[तीन किताब] वैचारिक घुमघाम

- रमेश केसी

विचारको भूगोलमा घुम्ने रहरले म विविध विषयका किताब पढ्ने गर्छु । वास्तवमा मानव जातिले चेतना प्राप्त गरेदेखि यही विचारको भूगोलमा आफ्नो विकास गरिरहेको छ । प्राचीनकालमा गुफामा रेखा कोरेर प्रयोग भएको मानव मस्तिष्क अहिले स्टिफन हकिन्सजस्ता ब्रह्मान्डशास्त्रीको उत्कृष्ट मस्तिष्कसम्म आइपुगेको छ । विचारको इतिहास भनेको मस्तिष्कको निरन्तर विकासको इतिहास हो । 

अहिले मैले भर्खरै जापानी वैज्ञानिक न्युयोर्कसिटी विश्वविद्यालयका सैद्धान्तिक भौतिकशास्त्रका प्राध्यापक मिचियो काकुको द फ्युचर अफ द माइन्ड पुस्तक पढिसिध्याएँ । एक पाउ मासुको यो मस्तिष्कको व्यापकता र क्षमताका बारेमा स्नायु वैज्ञानिक र कृत्रिम बुद्धिको दृष्टिबाट लेखिएको यो पुस्तक सबैका लागि अत्यन्त उपयोगी छ । काकु भन्छन्, “अबको समय मस्तिष्क मेसिनले हैकम गर्ने समय हो ।” 

मस्तिष्क शताब्दीयौँदेखि बन्द विषय थियो । अब यो खुला भएको छ । र, यसले मानव समाजलाई असाधारण रूपले रुपान्तरण गरिदिन्छ । मानव चेतनाको उत्पत्तिको विषयले अहिलेसम्म दार्शनिक र वैज्ञानिकलाई रनभुल्लमा पारेको छ । अब विज्ञानले उत्पत्तिको यो समस्यालाई समाधान गर्नेछ । अब हामी मान्छेका विचार पढ्न सक्छौँ भने भिडियो टेपमा उतार्न पनि सक्छौँ । टेलिप्याथी सम्भव छ । एमआरआई मेसिनले मस्तिष्कको थ्रीडी इमेज उतार्न सक्छ, जसबाट भाषा, स्मृति र संज्ञानका रहस्यको समाधान हुन्छ । बीसौँ शताब्दी सिग्मन्ड फ्रायडको चेतन, अवचेतन र अचेतन मनको शताब्दी थियो । अब मस्तिष्क रसायन न्युरोन्स, न्युरोट्रान्समिटर, डोपामाइन र सोरोटोनिनको जमाना आएको छ । मानवजस्तै रोबोट हाम्रो साथी हुनेछ । उनी भन्छन्, “सुदूर भविष्यमा मानव शरीरबाट चेतनालाई निकालेर हामी त्यसलाई अन्तरिक्षको भ्रमणमा पठाउन सक्छौँ र फेरि शरीरमा फर्काउन सक्छौँ ।’ 

वैज्ञानिक मिचियो काकुका भविष्यवाणी अत्यासलाग्दा छन् । भविष्यमा आत्माहरूको पुस्तकालय हुनेछ । मस्तिष्क सम्पूर्ण रूपमा न्युरोन्सहरूको खेलमा सीमित हुनेछ । जसले हाम्रा धारणा मृत्यु, जीवन, सपना, स्वर्ग, नर्क, कला र यथार्थसम्बन्धी पक्ष जति छन् ती सबैलाई आमूल रूपमा परिवर्तन गर्नेछ । यो अत्यन्त समसामयिक किताब हो । 

हालै पढेको अर्को किताब हो, विश्वप्रसिद्ध भाषाशास्त्री एवं वामविचारक नोम चम्स्कीको द इसन्ससियल चम्स्की । एन्थोनी आर्नोभीले सम्पादन गरेको यो मोटो पुस्तकमा चम्स्कीका भाषा विज्ञानदेखि राजनीतिक र विदेश नीतिसम्बन्धी विभिन्न प्रतिनिधिको आलेख संग्रहित छ । म्यासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजीमा भाषाविज्ञान र दर्शनशास्त्रका प्राध्यापक चम्स्की अरस्तु, माक्र्स र बाइबलजत्तिकै आधिकारिक मनिन्छन् । सार्वभौम व्याकरणका आविष्कार चम्स्की भाषाका लागि मानिस जैविक रूपमा योजित छ भन्छन् । मस्तिष्क संज्ञान, जीवविज्ञान र भाषाविज्ञानका सम्बन्ध अति सूक्ष्म रूपमा केलाउँछन् । २५ निबन्धहरूको यो संकलनमा चम्स्की अमेरिकी शक्तिका कटु आलोचक हुन् । अमेरिकाको साम्राज्यवादी हैकमका विरुद्ध ६० वर्षदेखि कलम चलाउँदै आएका उनी भियतनाम युद्धमा अमेरिकी बर्बरता र मूर्खताको धज्जी उडाउँछन् । इराक युद्धलगायत अनेकौँ अमेरिकी सैनिक हस्तक्षेपको साम्राज्यवादी अर्थ–राजनीतिको विश्लेषण गर्छन् । अमेरिकी विदेशनीति निर्माणमा संलग्न संस्थापन पक्षका बुद्धिजीवीहरूको पाखण्डपूर्ण चिन्तनको पर्दाफास गर्छन् । अमेरिकी विदेशनीतिको बोली र व्यवहारबीचको विरोधाभास देखाउन उनी सफल छन् । भनिन्छ, बुद्धिजीवी दुईथरिका हुन्छन् । एउटा बुद्धिजीवी सत्तापक्षको हुन्छ भने अर्को जनताको । उनी जनताका बुद्धिजीवी हुन् । 

यसैक्रममा गणितमा विद्यावारिधि गरेकी प्राध्यापक अल्का भारवाहको दी सेक्रेट वल्र्ड अफ विपश्यना एन्ड म्याथम्याटीक्स भन्ने रोचक पुस्तक पढिरहेको छु । गौतम बुद्धले सिकाउनुभएको विपश्यना ध्यान आफ्नो आन्तरिक स्वभाव र स्वलाई चिनाउने ध्यानविधि हो । यही विपश्यनाको अनन्त सत्यलाई गणितसँग तुलना गरेर भारवाहले तुलनात्मक अध्ययन गरेकी छन् । दुवै विषय समानान्तर रूपमा यात्रा गर्ने प्रक्रिया हुन् भनेकी छन्, जसमा क्रिया–प्रतिक्रिया, अवलोकन र प्रयोग, सीमिततादेखि अनन्ततासम्मको सम्बन्ध केलाएकी छन् । विपश्यना उत्कृष्ट ध्यानस्थ संसार हो, जहाँ गणितका नियम र अनन्तताहरू समावेश भएको देखाउनु उनको ध्येय हो । दुवै सत्यको पारस्परिक सम्बन्धलाई केलाउँदै उनी अध्यात्मको वैज्ञानिक स्वरूप र गणितको अध्यात्म स्वरूपलाई पेस गर्छिन् । यो पुस्तकको भूमिका भारतका राजनेता तथा दार्शनिक करण सिंहले सुन्दर ढंगले लेखेका छन् । यो मलाई नौलो र रोचक पुस्तक लाग्यो । यसरी तीन पुस्तकमार्फत विचारको भूगोलमा म भर्खरै घुमिसकेको छु । 

 

प्रकाशित: चैत्र ९, २०७४

ट्याग: साहित्य