‘मलाई किन छुटाइयो, दुई अध्यक्षलाई सोध्नूस्’

- माधव बस्नेत

राजनीतिक वृत्तमा एउटा किस्सा छ, ‘वामदेव गौतमको नामै काफी छ । जे बोल्छन्, प्रस्ट बोल्छन् ।’ आसन्न वाम एकताका एक सूत्रधार यी नेता माओवादी शान्ति प्रक्रियामा आएदेखि नै दुई ठूला वाम पार्टी एक हुनुपर्ने तर्क गर्थे । त्यसबेला माओवादीलाई राजनीतिक शक्ति मान्न एमाले तयार थिएन भने माओवादीचाहिँ एमालेलाई कम्युनिस्ट स्वीकार्नै रुचाउँदैनथ्यो । उनै गौतमसमेतले १७ असोजमा एमाले–माओवादीबीच एकताको लक्ष्य राखेर चुनावी गठबन्धन गराउन सफल भए । अरु नेताले चुनाव जित्दै गर्दा उनी आफैँचाहिँ हारे । एमाले उपाध्यक्ष गौतमसँग माधव बस्नेतका प्रश्नहरु :

केही समययता किन मौन हुनुहुन्छ ?

चुनाव हारिसकेपछि अहिलेको गतिविधि चर्चायोग्य नभएर मौनजस्तो देखिएको हुँ । यसमा अरू कुनै कारण छैन ।

तपार्इंको पराजयको छानबिन कहाँ पुग्यो ?

यो कुरा पार्टीको प्रदेश प्रमुखलाई सोध्नुपर्छ । मैले सोध्दाखेरी प्रतिवेदनहरू प्राप्त भएका छन्, छिट्टै निर्णय गर्दैछौँ भन्नुहुन्थ्यो । अरू उहाँहरूले जान्ने कुरा हो ।

वामदेव समग्र पार्टीको कारण नभई आफ्नै कारणले हार्नुभएको हो भन्छन् नि ?

हराउनेवालाले आफू जोगिनका निम्ति भन्ने कुरा हो यो । मैले पनि फेसबुक, अनलाइनमा यस्ता कुराहरू देखेँ । यस्तो आरोप लगाउनेहरू आपराधिक हुन् । उनीहरू अत्यन्तै पूर्वाग्रही भएर त्यो सबै प्रचार गरेका छन् । मलाई हराउन उनीहरू किन संलग्न भए भन्ने कुरा बुझ्न सकेको छैन । म अहिले वाम गठबन्धनको एउटा प्रमुख व्यक्ति हुँ । केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र म अहिलेको गठबन्धनका प्रमुख व्यक्ति हौँ । त्यसपछि विष्णु पौडेल, जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठले विभिन्न चरणमा प्रयत्न गरेर गठबन्धन बनेको हो । यस्तो अवस्थामा मलाई हराउन लागि पर्नेहरू कम्युनिस्ट आन्दोलनको अग्रगति नचाहने, नेपालको स्वाधीनता नचाहने, नेपालको समृद्धि पनि नचाहने व्यक्तिहरू हुन् ।

त्यसो भए स्थानीय पार्टी कमिटीको असहयोगले मात्रै तपाईंको हार भएको हो ?

पार्टी कमिटीमा निर्णय गरेर अन्तर्घात भएको होइन । फेरि कमिटीमा निर्णय गरेर कसैले अन्तर्घात गर्दैन । क–कसको असहयोगले मेरो हार भयो, त्यो प्रतिवेदन आइसकेपछि नै खुल्ला । म यति मात्र भन्न चाहन्छु, बर्दियाको पार्टी कमिटी त एक किसिमले डिफर्मजस्तै थियो । त्यो निर्वाचनमा म गएपछि मात्र सञ्चालन भयो । मैले सुरुदेखि नै त्यहाँको स्थिति नबुझ्नु र चार वर्ष पहिलेको पार्टी अहिले पनि छ भनेर बुझ्नु नै मेरो गल्ती भयो ।

मन्त्रिपरिषद् कस्तो बनेको छ ?

