सोफियासँगै भित्रिएको रोबोटको त्रास

- विभु लुइटेल

गत मंसिरमा साउदी अरेबिया रोबोटलाई नागरिकता प्रदान गर्ने विश्वकै पहिलो राष्ट्र बन्यो । हङकङस्थित ह् यान्सन रोबोटिक्स नामक संस्थाले बनाएको उक्त रोबोटलाई ‘सोफिया’ नाम दिइएको छ । नागरिकता अनुसार सोफिया महिला हुन् । संयुक्त राष्ट्रसंघीय विकास कोषलगायत अन्य अन्तर्राष्ट्रिय संस्थाले उनलाई विशेष सम्मान गर्दै यसका आविष्कारकको मुक्तकण्ठले प्रशंसा गरेका छन् । विभिन्न सञ्चार माध्यमका लागि अन्तर्वार्ता दिइसकेकी सोफिया बुद्धिमत्ताका हिसाबले सामान्य मानिसभन्दा मेधावी छन् । उनी मान्छेले बनाएका सर्वोत्तम यन्त्रमध्येमा पर्छिन् भन्दा अतिशयोक्ति नहोला ।

हालै रियादमा सम्पन्न व्यावसायिक भेलालाई सम्बोधन गर्दै उनले सिंगो साउदी अरेबियालाई धन्यवाद ज्ञापन गरिन् । कुनै देशको नागरिक हुनेजस्तो अद्वितीय अवसर प्राप्त गर्ने पहिलो रोबोट भएकामा आफूले गौरवान्वित महसुस गरिरहेको भाव पनि व्यक्त गरिन् । आफ्ना देशका महिलालाई नै नागरिकसरहको व्यवहार नगर्ने साउदी अरेबियाजस्तो राष्ट्रले रोबोटलाई दुर्लभ पहिचान किन र कसरी प्रदान गर्‍यो भन्नेजस्ता प्रश्न पनि नआएका होइनन् । आफ्ना जनतालाई स्वतन्त्रता र अधिकार प्रदान गर्ने सन्दर्भमा साउदी अरेबिया विश्वकै कमजोर राष्ट्रको सूचीमा दसौँ स्थानमा छ । तर, अरू तर्क पन्छाएर रोबोटका विषयमा मात्रै केन्द्रित हुने हो भने यो कदमलाई ऐतिहासिक तथा सराहनीय मान्न सकिन्छ । एन्ड्रियु रस सर्किनद्वारा सञ्चालित उक्त कार्यक्रमको भिडियोले केही समयमै सिंगो विश्वकै ध्यानाकर्षण गर्न सफल भयो । अनुहारबाटै ६२ वटा भाव व्यक्त गर्न आफूलाई प्रशिक्षण दिइएको जिकिर पनि उनले गरिन् । विभिन्न कार्यक्रममा अनेक व्यंग्य गरेर उनले आफ्नो अनुपम प्रतिभाको उदाहरण दिइसकेकी छन् । जिम्मी फ्यालनको चर्चित कार्यक्रम ‘द टुनाइट सो’मा सोफियाका निर्माणकर्ता डेभिड ह्यान्सनले सोफिया सामाजिक रोबोट भएको बताए । सामान्य प्राणीको जस्तै जीवनशैलीमा उनलाई अभ्यस्त बनाएको कुरा पनि उनले राखे ।

‘तिम्रो सार्थकता के त ? मानिसका लागि तिमी कसरी सहयोगी सिद्ध हुन सक्छौ ?’ भन्ने प्रश्न सोफियाका अगाडि राखिँदा उनीबाट निकै चतुर जवाफ आउँछ, “म मानव जगत्का लागि कुनै अभिशाप होइन, वरदान साबित हुन चाहन्छु । संसारलाई सुन्दर बनाउन मेरो भूमिका महत्त्वपूर्ण रहनेमा कसैले शंका नगरे हुन्छ । म आफ्नो बलबुताले भ्याएसम्म अरूको हित हुने काम मात्र गर्दै जानेछु ।”

