अब्बल २० नेपाली फिल्म

- यज्ञश

करिब १ लाख ५० हजार वर्षअघि पृथ्वीमा ६ प्रकारका मानव रहेकामा कालान्तरमा एउटा ‘होमो स्यापियन्स’ मात्र बाँकी रह्यो । बाँकी प्रजाति किन हराए होलान् भन्ने प्रश्नमा अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक युवल नोहा हरारीले आफ्नो चर्चित पुस्तक स्यापियन्स : अ ब्रिफ हिस्ट्री अफ ह्युमनकाइन्डमा एउटा रोचक कारण बताएका छन् । पृथ्वीमा भइरहने ठूलो वातावरणीय परिवर्तनका अलावा उनले दिएको मुख्य कारण हो, स्यापियन्ससँग कल्पना गर्ने शक्ति हुनु । ‘अन्य जाति सूचना मात्र आदान–प्रदान गर्न सक्थे, यो जातिले तत्काल उपस्थित नभएका कुराबारे पनि कल्पना गरेर कथा बनाउन जान्यो ।’

कल्पना गर्ने, कथा हाल्ने र ‘अर्काका कुरा काट्ने क्षमता’का कारणले यो जातिले अन्य मानव जातिलाई उछिन्यो भन्दै हरारी भन्छन्, ‘समाज भन्नु पनि एउटा काल्पनिक यथार्थ हो । यो आफैँ कहीँ हुँदैन, खोज्न हिँड्यो भने समाज कहीँ भेटिँदैन ।’

यस्तै परिभाषा सिनेमाको विषयमा पनि गर्न सकिन्छ । जसरी समाज भन्ने अवधारणाको कुनै ठोस प्रमाण भेटिँदैन, यो मानिसको कल्पना र सोचमा मात्र जीवित रहन्छ, सिनेमा पनि त्यस्तै हो । सिनेमा अझै विशिष्ट किन छ भने यसले एकैचोटि कल्पित यथार्थ, वैकल्पिक यथार्थ र अयथार्थको मिश्रण पेस गर्न सक्छ । यसैले संसारमा मंगल वा वृहस्पति ग्रहका प्राणी नआइपुग्दै मानिसले आफ्नो कल्पनाशक्तिको भरमा सिनेमामा ती ग्रहका प्राणीलाई एउटा स्वरूप दिइसक्यो । कुनै दिन साँच्चिकै ती ग्रहमा जीव भएको पत्ता लाग्यो र तिनको स्वरूप देखियो भने थाहा होला, यो कल्पना कति यथार्थ कति अयथार्थ रहेछ भन्ने † ६ करोड वर्षअगाडि पृथ्वीबाट लोप भएको डाइनासोर पनि फिल्ममा हिरो–भिलेन भइसकेको छ । यो मानिसको कल्पना र कथा हाल्ने शक्तिकै उपज हो ।

माक्र्सवाद, राष्ट्रवादको अवधारणा र बहुराष्ट्रिय कम्पनीजस्तै सिनेमा पनि नेपालमा विदेशबाटै आएको हो । एक शताब्दीभन्दा पहिले सुरु भएको फिल्मी दुनियाँमा नेपालले पाइला हालेको ५३ वर्ष भइसकेको छ । यदि विसं ००८ को फिल्म सत्य हरिश्चन्दलाई पहिलो नेपाली फिल्म मान्ने हो भने यो अवधि ६६ वर्षको हुन जान्छ । यो फिल्मबारे विवाद भएकाले नेपालमै बनेको आमालाई पहिलो नेपाली फिल्म मान्ने गरिएको छ ।

यो लेख नेपाली फिल्मको इतिहासबारे होइन । तैपनि, यसको विकासका केही खास चरण र खण्डहरू छन् । ०४६ मा पञ्चायतविरुद्ध भएको ठूलो राजनीतिक आन्दोलन नेपाली सिनेमाका लागि पनि एउटा आन्दोलन बराबरै थियो । राणा शाही ढलेपछि पञ्चायतले कब्जा गरेको समाजलाई यसले खुला गरिदिएको थियो । समाज खुला हुनु भनेको विद्यार्थी युनियन र मजदुर युनियन खुल्नु मात्र होइन, कला, साहित्य र सिर्जना जगत्लाई पनि स्वतन्त्रता दिनु हो । ०४६ पछि लिइएको खुला आर्थिक नीतिले निजी क्षेत्रलाई सिनेमाजस्ता ‘भर्चुअल उद्योग’मा लगानी गर्न प्रेरित गर्‍यो । मिडियाको फैलावटले बिस्तारै यसलाई ग्ल्यामर पनि दियो । फिल्म हलको संख्या बढ्यो । फिल्म बनाउनेको संख्या बढ्यो ।

