल र युवा मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने । त्यो पनि एक्लै–एक्लै होइन, रक–पप गायनको विश्वव्यापी अभ्यास अनुरूप सांगीतिक समूह खडा गरेरै । र, धेरैलाई ख्याल नहुन सक्छ, यो वर्ष त्यस्ता ‘दुस्साहसी’ चार ब्यान्डले ‘सिल्भर जुब्ली’ मनाइरहेका छन्– नेपथ्य, १९७४ एडी, मुक्ति एन्ड रिभाइभल र कबवेब ।

स्थापना मात्र होइन, निरन्तर सक्रिय र सफलतामार्फत यी ब्यान्ड नेपाली रक–पप म्युजिकमा ‘पायोनियर’का रूपमा दर्ज भएका छन् । ब्यान्डमा सदस्यहरू आए, गए तर ब्यान्ड बन्द भएनन् । पपमा लागेको नयाँ पुस्ता यिनै ब्यान्डका गीत सुन्दै हुर्किए, अभ्यास गरे, अनि उनीहरूलाई नै पछ्याए । नेपाली संगीत आकाशलाई फराकिलो बनाए । “ब्यान्ड सुरु गर्दा खास उद्देश्य केही थिएन, आफूले चाहे अनुसार गीत गाउन पाए पुग्थ्यो,” १९७४ एडीका संस्थापक सदस्यमध्येका एक निराकार याक्थुम्बा भन्छन्, “यसो गर्दागर्दै अढाई दशक बितेछ, लाखौँ दर्शक/श्रोताको मन जितिएछ । पत्तै भएन ।”

परिणाम सुखद रहे पनि यहाँसम्म आइपुग्न अनेक आन्तरिक र बाह्य द्वन्द्व अनि आरोह–अवरोह झेल्नुपरेको छ । ‘सिल्भर जुब्ली’ मनाइरहेका यी ब्यान्डको रोचक यात्रा :

लोक–रकको मिश्रण

अमृत गुरुङ लोकगीत सुनेर हुर्किए तर उनलाई ‘टिपिकल’ लोकगीत गाउन आउँदैनथ्यो । आधुनिक गीत मन नपर्ने होइन तर गाउन ढंग पुग्दैनथ्यो । पश्चिमा रक गीतमा रुचि थियो । सुन्ने पनि, गाउने पनि । एक दिन अमृतले सोचे, त्यसो भए लोक र रक गीतको फ्युजन किन नगर्ने ? यही सोचको प्रतिफल हो, नेपथ्य ब्यान्ड । नेपाली सांगीतिक इतिहासमा सम्भवत: सबैभन्दा सफल यस ब्यान्डका अमृतबाहेक सुरुआतकालीन सदस्य थिए, दीपक राणा र भीम पुन । अमृत बेलाबखत भन्ने गर्छन्, “यस्तै नै गीत गाउनुपर्छ भन्ने कुनै योजना थिएन । गाउँदै जाऔँ, पछि आ–आफ्नो पेसामा लागौँला भन्ने थियो ।” नेपथ्य र हिमाल चुचुरे एल्बम निकालेपछि भीम हङकङ गए, दीपक हवाई उडानको तालिममा व्यस्त भए । तर, अमृतले आजसम्म नेपथ्यलाई उचाइ दिलाइरहेका छन् । यसबीच २१ सदस्य आए, गए तर अमृत सधैँ नेपथ्यसँगै रहे ।