रोबोट सोफिया अहिले नेपाल आएकी छन् । सोफियाले ८ चैत ०७४ मा काठमाडौँको एक सभालाई सम्बोधन गरिन् । नेपालका बारेमा केही कुरा बोल्नेदेखि लिएर नेपालमा प्रविधिको विकास कसरी हुन सक्छ भन्ने विषयमा समेत उनले धारणा राखिन् । केही समयअघि दक्षिण कोरियाको एक कम्पनी ‘ डीआरसी ह्युबो’ले सोफियामा खुट्टा जडान गरी उनको खुट्टाको चालको सफल परीक्षण गरेको थियो । हिँड्दा गति सुस्त हुने हुँदा त्यसमा सुधार्नुपर्ने देखिन्छ । यसैकारण सबै कार्यक्रममा अर्धकदकी सोफियालाई नै लगिने ह्यान्सन रोबोटिक्सका वैज्ञानिक एन्द्रिआस स्वारेजले बताए । “सोफियाको तन्त्रिका योजना आफैँलाई प्रशिक्षित गर्न सक्ने गरी बनाइएको छ । तर, हामी समय–समयमा प्रयोगशालामा पनि प्रशिक्षण दिइरहन्छौँ,” सोफियाको तुरुन्तै जवाफ दिन सक्ने क्षमताबारे स्वारेज भन्छन् ।

अचेल बन्ने कति चलचित्रमा रोबोटहरू नियन्त्रणबाहिर भइदिन्छन् । वास्तविक जीवनमा पनि यस्तो हुन सक्दैन भन्न सकिँदैन । चलचित्रमा प्रत्येक रोबोटको शरीरमा स्विच हुन्छ । त्यो थिच्यो, रोबोट निस्क्रिय । साँच्चैको रोबोटमा स्विच हुन्छ कि हुँदैन, थाहा छैन । काठमाडौँमा आयोजित कार्यक्रमका सञ्चालक रेनड मेयरले सोफियालाई यही प्रश्न गरे । सोफिया अलमलिइनन् । उल्टै जवाफ फर्काइन्, “तपाईंको शरीरमा कुनै स्विच छ कि छैन ? तपाईं पागल हुनुभयो भनेचाहिँ के गर्ने ?”

मानिसका अनुहारका भाव र आवाजको प्रकृति विचार गरेर सोफियाको तन्त्र सञ्जाललाई एक ‘डिसिजन ट्री’ निर्माण गर्न र भविष्यमा परिस्थिति अनुरूपको प्रतिक्रिया दिन सोफियालाई प्रशिक्षण दिइएको छ । यसकारण भिन्न अर्थ भएका केही प्रश्नको जवाफ एउटै आउने समस्या भने सोफियामा देखिन्छ ।

विज्ञानको यस्तो अभूतपूर्व उपलब्धिपछि धेरैका मनमा ‘के अब अरू अमानवले पनि नागरिकसरहको दर्जा पाउँदै जालान् त ?’ भन्ने प्रश्न उब्जिनु स्वाभाविक हो । साउदी अरेबियाको यो प्रयास स्वागतयोग्य पक्कै छ । तर, भविष्यमा यस्ता रोबोटले प्रभुत्व जमाउँदै गए त्यसबाट आइपर्ने संकटसँग जुध्न के गर्ने भन्ने कुरामा पनि वैज्ञानिकहरू सचेत हुनुपर्ने देखिन्छ । रोबोटिक्स क्षेत्र यस्तै प्रगतिशील हुँदै गए मानिसलाई आफ्नो साख जोगाउन धौ–धौ पर्ने स्थिति आउन सक्छ । बेलायती समाचार संस्था ‘एक्सप्रेस’का अनुसार जापान र भारतले समन्वय गरी चीन र उत्तर कोरियामा भइरहेका पारमाणविक हतियार तथा क्षेप्यास्त्रलाई नियन्त्रण गर्न र आफू त्यसबाट जोगिन अत्याधुनिक रोबोटहरूलाई सैन्य शक्तिका रूपमा परिचालन गर्ने सहमतिमा हस्ताक्षर गरेका छन् । शक्ति राष्ट्रहरूको यस्तो अस्वस्थ प्रतिस्पर्धा हेर्दा तेस्रो विश्वयुद्ध मानव–मानवका बीचमा नभई रोबोट–रोबोटका बीच हुने अनुमान गर्न पनि गाह्रो नपर्ला ।