०४६ को परिवर्तनले नेपाली समाजलाई नयाँ युगमा लगेको थियो । र, फिल्ममा पनि त्यो युगलाई प्रतिनिधित्व गर्दै राजेश हमालका रूपमा एउटा बलवान युवा पर्दामा देखापरे । परम्परागत सौन्दर्यको परिभाषा नसुहाउँदो लामो कपाल पालेको विद्रोही युवाका रूपमा हमालले नयाँ चेतना छरेका थिए । समाजले हिरो नमान्ने मजदुर र भरियाजस्ता पात्रहरू पर्दामा एकाएक हिरो भएर उदाए ।

०५० को दशकमा नेपाली फिल्मले संख्यामा निकै ठूलो उपलब्धि हासिल गर्‍यो । तर, गुणस्तर र मौलिकतामा केही अपवादलाई छाड्ने हो भने बलिउडी फर्मुलालाई नै गुरुमन्त्र मानेर फिल्म बने । ०६२/६३ को दोस्रो जनआन्दोलनले फेरि एकपटक नेपाली फिल्मको चिन्तन धारामा केही परिवर्तन ल्यायो । यो आन्दोलनसँग जोडिएको पहिचानको कुरा नेपाली फिल्ममा देखिन थाल्यो । मोटो ज्यान भएका जनजाति कलाकार ‘हिरो’मा चल्दैनन् भन्ने सोच बदलियो । मोटो ज्यान भएका र ठिक्क उचाइका दयाहाङ राई नयाँ नेपाली सिनेमाको ‘पोस्टर ब्वाई’ बने । लुट र चपली हाइटजस्ता विशुद्ध नयाँ शैली र विषयका फिल्म पनि बने । यस्तो लाग्यो, नेपाली फिल्म एकैचोटि वयस्क भएको छ । साँघुरोजस्तो सूक्ष्म मानवीय कथा बोकेको फिल्म बन्यो भने बधशालाजस्तो राजनीतिक फिल्म पनि बन्यो ।

पुरुष कलाकारका लागि हिरोको परिभाषा अलि फराकिलो भए पनि महिलाका लागि भने त्यो अझै साँघुरो नै छ । महिला पात्रलाई केन्द्रमा राखेर खासै फिल्म बनेका छैनन् । न त लेखन र निर्देशन विधामा नै महिलाको सहभागिता उल्लेख्य रूपमा भएको छ ।

सिनेमा नेपालमा मात्र नभई संसारभर छिटो–छिटो रूपमा अघि बढिरहेको छ । चाहे विषयवस्तु होस् वा प्रविधिमा । बजारको त कुरै गर्नुपरेन । अमेरिका, भारत, चीन, कोरिया र जापानका फिल्मको बजार हाम्रा लागि अहिलेसम्म कल्पनाकै कुरा छन् ।

भर्खरै सार्वजनिक एक तथ्यांक अनुसार सन् २०१७ मा भारतको कला र मनोरञ्जन उद्योगको मूल्य १.५ ट्रिलियन भारु पुगेको छ । गत वर्षको तुलनामा १३ प्रतिशतले वृद्धि भएको यो उद्योग सन् २०२० सम्ममा दुई ट्रिलियनको बन्ने अनुमान रिपोर्टमा गरिएको छ । व्यापारलाई छाडिदिने हो भने पनि नेपालमा फिल्म निर्माण हुन थालेको ५० वर्षपछि हामी के–कस्ता विषयमा फिल्म बनाइरहेका छौँ ? संसारका क्यान्स वा भेनिसजस्ता फेस्टिबलमा हामीले कतिवटा अवार्ड जितेका छौँ ? वा ओस्करजस्ता ग्ल्यामर अवार्ड समारोहमा हाम्रो नाम पुगेको छ कि छैन ? भन्ने प्रश्नले हामी संसारको तुलनामा कहाँ छौँ भन्ने थाहा पाउन सकिन्छ । एक–दुई अपवाद छाड्ने हो भने हामी आफैँले आफ्नो बलमा बनाएका फिल्म विश्व मानचित्रमा कुनै टापु हराएजसरी सानो थोप्लामा पनि देखिँदैनन् ।

राम्रा फिल्म खोज्दा सबभन्दा पहिले राम्रा भनेका कस्ता भन्ने प्रश्न आउँछ । यसको सजिलो उत्तर छ– मेरा लागि तीनै राम्रा जसले मलाई कुनै न कुनै रूपमा छोए वा प्रभावित पारे । जसको कथा, अभिनय वा प्रस्तुतिले मेरो संवेदनालाई छोएन, तिनले करोडौँ कमाए पनि के ?

