खलासीदेखि मन्त्रीसम्म

- रमण घिमिरे

उनले पहिलो कविता महाकवि देवकोटाको निधनमाथि लेखेका थिए, ०१६ मा :

जानुभयो देवकोटा कवि

नेपालीलाई टुहुरो पारेर ।

एउटा अनकन्टार गाउँबाट अध्ययनको तृष्णाले छटपटिएर एकैचोटि राजधानीको झिलिमिलीमा छिर्दा अलिक दिन त उनको मन अलमलमा पर्‍यो । खल्तीमा सुको दाम छैन । न बस्ने ठेगान, न त खाने जोहो । हेर्दाहेर्दै दसैँ आयो । सबै आ–आफ्ना घरतिर लागे । अब काठमाडौँ झन्डै सुनसानजस्तो हुन पुग्यो । उनीसँग त घर फर्किने खर्च पनि थिएन । तर, मन भने थियो, त्यो पनि कवि मन । केहीअघि महाकविले महाप्रस्थान गरेका थिए । यस्ता महान् हस्तीको निधनको शोक त आफ्नो ठाउँमा छँदै थियो, त्यसमा आफ्नै पापी पेटको सन्तापले अझ विचलित गरायो । कमाइ खाने कुनै इलम थिएन । तर, मनभरि थिए गामबेँसीमा छङछङाउने छहराको लय । अनि, उनले महाकविलाई सम्झेर माथिका पंक्तिमा अरू पंक्ति थप्दै दुई पृष्ठ लामो सानोतिनो कविता कथे । गामबेँसीमा गीत त उनले कति गाएका हुन् कति † कविता कथेको चाहिँ यो नै पहिलो थियो ।

अब यो कविता भयो कि अरू नै के ? यसको जाँच गराउनु अनिवार्य थियो । यसको परीक्षक उतै आफ्नै क्षेत्रका कवि–शिरोमणि लेखनाथ पौड्याललाई छान्ने निर्णय गरे । र, एक बिहान कवि–शिरोमणिको दैलो खोज्दै लैनचौर पुगे । के भन्ने हुन् कवि–शिरोमणिले ? कतै ‘यस्तो पनि कविता हुन्छ ?’ भनेर च्यातच्यूत पारिदिने हुन् कि ? मनमा नानाभाँती तरंगहरू छड्किरहेका थिए ।

कविता नपढी लेखनाथले पहिला उनैलाई सुनाउन भने । उनले कविता वाचन गरेर होइन, आफूले रोदीघरतिर गाउँदाको भाका हालेरै सुनाइदिए । शिरोमणिले टेप रेकर्डरलाई झैँ उनलाई पनि दुई–तीनचोटि ‘रिवाइन्ड’ ‘फरवार्ड’ गर्न लगाएर सुने । अनि, आफ्ना धवल दाह्री मुसार्दै हर्षका साथ भने, ‘तिम्रो कविता सुस्वादु छ, तिमी कविता लेख !’ यसरी देवकोटामाथि लेखिएको र पहिलो उनको कविता पास भयो । यसले उनलाई प्रेरणा र उत्साहको शिवपुरीमा उभ्यायो । अनि, यसो विचार गरे, खल्तीमा सुको दाम पनि छैन । उनले भाका हालेर सुनाउँदा शिरोमणि मक्ख परे भने यसलाई सानो पुस्तिकाजस्तो छपाएर गाउँदै बेच्दा कसो जनता पनि मख्ख नपर्लान् ? यो जुक्ति उनलाई फुर्‍यो ।

