त्यो मुरली फुट्यो

- ध्रुवचन्द्र गौतम

भीम विराग वीरगन्जबाट उठेका गीत–संगीतको आकाशमा राष्ट्रिय स्तरका एक अविस्मरणीय प्रतिभा हुन् । वीरगन्ज त्यसबखत एउटा सानो सहर थियो, निर्माणाधीन सहर । त्यतिखेर वीरगन्जलाई आजको महानगरपालिका वा केहीअघिको उप–महानगरपालिका बन्ला भन्ने सोचिन्न थियो । सारा मानिस आफ्नाजस्ता लाग्थे । बोले पनि नबोले पनि सब परिचित । गहवा, माईस्थान, बिर्ता, कुमालटोल रेशमकोठी, महावीरस्थान, अलखियारोड यिनै थिए प्रमुख क्षेत्र । छपकैया अलि पर लाग्थ्यो । तर, त्यहाँका पनि धेरै मित्र थिए ।

त्यहीँको एक नामी टोल माईस्थानमा भीम विरागको घर थियो । माईस्थान गीत–संगीतमा निकै सम्पन्न थियो । पशुपति उस्ताद, गजानन्द दाइ, बद्री दाइ, भीम दाइको त झनै कुरै भएन । पछि बिर्ताबाट प्रकाश श्रेष्ठ र मधु क्षत्री राष्ट्रिय रूपमा उदाए । भीम विराग त्यस क्षेत्रका एक बहुमुखी प्रतिभा थिए । गीत–संगीतमा त्यति माथि उठेको त्यस समयको एक मात्र प्रतिभा ।

हामी साना थियौँ । तैपनि, वीरगन्जका कार्यक्रम हेर्न जान्थ्यौँ । एक दिन एउटा समूहले हार्मिन–तबलासहित एउटा गीत प्रस्तुत गर्‍यो । तिनताक कार्यक्रममा प्राय: हिन्दी गीत नै गाइन्थ्यो । वीरगन्जको रंगमञ्चमा मैले सुनेको पहिलो नेपाली गीत थियो :

आएँ म त मनमन्दिरमा

प्रेमपुजारी बनी ।

हुन त यो एउटा प्रेमगीत थियो । तर, यसको मनोरञ्जक पक्ष के थियो भने यसको धुन त्यतिखेरको एउटा फिल्म नौबहारमा लताले गाएको एक गीत :

ए री मैं तो प्रेमदिवानी

मेरा दर्द न जाने कोइ ।

भीम दाइका गीत त सुनियो तर एउटा कलाको भने मैले रसास्वादन गर्न कहिल्यै पाइनँ । उनी असाध्यै मीठो मुरली बजाउँथे रे, उनका किस्सा पनि प्रचलित थिए । भन्थे, उनले निरव रातमा मुरलीको तान छेड्दा वरपरका केटीहरू आ–आफ्ना झ्याल उघारेर बस्थे र धुन सुनेर मुग्ध हुन्थे रे, काठमाडौँमा समेत । अब त्यो मुरली सदालाई फुट्यो ।

र, यस्तो धुन नै झन् मैले सुन्न पाइनँ । यस्तो भनुँ, भीम दाइले नै किन हो मलाई सुनाएनन् । मेरो राम्ररी भेट हुन्जेलसम्म उनले मुरली बजाउन छाडेका थिए कि ! जेहोस्, हार्मिनमा मैले उनीबाट निकै गीत सुनेको छु ।

भीम विराग र हाम्रो (केही अन्य साथीसमेत) राम्रोसँग संगत विसं ०१७–१८ देखि थालिएको हो । उनको माईस्थानमा एउटा खपडाको घर थियो । हामी त्यहाँ जाने गथ्र्यौं । ०१८ मा राजा महेन्द्रको परवानीपुर क्याम्पमा जानेहरूमा भीम विराग पनि थिए । महेन्द्र उनीबाट प्रभावित भए र उनले भीम विरागको स्वास्थ्यबारे पनि सोधपुछ गरे रे † भोलिपल्ट वीरगन्जमा यो खबर सबैको मुखमा थियो । स्वास्थ्यको कुरा कसरी आयो भने भीम दाइलाई स्पोन्डेलाइटिसले छोइसकेको थियो र उनी अलिक निहुरेर हिँड्थे । त्यसपछि राजाले नै भीम दाइलाई इलाजका लागि कलकत्ता पठाइदिए भन्ने पनि खबर आयो ।