फिल्मलाई हेर्दा त्यो समय र परिप्रेक्ष्यमा हेर्नुपर्छ । कस्तो समयमा, कुन चेतनाले त्यो फिल्म बनेको थियो भनेर हेरिएन भने त्यसको सही मूल्यांकन नहुन सक्छ । आजका मितिमा कुनै पनि फिल्ममा लिम्बू वेशभूषा वा गुरुङ संस्कृति देखिनु अनौठो नलाग्ला तर जुन समयमा नुमाफुङ बनेको थियो, त्यसबेला नेपाली फिल्मको नाम गैरखस नेपालीभाषी शब्द हुनु नै ठूलो कुरा थियो । पहिचानको मुद्दा राजनीतिक बहसको केन्द्रमा आउनुभन्दा अघि नै बनेको फिल्म सीमारेखा, जसमा द्रव्य शाह होइन, मगर युवाको दृष्टिबाट कथा भनिएको थियो ।

यो सूची कुनै सर्वेक्षणमा आधारित छैन । यो सबै फिल्म हेरेर धेरै विज्ञसँग छलफल गरेर बनाइएको सूची पनि होइन । कसैले राम्रा नेपाली फिल्म कुन–कुन हुन् भनेर जान्न चाहेमा एउटा सन्दर्भ सामग्रीका रूपमा भने यसले काम गर्न सक्छ । यी सबै वा यी मात्रै उत्कृष्ट फिल्म हुन् भन्ने दाबी पनि मेरो होइन । यी सबै मलाई उत्कृष्ट लागेका पनि होइनन् । हेरेका फिल्ममध्ये अलि बढी सान्दर्भिक र कलात्मक लागेका फिल्मको मात्र छनोट हो । यो सूची नेपाली फिल्मका धेरै दर्शकको रोजाइसँग मिल्न पनि सक्छ, नमिल्न पनि सक्छ ।

कति फिल्म थिए, जसको कुनै एउटा पक्षले मात्र आकर्षित गर्‍यो । कसैको विषयले, कसैको अभिनयले, त कसैको संगीतले । सूचीमा पुरानाभन्दा नयाँ र पछिल्लो समयका फिल्मलाई बढी प्राथमिकता दिइएको छ । सुरुआती समयका कति महत्त्वपूर्ण फिल्म हेर्न नपाउनु र त्यो समयसँग साक्षात्कार हुन नसक्नु मेरो कमजोरी र सीमा हो । यही कमजोरीका कारण पनि सूचीमा पछिल्ला फिल्म धेरै समाविष्ट छन् ।

बधशाला

अनुप बराल, सौगात मल्ल, दयाहाङ राई र खगेन्द्र लामिछाने । नेपाली फिल्मको पछिल्लो छिमलको परिवर्तित अभिनयलाई हाँकेका रंगमञ्चका यी चारै अभिनेता यो फिल्ममा छन् । अनेक प्रयोग गर्न रुचाउने मनोज पण्डितले निर्देशन गरेको यो फिल्म मान्छेको सबभन्दा डरलाग्दो पक्ष क्रूरताको कथा हो । माओवादी सशस्त्र द्वन्द्वमा सेनाको जुन गणले बधशालाको उपमा पायो, त्यही भैरवनाथ गणको कथा हो यो । युद्ध र क्रूरताको कथा भए पनि फिल्मको मूल ट्रयाक मुख छोपेर राखिएको ‘अपराधी’ र उसको पालेबीचको संवाद र सम्बन्धको हो । माओवादीको विस्फोटमा आफ्नो ‘सिपाही साथी’ मरेको खबरले स्तब्ध चेहराहीन शिक्षकको कथाले नेपालका थुप्रै मानिसले भोगेको त्रासदीको कथा बोक्छ । सौगात मल्ल र अनुप बरालबीचको नौ मिनेट लामो विवाद राजनीति र विचारका बारे नेपाली सिनेमामा आएको सबभन्दा सार्थक दृश्य हो ।

साँघुरो

नेपाली मूलधारको बौद्धिक विमर्शमा निकै कम स्थान पाएका सहरी गरिबको व्यथालाई फिल्मले निकै सुन्दर ढंगले उतारेको छ । सुकुम्बासी बस्तीको एउटा झुप्रो । एउटै कोठाको यो साँघुरोमा छन्, आमा र छोरा । जब छोराले विवाह गरेर श्रीमती ल्याउँछ अनि के–के समस्या आउला ? जवान नवविवाहितको यौन तृष्णामा के यो साँघुरो घर भिलेन बन्ला ? यस्ता विषयमा कुनै दिन नेपालमा फिल्म बन्ला भनेर १० वर्षअघि कसैले सोच्थेन । तर, विनोद पौडेलको लेखन र जोयस पाण्डेको निर्देशनमा यो फिल्म बन्यो । शुशांक मैनाली, दिया मास्के, दयाहाङ राई र अरुणा कार्कीले मुख्य भूमिकामा अभिनय गरेको यो फिल्मले सुकुम्बासी बस्तीका अरू पाटालाई पनि छुन्छ ।

