मेसीको पेन्टिङले चर्चित

- विभु लुइटेल

लियोनल मेसी फाउन्डेसनले मेसीको चित्र बनाउनुपर्ने अनलाइन प्रतियोगिता आयोजना गर्‍यो । विजेता चित्रकलालाई लिलामीमा राखेर त्यहाँबाट उठेको रकम स्पेनको बार्सिलोनास्थित सान जोन डे ड्यु अस्पतालका क्यान्सरपीडित बालबालिकाको उपचारका लागि खर्चिने भनियो । संसारभरबाट हजारौँ कलाकारले आफ्ना प्रिय खेलाडीको चित्र बनाए । अन्त्यमा विजेता भए बागबजार, काठमाडौँका सनिल चित्रकार ।

निर्णायक टोलीले उत्कृष्ट दस चित्रमा अर्जेन्टिना, क्रोएसिया, फ्रान्स, स्पेन, संयुक्त अधिराज्य र नेपालका प्रतिस्पर्धी उत्कृष्ट ठहर्‍यायो । त्यसपछि भोटिङ राउन्डमा सनिललाई संसारभरका २५ हजारभन्दा बढीले भोट गरे ।

सनिलले चित्रकलामा कुनै प्रकारको प्रशिक्षण लिएका छैनन् । युट्युब नै उनको गुरु हो । उनले बनाएका चित्र नेप्लिज इन आर्ट नामक फेसबुक ग्रुपमा अपलोड गर्थे । ०७२ मंसिरमा उनले पहिलोपटक इन्स्टाग्राममा आफ्नो  चित्रकला पोस्ट गरे । बार्सिलोनाको जर्सीमा सजिएका लुई स्वारेज, लियोनल मेसी र नेइमारको चित्र लोकप्रिय भए ।

इन्जिनियरिङ सकेपछि १२ वर्षसम्म उनी जापानमा एक रेस्टुराँ सञ्चालन गर्थे । “त्यसपछि पूर्ण रूपले कला क्षेत्रमै लाग्छु भनी रेस्टुराँ बेचेँ र अमेरिका हानिएँ,” उनले आफ्नो अनुभव सुनाए । अहिले चित्रकला नै उनको आय आर्जनको स्रोत बनेको छ । उनलाई चित्र बनाइदिन थुप्रै अर्डर आउने गरेका छन् । फुर्सदको समय विभिन्न सेलिब्रिटीका चित्र कोर्छन् । केही महिनाअघि म्यान्चेस्टर युनाइटेडका चर्चित मिडफिल्डर पल पोग्बाले सनिलले आफ्नो चित्र बनाउँदै गरेको एक भिडियो सेयर गरेका थिए । ब्राजिलका फुटबलर रोनाल्डिनोले ‘मेनी थ्याङ्क्स, पार्टनर’ भन्दै सनिललाई सामाजिक सञ्जालमा धन्यवाद दिएका थिए । उनका कलाकृतिबारे स्पेनिस र पोर्चुगिज पत्रपत्रिकामा कैयौँ टिप्पणी पनि प्रकाशित भइसकेका छन् । छापिएका कुरा उनी आफैँ बुझ्दैनन् । तर, आफूले भाषा नबुझ्ने ठाउँमा पनि चर्चा हुनुलाई ठूलो उपलब्धि ठान्छन् ।

नेपालका अस्मी श्रेष्ठ, लेमी तामाङ, निकिता चाण्डक, नीति शाह,  माल्भिका सुब्बा, सृष्टि श्रेष्ठ, मह जोडीलगायतका चित्र पनि उनले बनाएका छन् । गएको दसैँमा सनिलले पुल्चोकमा गरेको एकल प्रदर्शनी सयौँले अवलोकन गरेका थिए ।

प्रकाशित: चैत्र १२, २०७४

ट्याग: जीवनशैली