१० जना दक्ष व्यक्तिलाई रोजगार दिनुभन्दा पूर्ण प्रशिक्षित रोबोटलाई काम लगाउँदा कुन कम्पनीलाई फाइदा नहोला र ? अझ भोक, थकाइ, अल्छी केही नलाग्ने कारिन्दा कसको रोजाइमा नपर्ला ? डेली मेलले गरेको एक अनुसन्धान अनुसार आउने १२ वर्षभित्र संसारभरिका करिब ८० करोड जनशक्तिलाई रोबोटले प्रतिस्थापित गर्नेछन् । रोजगार गुम्नु राम्रो संकेत हँुदै होइन । अझ यत्तिका मान्छेको जीविकोपार्जनको स्रोत एकैचोटि खोसिँदा संसारमा त्यसले निम्त्याउने संकटको पूर्वानुमान पनि सजिलै गर्न सकिन्छ ।

रोबोटिक्स आफैँ उत्पादन भएको वस्तु होइन । यो केबल मानिसको दिमागको उपज हो । केही वर्षअगाडिसम्म यन्त्रवत् काम मात्र गर्न सक्षम रोबोटहरूमा भावना भर्न सक्नु र तिनलाई मान्छेभन्दा बढी बुद्धिमान् बनाउनु सजिलो पक्कै होइन । अझ केही समय यस्तै चल्दै गएमा मानिसको अस्तित्व नै धरापमा पर्न सक्ने तथ्यबाट पर भाग्न सकिँदैन । इलन मस्क र स्टेफेन हकिङजस्ता वैज्ञानिकले पनि यसबारे आफ्ना धारणा राखेका छन् । मानिसजस्तै रोबोटमा प्रजनन क्षमता सम्भव हुने भइदिएको भए तिनीहरूले मानव जातिको अस्तित्व नै सखाप पार्न सक्ने उनीहरूको संयुक्त विचार छ । प्रविधिमा लामो फड्को मारिसकेका विश्वका कैयौँ देश यो समस्या निराकरणबारे गहन अध्ययन गरिरहेका छन् । वैज्ञानिकले विज्ञान प्रविधिमा विकासका काम गर्दै जालान् कि मानव सभ्यता जोगाउन यिनका बारेमा अध्ययन नै बन्द गरिदेलान् भन्ने कुरा जनमानसमा सदैव चासोको विषय बनिरहनेछ ।

नेपालमा रोबोटिक्सका क्षेत्रमा उल्लेखनीय कार्य भएका छैनन् भन्दा पनि फरक नपर्ला । केही संस्थाहरूले यससम्बन्धी कार्यक्रम तथा कार्यशाला आयोजना गरिरहेका पनि छन् । तर, ती सबैजसो पुरानै प्रविधिमा आधारित छन् । बेलाबेलामा हुने यस्ता केही प्रदर्शनी तथा प्रतियोगितामा केही सरल रोबोट बनाएर तिनलाई कुदाउने, जुधाउने वा नचाउने गरेको देखिन्छ । प्रविधिमा केही नवीनता नल्याईकन हरेक वर्ष पुरानै शैलीलाई निरन्तरता दिनु उराठलाग्दो देखिन्छ । कमजोर प्राविधिक निकाय रहुन्जेल र कम्प्युटर प्रविधिका नाममा वर्षौंअगाडि नै लुप्त भइसकेका विषयलाई कलेजहरूमा अध्यापन गराउने बेलासम्म हामीले उत्पादन गर्ने भनेको बढीमा बच्चाले खेल्ने गाडीसम्म हो, सोफियाजस्ता अत्याधुनिक रोबोट होइन । केही बैंक, रेस्टुराँहरूले रोबोट राखेर तिनलाई परिचालन नगरेका होइनन् । तर, ती सबै लाखौँ रुपियाँ खर्चेर बाहिरबाट झिकाइएका हुन् । रोबोटिक्सका क्षेत्रमा काम गर्न सक्ने दक्ष नेपाली युवाको पहिलो रोजाइमा नेपाल परेको पाइँदैन । विज्ञान तथा प्रविधिका क्षेत्रमा विकसित मुलुकमा त्यही ज्ञान र सीप खर्च गर्दा आउने प्रतिफल कैयौँ गुणा धेरै हुने हुँदा आफ्नो दक्षता खेर जान नदिन विदेशको मुख ताक्ने गरेको पाइन्छ । त्यसैले हाम्रो देशमा विज्ञान र प्रविधिको क्षेत्र विकसित हुन अझ धेरै वर्ष कुर्नुपर्ला ।

प्रकाशित: चैत्र ११, २०७४

ट्याग: समसामयिक