‘सेलिब्रिटी र मनोरञ्जन जोडेर क्रिकेट’

- मनबहादुर बस्नेत

कुनै बेला सुवास शाही क्रिकेट ब्याट समातेर बल हिर्काउन मैदानमा उत्रिन्थे । तर, अहिले उनी खेलाडीलाई मैदानमा उतार्न व्यस्त छन् । क्रिकेटलाई उचाइमा पुर्‍याउन अहोरात्र खटिरहेका छन् उनी । त्यसैले धनगढी प्रिमियर लिग (डीपीएल) मुलुककै सबभन्दा ठूलो पुरस्कार राशिको खेल बनेको छ भने खेलाडी ‘अक्सन’ गर्ने चलन यहीँबाट सुरु भयो । 

हालै मात्र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले डीपीएललाई मान्यता दिएको छ । यसै सन्दर्भमा शाहीसँग गरिएको कुराकानी : 

 

आईसीसीको मान्यता पाउनुले के अर्थ दिन्छ ? 

पहिलो कुरा त कुनै देशका अन्तर्राष्ट्रिय खेलाडीले डीपीएलमा आएर खेल्न सक्ने ढोका उघ्रेको छ । दोस्रो, नेपालको राजधानीबाहिरको क्षेत्रबाट प्रतिनिधित्व गर्ने क्रिकेट लिग खेलले अन्तर्राष्ट्रिय उचाइ प्राप्त गर्‍यो । हामीलाई पहिचान दिलायो । 

यसले नेपालको क्रिकेट विकासमा कसरी योगदान गर्न सक्छ ? 

सुदूरपश्चिम एकेडेमी (एसपीए) कपदेखि सुरु गरेर हामीले अहिले डीपीएलजस्तो स्तरीय खेल खेलाइरहेका छौँ । नयाँ खेलाडीलाई डीपीएलसम्म पुग्नुपर्छ भन्ने उत्साह दिन्छ । पक्कै पनि यो कुराले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुग्न हाम्रा खेलाडीलाई सहज बनाउनेछ । एकेडेमीले त यति ठूलो काम गर्न सक्छ भने राज्यको निकाय नै लाग्दा गर्न नसक्ने कुरा केही छैन भन्ने सन्देश दिएको छ । यो क्रिकेटको विकासमा ठूलो आत्मबल हो । 

आईसीसीको मान्यता पाउने आधार के–के हुन् ? 

प्रतियोगिताको प्रकृति, यससँग भएका प्राविधिक समितिहरू, नियामक समिति, कुन–कुन देशका खेलाडी आउन सक्छन् भन्ने हेरेरै मान्यता दिने–नदिने निर्णय हुन्छ । 

नेपालमा अब कुन–कुन देशबाट खेलाडी आउँछन् ? 

एसोसिएट्स मान्यता प्राप्त राष्ट्र र छिमेकी मुलुक भारतका खेलाडी आउँछन् । केही क्लबहरूले अनुबन्धनसमेत गरेका छन् । अबको एक सातामा यो कुरा सार्वजनिक होला, सायद । 

आईसीसीबाट मान्यता पाएको खबर सुनेपछि कस्तो लाग्यो ? 

एकदमै खुसी लाग्यो । हामीले गरेको मिहिनेत फलदायी भएको महसुस भयो । चाह्यो भने गर्न नसकिने कुरा केही पनि रहेनछ जस्तो लागेको छ । 

डीपीएल सुरु गर्ने विचार कसरी जन्मिएको थियो ? 

क्रिकेट थुप्रैले मन पराउँथे, खेल्थे । तर, व्यवस्थित सुरुआत कसैले गरेको थिएन । त्यसपछि हामी केही साथीले सल्लाह गरेर एसपीए कप प्रतियोगिता सुरु गर्‍यौँ, आठ वर्षअघि । सबैको सहयोग पाएपछि धनगढी क्रिकेट लिग (डीसीएल) पनि थप्यौँ । एसपीए कप र डीसीएल प्रतियोगिता एकदमै राम्रो भएपछि दुवैलाई मर्ज गरेर माथिल्लो स्तरको खेल खेलाउन बल दियो । र, धनगढी प्रिमियर लिग सुरु गर्‍यौँ । नेपालमै पहिलोपटक खेलाडी ‘अक्सन’मा किनबेच गर्न सफल भयौँ ।

डीपीएलको खास विशेषता के हो ? 

हामीले प्रत्येक संस्करण फरक र नयाँ बनाउन सक्दो प्रयत्न गर्छौं । गर्दै आएका पनि छौँ । प्रविधिका हिसाबले पनि हामीले अबको संस्करणमा केही थान एलईडी स्क्रिनमा खेल देखाउने, थर्ड रेफ्री भित्र्याउनेछौँ । 

अबको केही वर्षपछिको डीपीएल कस्तो हुन्छ भन्ने चित्र चल्मलाउँछ ? 

अन्तर्राष्ट्रिय रंगशालाभित्र बसेर खेल हेरेको ‘फिल’ दर्शकलाई हुनेछ । क्रिकेटलाई मनोरञ्जन र सेलिब्रिटीसँग जोडेर अगाडि लैजाने सोच छ । 

कसरी जोड्न सकिन्छ ? 

गायक–गायिका, कलाकार, फिल्मी सेलिब्रिटीलाई प्रतियोगिता स्थलमै ल्याएर विभिन्न मनोरञ्जनका कार्यक्रम गर्ने । क्रिकेट लामो समय लगाएर खेलिने भएकाले दर्शकलाई ‘बोर’ नहोस् भनेर यस्ता नयाँ–नयाँ स्वाद दिनुपर्छ ।  

क्रिकेटबारे तपाईंले सबैभन्दा पहिले कहिले थाहा पाउनुभएको थियो, याद छ ? 

सानैदेखि । धनगढीको हसनपुर क्षेत्रमा ठूला दाइहरू क्रिकेट खेल्थे । टोल–टोलबीच प्रतिस्पर्धा चल्थ्यो । हामी फुच्चाफुच्ची हुटिङ गथ्र्यौं । क्रिकेटको यस्तो वातावरणले मलाई तान्यो । कलेज पढ्दा क्षेत्रीय खेलाडी बनेँ । पारस खड्का, विनोद दाससँग पनि खेलियो । ०६६ मा म पश्चिमाञ्चलको बेस्ट ब्याटस्म्यान बनेँ । 

खेलाडीबाट खेल प्रतियोगिता गराउने कार्यमा कसरी मोडिनुभयो ? 

काठमाडौँबाट पढाइ सकेर धनगढी फर्कने क्रममा मैले आफ्नो बाल्यकाल सम्झिएँ । क्रिकेट खेल्थ्यौँ । रमाइलो गथ्र्याँै, हामी । अहिले पनि ठ्याक्कै त्यस्तै रहेछ । खाली समय कटाउन र रमाइलोका लागि मात्रै खेलिरहेका थिए, क्रिकेट । कोही जिन्स पाइन्ट लगाएर ब्याट समाइरहेका, कोही बलिङ गरिरहेका । यस्तो दृश्यले मलाई अहिले पनि क्रिकेट गम्भीर रूपमा खेलिएको छैन भन्ने लाग्यो । राम्रा प्रतियोगिताको अभावले यस्तो भएको महसुस भएसँगै व्यवस्थित पार्नतिर लागियो । 

प्रकाशित: चैत्र ८, २०७४

ट्याग: अचानक