[तीन किताब] हामी त पढ्यो, पढ्यो बिर्सियो

- नेपाल संवाददाता

वि­सं ०४३ मा काठमाडौँ आएर केही समय स्कुल पढाएँ मैले । त्यसमा गरिखान नसक्ने रहेछु भन्ने चाल पाएपछि डिल्लीबजारमा पत्रपत्रिका र पुस्तक पसल चलाएँ । पसलमा खासै भीडभाड हुन्थेन । त्यस्तो भए त म विनोद चौधरीभन्दा पनि धनी हुन्थेँ ।

ग्राहक नआएका बेला म बेच्न राखेका किताब पढिबस्थेँ । यस्तै किताब अर्को पनि छ भनेर सिफारिस गरिदिन्थेँ पाठकलाई । पत्रकार भएपछि त पढ्नु परिहाल्यो । पत्रकारलाई चाहिने कतिपय सूचना लेखकहरूले किताबमै लेखेका हुने रहेछन् । आफ्नो ज्ञान बलियो हुँदो रहेछ ।

त्यही मेसोमा मैले के थाहा पाएँ भने राम्रा किताब पढ्दा त ठूलठूला विद्वान्हरूलाई पनि आफ्नो अनुसन्धान सहायक बनाउन पाइँदो रहेछ । मैले देखेको नेपाल पढ्दा हर्क गुरुङलाई ‘रिसर्च असिस्टेन्ट’ राखेजस्तो अनुभव भयो । मानौँ, मैले उनलाई भनेको थिएँ, ‘ तपाईं नेपालका धेरै ठाउँ घुम्नूस् र त्यहाँको भौगोलिक, सामाजिक, आर्थिक कुरा टिपेर मलाई बताइदिनूस् ।’

त्यसले मलाई व्यावहारिक रूपमै मद्दत गरेको छ । ०५५ मा लाङटाङ भ्याली गएको थिएँ । निगालो फुलेर मरेको समय । कसैले १२ वर्ष पहिले यस्तो भएको थियो भने कसैले ३० वर्ष । हर्क गुरुङ त्यहाँ पुगेका बेला पनि निगालो फुलेको रहेछ । मैले किताब पढेँ, निगालोविद्सँग सोधेँ र हिसाब–किताब निकालेँ । मलाई फेरि पनि लाग्यो, हर्क गुरुङलाई उपयोगी सूचना संकलनको जिम्मा लगाएको रहेछु ।

एकपटक वीरेन्द्रनगर (सुर्खेत) जाँदा केही लेख्ने विचार आयो । त्यही किताबमा लेखिएको रहेछ, ‘वीरेन्द्रनगर जन्माउनलाई एउटा गाउँको बलि दिइयो ।’ सदरमुकाम माथि रहेछ । गाउँ मासेर तल सारिएछ । अर्को पानामा रहेछ, ‘वीरेन्द्रनगर हुर्काउनलाई अर्को गाउँको बलि दिइयो ।’ गाउँको पानीको स्रोत काटेर तल ल्याइएछ । वीरेन्द्रनगरका निम्ति बलिदान गरेका ती दुइटै गाउँमा म पुगेँ । त्यो किताब नपढेको भए त म एयरपोर्टसम्म मात्रै पुग्ने रहेछु । त्यसैले नयाँ ठाउँ जाँदा त्यो किताब पल्टाएर मात्र जान्छु ।

यहाँनेर अर्को प्रसंग पनि छ, म जन्मनुभन्दा १ सय १७ वर्षअगाडि अंग्रेज वनस्पतिविद् जेडी हुकर मेरो गाउँ हुँदै तमोरको माथिल्लो भेगसम्म घुमेका रहेछन् । उनी चाल्र्स डार्बिनको साथी मात्र नभएर वैज्ञानिक पनि रहेछन् । मौखिक सम्झनामा रहेका कतिपय कुरा टिक्दैनन् । उनले मेरो थातथलोका कुरालाई लिपिबद्ध गरेका रहेछन्, द हिमालयन जर्नलमा ।