धेरै व्यक्तिहरू भएको र ठूलो पार्टीमा थोरै व्यक्तिलाई लिँदा यस्तै हुन्छ । त्यसमा पनि सक्षम व्यक्तिहरू आउनुपर्छ भन्ने कुरालाई ध्यान दिँदा यस्तो भयो । गठबन्धनका सबैलाई समेट्नुपर्ने भयो । प्रधानमन्त्रीले स्थायी कमिटीमा भन्नुभयो, ‘मन्त्रिपरिषद्मा लैजाने व्यक्तिलाई सक्षम–असक्षम भनेर पार्टीमा छलफल नगरौँ । आफ्नो विवेक प्रयोग गर्छु । जस–अपजस सबै लिन्छु । त्यसैले सम्पूर्ण अधिकार मलाई दिनूहोस् ।’ सर्वसम्मतिका साथ अधिकार दियौँ ।

वाम गठबन्धनका आन्तरिक चुनौतीहरू केके हुन् ?

कम्युनिस्ट पार्टीभित्र गुटबन्दी सबैभन्दा ठूलो आन्तरिक चुनौती हो । गुटबन्दीलाई प्रश्रय दियौँ भने कम्युनिस्ट पार्टी धराशयी हुन्छ । पार्टी निर्णयप्रति वफादार भएर जाने र सामूहिक निर्णयमा प्रतिबद्ध भएमा गुटबन्दीलाई समाप्त गर्न सकिन्छ । गुटबन्दीमा आधारित भएर गरिने कुनै पनि निर्णयले निश्चित व्यक्ति त खुसी हुन सक्छ तर सिंगो पार्टी पंक्ति खुसी हुन सक्दैन । र, पार्टी जीवन समाप्त हुन्छ ।

एमाले र माओवादीमा गुट मात्र छैनन्, बग्रेल्ती उपगुटसमेत छन् नि !

त्यही त चुनौती छ नि ! पार्टी एकताको घोषणा केही दिनभित्रै हुन्छ । तर, दुई पार्टीबीच हार्मोनिक रिलेसन कायम गर्न केही समय लाग्छ । एकताको भावना कमजोर हुने गरी कसैले गतिविधि गर्छन् कि भन्ने चुनौती छ । भावनात्मक एकता कसरी कायम गर्ने भन्ने अर्को ठूलो चुनौती छ । यसलाई चिरेमा बाहिरी जुनसुकै चुनौतीलाई हामी सफलताका साथ पार लगाउन सक्छौँ ।

एकता कहिलेसम्म हुन्छ ?

मैले ९ वैशाखसम्म अनुमान गरेको छु । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ९ वैशाख अर्थात् २२ अप्रिल हो । हामीले त्यसलाई महत्त्व दिनुपर्छ । त्यसबेलाका नेताहरूले लेनिनको जन्मदिन पारेर पार्टी गठन गरे । अबचाहिँ नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको दिन पारेर पार्टी एकता गर्यौ भने एक भएको पार्टीले हरदम महत्त्व पाइरहन्छ ।

एकतापछि नेतृत्व र कार्यकर्ताको व्यवस्थापनमा कस्तो समस्या आइपर्ला ?