एकपटक वीरगन्जको नारायणी साहित्य परिषद्ले कविता प्रतियोगिता गराएको थियो । त्यसमा भीम दाइको कविता ‘टक्करको फूल’ प्रथम भएको थियो । पछि थाहा भयो, ती कविता समजीलाई दिइएको थियो जाँच्नलाई ।

साँच्चि भनुँ भने गीत–संगीतको मामलामा भीम दाइ मेरा अभिभावकसरह थिए, एक किसिमले । मैले उनलाई सांगीतिक अभिभावककै आदर गरेँ, कारण म पनि गाउनमा रुचि राख्थेँ र भीम दाइ मेरा गीत सुन्थे ।

भीम विरागले कथा पनि लेखेका छन् । उनको एउटा कथासंग्रह पनि प्रकाशित भएको थियो । त्यसबखतसम्म म पनि कथातिर ढल्किसकेको थिएँ । भीम दाइले आफ्नो कथासंग्रह दिएपछि मलाई एक दिन सोधे, “म कथा लेख्न सक्छु कि सक्दिनँ ?” मैले भनेँ, “दाइले यति राम्रा कथा लेखिसक्नुभएको छ, लेख्न नसक्ने त छँदैछैन, अझ उपन्यासै लेख्नुहुन्छ ।”

उनले उपन्यास त लेखेनन् र पछि कथा पनि लेख्न छाडे । त्यसभन्दा धेरैअघि उनी वीरगन्ज छाडेर हेटौँडा बसोवास गर्न थालिसकेका थिए । र, त्यसपछि उनी हेटौँडाकै बासिन्दाका रूपमा चिनिए । धेरै प्रख्यात पनि त्यहीँ बसेर भए ।

उनले त्यहाँ प्रेस राखेरै अखबार पनि निकाल्थे । उनको नाउ एक साहित्यिक–सांस्कृतिक राष्ट्रिय व्यक्तित्वका रूपमा हेटौँडाबाटै फैलिएको हो ।

म हेटौँडाको एउटा कार्यक्रममा जाँदा भाउजूसँग पनि भेट्ने अवसर जुथ्र्यो । उनी पनि अत्यन्त स्नेह राख्थिन् । भेट्ने मात्र होइन, गएपछि खाना पनि खुवाउँथिन् भाउजू ।

भीम दाइ, जहिले पनि भन्थे, “यहाँ आएर बस, लेख, तिमीलाई छुट्टै कोठा छुट्याइदिएको छु ।” एक दिन त सजिसजाउ एउटा कोठा उनले देखाई पनि दिए, “यही हो तिम्रो कोठा ।” म त्यसरी लेखेर त बस्न पाइनँ भीम दाइकहाँ । तर, उनको आत्मीय र स्नेह आग्रह सम्झिँदा म अझै पनि अभिभूत हुन्छु ।

एकपटक हेटौँडा जाँदा मैले भीम दाइलाई भेट्न पाइनँ । त्यही बेला काठमाडौँ आएपछि एक दिन फोन आयो, भीम दाइको । उनको आवाज सुन्नासाथ म त सकपकाइ हालेँ । भीम दाइले धेरै चित्त दुखाए । त्यसपछि मैले प्रतीज्ञा गरेँ, हेटौँडा गएँ भने भीम दाइलाई नभेटी फर्किन्नँ ।

मेरा लागि छुट्याइएको कोठामा एक रात भने बस्न पाएँ । भीम दाइले खान बोलाए । बेलुकीको खाना भनेपछि मेहफिलसहित हुने नै भयो । खानाअघि साँझमा भीम दाइकै शब्दमा अलिक ‘रक्सिन’ थालेपछि उनले हार्मिन समाए । भाउजूले भनिन्, “खाना खाइहाल्नु राती कति बज्छ कति ?”

