[झटारो] समृद्धितिरको यात्रा

- लक्ष्मण गाम्नागे

प्रधानमन्त्री केपी शर्मा ओलीजीले नयाँ मन्त्रीहरूलाई कतै अलमल नगरी छिटोभन्दा छिटो मुलुकको समृद्धितर्फ लाग्न निर्देशन दिए । प्रधानमन्त्रीको निर्देशन भुइँमा खस्न नपाउँदै मन्त्रीहरूले पनि निर्देशनको पालना गरे । उनीहरूले माला, खादा, अभिनन्दन, प्रशस्तिगान आदि ग्रहण गरेर समृद्धितिरको यात्रा सुरु गरिहाले ।    

यसैबीच मन्त्रीहरूले स्वागत ग्रहण गरेको, माला लगाएको, खादा भिरेको जस्तो महत्त्वपूर्ण र अनुकरणीय परम्परालाई केही इष्र्यालुहरूले आलोचना गरेको पनि सुनियो । परम्परा, संस्कृतिको रक्षा गर्नु सबै मन्त्रीहरूको कर्तव्य हो । पूर्ववर्ती मन्त्रीहरू कामका नाममा सिन्कै नभाँचे पनि फूल र खादाले पुरिए, मेरुदण्ड नै लच्किने गरी सय–डेढ सय किलोका माला लगाएर मुसुमुसु हाँसे । ६ महिना वा नौ महिनाका लागि मन्त्री हुनेले त त्यत्रो सम्मान ग्रहण गरे भने तपाईंहरू त दुई तिहाइ बहुमतप्राप्त सरकारका मन्त्रीहरू पो त ! तपाईंहरू अभिनन्दित हुँदा रिस गर्नेहरूको आफ्नै अनुहार कालो हुन्छ, तपाईंहरूलाई केही फरक पर्दैन, चिन्ता नगर्नुहोस् ।

गणतन्त्रमा चाकडीको आनन्द प्राप्त गर्ने अधिकार सबै मन्त्रीलाई बराबरी छ । त्यसैले मन्त्रीज्यूहरूले यसमा लजाउनुपर्ने, धकाउनुपर्ने, अप्ठ्यारो मान्नुपर्ने केही छैन । निर्धक्क भएर गला थाप्नुहोस्, अभिनन्दन ग्रहण गर्नुहोस्, प्रशस्तिगान श्रवण गर्नुहोस् र आनन्द लिनुहोस् । कार्यकक्षमा, शयनकक्षमा, सभागोष्ठीमा, बाटैमा, घाटैमा, कार्यालयका गेटैमा, शौचालयका ढोकैमा जहाँ जसले समातेर खादा, माला जे पहिर्‍याउँछ, घाँटी थाप्दिइहाल्नुहोस् । सेल्फी दिइहाल्नुहोस् ।

तपाईंहरूको अभिनन्दनमा लागेका भक्तहरूको लर्को हेर्नुहोस्, उनीहरू कति उत्साहका साथ तपाईंको स्वागत गर्न लाइन लागेका छन् । हातमा १० किलोको मगमग वास्ना चलिरहेको ताजा पुष्पमाला बोकेर उभिइरहनुभएका व्यक्तित्व यसै मन्त्रालयका सचिवज्यू हो । पाँच किलोको कलात्मक बुके बोकेर हँसियाझैँ निहुरिरहनुभएका व्यक्ति सहसचिवज्यू हुनुहुन्छ । अर्का प्रफुल्ल मुद्रामा खादासहित लाइन मिचेर अघि बढ्दै गर्नुभएका महानुभाव तपाईंकै पार्टी समर्थित कर्मचारी संगठनका अध्यक्ष हुनुहुन्छ । तपाईंकै साइजको फ्रेममा तपाईंको देदिप्यमान् तस्बिर छापिएको अभिनन्दनपत्र च्यापेर पर्खिरहनुभएका महापुरुष यो मुलुककै ठूला ठेकेदार हुनुहुन्छ । पस्मिनाको खास्टो अँठ्याएर भित्तामा अडेस लागेका महानुभाव चर्चित जग्गा व्यापारी हुनुहुन्छ । लाइनमा व्यापारी, व्यवसायी, उद्योगपतिहरू हुनुहुन्छ । कर्मचारी, पार्टी सदस्य, म्यानपावर व्यवसायी, दलाल, चाटुकार, गुण्डानाइके, ठग र झगडियाहरू पनि हुनुहुन्छ । सबै तपाईंका शुभचिन्तक हुनुहुन्छ । सबै तपाईंलाई चाहिने मान्छे नै हुनुहुन्छ । मुलुकले तपाईंजस्तो योग्य मन्त्री पाएकामा उहाँहरू गद्गद हुनुहुन्छ । उहाँहरू सबै तपाईंलाई स्वागत गर्न चाहनुहुन्छ, बधाई दिन चाहनुहुन्छ, अंकमाल गर्न चाहनुहुन्छ, तपाईंसँग एकदम नजिक हुन चाहनुहुन्छ । उहाँहरू कोही कानैमा केही सल्लाह दिन चाहनुहुन्छ, कोही इसाराले केही भन्न चाहनुहुन्छ । तपाईंले यी कसैको पनि चित्त दुखाउनुहुँदैन । जसले खादा लिएर आउँछ ओढिदिनुपर्छ । जसले प्रशस्तिगान गर्छ, सुनिदिनुपर्छ । ताम्रपत्र, शिलापत्र, सम्मानपत्र, अभिनन्दन जे–जे आइलाग्छन्, थापिदिनुपर्छ । तपाईंले सम्मान ग्रहण गर्ने सही समय पनि यही हो । भविष्यको भर हुँदैन । काम गर्दै जाँदा फूलको सट्टा अर्थोकैको माला लगाउने कामतिर अग्रसर हुन मन लाग्न पनि सक्छ । त्यसैले अहिले नै सबैका अभिनन्दन ग्रहण गर्नुहोस् । कसैले आफ्नै घरका आँगनमा तपाईंको सालिक नै बनाउन खोज्यो भने पनि नाइँ नभन्नुहोस्, त्यसको शिलान्यास र उद्घाटन गर्न पनि तपाईं नै जानुहोस् । आगे तपाईंको जो विचार !

प्रकाशित: चैत्र १६, २०७४

ट्याग: व्यंग्य