[नोटबुक] फन–भ्यालीको त्यो नमज्जा

- गुरुङ सुशान्त

गत २६ जेठमा साँगास्थित काठमान्डू फन–भ्यालीबाट मेरी श्रीमती रिमाले रुँदै फोन गरिन्, “प्रशंसाको एक्सिडेन्ट भयो ।” यो एक वाक्यले मलाई डसिहाल्यो ।

मध्यपुर हस्पिटलको आकस्मिक कक्षमा देखियो, छोरीकी सहपाठी मेलिना पनि घाइते छिन् । शिक्षकको प्रत्यक्ष निगरानीमा पनि कसरी दुर्घटना भयो ? शिक्षकहरुकै हेलचेक्य्राइँका कारण घटना भएको ठानेँ । छोरीको च्यापुमा गहिरो घाउ देखेपछि मेरा आँखा यसै बग्न थाले । यसै भन्न सक्दिनँ, आक्रोशको बाँध भत्किएको थियो कि मायाको ? थाहा छ, दुर्घटना कसैको चाहनामा हुँदैन । तर, लापरबाहीबिना पनि त हुँदैन !

रोइरहेकी छोरीले काँपिरहेका मेरा हात समातेर बिस्तारै भनिन्, “बाबा ! यसमा हाम्रो र टिचरको केही गल्ती छैन । सबै दोष फन–भ्यालीको म्यानेजमेन्टकै हो ।” ८ कक्षा पढ्ने छोरीले यति बोलेपछि घटनाको जानकारी लिन थालेँ ।

बुझ्दा थाहा भो– यी दुई नानीहरु खेल्दाखेल्दै नटबोल्ट खुस्किएर पिङसहित झरेछन् । झन्डै ११/१२ मिटरमाथि मच्चिरहेको पिङबाट झरेका नानीहरु केहीबेर बेहोस भएछन् । सबै कुरा सुनेपछि मैले काठमान्डू फन भ्यालीको व्यवस्थापनको आधिकारिक व्यक्तिसँग भेट्न खोजेँ । “उपचार हुन्छ, नआत्तिनूस्,” एक जना भद्र मछेउ आएर बोले । शरीरमा आक्रोशको आगो थामेर बसेको मैले तातो स्वरमा भनेँ, “तपाईं म्यानेजमेन्टको मान्छे हो ?” ती व्यक्तिले भने, “म डाक्टर पनि हुँ । उपचार हुन्छ ।” नरम आवाजमा बोल्ने धैर्य गुमाइसकेको थिएँ, “अस्पतालमा आएपछि उपचार हुन्छ, मलाई पनि थाहा छ । अहिले तपाईंसँग डाक्टरका रुपमा कुरा गर्न चाहन्नँ । बिरामीसँग हुनुपर्दैन, तपाईंको प्रतिनिधि ?” ती व्यक्ति केही नबोली पछि हटे । प्रहरीले नानीहरुसँग बयान लिए । केहीबेरमा अर्को व्यक्तिले भने, “उपचार खर्च हामी बेहोर्छौं ।” ती व्यक्ति हात मिलाएर निस्किए हतारमा । मलाई उनीहरुको रवैया चित्त बुझेन । कम्तीमा केहीबेर साथमै बसेर ‘सरी फिल’सहितको बातचित त गर्नुपथ्र्यो ।

मेडिकल जाँचपछि थाहा भयो, छोरीको शरीरमा भित्री चोटचाहिँ कहीँ छैन । च्यापुको गहिरो घाउमा चाहिँ ६ टाँका लगाइयो । घुँडा, कुहिना र ढाडका घाउका कारण हलचल गर्न मुस्किल थियो । मेलिनाको जीउमा बाहिरी चोट केही नदेखिए पनि ढाडको हड्डी भाँचिएको रहेछ । पिसाबमा पनि रगत मिसिएको थियो ।

अस्पताल आएका शिक्षक–शिक्षिका र मेरा घरबेटीसँग पनि बोल्न सकिनँ । भोलिपल्टदेखि फन–भ्यालीका कर्मचारीलाई पटक–पटक फोन गरेर विद्यालय व्यवस्थापनसहितको मिटिङमा सत्यतथ्य राख्न अनुरोध गरेँ । भनेँ, “नत्र, अदालत जान्छु ।” उताबाट प्रत्युत्तर आयो, “म भूपू प्रहरी अधिकृत हुँ । खराब मान्छे होइन । तपाईंको सम्पर्क नम्बर छ । मिटिङ राख्छु । पहिले उपचार सकियोस् ।”