कहिलेकाहीँ लाग्छ, हुकरलाई पनि अनुसन्धानमा खटाएको रहेछु नि:शुल्क । हर्क गुरुङको किताब तीन–चार सय रुपियाँमा आउँछ, हुकरको किताब त इन्टरनेटमा सित्तैमा उपलब्ध छ । चलनचल्तीमा आफूभन्दा कम जान्ने मान्छेलाई मात्र काम लगाउन पाइन्छ । तर, पाठकको हैसियतमा हेर्दाखेरि आफूभन्दा धेरै जान्नेलाई पनि काम लगाउन पाइँदो रहेछ ।

बूढीगण्डकी नदी त्रिशूलीमा मिलेको छ । म त्यहाँदेखि मुहानसम्म सय दिनजति तीनचोटि यात्रा गरेको फुइँ लगाउँथेँ साथीहरूलाई । त्यसै क्रममा उत्तरको गाउँ साम्दोको मानवशास्त्रीय अध्ययन गरेर लेखेको किताब भेटेँ, टिबेटन डायरी । मानवशास्त्रमा पोस्ट डक्टरेट गरेका जेफ चाइल्ड्सले एक–डेढ वर्ष त्यहाँ बसेर मानवशास्त्रीय नजरले हेरेका रहेछन् ।

सामागाउँ, बूढीगण्डकी नदीको दायाँ किनारमा छ भन्नेबाहेक थुप्रै कुरा नयाँ थिए । साम्दो चिसो ठाउँ हो । अचम्म के भने एकदमै आगो बाल्नुपर्ने ठाउँमा धूवाँ बाहिर जाने प्वालै थिएन ।

मान्छे मभन्दा अग्ला थिए, ढोका निकै होचा । बाहिरको चिसो पस्छ भनेर त्यसो गरेको भन्ने विकासे कार्यकर्ताको जवाफमा मलाई चित्त बुझेन । त्यही किताब पढेपछि थाहा भयो, मान्छे अकालमा मर्‍यो भने रोलाङ (प्रेत) हुन्छ र भौँतारिँदै मान्छे मार्दै हिँड्छ । रोलाङ निहुरिन सक्दैन । र, साँघुरो ढोकाभित्र पस्न सक्दैन र मान्छे मार्न सक्दैन ।

उत्तरी गोरखालाई मातृसत्तात्मक समाज बुझेको थिएँ मैले । त्यहाँ छोराछोरीबीच भेदभाव छैन । चाइल्ड्सले जन्मदेखि मरणसम्मको गतिविधि हेरेर पत्ता लगाएछन्, छोरा जन्मे बच्चालाई कस्तो छ भनेर सोध्दा रहेछन्, छोरी जन्मे आमालाई कस्तो छ ? मेरो छिपछिपे ज्ञान त्यो किताब पढेपछि हट्यो । उपल्लो थलो लेख्दा यस्ता किताबले मलाई सघाएका छन् ।

एउटा हिन्दी किताब अचम्मसित मेरो हात पर्‍यो । बाटोमा लेखक मित्र बुद्धिसागरसँग भेट भयो । उनले किताब दिए र भने, ‘ल, यो तपाईंले पढ्नेजस्तो किताब छ ।’ अमृतलाल वेगडको सौन्दर्य की नदी नर्मदा कतै सुने–सुनेजस्तो लाग्यो ।

मेरो संकलनमा केही हिन्दी किताब छन् । हिन्दी किताबको थाक पल्टाउँदै जाँदा त्यसमा पत्रकार ओम थानवीले हिन्दी किताबको सूची बनाएर लेखेका रहेछन्, ‘पुरस्कार सौन्दर्य की नदी नर्मदाले पाउनुपथ्र्यो तर पायो नर्मदा तीरैतीरले ।’ वेगडकै किताब रहेछ, नर्मदा तीरैतीर