मुकुन्डो

मानव व्यक्तित्वको अँध्यारो पाटोलाई केन्द्रमा राखेर कथा बनाइएको अर्को फिल्म हो, मुकुन्डो । के मानिसको खास व्यक्तित्व मुकुन्डोभित्र लुकेर बसेको हुन्छ ? सत्य घटनामा आधारित यो फिल्मको केन्द्रमा छन्, एक माता र बिरामी गृहणी । सानैमा गाउँबाट भागेर माता बनेकी यी महिलाको तृष्णा र यौन अभिलासा बिरामीका पतिप्रति जागृत भएपछि गृहणीको जीवनमा कस्तो हलचल आउँछ भन्ने फिल्मले देखाउँछ । मनभित्रका सुषुप्त इच्छा र आकांक्षाले मान्छेलाई कुन हदसम्म पुर्‍याउँछ भन्ने सुन्दर तरिकाले देखाउँछ, यस फिल्मले । डकुमेन्ट्रीको दुनियाँबाट कथानकमा आउँदा छिरिङरितार शेर्पाले बनाएको यो फिल्ममा मिथिला शर्मा र गौरी मल्लको सानदार अभिनय रहेको छ ।

नुमाफुङ

नुमाफुङ एउटा फिल्मको नाम मात्र नभई आफैँमा एउटा अभियान हो । लामो समय नेपाली फिल्ममा मौलिकताको अभाव रहेको औँल्याएर आलोचना लेखिसकेपछि मौलिकताको उदाहरणका रूपमा नवीन सुब्बाले नुमाफुङ बनाएका थिए । नेपालको पूर्वी पहाडबाट उठेको पहिचानवादी कविता र साहित्यको आवाजले काठमाडौँ खाल्डो गुञ्जिनुअघि सुब्बाले नागीमा यसको सुटिङ गरेका थिए । लिम्बू संस्कृतिको एउटा परम्पराका कारण उठिबास भएको परिवारको कथामा उनले नयाँ समयकी युवा नायिकाको प्रेमको खोजीलाई पछ्याएका छन् । साँचो प्रेम एकपटक मात्र हुन्छ भन्ने दर्शनमा फिल्मी कथाहरू लेखिइरहेका समयमा उनले तीनवटा विवाह गर्ने युवतीलाई ‘हिरो’ बनाएका थिए । नेपाली जनजीवन र संस्कृतिबाट टिपेर सुन्दर फिल्म बनाउन सकिन्छ भन्ने उदाहरण यो फिल्म नै हो ।

सीमारेखा

सीमारेखा इतिहासको वैकल्पिक प्रस्तुति थियो । द्रव्य शाहको पालाको लमजुङ र लिगलिग राज्य । पाठ्यपुस्तकमा चेपेघाटदेखि लिगलिग कोटको टुप्पोसम्म हुने दौड जितेर द्रव्य शाह राजा भए भनेर पढ्नेहरूलाई सीमारेखाले इतिहासका धेरै भंगालाको सम्भावनातिर जान सिकाउँछ । फिल्मले भन्छ, उनले दौडेर होइन, षड्यन्त्रपूर्वक मगर युवाको हत्या गरेर सत्ता कब्जा गरेका थिए । इतिहासको एउटा धारलाई छाडेर फिल्मले फरक कथा प्रस्तुत गर्छ । किशोर रानामगरले निर्देशन गरेको, सानु बाबा तथा रजनी रानाको मुख्य भूमिका भएको यो फिल्मले कल्पित यथार्थ र वैकल्पिक यथार्थबीचको फरक पनि देखाउँछ ।

कालो पोथी

सीमारेखा इतिहासको कथा हो भने कालो पोथी वर्तमानको । तर, कसको वर्तमान भन्ने प्रश्नचाहिँ उठ्न सक्छ । काठमाडौँका मध्यमवर्गीय दर्शक, जो देशका विभिन्न भाग र संस्कृतिसँग परिचित छैनन्, उनीहरूलाई यो सय वर्षअघिको कथा लाग्न पनि सक्छ । खासमा चाहिँ यो केही वर्षअघिको मात्र कथा हो, जतिबेला देशमा दुईवटा सेना थिए । ती दुई सेनाको चेपुवामा परेका दुई कलिला बालकको दुर्दशा यो फिल्मले दर्शाउँछ । कर्णालीको जीवनलाई पनि यसले सजीव ढंगले उतार्छ । रंग बदलिरहने रारा तालमा नांगा बालकको रगतको दृश्य नेपाली फिल्ममा हेरेका केही कलात्मक दृश्यमा पर्छन् । दसवर्षे माओवादी विद्रोहलाई आलोचनात्मक हिसाबले हेर्ने मीन भाम निर्देशित यो फिल्म कर्णालीको जीवनलाई ठूलो पर्दामा यसरी कैद गर्ने केही थोरै फिल्ममध्येमा पर्छ ।