दीपक र भीमको विछोडसँगै नेपथ्यको अस्तित्व हराउने डर थियो । तर, दीपकको साथमा ब्यान्ड ‘रिफर्म’ भयो । यसअघि रविन श्रेष्ठ ब्यान्डमा आबद्ध भएर गाएको ‘छेक्यो छेक्यो...’ हिट भइसकेको थियो । मीनपचास एल्बमका ‘जोमसोमे बजारमा...’, ‘चरी मर्‍यो सिसैको गोली...’ले जस्ता गीत औधि रुचाइए । त्यसपछि नै हो, आममानिसमा नेपथ्य चिनिएको । नेपथ्य यस्तो ब्यान्ड हो, जसले विदेशी संगीत अर्थात् रकलाई प्राथमिकता मात्र दिएन, दूरदराजमा पुगेर विलीन भइसकेका लोकगीतलाई पनि पुनर्जन्म दियो । लोक र रकको यही फ्युजन नै आखिरमा नेपथ्यको विशिष्ट पहिचान बन्यो । एकातिर लोकगीतको जगेर्ना भयो, अर्कोतिर रक गीतको स्वाद चाख्न पाइयो ।

नेपथ्यले दिशा समात्दै गर्दा ०५७ मा एउटा संकट आइलाग्यो । ब्यान्ड ‘पर्फम’का लागि जापान पुगेको थियो, केही सदस्य उतै लुके । पैसा लिएर मान्छे जापान लगेको आरोप खेप्नुपर्‍यो अमृतले । ब्यान्ड छिन्नभिन्न भयो, डिप्रेसनको सिकार भए उनी । ब्यान्डले बल्लतल्ल बनाएको साख धुमिलियो । कतिसम्म भने अमृतले संगीतसँग सम्बन्धविच्छेद गर्ने निधोसमेत गरे । त्यतिबेला अमृत नहुनु भनेको नेपथ्यविहीन हुनु थियो । केही समय त्यस्तै भयो पनि । तर एकाध वर्षपछि दीपकको अगुवाइमा ब्यान्डमा नयाँ सदस्य भित्रिए । र, निक्लियो, रेशम एल्बम । यसपछिचाहिँ नेपथ्यले गति लिएको–लियै छ ।  नेपालयसँग जोडिएपछि त नेपथ्य व्यवस्थित र व्यावसायिक हुँदै गयो ।

जनमानसले रुचाएका दर्जनौँ गीतले मात्र होइन, शान्ति संगीतयात्रा, शान्तिका लागि शिक्षाजस्ता अभियानले पनि नेपथ्यको छवि अरूभन्दा अलग र अग्लो बनाएको छ । जसरी नेपथ्यले हरेक गीत गाउनुको पछाडि उद्देश्य हुन्छ, ठीक उसैगरी हरेकको कन्सर्टमा केही न केही सत्कर्म जोडिएको हुन्छ । बेलायतको विख्यात विम्ले एरिनामा कन्सर्ट गर्ने पहिलो नेपाली ब्यान्ड पनि नेपथ्य नै हो । यी सबै त छँदैछ, नेपथ्यका गीत बच्चाबच्ची, किशोर–किशोरीदेखि परिपक्वसम्म हरेक उमेर समूहका श्रोताले रुचाउँछन् । आफ्नै नवीन शैली पछ्याएको ब्यान्ड यसरी सर्वप्रिय हुनुजतिको सुखद अरू के होला र !

विविधताबाटै लोकप्रियता

अंग्रेजी गीत भनेपछि हुरुक्कै हुन्थे, निराकार याक्थुम्बा । उनकै आमाको स्कुल ज्ञानोदयमा संगीत पढाउने फिरोज स्याङदेनको रुचि पनि त्यस्तै थियो । मादलभन्दा ड्रम, बाँसुरीभन्दा गिटार बजाउन मन लाग्ने । रक र ज्याजमा झुम्न मन लाग्ने । निराकार र फिरोजले आफूजस्तै अरू तीन साथी भेला पारे, भानु आमाद, अनुप दास र प्याट्री विल्सन । अनि जन्मियो, १९७४ एडी । यो ‘लाइनअप’ परिवर्तन भइरह्यो तर सधैँ ब्यान्डको कमान्ड सम्हाले, निराकारले । गिटारिस्ट निराकार भन्छन्, “व्यक्तिभन्दा ब्यान्ड ठूलो हुन्छ । कोही हुनु र नहुनुले ब्यान्डलाई फरक पर्नुहुन्न ।” भयो पनि त्यस्तै, फिरोज, एड्रियन प्रधानजस्ता सेलिब्रिटी भोकलिस्टले छाड्दा पनि १९७४ एडीको गति कहिल्यै रोकिएन । अहिले पनि हरेक महिना घटीमा चारवटा कन्सर्ट गर्छन् । त्यसमध्ये अधिकांश त ‘सोल्ड आउट’ नै हुन्छ ।

