[स्मरण] मल्लेरुकालीन जचौरी कुलो

- विहारीकृष्ण श्रेष्ठ

कर्णालीको लोक संस्कृति अध्ययन–अनुसन्धानका क्रममा जुम्लाको हाडसिंजा गाउँमा बस्दाको कुरा हो । वैशाख महिनाको एक बिहान गाउँलेहरू गाउँको बीच भागमा जम्मा भएका थिए । अनौठो लाग्यो । नजिकै गएर कारण सोधेँ । जवाफ पाएँ, अब जौ खेती सकियो, धान लाउने बेला भएकाले कुलोमा पानी ल्याउन हिँडेका रे !

त्यतिबेला म स्थानीय विकास विभागको शाखा अधिकृत थिएँ । त्यसैले आफ्नै विभागको पैसाले यो कुलो बनाएका होलान् भन्ठानेर फूर्तिसाथ सोधेँ, ‘कहिले बनेको यो कुलो  ?’ जवाफ आयो, ‘मल्लेरु राजाको पालामा ।’ तर, त्यसको तिथिमिति भने उनीहरूलाई पनि थाहा रहेनछ ।

मेरा लागि कहिल्यै नसुनेको नाम थियो त्यो । कुराको सत्यतामाथि शंका लाग्यो । विस्तृत जान्न मन लागेर स्थानीय हीरालाल हमालको घर गएँ । ७५ वर्षीय हमाल गाउँका गन्यमान्य थिए । भरपर्दो सूचनादाताका रूपमा हामीले पनि उनलाई प्रयोग गरिरहेका थियौँ । सोधेँ, ‘त्यो जचौरी कुलो कहिले बनेको ?’

जचौरी भनेर चिनिने ठकुरीहरूले बनाएकाले तिनकै नामबाट कुलोको नामकरण भएको रहेछ । तर, उनले पनि उही मल्लेरु राजाको नाम लिए । मलाई कुनै न कुनै किसिमको तथ्य र समयसीमा चाहिएकाले फेरि सोधेँ, ‘ तपाईं १० वर्षको हुँदा यो कुलो थियो त ?’ उनले भने, ‘म १० वर्षको हुँदा होइन, मेरा बाजे (हजुरबुबा) १० वर्षका हुँदा पनि यो कुलो थियो ।’ त्यो जवाफले कम्तीमा पनि दुई सय वर्षअघिदेखि कुलो अस्तित्वमा रहेको संकेत गथ्र्यो ।

कुलोबारे थप उत्सुकता पलायो । मन्त्रीले उद्घाटन गर्न पाएको हुँदैन कुलो भत्किसकेका घटना धेरैपटक देखेभोगे को थिएँ । तर, विकट जुम्लाको त्यो गाउँमा कम्तीमा दुई सय वर्षअघि निर्माण भएको कुलो अझै अस्तित्वमा रहेको र त्यस कुलोको सहायताले त्यहाँका गाउँलेले निर्बाध सिँचाइ सुविधा प्राप्त गरिरहेको देख्दा अपत्यारिलो मात्र होइन, अनौठो पनि लाग्यो ।

झन्डै दुई किलोमिटर टाढाबाट ल्याएको त्यो कुलोको सञ्चालन अति नै व्यवस्थित थियो । पहाडी भागबाट ल्याइएको कुलो बीचबीचमा खोल्सो र पहरोमा सल्लाको काठे डुँड बनाएर पानी बगाइएको थियो । कुलाको सञ्चालनार्थ गाउँलेहरूले आफ्नै किसिमको संगठन निर्माण गरेका रहेछन् । जसलाई कुमटी भनिन्थ्यो र त्यसका सदस्यलाई कुमटेल । गाउँका खेत, जसलाई जुम्लामा ज्युला भनिन्छ र त्यसका मालिक ज्युलेली । तिनै ज्युलेलीहरूले नियुक्त गर्ने उक्त कुमटीमा त्यतिबेला तीन सदस्य थिए । र, तिनीहरूले नै पानी वितरणको सम्पूर्ण व्यवस्था गर्थे ।

खेत रोप्नु दुई दिनअघि मात्रै गरामा पानी उपलब्ध गराउने निर्णय हुन्थ्यो । तर, कुमटेलहरूलाई कसले कुन दिन रोपाइँ गर्ने भन्ने कण्ठै हुन्थ्यो । आफ्नो खेतको माया ठूलो हुनु स्वाभाविक थियो । गाउँलेले मौका पर्दा कुलोको पानी चोरेर पालोभन्दा पहिल्यै आफ्ना गरा भिजाउँदा रहेछन् । त्यसरी पानी चोरी गर्नेलाई दण्ड–सजायको पनि मौलिक व्यवस्था थियो । तर, चोरीको दोषबाट उम्किन अनेकखाले उपाय पहिले नै लगाएका हुँदा रहेछन् ।

हामीले प्रमुख सूचनादाताका रूपमा उपयोग गरेका हीरालाल हमाललाई नै एकपटक चोरीको अभियोगमा स्थानीयले समाएर ‘कुमटेल अदालत’मा उपस्थित गराए । खेतीको काममा प्राय: महिला र दलित समुदायका व्यक्तिलाई प्रयोग गरिएको हुन्थ्यो । ठूलाठालूहरू खाली गरामा बसेर गफिरहेका हुन्थे । पानी चोर्ने मान्छे फेला परेपछि उनीहरू नै कुमटेल अदालतको काम गर्थे । हीरालालले घरमा काम गर्ने कामदारलाई पठाएर राती कुलोको पानी चोरेर आफ्नो खेत भिजाएका रहेछन् । बिहान उनको खेत भिजेको देखेर कुमटेलले केरकार गरे । हीरालालले आफूले चोरेको होइन भनेर भएभरको कसम खाए र सो अदालतबाट उम्किए ।

मल्लेरुकालीन त्यो कुलोको सञ्चालन व्यवस्थाबाट मैले धेरै कुरा सिक्ने मौका पाएँ । सरकारी नीति निर्माणका क्रममा पनि धेरै कुरा प्रयोगमा ल्याउन पाएँ । ०३२ तिर राजा वीरेन्द्रका पालामा उपसचिव भएर विश्वबैंकको सहायतामा सञ्चालित नेपालको पहिलो ठूलो ग्रामीण विकास परियोजनामा काम गरेँ । रसुवा–नुवाकोट ग्रामीण विकास परियोजनामा उपयोगकर्ताको समूह भनी नामकरण गरियो, जुन उपभोक्ता समूहको अवधारणा थियो । त्यही बेला यसलाई सरकारको नीतिमा समावेश गर्न भने सकिनँ ।

वास्तवमा मुलुकभरि फैलिएको उपभोक्ता समूहहरूको जालो र उक्त जचौरी कुलोको साइनोले के देखाउँछ भने हाम्रो मुलुकको विकासका लागि नेपालकै सांस्कृतिक धरोहरबाट सिक्ने कुरा धेरै छन् । त्यसका निम्ति विकास गर्ने राजनीतिक व्यक्ति, कर्मचारी, विशेषज्ञ आदिले आफ्नै समाजतिर फर्केर हेर्ने बानी बसाले कसो होला ?

प्रस्तुति : ईश्वरी ज्ञवाली

प्रकाशित: चैत्र १५, २०७४

ट्याग: सस्मरण