समस्या माने समस्या आइलाग्छ । नमाने कुनै समस्या हुँदैन । म एकता संयोजन कार्यदलमा हुन्थेँ भने आजसम्म एकताका सबै काम पार लगाइसक्थेँ । अहिलेको कार्यदलले यो काम किन ढिलो गरिरहेको छ, मैले बुझ्न सकेको छैन । पार्टी एकता समन्वय समितिले बनाएको तीन कार्यदलमध्ये मेरो नेतृत्वमा बनेको सरकारको सुशासन र विकासका निम्ति प्राथमिकताको सुझाव दिने कार्यदलले लेखिदिइसक्यौँ । त्यसपछि बनेका दुईवटा कार्यदललाई १५ दिनको समय दिइएको थियो । महिना दिनभन्दा बढी बितिसक्यो । उनीहरूले केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्युरो, प्रदेश–जिल्ला कमिटी, स्थानीय तह, शाखा, जनवर्गीय संगठनका ढाँचाको क्राइटेरिया दिनुपर्ने हो । कार्यदलको प्रस्तावका आधारमा एकता हुन्छ ।

तपार्इंलाई पार्टी एकता कार्यदलको नेतृत्वचाहिँ किन दिइएन त ?

खोइ ? दुई अध्यक्षलाई सोध्नुपर्ने हो यो । मेरो त विशेषज्ञता पनि हो । र, मेरो दाबी छ– संगठनको क्षेत्रमा एमाले र माओवादीभित्र म एक नम्बरमा पर्छु । मसँग जति अनुभव छ, त्यति दुवै पार्टीभित्रका कसैसँग पनि छैन । त्यसको नेतृत्व गर्ने मेरो भित्री चाहना पनि थियो । तर, मलाई दिनूस् भनिनँ । उनीहरूले दिएनन् । किन दिएनन्  ? उनीहरू नै जानून् ।

सहिद, अपांग, घाइते, बेपत्ता परिवारका सदस्यलाई एकतामा कसरी सम्बोधन गर्नुहुन्छ ?

त्यो पार्टी विशेषको मात्र सवाल होइन अब । उनीहरूका समस्या सरकारले सम्बोधन गर्नुपर्छ । किनभने, यो सबै सरकारको महत्त्वपूर्ण विषय भइसकेको छ । उनीहरूलाई राम्रोसँग सम्बोधन गर्नुपर्छ भनेरै बेपत्ता व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोग बनाइएको हो । यसबाहेक अन्य समस्याहरू जति पनि छन्, कतिलाई रोजगारी दिनुपर्ने होला, कतिलाई घरबास दिनुपर्ने होला, कतिलाई सम्मान गर्नुपर्ने होला । त्यो सबै सरकारले गर्छ । सहिद, अपांग, घाइते, बेपत्तालगायतका परिवारलाई ठूलो समस्याका रूपमा लिनु हुँदैन । हामी उनीहरूको सम्मान गर्ने तयारीमै छौँ ।

पहिले तपाईं ओलीप्रचण्डको मध्यस्थता गर्नुहुन्थ्यो । अचेल उहाँहरू कत्तिको सोध्नुहुन्छ तपाईंलाई ?

मैले जे गर्नुपर्ने हो, त्यही गर्दै आइरहेको छु । ओलीजी र प्रचण्डजीलाई पनि थाहा होला, मैले कहिले प्रत्यक्ष त, कहिले परिस्थिति सिर्जना गरेर धेरै काम गरेको छु । म जहाँ हुन्छु, सबैभन्दा पहिला त्यहाँ परिस्थिति निर्माण गर्छु । मैले निर्माण गरेकै बिन्दुमा नेता–पार्टीहरू सबै आइरहेका छन् । यसका निम्ति भूमिका खेल्ने हो, खेलिरहेकै छु । उहाँहरूले भन्नुहुनेछ, वामदेवबिना गठबन्धन नै सम्भव थिएन । त्यसबेला मैले गर्वको अनुभूति गर्ने हो । यो कुरा अवश्य एक दिन ओली–प्रचण्डले भन्नु नै होला ।

वाम एकतामा तपाईं र नारायणकाजीमध्ये कसको भूमिका कति छ ?

