मोफसलको गोल

- हिमेश

मोफसलतिर साना–ठूला प्रतियोगिता नहुँदा हुन् त नेपाली फुटबलको स्थिति अचेल कस्तो हुँदो हो, कल्पना पनि गर्न सकिन्न । सायद गतिविधिको हिसाबले नेपाली फुटबल शून्यमा झथ्र्यो होला । धन्न काठमाडौँबाहिर फुटबल हुन्छ र खेलाडीले खेल्ने काम पाएका छन् । नेपाली फुटबललाई जीवन्त राख्ने जस यी प्रतियोगितालाई दिनैपर्छ । त्यसैले पनि यी प्रतियोगिताका आयोजक नेपाली फुटबललाई आफूहरूले नै धानेको दाबी गर्नसमेत पछाडि पर्दैनन् ।

हुन पनि अहिले विशेषत: पूर्वका धेरै सहरमा प्रतियोगिता नियमित हुने गर्छन् । अचेल यसले महोत्सवकै रूप पनि लिने गरेको छ । दर्शकको पनि कमी हुन्न, आखिरमा फुटबल नेपालमा सर्वाधिक लोकप्रिय खेल हो । अब त पश्चिमतिर पनि यस्तै फुटबल संस्कृति विकास हुन थालेको छ । यता काठमाडौँतिर फुटबल हुन छाडेको भने धेरै भइसकेको छ । भूकम्पपछि त प्रतियोगिता हुन नै सकेका छैनन् । एकाध अन्तर्राष्ट्रिय प्रतियोगितालाई छाड्ने हो भने काठमाडौँमा फुटबलको गतिविधि शून्यजस्तै छ ।

लिग हुन नसकेको पनि धेरै भयो । भूकम्पअगाडि सुरु भएको राष्ट्रिय लिगले अन्त्यको अवसर त पायो तर त्यसपछि लिग पनि हुन सकेका छैनन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले धेरैपल्ट लिग गर्ने घोषणा गरेको छ । अब त हुने नै भयो भनेर दाबी पनि गरिए । तर, प्रत्येकपल्ट यी घोषणा कागजमै सीमित रहे । यस्तोमा राष्ट्रिय लिग मात्र होइन, निकै पुरानो इतिहास रहेको सहिद स्मारक लिगसमेत खालि पुराना दिन सम्झने बहाना भएको छ ।

कुनै समय थियो, काठमाडौँमा एकपछि अर्को प्रतियोगिता हुन्थे र आफूहरूलाई गाह्रो भयो भनेर क्लबहरू गुनासो गर्थे । अहिले त्यसको ठीक उल्टो स्थिति छ । त्यसैले एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले पनि यो तथ्य स्वीकार्न आनाकानी गरेका छैनन्, नेपाली फुटबलमा अहिले जे भइरहेको छ, त्यो सबै मोफसलकै प्रतियोगिताले मात्र सम्भव भएका हुन् । “मोफसलका प्रतियोगिताको महत्त्व हाम्रा लागि धेरै छ, यो तथ्य सत्य हो,” उनी भन्छन् ।

एसिया कप छनोटमा नेपालले खेल्ने भएपछि नेपाली राष्ट्रिय टिमका प्रशिक्षक कोजी ग्योटोकु आफैँ मोफसलका प्रतियोगिता हेर्न बाहिर निस्केका थिए । टिम निर्माणका लागि छनोट र नयाँ खेलाडीको खोजीका लागि उनीसामु पनि यिनै मोफसलका प्रतियोगितामा भर पर्नुबाहेक अरू कुनै विकल्प थिएन । तर, यी प्रतियोगिता जसरी सञ्चालन भइरहेका छन्, त्यसलाई लिएर उनी खुसी हुन भने सकेनन् । “यी प्रतियोगिता ठीक ढंगले हुन सकेका छैनन्,” कुराकानीमा उनले भनेका थिए ।