सेतो सूर्य

यो फिल्ममा द्वन्द्वोत्तर समाजको कथा समेटिएको छ । द्वन्द्वका धेरैतिर फर्किएका त्यान्द्रालाई एकै ठाउँमा ल्याउने यो फिल्मले नेपाली समाजको वर्तमान र निकट भविष्यको संकेत गर्न खोज्छ । समाजमा छरिएर रहेको बहुआयामिक द्वन्द्वको एक आयामको मात्र बिट मारिएको भन्दै यसले द्वन्द्व कायम रहेको जिकिर गर्छ । नेपालमा संविधान जारी भएकै दिन मृत्यु भएका एक वृद्धका माओवादी विद्रोही र सरकारी सुरक्षा निकाय सम्बद्ध दुई छोराको द्वन्द्वको माध्यमबाट यो फिल्मले राजनीतिलाई पर्दामा ल्याउँछ । यी दुई पात्रको बोलीचाली मात्र होइन, समस्यालाई हेर्ने तरिकामा पनि ठूलो फरक छ । पहिचानदेखि समावेशितासम्मका मुद्दालाई कथामा उनेको यो फिल्मले विद्रोहको सम्भावना अझै जीवित रहेको तर्क गर्छ । दीपक रौनियार निर्देशित यस फिल्मले द्वन्द्वपछिको समाजको उथलपुथलतर्फ संकेत गर्छ ।

लुट

लुट धेरै अर्थमा नेपालको ट्रेन्ड सेटर फिल्म हो । क्यामरा सञ्चालनदेखि सम्पादन, संवाद र अभिनयमा एकैपटक ठूलो परिवर्तन ल्याएको लुटले व्यावसायिक सफलतामा पनि नेपाली फिल्मलाई अर्को चरणमा पुर्‍याउने काम गरेको थियो । बैंक लुट्ने मास्टरप्लान लिएर घुमिरहेको सेकुवा पसले हाकु कालेका माध्यमबाट यो फिल्मले काठमाडौँका रैथानेलाई नै मुख्य पात्र बनाएको थियो । शुद्ध रूपमा नेपाली उच्चारण नगरे पनि हाकु काले फिल्मको हिरो हो । सौगात मल्ल, दयाहाङ राई, कर्मा, ऋचा शर्मालगायतले मुख्य भूमिकामा अभिनय गरेको यस फिल्मले नेपाली फिल्ममा नयाँ शैलीको विकास गरेको हो । पर्दामा कलाकार बोल्दा नेपाली विषयको शिक्षकले जस्तो अति शुद्ध बोलेको हेर्ने बानी परेका हाम्रा लागि यो सुखद आश्चर्य थियो ।

कबड्डी

अभिनेता दयाहाङ राई र निर्देशक रामबाबु गुरुङ अहिले फिल्म बजारमा ठूलो ब्रान्ड बनिसकेका छन् । उनीहरूले गुरिल्ला शैलीमा नेपाली मल्टिप्लेक्समा हमला गरेका थिए, कबड्डीबाट । नुमाफुङजस्तै यो पनि नेपालको एउटा जातिको मौलिक परम्पराले पैदा गरेको समस्यामाथि केन्द्रित थियो । यसको भूगोल फरक थियो, कथा फरक थियो । मुस्ताङको थकाली परम्परामा जेलिएका तीन युवाको प्रेम–त्रिकोण कबड्डीमा थियो । दयाका साथमा रिश्मा गुरुङ, निश्चल बस्नेत, विजय बराल र बुद्धि तामाङको प्रमुख भूमिका रहेको यो फिल्म नेपाली कमेडी फिल्मको लाइनमा पनि फरक र अब्बल थियो । पात्रहरूको मुख्य उद्देश्य प्राप्तिको प्रयासलाई नै कमेडीका रूपमा पेस गरिएको यो फिल्मले फरक स्वाद दिएको थियो ।

पशुपतिप्रसाद

भूकम्पले घर भत्किएपछि पशुपतिको शरणमा आइपुगेको गाउँले युवक । वर्षौंदेखि घाटमा मूर्दा पोल्दै आएको एक अधबैँसे । बोल्न नसक्ने एक युवती । र, लास पोलेका मुढाको सप्लाइदेखि ब्रह्मनालमा फालिएका पैसा बटुल्ने काममा कब्जा जमाएर बसेको लोकल गुण्डा भष्मे । पशुपतिप्रसादका मुख्य पात्र यिनै हुन् । भेष बदलेर बसेको हनुमान, वृद्धाश्रमका आश्रित र सहरका सुन पसलेहरू पनि यो कथामा जोडिएपछि बन्छ, पशुपतिप्रसाद । भूकम्पले अनाथ बनाएको एउटा केटालाई सहरले कसरी समाप्त पारिदिन्छ, यो फिल्मले भन्छ । त्यसबीचमा छन्, रहर र सपनाका उपकथाहरू । स–साना नोंकझोंकका किस्सामा घुसाइएका जीवनका दर्शनले पशुपतिप्रसादलाई अब्बल बनाउँछ । यसअघि चपली हाइटजस्तो नितान्त फरक र एक हदसम्म वर्जित यौनको विषयमा फिल्म बनाएका दीपेन्द्र के खनालले यसमा खगेन्द्र लामिछानेलाई लिएर संवेदनाको नयाँ संसार सिर्जना गरेका छन् ।