मान्छेको प्रतिबद्धता कति हुँदो रहेछ भने नर्मदाको किनारैकिनार चार हजार किलोमिटर पैदल परिक्रमा गरेका रहेछन् वेगडले । सिरानदेखि पुछारसम्म वारिपारि यात्राको बयान छ किताबमा ।

एक त म चार हजार किलोमिटर यात्रा गर्न सक्ने मान्छे नै होइन । अझ नदीको किनारैकिनार कसरी पदैल यात्रा सक्नु ? एक ठाउँमा त डाँकाले नांगैभुतुंगो पारेर लुटेका रहेछन् । तैपनि, पेसाले चित्रकार यी लेखकले यात्रा रोकेनछन् । सन् १९७७ देखि १९८७ सम्म तीनचोटिमा परिक्रमा सम्पन्न गरेर किताबै लेखेछन् ।

एकदमै फरक विचार रहेछन् वेगडका । लगातार दुई पानामा मैले चिह्न लगाएको रहेछु ।

– म डाक्टर हुन्थेँ भने आधाभन्दा बढी बिरामीलाई खाने औषधि लेख्दैनथेँ । बिरामी हेरी १५ दिनदेखि तीन महिनाको नर्मदायात्रा या अरू कुनै पदयात्रामा पठाउँथेँ । यसो गर्दा औषधिले जस्तो हानि हुने थिएन ।

–  म सम्पादक हुन्थेँ भने जुन दिन समाचार हुँदैनथ्यो, त्यस दिन पत्रिका छाप्दैनथेँ । एउटा स्थायी सूचना दिन्थेँ, जसमा लेखिएको हुन्थ्यो जुन दिन पत्रिका आउँदैन, त्यो दिन समाचार रहेनछ भन्ने जान्नू । १२–१६ पानाको पत्रिका छापेर पठाउनु स्रोतको बर्बादी मात्र हो ।

वेगडले चार–पाँच कक्षा पढेर ‘ड्रप आउट’ भएका एउटा यस्ता पुराना विद्यार्थी भेटेछन्, जसलाई आफूले पढेका सबै पाठ कण्ठस्थ रहेछ । पहिलो पाठदेखि अन्तिम पाठसम्म ।

हामी धेरै पढ्छौँ, बिर्सिन्छौँ पनि । थोरै पढ्नेले सधैँ सम्झिने रहेछन् । ती ‘ड्रप आउट’को अनुभव हेर्दा थोरै पढेर आफैँसँग राख्नु पो ठीक हो कि ? हामी त पढ्यो, पढ्यो बिर्सियो ।

नयनराज पाण्डेले ‘फिक्सनल छवि’ बनाएका छन् । तर, मैले उनको गैरआख्यान भएकाले रुचिका साथ पढेँ, यार । हात परेकै दिन त्यसलाई पढिसकेर मात्र सुतेँ । अम्बर गुरुङलाई कुनै पाठकले प्रतिक्रिया दिएछन्, ‘तपाईंको किताब मैले एकै रातमा पढेँ ।’ त्यसपछि उनले सोचे रे, ‘मैले यत्रो वर्ष लगाएर लेखेको किताब एकै रातमा पढिदिने ?’ अम्बर गुरुङले जस्तै भन्लान् भनेर मैले नयनजीलाई त्यो प्रसंग सुनाएको छैन ।

लेखकले आफ्ना यारका बारेमा लेखेका छन् । आफ्नो जीवनमा ठोक्किन आइपुगेका यार भनेपछि रिसर्चै गर्नुपरेन । बरु, उनले आख्यानमा स्थलगत अनुसन्धान गरे होलान् ।

किताबमा उल्लिखित कतिपय पात्र रोचक छन् । एउटा पात्र छ, कुस्तीबाज । वर्षौंदेखि एउटै क्लासमा भेटिने यार । सिनेमा हलको क्यान्टिनवालाले उनको पैसा फिर्ता गरेनछ । अनि, त्यो कुस्तीबाजलाई प्रयोग गरेर पैसा असुल्न चाहेछन् लेखकले । पाठकका रूपमा मलाई लागेको थियो, नयनजीको उद्धार गरिदेला कुस्तीबाजले । तर, कुस्तीबाजले सम्झाएछ, ‘झगडा गर्नुहुँदैन ।’ कति गहन गुरुमन्त्र !