तर, अब छपाउने कसरी ? भनिन्छ नि, जहाँ इच्छा त्यहाँ उपाय । नभन्दै उपाय पनि निस्कियो । उनीसँगै जुद्धोदय हाइस्कुलको रात्रिकक्षामा पढ्ने एक जना सहपाठीका बाबुले एउटा प्रेस चलाउँथे, त्यतै क्षेत्रपाटीतिर । उनी ती साथीको सिफारिससाथ तिनीकहाँ पुगे र यही कविता बेचेर पछि छपाइबापत लाग्ने रकम चुक्ता गर्ने सर्तमा त्यो कविता छापिदिन आग्रह गरे । साथीका बाबु पनि भलाद्मी र सहयोगी निस्किए, ठिटोको जोस देखेर प्रभावित भए र कविता छापिदिए एकपाने कागजको दुईतिर । अनि, किशोर कवि त्यो एकपाने कविता पाठ गर्दै र बेच्दै हिँड्न थाले । नौरथाभरि शोभा भगवतीमा भक्तालुहरूको भीड लाग्थ्यो । बिहान–बिहान उनी त्यही मन्दिरको एक कुनामा उभिएर कविता गाउँथे, जानुभयो देवकोटा कवि...।

कविताको भाव र उनको भाकाले त्यसबेला भक्तालुहरूलाई मोहित पार्‍यो । अनि, उनी त्यो एकपन्ने कविता बेच्दै खल्तीमा आना–सुका दाम हाल्दै गाइरहे । बिहान शोभा भगवती अनि दिउँसो रानीपोखरीको डिलमा गाउँदागाउँदै उनको महाकवि–शोक कविताका छापेजति सबै पन्ना बिक्री भए । यसबाट प्रेसको शुल्क तिरेर त्यसबेलाको झन्डै ठेढ सय रुपियाँजति उनको गोजीमा पर्‍यो । र, गाउँमा भएकी एक्ली आमाको वेदनामा आँसु बगाउँदै भए पनि त्यो दसैँ दु:खजिलोमा बिताए । यी कवि–गायक थिए, क्षेत्रप्रताप अधिकारी ।

विसं ०१४ मा काठमाडौँ पसेका उनले कहिले घरेलु शिल्पकलामा गएर माटाका भाँडा बनाउने कुमालेको तालिम लिए, कहिले हेटौँडामा गएर स्टोर किपरको जिम्मेवारी सम्हाले । उनले शिक्षाको भोक मेट्न अनेकौँ ठाउँ चहारे र कैयौँ प्रतिकूलतासित पौँठेजोरी खेले । तर, जीवनमा कुनै पनि क्षण हतास भएनन् ।

कवि क्षेत्रप्रतापसँग भेट हुँदा फुर्सदका बेला मुड चल्दा उनी आफ्नो जिन्दगीको विगतलाई पल्टाउने गर्थे । एकपटक स्वरसम्राट नारायणगोपालसँगको पहिलो भेटको प्रसंग उठ्यो । नारायणगोपालले गाएका उनका दुई गीत लोकप्रियताको आकाशमा गुञ्जिसकेको पनि लामो कालखण्ड गुज्रिसकेको थियो ।

‘म त लालीगुराँस भएछु’ र ‘मलाई छाडी मेरो छायाँ कतै झरेछ’पछि क्षेत्रप्रताप र नारायणगोपाल आधुनिक गीत–संगीतको नौलो बान्की भएर चिनिन थालेका थिए । हुन त यी दुवै पहिल्यै आफ्ना क्षेत्रमा अब्बल मानिएकै थिए । तर, यी दुई गीतले दुवैलाई एउटै लहरमा राखेर अर्को परिचय दिन पुग्यो ।

कविताको भाव र उनको भाकाले त्यसबेला भक्तालुहरुलाई मोहित पार्‍यो । अनि, उनी त्यो एकपन्ने कविता बेच्दै खल्तीमा आना–सुका दाम हाल्दै गाइरहे ।

 