टलकजंग भर्सेज टुल्के

टलकजंग भर्सेज टुल्के कमी–कमजोरी नभएको फिल्म होइन । तापनि, यसले फरक स्वाद बोकेको छ । मध्य नेपालको लबज र जीवन दर्शाउने टुल्के वर्गसंघर्षको पनि कथा हो । प्रसिद्ध चिनियाँ लेखक लु सुनको कथा द ट्रयु टेल अफ आह क्युबाट एडप्ट गरिएको यो कथामा अनुप बरालको निर्देशनमा नाटक बनेको थियो । नाटकबाट फिल्मीकरण गरिँदा केही कथा र पात्र थपथाप गरिए पनि यसले ग्रामीण जीवनमा कायम वर्गीय विभेदलाई खोतल्ने प्रयास गर्छ । आफ्नो पहिचान र आत्मसम्मानका निम्ति संघर्ष गर्ने निम्न आर्थिक हैसियतको युवालाई कसरी माओवादी आन्दोलनले मनोबल दिएको थियो भन्ने पनि यसले देखाउँछ । नेपाली समाजले देखे–भोगेका केही नक्कली पात्रको नकाव पनि यसले उतार्छ । खगेन्द्र लामिछाने, रवीन्द्रसिंह बानियाँ, ऋचा शर्मा र दयाहाङ राईको अभिनयले पनि यो फिल्मलाई सम्झनामा राख्नेछ ।

जात्रा

प्रदीप भट्टराईको निर्देशनमा बनेको यो कमेडी फिल्मको केही भागमा मधेसी पात्रलाई हँसिमजाकिया पात्र बनाएको छ । विपिन कार्की, रवीन्द्र झा, रवीन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे र वर्षा राउत अभिनीत यस फिल्मले सहरमा विभिन्न पेसा गरेर गुजारा गरिरहेका निम्नमध्यम वर्गीय मानिसको कथा भन्छ । अभावमा बाँचिरहेका मानिसलाई एकैचोटि ठूलो रकम हात पर्दा कस्तो औडाहा हुन्छ भन्ने यसले देखाउँछ । तर, जब पैसा लुकाउने मुसा–बिरालोको भागमा फिल्म प्रवेश गर्छ, यसले आफ्नो स्वाभाविकतालाई गुमाउँछ । यस फिल्मको हाइलाइटचाहिँ ज्वाइँ–ससुराको प्रसंग हो । समाजमा कुनै व्यक्तिको हैसियत र इज्जत निर्माणमा पैसाको भूमिका कसरी सर्वोपरि भइरहेको छ भन्ने यसले जसरी प्रस्तुत गर्छ, त्यो चित्रण र विपिन कार्कीको अभिनयले यो फिल्मलाई स्मरणीय बनाएको छ ।

सुनगाभा

नाटकबाट फिल्ममा अभिनेता–अभिनेत्री मात्र गएका छैनन्, निर्देशक पनि गएका छन् । सुवर्ण थापा त्यसकै उदाहरण हुन् । उनले निर्देशन गरेको सुनगाभा एउटा महत्त्वपूर्ण फिल्म हो । समावेशिता र बहुपहिचानजस्ता सवाललाई बहसमा ल्याउने काममा कला–साहित्यको भूमिका छ । सुनगाभाले समलैंगिकताको कथा भन्छ तर यथार्थवादी स्वरमा । परम्परागत नेवार परिवारकी युवती र बाहिर हेर्दा खुला दिमागको देखिने परिवारकी अर्की युवती । यी दुई परस्परमा प्रेम गर्छन् । तर, समाज बाहिर देखिएजस्तो मात्रै छैन । आफन्त र जोरीपारीका डरले परिवारै आफ्नै भइदिँदैन । सुनगाभामा त्यसभन्दा बढी हुन्छ । दिया मास्के, निशा अधिकारी, सौगात मल्लले मुख्य भूमिकामा अभिनय गरेको यस फिल्ममा पात्रको चित्रण तथा कथालाई उत्कर्षमा पुर्‍याउने शैली सुन्दर छ ।