शब्द अंग्रेजी, उफ्रिँदै र चिच्याउँदै गाउने, लामो कपाल पाल्ने अनि कानमा मुन्द्रा । यत्ति भएपछि के चाहियो ? समाजका गन्यमान्य भनिएकाहरू यो गु्रपलाई देख्नासाथ मुन्टो बटार्थे । धन्न, पढे–लेखेका सदस्य भएकाले मुख फोरेरै केही भन्न सक्दैनथे । फेरि सुरुमा यो ब्यान्डले अंग्रेजी गीत मात्र गाउँथ्यो । रक–ज्याजमा नेपाली शब्द घुसाउन सकिन्छ भन्ने हेक्कै थिएन रे ! सन् १९९६ मा पहिलो एल्बम निकाले, टाइम–आउट । सबै गीत अंग्रेजी । तर, त्यत्तिकै हरायो । बिस्तारै रक शैलीमा नेपाली शब्द गाउने रहर पलायो । फिरोजको आवाजमा ‘मायालुले...’, ‘तिम्रो सम्झनाले...’ जस्ता गीत सार्वजनिक भए । तैपनि, सोचेजस्तो सफलता मिल्न सकेन । गिटारिस्ट मनोज केसी र भोकलिस्ट/ड्रमर एड्रियन जोडिएपछि सन् १९९८ मा सम्झी बस्छु एल्बम निकाले । त्यसमा १३ वटा गीत थिए, सबै हिट । ‘परेलीमा...,’ ‘छुँदैन तिम्रो मायाले...’, ‘देउराली भन्ज्याङ...’, ‘चौबन्दी चोली...’ आदि । अहिलेसम्म ब्यान्डमै आबद्ध मनोज भन्छन्, “हामीले पपकै वरपर रहेर ज्याज, रक एन्ड रोल, फोक, रेगे, फंकदेखि ब्लुजसम्म धेरै विधाका गीत गायौँ, जसले श्रोताको मन पनि जित्यो ।”

यतिबेलासम्म नवीन के भट्टराई, निमा रुम्बाजस्ता पप गायकको दबदबा बढेको थियो । सोलो गायक भएपछि उनीहरूको माग बढी हुन्थ्यो कन्सर्टमा । बहु–सदस्यीय १९७४ एडीलाई व्यवस्थापन अलि असहज हुने भइहाल्यो । बाहिर यस्तो समस्या, भित्र ब्यान्डका सदस्यबीच दूरी बढ्दै थियो । त्यो मनमुटावको बीउ उम्रेको थियो, जब भोकलिस्ट एड्रियनले सोलो कन्सर्टमा ब्यान्डको गीत गाउन थाले । अर्का भोकलिस्ट फिरोज अमेरिका गइसकेका थिए । ब्यान्ड पूरै अलपत्र । अभ्यास नै हुन छाड्यो । एड्रियनले ब्यान्डका लागि समय दिनै सकेनन् । तर, एड्रियनलाई छाडिहाल्न सहज पनि थिएन । ब्यान्डका सबैभन्दा चिनिएका अनुहार त उनै थिए । तैपनि, ब्यान्डकै अस्तित्व संकटमा पर्न थालेपछि निराकार र मनोजको टिम नयाँ लाइनअप बनाउन बाध्य भयो । र, भित्रिए, रोहितजोन क्षत्री । जो १९७४ एडीकै गीत सुन्दै हुर्किएका थिए । निराकार भन्छन्, “रोहित आएपछि हामीलाई ब्यान्डको साख जोगाउने चुनौती थियो । यो अढाई वर्षमा त्यो चुनौती चिर्न सफल भयौँ भन्ने लाग्छ ।”