कुस्ती खेल हो । खेलकुदलाई गुन्डागर्दीमा उतार्नुहुँदैन । त्यो कुस्तीबाजबाट सिकेको भए शरच्चन्द्र शाहले गुन्डागर्दी गर्ने थिएनन् । आफूलाई लाभ नहुने भए आफैँले सुरु गरेको काम बिगार्ने मान्छे पनि छन् समाजमा । आफू पछि बसेर अरूलाई अगाडि लैजान पाउँदा गज्जब मान्ने मान्छे पनि हुँदा रहेछन् । जीवनमा आफ्नो भोगाइले पुग्दो रहेनछ । पाठक भएर अरूको जीवन भोगाइलाई पनि अनुभूति गर्न सकिँदो रहेछ ।

मैले एउटै किताब पटक–पटक किनेको छु । मुनामदन, गौरी, घुम्ने मेचमाथि अन्धो मान्छे आदि किताब त ५–६ चोटि नै किनेँ होला । किताबको चाङमा चाहिएका बेला भेटिँदैन । घन्टौँ लगाएर खोज्नुभन्दा बाहिरैफेर किन्न सजिलो । यस्तो लाग्छ, लाइब्रेरियन पो संसारको महान् मान्छे हो । हालसालै १०–१५ पृष्ठ पढेपछि सरस्वती प्रतीक्षाको नथिया देशबाहिर पठाइदिएँ । आफूले अर्को किनेर पढेँ ।

यो जुनीमा मैले पढ्न नसकेका किताब थुप्रै छन् । माधवीलाई धेरैचोटि झम्टिएँ । तर, छिचोल्न सकिनँ । वार एन्ड पिसमा त्यस्तै भयो । खुसवन्त सिंहका ट्रेन टू पाकिस्तानदिल्ली पनि त्यस्तै सूचीमा पर्‍यो । एउटा साथीले माग्यो, फिर्ता गर्छु भनेर । मैले हत्तपत्त भनेँ, ‘पर्दैन–पर्दैन ।’ उसलाई त गज्जबको गिफ्ट भयो सायद ।

कहिलेकाहीँ पैसा र समय खेर जान्छ । तर, नराम्रो किताब लेख्यो भनेर लेखकलाई म गाली गर्दिनँ । डोन्ट किल द पियानिस्ट । ट्राइङ इज द बेस्ट । कम्तीमा कोसिस त गर्‍यो ।

मेरो प्राथमिकता आख्यान होइन । आख्यानले समाजको कुरा त बताउला तर लेखकले चाहेजस्तो मात्र । क्राफ्टका लागि आख्यान पढ्छु, समाज बुझ्नलाई गैरआख्यान । राम्रा किताब पढ्ने मान्छेले जानेर या नजानेर सिक्छ रे !  त्यसैले केही सिकिहालिन्छ भनेर कविता, गीत–गजल पनि पढ्छु ।

अलि अस्ति एउटा लेख टुंग्याउन सकेको थिइनँ । ट्वीटरमा यसो मिर्जा ए गालिबको शेर पढेँ, ‘उम्रभर गालिब एक भूल करता रहा, धूल चेहरे पे थी, आइने पुछता रहा ।’ लाग्यो, गालिबले कुनै दिन मोहन मैनालीलाई काम लाग्ला भनेर लेखेका रहेछन् ।

कुराकानी : राजकुमार बानियाँ

प्रकाशित: चैत्र १३, २०७४

ट्याग: साहित्य