हामी अप्ठ्यारो मानसिक सकसबाट गुज्रियौँ । नानीहरुको पढाइ छुट्यो । झन्डै महिना दिन अस्पतालमा बिताएकी मेलिना–परिवारले पाएको सास्ती अझ पीडादायी थियो । अस्पताल बसाइकै क्रममा मेलिनाकी आमाले करिब ३० हजारसहितको पर्स हराइन् आतेसमा । मेलिनाका दिदीहरुको हप्तौँ कलेज छुट्यो । त्यहीबीचमा फन–भ्यालीमा कन्सर्ट भयो । तर, हामी बेवास्तामै परिरह्यौँ।

अझै पनि फन–भ्यालीबाट भलाद्मीको फोन आउलाजस्तो लाग्छ । सायद तिनको स्मृतिबाट यो घटना हराइसक्यो । तर, म भने छोरीको अनुहारको खतलाई आँखाले छोइरहन्छु ।

प्रहरी दम्पतीकै झगडा

मध्य झरीको एक दिउँसो साथीको घरमा सानो जमघट थियो । रुझेको गोंगबुलाई गफगाफले तताउने चेष्टा हुँदैथ्यो । बरन्डाबाट छिमेकी घर देखाउँदै साथीले केही दिनअघिको घटना हामीलाई सुनाइन् ।

बिहानीपख बाथरुमबाट निस्कँदा साथीले महिला रोएको आवाज सुनिछन् । चासो दिएर हेर्दा थाहा पाइन्, छिमेकी घरमा महिलालाई लोग्नेले भक्कुमार पिटिरहेको छ । रुवाबासी चर्किंदै गएपछि मेरी साथी बोलिछन्, “बहिनी, त्यहीँ नजिक पुलिस थाना छ ।” अनि, ती महिला रुँदै बोलिछन्, “पुलिस यहीँ छ । के जानू थाना ? त्यहाँबाट पनि मिलापत्र गरेरै पठाउने त हो ।”

ती दम्पती नै प्रहरी रहेछन् । सुरुमा त एक चरण हाँस्यौँ, कुरा सुनेर । तर, हाँस्ने कुरै थिएन त्यो ।

साहित्यमा हँसीमजाक

उनी घर–घडेरी जोडिसकेपछि ढल्कँदो उमेरमा अक्षरको चौतारीमा बसिबियाँलो गर्न आइपुगेजस्तो लाग्थ्यो । पृथक हुलियाका उनीसँग साहित्यिक कार्यक्रममा भेट भइरहन्थ्यो । एक दिन भने, “उपन्यास लेखेको छु । हेरिदिनुपर्‍यो ।” फेरि थपे, “र, समीक्षा पनि लेखिदिनुपर्‍यो । कान्तिपुरमा लेखेको कति लिनुहुन्छ र अन्य दैनिक पत्रिकामा लेखेको कति ?” अनपेक्षित प्रश्नको उत्तरमा भनेँ, “पारिश्रमिक तपाईंले दिने होइन, पत्रिकाले दिन्छ ।” उनले एकाध समीक्षकको नाम लिँदै मोलमोलाइमा समीक्षा लेखिने कुरा सुनाए । पत्रिकाले समीक्षकलाई पारिश्रमिक दिने कुरा नै पत्याएनन् उनले । तर, मैले हल्लाको पछि नलाग्न आग्रह गरेँ । उपन्यास प्रकाशित भएपछि उनीसँग तर्किंदै हिँडेँ । अचेल कुनै कार्यक्रमको कुइँनेटोतिर समीक्षकहरुसँग खासखुस गरिरहेका ती व्यक्तिलाई देख्दा लाग्छ, पैसाको लोभ देखाइरहेका छन् कि ? सोच्छु– साहित्यलाई किन हलुका बनाउँदैछन् लेखकहरु ?

खुसीको कुरा यही छ– अहिलेसम्म तिनको उपन्यासमाथि लेखिएको समीक्षा पढ्नु परेको छैन ।

प्रकाशित: चैत्र १५, २०७४

ट्याग: नोटबुक