टाइगरको एक्सन मात्र

- गोकर्ण गौतम

सुगठिलो ज्यान, मारधाड एक्सन र आकर्षक डान्सका प्याकेज हुन्, टाइगर श्राफ । उनका फिल्मको केन्द्रमा कथा होइन, ‘ हिरोइज्म’ हुन्छ । जसलाई देखाउन सधैँ एक्सनको सहारा लिइन्छ । पाँचौँ फिल्म बागी २ मा पनि टाइगरले यही शैली पछ्याएका छन् । नामैबाट प्रष्ट हुन्छ, यो सन् २०१६ मा आएको बागीको सिक्वेल हो । अनि, तेलगु फिल्म क्षणमको ‘रिमेक’ पनि । निर्देशक अहमद खानले टाइगरलाई यसपटक ‘पारा मिलिटरी फोर्स’ बनाएका छन् । तर, फिल्ममा उनको काम देशलाई रक्षा गर्नु होइन, एउटा अपहरित फुच्चीलाई खोज्नु रहेको छ । थ्रिलर जनराको यस फिल्मको मुख्य प्लट त परम्परागत छ नै, त्यसलाई पस्कने शैलीमा समेत ताजापन आभास हुन्न । केही एक्सन सिक्वेन्सचाहिँ साँच्चै गज्जबका छन् ।

कश्मीरमा तैनाथ क्याप्टेन रोन्नी (टाइगर)की पूर्वप्रेमीका नेहा (दीशा पटानी) की छोरी स्कुलको पहिलो दिनमै अपहरणमा पर्छिन् । कसले किन, कहाँ लग्यो, टुंगो लाग्दैन । सोही कारण आफ्नी हराएकी छोरी खोज्न नेहाले रोन्नीलाई गुहार्छिन् । रोन्नी व्यक्तिगत रूपमा  बच्ची र अपहरणकर्ताको खोजीमा लाग्छन् । आफ्नो वास्तविक पहिचान पनि लुकाउँछन् । तर, एकपछि अर्को अपराधीको जञ्जालमा फस्दै जान्छन् । अपहरित छोरी फिर्ता ल्याएर आफ्नी पूर्वप्रेमिकालाई दिएको वचन पूरा गर्न टाइगर सफल होलान् ? फिल्म यही सवालको वरपर घुमेको छ ।

बीच सडकबाट बच्ची अपहरण हुने ‘क्लिसे’ दृश्यबाट सुरु भएको फिल्मको घटनाक्रम पनि उही ढंगले विकास हुन्छ । रोन्नीको प्रवेश, उसको चरित्र स्थापित गर्न सिर्जिएका दृश्य, नेहाले रोन्नीलाई सम्पर्क गर्ने शैली, उनीहरूको भेटघाट, अफेयरदेखि वियोगसम्मका दृश्य बासी नै लाग्छन् । रोन्नी र नेहाको ‘फ्ल्यासब्याक’ले कथाको बेगमा अड्चन पैदा गर्छ । सुरुआतको आधा घन्टापछि फिल्म लयभन्दा बाहिर पुग्छ । कथा पुरानै ढर्राको भए पनि पटकथाको माध्यमबाट त्यसलाई रसिलो बनाउन सकिन्छ । तर, जोजो खान, अब्बास र नीरज मिश्रले मिलेर लेखेको बागी २ को पटकथामा त्यो विशिष्ट गुण छैन । धन्न ! पुलिस अफिसरद्वय मनोज वाजपेयी र रणदीप हुड्डाको प्रवेशपछि ‘थ्रिल’ महसुस हुन्छ । खासमा फिल्मले आँखा तान्नेचाहिँ मध्यान्तरपछि नै हो ।