यस्तै अनुभव स्वयं एन्फा अध्यक्ष श्रेष्ठको पनि छ । उनले एकपल्ट मोफसलमा हुने प्रतियोगिताको वर्गीकरण गर्ने घोषणा पनि गरेका थिए । तर, फेरि काम भने गरेनन् । खास–खास ठूला प्रतियोगिता एन्फाको स्वीकृतिमा हुने गरेका छन् । तर, त्यस्ता धेरै प्रतियोगिता पनि छन्, जसले एन्फासँग कुनै प्रकारको सहकार्य र समन्वय गरेको छैन । “यी प्रतियोगिताले विकृति ल्याउने डर पनि छ, यसबारे सजग हुनुपर्छ,” अध्यक्ष श्रेष्ठ दोहोर्‍याउँछन् ।

नेपाली फुटबललाई जीवन्त राख्ने श्रेय पाइरहे पनि मोसफलका प्रतियोगितालाई लिएर साँच्चै गुनासो गर्ने ठाउँ धेरै छन् अनि आलोचनाका पक्ष पनि उत्तिकै । मोफसलमा फुटबल प्रतियोगिता अहिले जसरी चलिरहेका छन्, तिनलाई त्यसरी नै चल्ने दिने हो भने डर छ, केही वर्षमा यी प्रतियोगिता धराशयी हुनेछन् र हराएर जानेछन् । अहिले सबैभन्दा विकृतिका रूपमा अगाडि आएको छ, सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता आयोजना गर्ने लहड ।

एउटा प्रतियोगिताले केही रकम बढाएर पहिलो पुरस्कारको घोषणा गरेको सार्वजनिक हुन पाएको हुन्न, अर्को प्रतियोगिताले त्यसलाई उछिनेर बढी पुरस्कार राशि घोषणा गरिहाल्छ । केही वर्षअघिसम्म लिगमा वितरण हुने पुरस्कार राशि बराबरकै नकआउट प्रतियोगिता अचेल मोफसलमा हुन थालेका छन् । त्यस्ता प्रतियोगिताको सूची बनाउने हो भने लामै हुन्छ । पहिलो हुने टिमले १० लाख रुपियाँभन्दा बढी पुरस्कार पाउने प्रतियोगिता नै अहिले तीनवटा छन् । जस्तो : धनगढीमा भएको सुदूरपश्चिम खप्तड गोल्डकपले पहिलो हुने टिमलाई ११ लाख ११ हजार १ सय १ रुपियाँ दिएको थियो । दोस्रो हुनेले त्यसको ठीक आधा पायो । त्यहाँ आर्मी पहिलो भएको थियो भने दोस्रो सशस्त्रको एपीएफ । इटहरीमा भएको मदन भण्डारी मेमोरियल गोल्डकपले पहिले हुनेलाई १२ लाख रुपियाँ दियो, दोस्रो हुनेलाई ६ लाख । त्यहाँ थ्री–स्टारले उपाधि चुमेको थियो भने मनाङ–मस्र्याङ्दी दोस्रोमा रह्यो । पुरस्कार राशिको होड यत्तिमै रोकिएन ।

त्यसको एक पाइला अगाडि सरेर झापामा हालै मात्र सम्पन्न झापा गोल्डकपले उपाधि जित्नेलाई १२ लाख ५१ हजार रुपियाँ प्रदान गरेको थियो । दोस्रोको भागमा ६ लाख रुपियाँ पर्‍यो । उपाधिसँगै यति धेरै रकम हात पार्ने टिम रह्यो, आर्मी । घरेलु झापाली टिमले दोस्रो स्थानमै चित्त बुझायो । पुराना प्रतियोगितामध्ये पोखराको आहा गोल्डकपले पहिलो हुनेलाई ७ लाख १ हजार रुपियाँ दिएको छ भने धरानको बूढासुब्बा गोल्डकपले उपाधि जित्नेलाई ६ लाख ।