हामीले खाना खायौँ, परिकारैसहित । तर, भीम दाइले हार्मिन समातेपछि हामीले गिलास पनि छाडेनौँ । ‘आफ्टर सपर’ प्राय: चल्दैनथ्यो, त्यस दिन चल्यो, भीम दाइकै आग्रहमा । त्यो रात यति यादगार भयो आज भीम दाइ सम्झ्यो कि त्यो रात अवश्य सम्झन्छु । भीम दाइले आफना एक से एक नयाँ–पुराना सबै गीत राती १ बजेसम्म गाइरहे । फर्माइस पनि गर्‍यौँ, वातावरणमा एक प्रकारको मुग्धता व्याप्त थियो । भाउजूले सुत्न पनि पर्छ भन्ने सम्झाएपछि हामी उठेका थियौँ ।

भीम दाइसित धेरै साहित्यकार–संगीतकारको सम्बन्ध थियो । मेरो आफ्नै खालको थियो । भीम दाइले ‘छिन्नलता गीत पुरस्कार’ पाउँदा म पनि समारोहमा उपस्थित थिएँ । पुरस्कारका लागि जब ‘बायोडाटा’ दिनुपर्ने भयो, उनको साधनाको अवधि तय गर्दा म पनि सहायक थिएँ । प्राय: हामी बाहिर–बाहिर देखिने गरी आएको समयलाई गन्छौँ । मेरो धारणा छ, बाहिर निस्कने दिनका लागि जुन साधना गरेको हुन्छ, कुनै लेखक–कलाकारले त्यो पनि

त्यत्तिकै महत्त्वपूर्ण हुन्छ । त्यो पनि गन्नुपर्छ । मैले भीम दाइलाई त्यही अनुसार ‘बायोडाटा’ बनाउने सल्लाह दिएँ । उनले सहमति जनाए ।

स्वर–सम्राट नारायणगोपालले पनि भीम दाइका गीत गाएका थिए । नारायणगोपाल मेरा पनि राम्रै मित्र थिए । म चाहन्थेँ, मेरो गीत पनि उनी गाऊन् । तर, गाएनन् । उनी अत्यन्त ‘चुजी’ प्रकारका गायक थिए । एकाध अन्य मित्रको गीत पनि उनले कहिल्यै गाएनन् । तर, भीम दाइको गीतप्रति उनको मनमा आदर देखेँ मैले, यदाकदा भेट हुँदा ।

माईस्थानको ‘साहित्य–संगीत परिषद्’सँग म पनि सहयोगी भाव राख्थेँ । त्यहाँ एक त प्रतिभाशाली संगीतकार थिए । दोस्रो, धेरै परिचित थिए । भीम विराग र देवेन्द्र नेपाली तिनमा थिए । ०१९ मा एउटा नाटक लेखियो, वीरगन्जमा ‘नबेच मलाई’ । त्यो नाटक धेरै जना मिलेर लेखेका थिए रे † त्यसको लेखनमा भीम विरागको पनि सहभागिता थियो । त्यो नाटक काठमाडौँ सिंहदरबारको नाचघरमा मञ्चित भएको थियो । मलाई उद्घोषणको जिम्मा थियो । देवेन्द्र नेपाली त्यसका नायक थिए । यसरी म भीम दाइसँग नजिकिँदै गएँ । अनि, त्यो निकटता पछि फर्केन, बढ्दै गयो ।

उनलाई म दाइकै रूपमा आदर गर्थें । त्यसकारण कुनै–कुनै लेखकले उनलाई भीम दाइ त भने तर मोफसलको लेखक–कलाकारजस्तो भाव राखेर कुरा गरेको देख्दा मलाई चित्त बुझ्दैनथ्यो । भनिदिन्थँे, “भीम दाइले जत्तिको राष्ट्रिय सफलता मैले पाउन सकेको छैन, मैले अझ प्रयास गर्नुपर्नेछ ।” यसो भन्दा म यो हेक्का राखेरै भन्थेँ, “म पनि मोफसलबाटै आएको हुँ ।”