त्यस दिन उनी मुडमा थिए । हुन त उनी सधैँ मुडमै हुन्थे । रोगले च्यापिरहँदा पनि मानसिक रूपमा आफूलाई खुसी नै देखाउँथे । ठूलादेखि सानासम्मलाई एकनास मान–सम्मान र स्नेह सिञ्चन गर्थे । त्यसैले व्यवहारमा उनी सधैँ साधारण मानिस लाग्थे । उनको छेउ पर्न कुनै औपचारिक अदब र अनुशासन पालना गरिरहनु पर्दैनथ्यो । त्यस दिन उनी घरमा एक्लै थिए । सायद कलेजबाट फर्केर भर्खर भोजननिवृत्त भई बसेका थिए । म पुगेँ । गीतका कुरा चले । गीतसँगै नारायणगोपालका कुरा पनि चले । “मैले नारायणगोपाललाई पहिलोपल्ट हेटौँडामा भेटेको थिएँ,” उनले यस अध्यायको थालनी गरे । मैले अनुमान गरेँ, नारायणगोपालको हेटौँडामा पनि जग्गाजमिन थियो र त्यसै सिलसिलामा नारायणगोपाल त्यहाँ जाँदा भेट भएको हुँदो हो † तर, होइन रहेछ । कुरा रहेछ मेकानिकको । क्षेत्रप्रताप जागिरका लागि एउटा बाटो बनाउने कम्पनीको स्टोर किपर भएर हेटौँडा पुगेको केही समयपछि नारायणगोपाल पनि त्यही कम्पनीमा मेकानिकको तालिम लिन पुगेका रहेछन् ।

नारायणगोपाल हातमा मोबिल कालै हुने गरी दिनभरि मिस्त्री काम सिक्थे । कोठामा फर्किंदा हात, लगाएको डांग्रेसमेत कालाम्य भएको हुन्थ्यो । तर, उनी त्यही वेशभूषा र अवस्थामा हार्मोनियम तानेर राग अलाप्न थालिहाल्थे । क्षेत्रप्रताप पनि के कम ? तनहुँमा जन्मेर कैयौँ रोदीघरमा गीत गाएर रात छर्लंग पारेका लोकगायक–कवि । अनि, नारायणगोपालले हार्मोनियम तान्नासाथ उनी पनि काखमा मादल राखेर घिन्ताङ–घिन्ताङ पार्न थालिहाल्थे । उनीहरूसँगै बस्ने एक भारतीय थिए, उनी तबला मजाले पिट्थे । अनि, त उनीहरूको ‘महफिल’ नजम्ने कुरै थिएन । यसरी नारायणगोपाल र उनी दिनभरिको मानसिक–शारीरिक थकान एक झमटमा मेट्थे । तर, नारायणगोपालसँगको उनको यो साथ लामो हुन सकेन । किन हो, नारायणगोपाल बीचैमा तालिम छाडेर काठमाडौँ फर्के र अलि पछि भारतको बडोदामा संगीत अध्ययन गर्न गए ।

जहाँ गए पनि क्षेत्रप्रतापलाई शिक्षाको तिर्सनाले पछ्याउन छाडेन । हेटौँडामा हुँदा पनि केही सहकर्मीहरूसँगको सहप्रयासमा भुटनदेवी हाइस्कुलमा रात्रिकक्षा पनि सञ्चालन गराएरै ८ देखि १० कक्षासम्म पढे । र, काठमाडौँबाट एसएलसी पास गरेको कुरा सुनाउँथे उनी । त्यसबेला हेटौँडावरिपरि परीक्षा केन्द्र नै रहेनछन् । उनीसँग गाँसिएका अनुभव आफैँमा एउटा इतिहास थियो, त्यो समय र उनी आफैँको पनि ।

उनी साझा बसमा खलासी गर्दाका रोचक प्रसंग पनि सुनाउँथे । एसएलसी पास गरेपछि जीविकाको अरू कुनै उपाय भएन । हुन त त्यसबेला एसएलसी पास गर्नु पनि ठूलै कुरा थियो । तर, सिफारिस र सोर्स–फोर्सको अभावमा उनी ढाक्रे जिन्दगी व्यतीत गरिरहेका थिए । हो, यसैबेला उनले साझा बसको खलासीमा काम पाए । उनले निकै महिना साझा बसको ढोका ढकढक्याउने र सिट्ठी बजाउने काम गरे । पेटमा चारो हाल्न केही इलम गर्नैपथ्र्यो । अलिअलि कविता कथ्न थालिसकेका थिए । खलासी भए पनि मान्छे खाइलाग्दा थिए । यी यावत् कारणले होला, विश्वबन्धु थापाको नजर उनीमाथि परेछ । थापा साझाका प्रमुख थिए । अनि, एक दिन थापाले उनलाई साझा प्रकाशनमा बोलाएरै सोधे, ‘साझा प्रकाशनमा जागिर खान्छौ ?’ किन नखानू ? उनलाई ढुंगा खोज्दा देउता भेटिएको थियो । सहमतिमा शिर हल्लाइहाले । अनि, उनी बसबाट पुस्तक भण्डारमा पुगे ।