नेहाका श्रीमान्, उनका भाइ, डीआईजी बाजपेयी, अनुसन्धान अधिकृत हुड्डा, गोवा घुमाउने दीपक डोबरियलजस्ता हरेक पात्रका भित्री चरित्र खुल्दै जान्छन् । यसले कथामा रोचकता थप्दै जान्छ । थ्रिलर विधाको हुनुको नाताले हरेक दृश्यमा कौतूहल सिर्जनु निर्देशकको मुख्य चुनौती हो । कोरियोग्राफरबाट निर्देशक बनेका अहमद मध्यान्तरपछि त्यो चुनौती चिर्न धेरै हदसम्म सफल छन् । भलै फुच्चीको अपहरणको मुख्य उद्देश्य विश्वसनीय लाग्दैन । त्योभन्दा सतही र अपत्यारिलो लाग्छ, मनोज बाजपेयीले खडा गरेको आंतकको साम्राज्य । अर्कातिर, मुख्य पात्र रोन्नीकै पारिवारिक पृष्ठभूमिलाई शतप्रतिशत नजरअन्दाज गरिएको छ । नेहाप्रति उनका श्रीमान्को अत्यधिक घृणालाई पनि ‘जस्टिफाइ’ गर्न सकिएको छैन । यस्तो लाग्छ, हरेक घटनाका पछि रोन्नीको बलवान देखाउने चक्कर मात्र छ । उनी एक्लैले सयभन्दा बढी तालिमप्राप्त लडाकुलाई सिध्याउँछन् । दर्जनौँ गुन्डाले एकोहोरो गोली चलाउँदासमेत रोन्नीलाई लाग्दै–लाग्दैन । फिल्म हेर्दा यस्तो दृश्य पचाउने क्षमता हुनैपर्छ ।

तर, घना जंगलमा खिचिएका फाइटका दृश्य आफैँमा भव्य लाग्छन् । टाइगरको एक्सनले हलिउड फिल्म र्‍याम्बोका सिल्भस्टर स्टालोनको याद दिलाउँछ । नकारात्मक पात्रहरू र तिनको समीकरणले फिल्मलाई कसिलो बनाउन मद्दत गरेको छ । सदाझैं यसपटक पनि टाइगर एक्सन दृश्यमा अब्बल छन् भने अभिनयमा कामचलाउ मात्र । बलिउडमा यो स्तरको एक्सन असाध्यै कम देख्न पाइन्छ । मायालु चरित्रमा दीशा पटानीको उपस्थिति मायालु नै लाग्छ । तर, उनले काम देखाउने गतिलो अवसर पाएकी छैनन् । बरु फिल्ममा सबैभन्दा सम्झने चरित्रचाहिँ रणदीप हुड्डाको हो । हुलिया र असली व्यक्तित्वबीचको अन्तर र अभिनेताका रूपमा उनले देखाएको सन्तुलन साँच्चै उच्चकोटिको छ । यो भूमिकाले रणदीपका प्रशंसकको दायरा अझ फराकिलो बनाउँछ । सन्काहा ड्रगडिलर प्रतीक बब्बर डरलाग्दा छन् । उनको चरित्र निर्माण र प्रस्तुतिले मन जित्छ । मनोज बाजपेयीको अभिनय त सधैँ सानदार भइहाल्छ । भलै, यस्तो नकारात्मक चरित्र उनका लागि नयाँ होइन । अतिफ अस्लमले गाएको ‘ओ साथी...’ फिल्मको सबैभन्दा सुमधुर गीत हो । ज्याकलिन फर्नान्डेजको आइटम डान्सले कथाको वेगमा भाँजो हाल्छ । निर्देशक अहमद खानका अघिल्ला दुई फिल्म फूल एन्ड फाइनल र लकीरभन्दा बागी २ उन्नत स्तरको छ । तर, यसपटक पनि न सुवासिलो कथा भर्न सकेका छन्, न त यस फिल्मले अभिनेताका रूपमा टाइगरको साख बढाउँछ । भन्नु नपर्ला, टाइगरको एक्सनबाहेक बागी २ हेर्नुपर्ने अर्को खास कारण छैन ।

प्रकाशित: चैत्र १६, २०७४