पोखरामा आर्मी र धरानमा थ्री स्टार विजयी रहे । झापामै भएको काँकरभिट्टा गोल्डकप पनि कमको छैन, उसले पनि उपाधि जितेको आर्मीलाई आठ लाख रुपियाँको चेक दिएको थियो । त्यहाँ उपाधि चुमेको थियो, आर्मीले । मोफसलमा हुने प्रतियोगिताको पुरस्कार राशि मात्र जोड्ने हो भने करोडमाथि पुगिसकेको छ । हुन सक्छ, आउने वर्ष यी पुरस्कार राशिमा अझ वृद्धि हुनेछ । डर यहाँनेर नै छ । नेपाली फुटबलको पछिल्लो इतिहासले पनि यही भन्छ, यो राम्रो होइन ।

सहिद स्मारक लिगमा पनि पुरस्कार राशि एक संस्करणपछि अर्कोमा ह्वात्तै बढेको थियो । राष्ट्रिय लिगमा उपाधि जित्नेले मात्र एक करोड रुपियाँ पाएको थियो । अहिले यी प्रतियोगिता हुन गाह्रो छ किनभने यति बराबरको पुरस्कार राशिको व्यवस्था गर्न पनि गाह्रो छ । लिगले गरेर कुनै समय यस्तो स्थिति तयार भएको थियो कि क्लब टाट पल्टिने अवस्थामा समेत पुगे । त्यसैले धेरै क्लब भित्रभित्रै लिग नहुँदा पनि खुसी हुन्छन् र हाकाहाकी लिग अझै केही वर्ष नहोस् भन्छन् ।

यस्तै स्थिति ढिलो–चाँडो मोफसलका प्रतियोगितामा तयार हुन सक्छ । फेरि आयोजनाका आधारमा पनि मोफसलका अधिकांश प्रतियोगिताको विशेषता नै कमजोर व्यवस्थापन हुने गर्छ । कुन प्रतियोगिता कुन–कुन टिमले खेल्ने हो, टुंगो हुन्न । एउटा खेल ९० मिनेटको हो अथवा आफू अनुकूल कम समयको हो, त्यो पनि निश्चित हुन्न । नकआउटका आधारमा हुने हुँदा एक खेलमा हार्नुको अर्थ प्रतियोगिताबाटै बाहिरिनु हुन्छ, त्यसैले टिमसामु पुन: आगमनको अवसर पनि हुन्न ।

कहिलेकाहीँ एउटै टिमले लगातार दुई दिन खेल्नुपर्ने पनि हुन्छ । एक खास खेलाडीले एक दिन एउटा क्लबबाट खेलिरहेको हुन्छ, त्यही खेलाडीले लगत्तै अर्को दिन अर्को प्रतियोगितामा फरक टिमबाट पनि खेलिरहेको हुन्छ । एउटै खेलाडीले सातै दिन लगातार फरक–फरक टिमका लागि खेलेको अविश्वसनीय उदाहरण पनि छ । त्यसैले खेलाडी घाइते हुने र प्रदर्शनमा लगातार गिरावट आएका धेरै उदाहरण अगाडि आइसकेका छन् ।

मोफसलका अधिकांश प्रतियोगिताले फुटबलका आधारभूत नियमलाई पनि बेवास्ता गर्ने गरेका छन् । यस्तोमा प्रश्न उठ्छ, ती प्रतियोगिताको अर्थ नै के, जसले समग्र खेल विकासलाई कुनै मद्दत गर्दैन । बरू, उल्टै स्तर घटाउन मद्दत गरिरहेको छ । एन्फा यसमा गम्भीर हुनु त आवश्यक छ नै, स्वयं प्रतियोगिताका आयोजक पनि गम्भीर हुनुपर्छ । फुटबलविज्ञ सञ्जीव मिश्र बारम्बार भन्ने गर्छन्, “मोसफलमा हुने प्रतियोगिताका कमजोरी र त्यसले जन्माउने खराबीबारे सचेत हुन हतार भइसकेको छ ।”

प्रकाशित: चैत्र १३, २०७४

ट्याग: खेलकुद