हिट हुँदै गएपछि ब्यान्ड भोकलिस्टको बेवास्तामा पर्ने डर नभएको होइन । फेरि रोहित ब्यान्डमा आबद्ध हुनुभन्दा पहिले सोलो सिंगरका रूपमा परिचित थिए । पहिलेजस्तो नहोस् भनेर ‘गाइडलाइन’ बनाइएको छ, त्यो भनेको रोहितले एकल कन्सर्ट गर्न पाउने तर त्यहाँ ब्यान्डको गीत नगाउने । ब्यान्डको कमाइ जति हुन्छ, सबैलाई बराबर भाग लगाउने । “भोकलिस्ट फ्रन्टमा हुन्छन्, सोही कारण ऊ बढी चिनिन्छ । यो यथार्थ हो । यसमा न भोकलिस्टले घमन्ड गर्न मिल्छ, न अरूले डाहा गर्न,” रेकर्डिस्टसमेत रहेका मनोज भन्छन्, “यति समझदारी भयो भने मात्र ब्यान्ड टिक्छ ।”

अन्त्यमा, ब्यान्डको नाम १९७४ एडी राखिनुको कारण के होला ? धेरैलाई कौतूहल छ । सन् ’७० को दशकमा नेपाली संगीतले शिखर चुमेको थियो । सोही समयका सर्जकलाई सम्मान गर्दै त्यही दशकको एउटा वर्षलाई प्रतिनिधिका रूपमा लिएर ब्यान्डको नाम राखियो, १९७४ एडी ।

ब्लुजमा नामी

सन् ’६० र ’७० को दशकमा नेपालमा हिप्पिज्म नभित्रिएको भए, न मुक्ति शाक्य गायक हुन्थे, न त मुक्ति एन्ड रिभाइभल ब्यान्ड जन्मिन्थ्यो । यसको कारण छ, झोछेंमा हुर्किए मुक्ति । झोछें पर्‍यो, हिप्पीहरूको ‘हब’ । बाटो–बाटोमै रोलिङ स्टोन, विटल्स, बब मार्ली, जिम्मी हेनड्रिक्सका गीतहरू घन्किन्थे । कोही गिटार बजाउँदै आफ्नै तालमा अंग्रेजी गीत गाइरहेका हुन्थे, चिच्याउँदै, उफ्रिँदै, कपाल फिजाउँदै । मुक्तिलाई त्यसकै हावाले छोयो । भन्छन्, “नेपालमा हिप्पीको आगमन नभएको भए रक र ब्लुज म्युजिक यहाँसम्म आइपुग्न अरू धेरै समय लाग्थ्यो ।” त्यतिबेला झोछेंका ठिटाहरूमा हिप्पीझैँ हुलिया बनाउने र गीत गाउने लहर थियो । मुक्ति अलग हुने कुरै थिएन । नत्र कसरी, एसएलसी पास नगर्दै रेडियम भन्ने स्थानीय ब्यान्डसँग जोडिन्थे ! रेडियमले तारे होटलहरूमा गीत गाउँथ्यो । मुक्ति एन्ड रिभाइभलको आधारभूमि यहीँबाट सुरु भयो । तर, यसले औपचारिकता पायो, सन् १९९३ मा । सुरुमा रिभाइभल मात्र थियो । मुक्ति पछि थपिएको हो ।