पछिल्लो पटक म र नारायणकाजीले १२ वैशाख ०७२ देखि एकताका लागि काम गर्‍यौँ र १४ भदौ ०७४ सम्म निरन्तर सँगै छौँ । तर, त्यसपछि उहाँ हट्नुभयो । माओवादी केन्द्रबाट जनार्दन शर्मा आउनुभयो । एमालेबाट पनि विष्णु पौडेल आउनुभयो । त्यसमा म सामेल भइरहेँ । पछिल्ला दिनमा हामी तीन जनाले गर्न सकेको सबैभन्दा ठूलो काम के हो भने एमालेतर्फ कमरेड केपी ओलीलाई र माओवादी केन्द्रतर्फ प्रचण्डलाई सहमत गराउन सकियो । हाम्रो प्रयासमा उहाँहरू दुवै सहमत हुनुभयो । तर, पछिल्ला दिनमा के कारणले नारायणकाजी छुट्नुभयो, थाहा भएन । यतिसम्म कि नारायणकाजी एकताको वातावरण बनाउन माओवादी–कांग्रेस गठबन्धनको समेत विपक्षमा हुनुहुन्थ्यो ।

बाबुराम भट्टराईलाई गठबन्धनबाट निकाल्न पनि तपार्इं र  नारायणकाजीको भूमिका छ भन्ने आरोप छ नि ?

गलत कुरा । बाबुरामजीलाई हामीले के भन्यौँ भने काठमाडौँमा माधव नेपाल उठ्ने क्षेत्र छाडेर अरू कुनै पनि ठाउँमा रोजेर उठ्नूस् । उहाँलाई पटक–पटक मैले नै यो आग्रह गरेँ । अरूले पनि त्यही भन्नुभयो । नारायणकाजीलाई पनि गोरखा छोडेर काठमाडौँबाट उठ्न आग्रह गर्‍यौँ । कांग्रेसको सहयोगमा गोरखामा जिते पनि कुलमा बाबुरामजी हार्नुभएको छ । नारायणकाजीले हारेर र बाबुरामजीले जितेर पनि नोक्सान भएको छ । बाबुरामजी जितेर पनि मूल प्रवाहबाट बाहिर बसेर के पाउनु भयो ? संसारलाई हेर्ने र आफू एक्लै भुटभुटिनुबाहेक बाबुरामजीको के छ बाँकी ? त्यसैले बाबुरामजीलाई हटाउनका निम्ति भूमिका खेलेको भनेर ममाथि लगाइएको आरोप सरासर गलत हो । मबाट त्यो काम भएकै छैन ।

स्थानीय तहदेखि प्रदेशसभा र संघीय संसद्का टिकट तपार्इंको निवासबाट बाँडिएको होइन ?

मेरो निवासमा बसेको बैठकबाट बाँडिए । त्यसमा म पनि संलग्न छु ।

टिकट वितरण गर्दा अन्याय गर्नुभयो कि ?

अन्याय भएको भए निर्वाचनको नतिजा यस्तो आउने थिएन । तर, पाउनुपर्ने धेरै थिए, कुनै छुटे होलान् । तापनि, टिकट नपाउनेलाई अन्यायमा परेको अनुभूति हुँदो रहेछ । किनभने, हरेकको आकांक्षा टिकट पाउने हुन्छ ।

एमालेको नवौँ महाधिवेशनबाट उमेर तोकिएकाले अहिलेको विधान अनुसार तपाईं अध्यक्ष बन्न सक्नुहुन्न होइन ?

पार्टीमा काम गर्नका निम्ति उमेर तोक्ने पापी मान्छेले मात्रै हो । हामीले पनि पापी निर्णय गरेका छौँ । एमाले पार्टीमा ७० वर्षभन्दा बढी काम गर्न नपाउने जुन निर्णय भएको छ, त्यो सरासर अन्याय हो ।

एमालेको दसौँ महाधिवेशन वा दुई पार्टीबीचको संयुक्त महाधिवेशनमा निर्णय संशोधन हुन सक्छ ?