प्रेमपिण्ड

प्रेमकै अर्को कथा हो, प्रेमपिण्ड । यो कथा एउटा बैँस ढल्किँदै गएको सम्पन्न र वैभवशाली राणा जर्नेलको एक निरीह गाउँले युवतीप्रतिको आकर्षणको । कथा सुरुमा आकर्षकजस्तो लाग्छ । तर, जब युवतीलाई राणाले बिदा दिन्छ र भन्छ, ‘तँ यो भर्‍याङबाट जति झर्दै जान्छेस्, मेरो नौनीजस्तो मन करौतीले काटेर छिया–छिया हुनेछ ।’ यो एकतर्फी प्रेमको अमरगाथा बन्न जान्छ । त्यो समयको सामन्ती समाजका झलकहरू पनि यसले दिन्छ । अहिलेको राष्ट्रपति भवन शीतलनिवासमा यसको धेरै भाग सुटिङ गरिएको थियो । यादव खरेलले निर्देशन गरेको फिल्ममा जनरल एडविलको भूमिकामा नीर शाहको अभिनय सम्झनायोग्य छ । फिल्ममा सनी रौनियार र सरोज खनालको अभिनय पनि तारिफयोग्य छ । र, शम्भुजित बास्कोटाको संगीतमा ‘गैरी खेतको सिरै हान्यो’ ।

वासुदेव

धु्रवचन्द्र गौतमको उपन्यास कट्टेल सरको चोटपटक कृतिकै रूपमा अब्बल छ । त्यसैमाथि नीर शाहले बनाए फिल्म वासुदेव । हरिहर शर्मा, शकुन्तला शर्मा, नीर शाह, कृष्ण मल्ल र शर्मिला मल्लको मुख्य भूमिका रहेको यो फिल्म एक आदर्श शिक्षकको कथा हो । विचार र आदर्शलाई नै सबथोक ठान्ने एउटा गरिब शिक्षक र धनसम्पत्तिका लागि जे पनि गर्ने उसको व्यापारी साथीको अहं र स्वाभिमानको द्वन्द्वको कथा यसले भन्छ । ४० र ५० को दशकमा काठमाडौँमा विकसित भइरहेको समाज र मनोविज्ञानलाई फिल्मले सुन्दर ढंगले पक्रिएको छ । रमाइलो के छ भने व्यापारीलाई तस्करकै दर्जा दिइएको यस फिल्ममा उद्योगपति विनोद चौधरीले लगानी गरेका थिए ।

देउता

तुलसी घिमिरे नेपाली फिल्मको इतिहासमा यस्ता निर्देशक हुन्, जो आफैँ सफलताको मानक बनेका थिए । उनका सफल फिल्मको मात्रै एउटा लिस्ट बनाउन सकिन्छ । भारतबाट फिल्म बनाउन थालेर नेपाल आएका तुलसी घिमिरे सिक्किम–दार्जीलिङले नेपाली साहित्य, संगीत र सिनेमालाई दिएका केही उत्तम प्रतिभामध्येका एक हुन् । देउताचाहिँ खुला समयको रोमान्टिक युवाको अतृप्त प्यासको कथा हो । यो फिल्मले राजेश हमाललाई मात्र हिरो बनाएको थिएन, नेपाली फिल्मका त्यसबेलाका युवा दर्शकलाई पनि हिरो दिएको थियो । र, राम्रो फिल्मको एउटा मानक बनाइदिएको थियो । १६ भाषामा सपना देख्ने युवराज लामा र पैसाका लागि देउता बेच्नेहरूको गीत पनि देउताका अविस्मरणीय कुरा थिए ।

बलिदान

यो पनि तुलसी घिमिरेकै फिल्म हो । तर, उनका अन्य प्रेम–कहानीभन्दा भिन्न । यसमा पनि प्रेम छ । तर, त्यो कुनै युवक–युवतीको एकापसको आकर्षणभन्दा फरक छ । यो प्रेम हो, देश र प्रजातन्त्रप्रतिको । ‘गाई पालेर पनि ढुंग्रोमा मोही नहुने’हरूका प्रतिको । हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, अञ्जना श्रेष्ठ, नीर शाहले मुख्य भूमिकामा अभिनय गरेको यो फिल्म खासमा ०४६ अघि नेकपा मालेका युवाहरूको सपना र बलिदानको सारांश हो । पञ्चायतविरुद्ध कांग्रेसले लामो लडाइँ लडे पनि त्यही कालमा मालेका युवाहरूले पहाडी बस्तीमा चेतनाको झिल्को बोकेर कसरी हिँडेका थिए भन्ने यसले देखाउँछ । मोदनाथ प्रश्रितको कथामा बनेको यस फिल्मले एउटा पुस्ताको युवा बलिदानलाई यत्तिकै भुल्न दिएको छैन । रामेशको स्वर–संगीतका राजनीतिक चेतनायुक्त गीतहरू पनि यसका उपलब्धि हुन् ।