रिभाइभलले स्थापनाको दुई वर्षसम्म अंग्रेजी गीत मात्र गायो । तर, धीत मरेको थिएन । नेपाली गीत गाउन पाए अझ मज्जा हुन्थ्यो भन्ने उत्कण्ठा जाग्यो मुक्ति र उनका साथीहरूमा । यही चाह अनुरूप ब्यान्डले पहिलो नेपाली गीत गायो, ‘नहेर मलाई...’ । ब्लुज म्युजिकमा नेपाली शब्द तर गायिकी पश्चिमा नै । बिलकुलै नयाँ स्वाद । त्यसपछि लगातार यस्तै गीत गाइरहे, अझ लोकलाई समेत समेटेर, ‘डल्ली रेशम...’ । जब इन्टरनेटले व्यापकता पाउँदै थियो, ‘वसन्त उदायो...’ र ‘कान्छी नानी...’ आए । यी गीतले ब्यान्डलाई थप उचाइ दिलाए ।

तर, ब्यान्डका सदस्यहरू फेरिरहने । हरेक सदस्य भित्रिँदा फेरि रियाज गर्नुपर्ने । भलै ब्यान्डलाई अझ निखार्दै लगेको मुक्तिको अनुभव छ । उनकै नामबाट ब्यान्ड, उनी नै भोकलिस्ट । त्यसैले अरू सदस्यमाथि हाबी पो भए कि ? “त्यस्तो हुन्न । ब्यान्डमा सबैको भूमिका समान हुन्छ ।” रक र ब्लुज गाउँदा–गाउँदै ५८ वर्ष पुगेका मुक्ति भन्छन्, “तर, भोकलिस्टको काम नै ब्यान्डलाई ब्रान्डिङ गर्ने हो । जब यो तथ्य अन्य सदस्यले बुझ्छन्, तब समस्या हुँदैन ।” अहिलेको ‘लाइनअप’ पाँच वर्ष पुरानो भयो ।

ब्यान्डका हरेक सदस्य जम्मा नभई कतै कन्सर्ट गर्दैनन् । जति पारिश्रमिक आउँछ, समान भाग लगाउँछन् । लोक र ब्लुजलाई फ्युजन गर्नु अनि अर्थसहितको शब्दलाई प्राथमिकता दिनु ब्यान्डको एजेन्डा नै हो । सायद यही कारण हुनुपर्छ, मुक्ति एन्ड रिभाइभलको लोक–संगीतमा अडिएको ब्लुज ब्यान्डको पहिचान बनेको । ब्लुजका बारे थाहै नहुँदा ब्यान्ड जन्मियो, अहिले ब्लुज लोकप्रिय हुँदासम्म उनीहरू उत्तिकै सक्रिय छन् । यसको जस ब्यान्डलाई पनि पक्कै जान्छ । कन्सर्टमा उच्च ‘इनर्जी’का साथ उपस्थित हुने यो ब्यान्डका सबै सदस्य ४० वर्ष नाघिसकेका छन् । मुक्ति भन्छन्, “उमेर बूढो हँुदै गएको हो । जोश उस्तै जवान छ ।” त्यसो नहुँदो हो त यति लामो समय टिक्थे कसरी ?

रकमै मस्त

जब नेपाली रक संगीतको कुरा आउँछ, कबवेब ब्यान्डलाई भुल्नै सकिन्न । अझ भनुँ, कबवेबबिना नेपाली रक अपूरो हुन्छ । उनीहरूको लाइभ प्रस्तुति साँच्चै ‘वाउ’ नै हुन्छ ।

कबवेबको कथा पनि खासै भिन्न छैन । चलिरहेको होइन, पश्चिमबाट यता सरेको संगीत रुचाउने पाँच ठिटाहरूले यो ब्यान्ड जन्माएका थिए, सन् १९९२ को अन्त्यतिर । जसमध्ये दुई जना दिभेस मुल्मी (भोकल/गिटार) र निलेश जोशी (बेस गिटार) अझ ब्यान्डमै छन् । अर्थात्, कबवेबसँगै अगाडि बढाए उनीहरूले आफ्नो करिअर पनि । लामो कपाल र मुन्द्राधारी दिभेस भन्छन्, “ट्रेन्ड फ्लो नगरी आपैँm गोरेटो खन्नु मुस्किल थियो । तैपनि, हाम्रो यात्रा सुखद रह्यो । सन्तुष्ट छौँ ।”