म पनि त्यसबखत कहिलेकाहीँ गाउँथेँ भने भीम विरागले पनि मेरो गीत सुनेका छन् । भीम दाइ अरूलाई भन्थे, “यो एक जना मात्र देखेँ, जो ह्वीसिलले नै धुन कम्पोज गर्छ, यसलाई कुनै इन्स्टु्रमेन्ट चाहिँदैन ।”

कुनै गाजाबाजा बजाउन आए न चाहिनु ? म मुसुक्क हाँस्थेँ मात्र । आज बोल्दैछु, भीम विरागको मप्रतिको त्यो अभिव्यक्ति, आज मेरा लागि, कसैले पनि मेरो गीतका लागि दिएको सर्वश्रेष्ठ प्रशंसा भएको छ । भन्न के खोजेँ भने भीम विराग आफूपछिको पुस्तालाई अत्यन्त माया गर्थे, तिनको हौसला बढाउँथे ।

केही शारीरिक कमजोरी त हुँदो हो । तर, साहसमा भने कमजोरी देखिन्न थियो । उनी प्राय: एक्लै मोटरबाइकमा हेटौँडा–काठमाडौँ यात्रा गर्थे । कहिलेकाहीँ भेट हुँदा म सोध्थेँ, “दाइ केमा आउनुभयो ?”

“अरू केमा, मोटरबाइकमा,” उनी भन्थे ।

यो त भयो ठीकै मान्नु । कहिलेकाहीँ त भीम विराग भन्थे, “तिमीहरूसँग भेट्ने मुड आयो, बाइक निकालेँ, चलिदिएँ । घरमा पनि भनेको छैन । अब फोन गर्छु ।”

यो के हो ? म भन्छु, एउटा कलाकार हो यो पनि ।

भीम दाइ मेरो दृष्टिमा एक महान् कलाकार हो, जो सधैँ कलामा सक्रिय भएर बस्यो । सितिमिति अरूले छुन नसक्ने उचाइ छोयो, आफूलाई सांगीतिक इतिहासमा छुटाउनै नसक्ने गरी उभ्यायो, देशलाई आफ्नो अतुल योगदानसहित । र, दुनियाँबाट बिदा भयो ।

भीम दाइको निधनपछि मैले संवेदना पठाएको थिएँ । उनको अभाव मेरा लागि आज पनि एउटा अभावै बनेर रहेको छ, कलाबाहेक व्यक्तिगत रूपमा पनि ।

बित्न त निकै दिन बितेका थिए । तैपनि, एकपटक हेटौँडा पुगेका बखत भाउजूलाई भए पनि भेटूँजस्तो लाग्यो । उनको घरमा घन्टी बजाउँदा एउटी केटी कौसीमा आई । मैले तलैबाट सोधेँ, “भीम दाइको घर होइन यो ?” मैले ठम्याउन भनेर सोधेको थिएँ । केटीले भनी, “हो तर उहाँ त हुनुहुन्न ।”

त्यो त थाहै थियो । त्यसकारण मैले भनेँ, “म भाउजूलाई भेट्न आएको ।”

केटीले भनी, “हुनुहुन्न ।”

“कहाँ जानुभयो ?”

त्यसपछि केटीले जे बताई, त्यसले म झसंग, दु:खी र मौन भएँ ।

भाउजूको पनि निधन भइसकेको रहेछ । म भने भाउजूसँग भीम दाइको संवेदना साटुँला भनेर गएको थिएँ । म साह्रै दु:खी भएर फर्कें । लाग्यो, ममाथि भीम दाइ र भाउजू दुवैको देहान्तको बोझ एकैचोटि अनुभव भएको छ । र, यो दुवैलाई एकैपटक श्रद्धाञ्जलीकै रूपमा लेखेको हुँ ।

प्रकाशित: चैत्र १४, २०७४