गर्भबाटै हराइरहेका सीताहरू

- सुरेन्द्र लाभ

‘के अब राम र सीताबीच विवाह हुने छैन ?’ प्रत्येक दुलाहालाई राम र प्रत्येक दुलहीलाई सीता मान्ने संस्कृति रहेको मिथिला, अवध र भोजपुरी क्षेत्रमा यो प्रश्न गम्भीर रूपमा उठेको छ । त्रेता युगमा अयोध्याका राम र जनकपुरकी सीताबीच वैवाहिक सम्बन्ध स्थापित भएको थियो । यो दाम्पत्यलाई नेपाल–भारतबीचको सम्बन्ध–सेतु मानिन्छ ।

हाम्रो पुस्तासम्म यस्तो वैवाहिक सम्बन्ध व्यापक थियो । तर, यताबाट उता छोरीहरू जति मात्रामा जान्थे, त्यसभन्दा बढी मात्रामा उताका छोरीहरू यता आउँथे । उताका अभिभावक आफ्ना छोरीहरूको विवाहका लागि भरमग्दुर प्रयास गर्थे । किनभने, उताको तुलनामा यता शान्ति–सुरक्षाको स्थिति राम्रो थियो, सडक राम्रो थियो, कृषि उब्जनी राम्रो थियो । फेरि जनकपुर र मधुवनी, वीरगन्ज र मोतीहारी, नेपालगन्ज र बहराइचजस्ता नगरबीच यति बढी सांस्कृतिक घुलमिल थियो कि यी स्थान दुई देशका छन् भन्ने कुराको अनुभूति सामान्यतया हुने गरेको थिएन ।

विसं ०४५ मा नेपाल–भारतबीचको व्यापारिक सन्धिको नवीकरण भएन । र, उताबाट आउने सामान आउन बन्द भए । देशमा हाहाकार भयो । मेरो कलमले मैथिलीमा लेखेको एउटा कविता अंश :

                आब हमरे सन सीता हजारो हजार

                रहि जयतैक बरमाला लए ओहिना ठाढ

                सिन्दुरक पुरिया लुप्त कोना भेल

                कहैत छैक कहाँदिन कोनहु सन्धि टूटि गेल

                प्रिय, सिनेहक बखाडीमे दराडि पडि गेल ।

‘सीताको पत्र रामको नाम’ शीर्षक दिइएको उक्त कविताको उपर्युक्त अंशको तात्पर्य के छ भने अब मजस्तै हजारौँ सीता वरमाला लिएर उभिरहन्छिन्, विवाह हुँदैन । किनभने, सिन्दूर उताबाट आउन छाड्यो । खै कुन सन्धि टुट्यो रे ! प्रिय, स्नेहको भखारीमा धर्को तानियो ।

त्यसपछि मधुबनी, मोतीहारी र बहराइचजस्ता स्थान भारततिरको जस्तो लाग्न थाल्यो । वैवाहिक सम्बन्धमा कमी आउन सुरु भयो ।

नेकपा माओवादीद्वारा घोषित ‘जनयुद्ध’पछि दुवै देशबीचको वैवाहिक सम्बन्धमा व्यापक ह्रास आयो । अनुसन्धानकर्ता हरि रोकाले सीमा वारिपारिबारे एउटा अध्ययन गर्नुभएको थियो । उहाँको विश्लेषण अनुसार त्यतिबेला वैवाहिक सम्बन्धमा ४८ प्रतिशत ह्रास आयो । शान्ति–सुरक्षाको स्थिति गम्भीर अवस्थामा पुगेको थियो त्यतिबेला । र, बेलाबखत भारतको विरोध पनि माओवादीद्वारा गरिन्थ्यो । यस्तो परिस्थितिमा पारिका अभिभावक केटा खोज्न नेपाल पस्न छाडे ।

अर्कोतिर उता पनि बाटोघाटो, शान्ति–सुरक्षा र विकासको स्थितिमा सुधार हुन थाल्यो । विकल्प उतैतिर पाएपछि यता आउने प्रस्तावमा पनि कमी आयो । यताको बन्द, हडताल, हत्या–हिंसाबाट झन् यताको आकर्षण विकर्षणमा परिणत भयो । उताका केटाकेटीलाई नेपाल अशान्त देश रहेको अनुभूति भयो । र, यतातिर वैवाहिक सम्बन्ध स्थापित गर्न अरुचि देखाउन थाले ।

नेपालको वातावरणमा हुर्किएका युवक–युवती उताको तुलनामा बढी खुलापन अनुभव गर्छन् । आर्थिक दृष्टिकोणबाट बिहार सबल भए पनि यहाँका युवक–युवतीहरूको रहनसहन उताको तुलनामा स्तरीय रहेको मनोविज्ञान छ । खासगरी मधेसका सहरी युवाको अन्तर्घुलन काठमाडौँ र अन्य सहरका युवासँग बढी सहज छ । पहिला अन्तरजातीय विवाह हुँदा टोल–छिमेकका लागि चर्चाको विषय बन्थ्यो । केटाकेटीहरू प्राय: लुकेर–भागेर विवाह गर्थे । तर, आज स्थिति फेरिँदैछ । अब पढे–लेखेका युवक–युवतीको छनोटमा अभिभावकद्वारा एरेन्ज म्यारिज गर्ने गरिन्छ ।

मधेसमा आज पनि घुम्टो प्रथा छ । तर, विवाहोत्सवमा महिला डीजेको धुनमा डान्स गरिरहेको दृश्य यहाँका कुनै पनि सहरमा देख्न सकिन्छ । केटीहरूमा उच्च शिक्षा र प्राविधिक शिक्षा प्राप्त गर्ने लहर चलेको छ । तर, केटाहरूमा यो गति अझ तीव्र छ । आज एउटा डाक्टर युवाले विवाहका लागि डाक्टर केटी खोजिरहेको छ । तर, डाक्टर केटाको तुलनामा डाक्टर केटी न्यून भएकाले त्यस्ता जोडीमा दहेज (दाइजो)को लेनदेन न्यून भएको छ । यस्तै अवस्था इन्जिनियर र अन्य उच्च शिक्षाको सन्दर्भमा पनि छ । पहिला केटीको परिवारबाट केटाकहाँ प्रस्ताव जाने चलन थियो, आज पनि छ । तर, राम्री पढे–लेखेकी केटीप्रति वर पक्षबाट थुप्रै प्रस्ताव आउने गरेका छन् । एउटा तहमा समाज कोल्टो फेर्दैछ ।

०७२ को ६ महिने हडताल र नाकाबन्दीले झन् स्थिति गम्भीर बनायो । यसले गर्दा वैवाहिक सम्बन्ध ह्वात्तै घट्यो । काठमाडौँको मनोविज्ञानमा मधेसीहरू भारततिरका हुन् भने र भारतीय दृष्टिकोणमा मधेसीहरू नेपालमा थिचिएका नेपाली हुन् भन्ने आमबुझाइ छ । ०७२ को आन्दोलनले दिएको उपहार यही हो । र, यस्तो स्थितिमा प्रश्न झन् चर्किएको छ, ‘के अब राम र सीताबीच विवाह होला ?’ यता सीताको धरतीमा कतिपय सीताहरू गर्भबाटै हराउँछन् । अनि, के होला ? समाजको दशा र दिशाको स्थिति के होला ? अनेक प्रश्न तेर्सिएका छन् ।

प्रकाशित: चैत्र १४, २०७४

ट्याग: विचार