त्यसताका संस्था भर्खर नेपाली भाषा प्रकाशिनी समिति (नेभाप्रस)बाट साझामा रूपान्तरण भएको थियो । नेभाप्रसका प्रमुख थिए, कवि भीमनिधि तिवारी । उनलाई तिवारीबाट नेभाप्रसका सारा जायजेथा बुझेर लिन जिम्मेवारी दिइयो । यसै क्रममा उनले महाकवि देवकोटाको लुनी, महाराणा प्रताप र एक मात्र उपन्यास चम्पाको पाण्डुलिपि धूलो र मुसाले खाएका पत्र झुसहरूको थुप्रोबाट खोतलेर निकाले । त्यही भग्नावशेषबाट उनले फेला पारेका थिए, महाकविको महान् कृति मुनामदनको पाण्डुलिपि । हुन त यो खण्डकाव्य विसं १९९२ तिरै प्रकशित भइसकेको थियो । तर, क्षेत्रप्रतापका भनाइमा यसको नामोनिसान थिएन । पाण्डुलिपिहरूको रास उधिन्दै जाँदा देवकोटाले नै सिसाकलमले किरमिरकिरमिर लेखेको मुनामदनको पाण्डुलिपि भेटिएको थियो, भद्रकाली अफिसमा । पूर्वमुद्रित मुनामदनका प्रतिहरू सायद अप्राप्य थिए । त्यसैले त्यही मुनामदनलाई पुन:जीवित गर्नुपर्ने हुन्थ्यो । अनि, उनले त्यो पाण्डुलिपि देवकोटाका हस्ताक्षर चिन्ने र उनका धेरै कृतिहरूको खेस्रा उतारेका श्यामदास वैष्णवकहाँ लिएर गए । श्यामदासले आफ्ना खिरिला अक्षरहरूमा कुँदेर यो काम सम्पन्न गरिदिए र मुनामदन फेरि प्रकाशनमा आयो । क्षेत्रप्रताप भन्थे, “मलाई थाहा भए अनुसार साझाले निकालेको पहिलो पुस्तक मुनामदन नै थियो ।”

०००

सानोमा गोठालो बनायो । उमेरले किशोरवय टेकेपछि खेतालो बनायो । पिता लाहुरे सैनिक भएर कता हो, मुगलान पुगेका थिए । घरमा आमा–छोरा दुई मात्र प्राणी । तनहुँ उत्तरको लमजुङ जिल्लाको साँधमा मिर्लुङ गाउँ विकास समितिमध्येको एउटा भयापानी भन्ज्याङ गाउँ आज पनि छ । सायद क्षेत्रप्रताप अधिकारीको स्मृति बोकिरहेको होला, त्यो भन्ज्याङले । र, परदेसिएका बाबुको पीर मनभरि बोकेर, बरू एक्लै संघर्ष गर्ने तर सन्तानको भविष्य बिगार्न दिन्न भनेर आँट गरेरै कता हो कता टाढा काठमाडौँसम्म पढ्न पठाएकी थिइन् उनलाई जन्म दिने आमाले । तर, राजधानी आएपछि क्षेत्रप्रताप आफैँले आफ्नो पुन:जन्म गरे । साझा बसको खलासीबाट साझा प्रकाशनको महाप्रबन्धक र अध्यक्षसम्मको अन्तिम उचाइमा पुग्ने अब त्यस्तो अर्को व्यक्ति कोही छैन त्यहाँ । क्षेत्रप्रतापजस्तो अर्को व्यक्ति पनि हुन सक्तैन त्यहाँ । उनी शिक्षा सहायकमन्त्री हुँदा पनि त्यति खुसी भएनन्, जति साझाका एकएक खुड्किलाहरू उक्लिँदै सबैभन्दा शिरानको खुड्किलामा उभिन पुगेका थिए ।

