राम्रो होइन, रमाइलो

- गोकर्ण गौतम

जात्रा हेरेपछि लागेको थियो, प्रदीप भट्टराई सिर्जनशील निर्देशक हुन् । असनका गल्लीमा रुमल्लिइरहेका तीन सामान्य पात्रका कथालाई रोचक ढंगले पर्दामा पस्किए, त्यो पनि परम्परागत सूत्रभन्दा माथि उठेर । यही आशा उनको दोस्रो फिल्म शत्रु गतेमा राखियो भने निराश हुनुपर्छ । यसपटक उनी पूरापूर मसला र स्टारडमको भारले थिचिएका छन् । कथा त घिसिपिटी छ नै, प्रस्तुति पनि बासी छ, नवीनताको सुगन्ध छैन । यति हुँदाहुँदै शत्रु गतेको साख बचेको छ, कमेडी र कलाकारले गर्दा । कम्तीमा पट्यारलाग्दो छैन । मूल कथालाई मजबुत बनाउने भन्दा हास्य पैदा गर्ने दृश्य र संवादलाई काखी च्यापिएको छ । महजोडीदेखि दीपकराज गिरी हुँदै पल शाहसम्मका कलाकारको भीड त छँदैछ । 

एउटै कोलोनीमा बस्ने सुरज (पल शाह) र सन्ध्या (आँचल शर्मा) एकअर्कालाई औधि माया गर्छन् । तर, सुरजका बुबा गोपाल (हरिवंश आचार्य) र सन्ध्याका बुबा रघुवंश (रमेशरञ्जन झा)बीच सम्बन्ध सुमधुर छैन । बल्लतल्ल दुवै परिवार बिहेका लागि राजी हुन्छन् । तर, सम्बन्धमा भाँजो हाल्न कहिले राहुल (दीपकराज गिरी) आइपुग्छन्, त कहिले जोगी । पारिवारिक दूरी बढ्दै जान्छ । फिल्म पूरापूर उनीहरूकै सम्बन्धमा आउने उतार–चढावमा केन्द्रित छ । त्योभन्दा माथि केही छैन । 

कसलाई पत्तो नहोला, यस्ता प्लटमा दर्जनौँ होइन, सयौँ फिल्म बनेका छन् । त्यसैले मुख्य कथा कुनै कोणबाट ताजा लाग्दैन ‘घुमीफिरी रुम्जाटार’ भनेजस्तो मात्र । तर, फिल्ममा प्रेमजोडीसँग जोडिएका अन्य पात्र र सन्दर्भले भने राहत दिन्छन् । जस्तो सुरज र सन्ध्याका बाबुहरूको चारित्रीकरण, कोलोनीको माहोल, राहुलको रवैया, डन र पुलिसको प्रेम आदि । शत्रु गतेलाई किताब मान्ने हो भने निर्देशक किताबको कन्टेन्ट वजनदार बनाउन होइन, आवरणको रंगरोगन र साजसज्जामा अल्झिएका छन् । छुटाउनै नहुने अर्को पक्ष छ, शत्रु गतेको पटकथा निर्देशक भट्टराई र दीपकराज मिलेर लेखेका हुन् । कथाको विकासक्रम र सिक्वेन्स नियाल्दा दीपकराज पूरापूर हाबी छन् । सोझै भन्दा, छक्का–पञ्जाको प्रभावबाट मुक्त छैन । 

शत्रु गतेमा दर्शकलाई ‘इन्गेज’ गरिरहन संवादको अहम् भूमिका छ । तर, अनुप्रास मिलेका छरिता संवादले फेरि पनि छक्का–पञ्जाकै सम्झना दिलाउँछ । कतिपय दृश्य संवादमार्फत हँसाउनकै लागि थपिएको/लम्बाइएको भान हुन्छ । पात्र–पात्रको समीकरण, कथामा पात्रको प्रवेशलगायतका पक्ष पनि उही पाराको छ । निर्देशक भट्टराईसँग सायदै कसैले यस्तो अपेक्षा राखेको हुँदो हो । भलै कलाकारको समूहलाई सही व्यवस्थापनको जस पनि उनलाई नै जान्छ । हँसाउने बहानामा द्विअर्थी र सस्ता संवादलाई प्रश्रय दिइएको छैन । हाँस्दाहाँस्दै मध्यान्तर हुन्छ । तर, मध्यान्तरपछि कमेडीकै लय बिथोलिएको छ । यहाँ आइपुग्दा निर्देशकमा विद्यमान अलमल छर्लंगै हुन्छ । ट्विस्ट भन्नु खास केही छैन । क्लाइमेक्स आपैँmमा अतिरञ्जित भए पनि कल्पनाभन्दा बाहिरको दृश्य देख्न पाइन्छ । कम्तीमा यसले विरक्तिलाई बिर्साइदिन्छ । शत्रु गते नामले जति कौतूहल जगाएको थियो, कारण त्यतिविघ्न रोचक नलाग्न सक्छ । 

फिल्ममा हरिवंशको हुलिया, बोल्ने शैली र हाउभाउले जोकोहीको मन जित्छ । चरित्रको ‘ट्रयाक’भन्दा थोरै पनि बाहिर गएका छैनन् उनी । मदनकृष्णको भूमिका आवश्यक लाग्दैन । रिसाइरहने रमेशरञ्जन र मायालु आमा दीपाश्रीलाई बिर्सन सकिन्न । दीपकराजले आफूलाई खास ‘हिरो’का रूपमा उभ्याएका छन् । उनको चरित्र निर्माणमा युट्युबको प्रयोग हाम्रो सन्दर्भमा नवीन लाग्छ । चरित्र बलियो नभए पनि आँचलको अभिनय प्रशंसनीय छ । प्रियंकाको न चरित्र विश्वसनीय छ, न त अभिनय । उनी किन यस्तो काममा रमाइरहेकी छन् ? भेउ पाइन्न । पलको उपस्थिति साँच्चै खल्लोलाग्दो छ । उनी फिल्म होइन, म्युजिक भिडियोका लागि मात्र उपयुक्त छन् भन्ने फेरि प्रमाणित भएको छ । सुजील कर्माचार्यको ब्याकग्राउन्ड स्कोर ठाँउ–ठाउँमा ककर्स सुनिन्छ । दुई गीत ‘रुपै मोहनी...’ ‘पिरतीको बर्को...’ मिठासपूर्ण छन् । तर, असान्दर्भिक ठाउँमा राखिएको छ । त्यसैले चामलमा ढुंगा भेटिएजस्तो लाग्छ । प्रकाश संयोजन, लोकसेन, खिचाइ, कलरिङजस्ता प्राविधिक पक्ष आकर्षक छन् । निर्माताले कन्जुस्याइँ गरेका छैनन् । जात्राबाट प्रदीप भट्टराईले कमाएको ख्याति शत्रु गतेले जोगाउँदैन । निर्देशकका रूपमा यो फिल्मप्रति गर्व गर्नु आत्मरति मात्र हो । 

जात्रा रमाइलो थियो र राम्रो पनि । शत्रु गते रमाइलो छ, राम्रो छैन । भनुँ न, छक्का–पञ्जा सिरिजजस्तो ।

प्रकाशित: चैत्र ९, २०७४

ट्याग: मनोरञ्जन