संशोधनमा जान सक्छ । नभए व्यक्तिको चुन्न–चुनिन पाउने अधिकार हनन भएको ठहर हुन्छ । कसैले उमेर हदको विधान ल्यायो भने यो पार्टी कम्युनिस्ट पार्टी नै होइन ।

त्यसो भए तपाईं अझै पनि पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न सक्ने सम्भावना छ ?

अहिले नै छ/छैन भन्न सक्दिनँ । पार्टीले दिएको जिम्मेवारी, क्राइटेरिया पूरा गर्ने व्यक्तिहरू सबैको सम्भावना रहन्छ । त्यसमा पनि मैले कम्युनिस्ट पार्टीमा गरेको योगदान समकालीन कुनै नेताको भन्दा कम छैन । अनि, सम्भावना छैन कसरी भनूँ !

वामदेव गौतमलाई प्रधानमन्त्री दिनुपर्छ भन्ने आवाज अब सेलाएको हो ?

भन्नै परेन !  केपीजीले १०औँ पटक, प्रचण्डजीले २०औँ पटक भन्नुभएको थियो । तर, स्थानीय तहको निर्वाचन हुनुअघि नै माहोल बिग्रियो । वाम गठबन्धन टुट्यो । त्यसैले त्यो माहोल नै सेलाएर गयो ।

तपार्इं प्रधानमन्त्रीको उम्मेदवार भएकैले संघीय संसद्को निर्वाचनमा हराइएको त होइन ?

ठीक छ नि त ! चुनाव हारेर आएको मानिस कसरी प्रधानमन्त्री हुन्छ त ?

अझै पनि प्रधानमन्त्री बन्छु भन्ने छ ?

सम्भावनै नभएको बेलामा बन्छु भनेर के गर्नू ? सम्भावना भएका बेलामा त भनियो नै । पहिला संसद्मा चाहिँ आउनुपर्‍यो । अहिले पार्टी एकता हुने सन्दर्भमा हामीले दुई पार्टीका नेताहरूलाई व्यवस्थापन गरेका छौँ । यो सबै व्यवस्थामा मेरो के हुन्छ, अर्काको के हुन्छ, अहिले भन्न सकिँदैन । पार्टी एकतापछि बल्ल भन्न सकिन्छ ।

 एमाले र माओवादीका सबैभन्दा मिल्ने पक्ष के हुन् ?

विचार, व्यवहार र देशको आवश्यकता । समाजवाद निर्माण, सामाजिक–आर्थिक रूपान्तरण साझा एजेन्डा हुन्, नेपाल राज्य समाजवादोन्मुख छ भन्ने निर्णय गर्ने संविधानलाई हेर्दा यी मिल्ने पक्ष हुन् ।

नमिल्ने पक्ष ?

पार्टीको इतिहास ।

अब पार्टी एकता बिथोलिँदैन ?

ढुक्क भए हुन्छ, बिथोलिँदैन । अब नेपालमा एकीकृत कम्युनिस्ट पार्टी स्थापना हुन्छ । समाजवाद पनि आउने कुरा सुनिश्चित छ ।

यो सरकारका वाचा पूरा नभए निराशा छाउँछ, होइन ?

सकिएन भन्ने कुरा किन गर्नू ? योजना बनाएर हामी अगाडि आएका छौँ, सक्छौ नि ! हामीसित समृद्धिका स्रोत प्रशस्तै छन् । हामी त्यसलाई सदुपयोग गर्छौं । समृद्धि कायम गर्छौं भनेर भनिसकेपछि नभए के हुन्छ भन्नेजस्तो प्रश्न गर्दै नगर्नूस् न !

कम्युनिस्ट सरकार कति वर्ष टिक्ला त ?

न्यूनतम ५० वर्ष टिक्छ । समाजवाद निर्माण हुन्छ । अब कम्युनिस्ट पार्टीले नेतृत्व गर्‍यो, गर्‍यो हाम्रो देशमा ।

प्रकाशित: चैत्र १२, २०७४

ट्याग: संवाद