०००

त्यस बिहान उनी भक्कानिए रोएका थिए । गीत र कवितामा अरूलाई रुवाउने मान्छे पहिलोपटक यो लेखकसामुन्ने रोइरहेका थिए, घुँक्कघुँक्क । त्यस रात उनकी श्रीमतीले आत्महत्या गरेको रात थियो । त्यो बिहान श्रीमतीको सद्गति हुनुपूर्वको बिहान थियो । उनी पत्नीवियोगमा थिए । नि:सहायजस्ता देखिन्थे । “हामी दुवै दमका रोगी थियौँ । थाहा छ, दमको रोग सहन कठिन हुन्छ । तर, मैले यति माया गरेकी, यिनले मसँग एक वचनसम्म नसोधी, एकपल्ट बिदा पनि नभई कसरी एक्लै जान सकेकी होलिन् !” उनी पुन: यसरी भक्कानिएका थिए मानौँ, भनेकी भए उनी पनि सँगै जान्थे । उनले यसो त भनेनन् । तर, उनी पनि दमले आक्रान्त थिए । धेरै भर्‍याङ उक्लिन सक्तिनँ भन्थे । सम्भवत: त्यसको दुई वर्षपछि उनी पनि आफ्नी पत्नीले हिँडेकै त्यही यात्रामा मिसिए ।

०००

समयले धेरैवटा पाटा फेर्‍यो, धेरैवटा बाटा बदल्यो । तर, क्षेत्रप्रतापका पाटा र बाटा बदलिएनन् । कहिले गीतभित्र परिवर्तन खोजे, कहिले कविताहरूमा । तर, उनी आफूचाहिँ जे थिए, स्वभाव र निष्ठाले, जस्ता थिए, संकल्प र आस्थाले त्यही नै रहिरहे । अहिले राष्ट्रभक्तिको अखण्ड कीर्तिन गर्ने अनेकौँ अनुहार र कलमजीवीहरू छन् । तर, पछिल्लो समय राष्ट्रवादलाई हृदयदेखि नै वन्दना गर्ने साधक उनी एक मात्र थिए । उनका कवितामा राष्ट्रभक्तिका गाढा स्पन्दनहरू अभिव्यक्त भए र ‘गामबेँसी’का यी कवि देशलाई शब्दहरूमार्फत आराधना गर्ने पछिल्लो दशककै उदाहरणीय सर्जक भए । समग्रमा उनी गीत–कवितामा गामबेँसी बोल्थे । गामबेँसीमा देश बोल्थे । देशसँग राष्ट्रभक्ति र जनताको पीडा बोल्थे ।

अहिले पार्थिव स्वरूपमा उनी हामीमाझ छैनन् । तर, उनले ‘नेपालमा प्रकाशनार्थ’ भनेर पठाएको र मेरो असावधानीले गर्दा प्रकाशित हुन नपाएको ‘भूतपूर्व सभासद्’ शीर्षकको एउटा कविता छ । कवितासँगै छाप्न पठाएको उनको हँसिलो मुहारको पासपोर्ट साइजको एउटा फोटो पनि छ । कविता रचना भएको समयले पनि सायद धेरै वर्ष उतै पार गरिसक्यो । अहिले पढ्दा यो कविता कविता मात्र होइन, कुनै सिद्धको राजनीतिक भविष्यवाणीजस्तो लाग्छ । त्यतिबेला संविधान आएको थिएन । संविधानसभा म्याद गुजार्दै झारा टारिरहेको थियो । त्यही बेला उनले लेखेका हुन् यो कवितांश, जुन कविताले आज पनि त्यो व्यतीत कालखण्डको वर्णन गरिरहेको छ :

भूतपूर्व सभासद्हरूले

अभूतपूर्व काम गरेर गए

नयाँ संविधान पढेर मर्ने

मेरो अन्तिम सपना

अपहरण गरेर गए ।

म त मर्न पनि पाइनँ

किनकि, मेरो अन्तिम घिडघिडो

संविधान खोज्न गएछ

कठै ! मृत्यु त मेरो

सभासद्को पो भएछ ।

तस्बिर : कुमार आले स्केच : टेकवीर मुखिया

प्रकाशित: चैत्र ८, २०७४