रहरै–रहरमा ब्यान्ड खोले, त्यस्तै रहरमा एल्बम निकाले तर भइदियो सुपरफ्लप । पैसा खेर, मिहिनेत खेर । जोश पनि हरायो । चार वर्ष त्यत्तिकै बित्यो । तर, सुषुप्त सही, संगीत–प्रेम छँदै थियो । बरू, यसबीचमा दिभेसले रेकर्डिङ स्टुडियोमा काम गरे । कसरी एल्बम निकाल्ने, कम्पनीसम्म कसरी पुग्ने आइडिया भयो । युवा मनोभावलाई समात्ने गीत सिर्जनातिर लागे । हेभी रक छाडेर अलि सफ्ट कम्पोजिसनतिर तानिए । त्यसकै परिणाम हो, ‘मार्‍यो नि मार्‍यो...’ । सेमी–रक यस गीतबाट कबवेब ‘मार्क’ भयो ।

अन्य ब्यान्ड अक्सर भोकलिस्टका कारण टुक्रिन्छन् । कबवेबको सुरुआतबाटै दिभेस भोकलिस्ट छन् । ६ वर्षअगाडि अर्का भोकलिस्ट थपिए, सञ्जय अर्याल । तर, कुनै मनमुटाव छैन । बरू, कामको बाँडफाँट गरेका छन् । जस्तो : कन्सर्ट आयोजकसँग डिल निलेशले गर्छन् । भेन्यु र स्टेज हेर्ने जिम्मा सिद्धार्थ धाख्वाको हो भने साउन्ड र अन्य प्राविधिक पक्ष दिभेसको । पारिश्रमिक नयाँ तीन सदस्यले भन्दा पुराना दुईले अलि बढी पाउँछन् । दिभेस भन्छन्, “हाम्रो सबभन्दा सकारात्मक पक्ष नै सदस्यहरूबीच समझदारी र आत्मीयता हुनु हो । केही तलमाथि पर्नासाथ सँगै बसेर मिलाइहाल्छौँ ।”

अञ्जान (सन् १९९३)देखि अस्तित्व (सन् २०१६)सम्म कबवेबले आठवटा एल्बम निकाल्यो । रक, सेमी–रक, रेगे, एक्सपेरिमेन्टल, प्रोगेसिभ जस्तोसुकै गीत गाए पनि दर्शक/श्रोताले रुचाएकै छन् । आफ्नी प्रेमिकालाई सुविधासम्पन्न कारमा घुमाउन लैजाने सपना बुनिएको ‘मर्सिडिज बेन्ज...’ कबवेबको सम्भवत: सबभन्दा चर्चित गीत हो । जहाँ कन्सर्ट होस्, गाउनैपर्छ । ‘प्रीतको नशा...’, ‘फेरि जिउन यहाँ...’, ‘तिम्रो माया...’ पनि उत्तिकै प्रिय छन्, खास गरी युवा पुस्तामाझ । दिभेस भन्छन्, “हिजो हाम्रा गीत रुचाउनेहरू आज बुबा बनिसके । अहिले उनीहरूका सन्तान हाम्रा गीत सुन्छन् । दुई पुस्तासम्म त पुगियो ।” यो यात्रा कहिलेसम्म ? दिभेस क्षणभर गम्छन् र भन्छन्, “सायद हामी रहुन्जेलसम्मै ।”

तर, होइन । त्यसपछि पनि कबवेब मर्दैन किनभने संगीतको कुनै आयु हुन्न, यो अनन्त हुन्छ ।

प्रकाशित: चैत्र १८, २०७४