दर्पण छायाँ

यो सूचीमा पर्ने तुलसी घिमिरेको तेस्रो फिल्म हो, दर्पण छायाँ । ५० को दशकको मध्यलाई नेपाली फिल्मको स्वर्ण युग मानिन्थ्यो । तर, त्यसकै केही वर्षमा संकटकाल र दरबार हत्याकाण्डपछि उद्योग ब्रह्मनालमा पुगेको घोषणा गरिएको थियो । डिजिटल क्यामेरा र सम्बन्धहरूको नयाँ ‘अन्डरस्ट्याडिङ’ले फिल्म लेखनलाई कब्जा गर्नुअघि दर्पण छायाँ त्यस समयको प्रेमगीतजस्तै थियो । यसको संगीत, निरुता सिंहको दार्जीलिङे टोन मिसिएको नेपाली, दिलीप रायमाझीको चकचक र उत्तम प्रधानको शान्त चरित्रले त्यो पुस्तामा दर्पण छायाँको अमिट छाप छाडेको थियो ।

तृष्णा

धेरैलाई उगेन छोपेलको साइनो उत्कृष्ट लाग्छ । मलाई भने तृष्णाले बढी समात्यो । सिक्किमबाट उडेर बेलाबेला काठमाडौँका रूखमा आएर बस्ने कुनै चरीजस्ता उगेन छोपेलले थोरै फिल्म बनाए । सबैमा आफ्नो छाप छाडे । साइनो होस् वा बादलपारिमा, मानवीय सम्बन्धका पत्र उधिन्ने काम उनले सधैँ गरिरहे । भुवन केसी, रूपा राना र मुरलीधरको यो त्रिकोण सायद नेपाली फिल्मको सबैभन्दा राम्रो प्रेम त्रिकोणमा पर्छ । बाल्यकालमा छुटेका साथीको पुन:मिलनको कथामा दार्शनिकताको लेप लगाइएको छ । फिल्मको सुरुमै राखिएको डेनीको भ्वाइसओभर र भुवन केसीको मोनोलग नेपाली फिल्ममा भएका सबैभन्दा सुन्दर मोनोलगमध्ये एक हो । कलाकार बाबुको पुलकित छोरासँगको गीत ‘समय पंक्षी हो’लाई कसले बिर्सन सक्छ र † त्यो छोरा, जो अर्को दृश्यमा नै दु:खी र अनाथ बन्न पुग्छ ।

झोला

यो सूचीलाई २० फिल्ममा सीमित गर्दा मेरो स्मृतिमा झोलाको स्थानमा धेरै फिल्म आएका थिए । तर, विषयको गाम्भीर्यले गर्दा झोला सूचीमा पर्‍यो । कृष्ण धरावासीको कथामा आधारित रहेर यादव भट्टराईले बनाएको यस फिल्मले नेपाली इतिहासको एउटा कालखण्डको कहालीलाग्दो कथा भन्छ । चन्द्रशमशेरले सति प्रथा उन्मूलन गर्नुअघि यो एउटा धार्मिक प्रथाका रूपमा थियो । यसले विधवाको जीवन मात्र अन्त्य गर्दैनथ्यो, उनका सन्तानलाई पनि दु:खको असीम सागरमा धकेलिदिन्थ्यो । वृद्ध उमेरका पुरुषले भर्खरका केटीसँग विवाह गर्थे । जब बच्चा सानै छँदा बाबुको मृत्यु हुन्थ्यो, आमालाई सति माताका रूपमा चितामा चढाइन्थ्यो । हाम्रो इतिहासमा महिलामाथि भएका यस्ता अत्याचारका कथालाई साहित्य र पर्दामा ल्याउने काम थोरैले मात्र गरेका छन् ।

र, यी पनि

माथि उल्लिखित फिल्म मात्रै राम्रा थिए भन्ने दाबी होइन । यीबाहेक थुप्रै लेखक/निर्देशक तथा कलाकारले पनि नेपाली फिल्मलाई यहाँसम्म ल्याउन योगदान दिएका छन् । प्रताप सुब्बाको परालको आगो, उगेनको छोपेलको साइनो र नेपालीबाबु, तुलसी घिमिरेको चिनो र कुसुमे रुमाल, प्रकाश थापाको कन्यादान, शिव रेग्मीको मानिस, अशोक शर्माको ट्रक ड्राइभर, रमेश बुढाथोकीको मोहनी, नीर शाहको बसन्ती, प्रकाश सायमीको सिमाना तथा मनोज पण्डितको दासढुंगालगायतका फिल्मको महत्त्व नेपाली फिल्ममा कम छैन । भूषण दाहालको कागवेनी, दीपक रायमाझीको युगदेखि युगसम्म, किशोर रानाको करोडपति, राजेन्द्र शलभको विजय पराजय, प्रताप सुब्बाको भीष्मप्रतीज्ञा र दीपक रौनियारको हाइवे पनि आफ्नो समयका उल्लेख्य फिल्म हुन् । फ्रेन्च फिल्ममेकर एरिक भ्यालीले बनाएको क्याराभानलाई यो सूचीभन्दा अलग्गै राखेर हेर्नु उचित होला भन्ने लाग्छ । यसले ओस्करमा नेपालको नाम पुर्‍याएको कुरालाई बिर्सिएको भने होइन ।

प्रकाशित: चैत्र ११, २०७४