जुम्लाका इष्टहरू

- विहारीकृष्ण श्रेष्ठ

वैशाख ०२७ को कुरा हो ।

तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका सह–सदस्य सत्यमोहन जोशीको नेतृत्वमा पाँच सदस्यीय एक टोली जुम्लाको सिंजाखोला उपत्यकाको लोक–संस्कृति सर्वेक्षणका निम्ति खटिएको थियो । प्रदीप रिमाल, प्रा चूडामणि बन्धु, स्थिरजंगबहादुर सिंहका अतिरिक्त गृह पञ्चायत मन्त्रालयमा  शाखा अधिकृतका रूपमा कार्यरत म एक मानवशास्त्रीका नाताले उक्त टोलीमा समावेश भएको थिएँ ।

नेपालगन्जबाट जुम्ला पुग्न झन्डै ११ दिन पैदल यात्रा गर्नुपर्ने रहेछ । र, फर्किन पनि त्यत्ति नै दिन लाग्ने भएकाले हामीलाई समर इन्स्टिच्युट अफ ल्याङ्ग्युस्टिकको विच एयरक्राफ्ट चार्टर्ड गरेर काठमाडौँबाट सीधै जुम्ला जाने व्यवस्था मिलाइएको थियो ।

जुम्ला विमानस्थलमा उत्रिनासाथ अमेरिकाको सिकागो युनिभर्सिटीका भूगोलका प्राध्यापक व्यारी विसपसँग भेट भयो । उनी लामो दूरबीन खोकिलामा झुन्ड्याएर उभिएका थिए । १ वर्ष ६ महिना त्यहाँ बसेर कर्णाली : अन्डर स्ट्ेरस पुस्तकका निम्ति सामग्री तयार गरी उनी त्यहाँबाट स्वदेश फर्किन लागेका रहेछन् ।

जुम्ला र त्यहाँका बासिन्दा हामी काठमाडौँवासीका निम्ति किंवदन्तीजस्तै थिए । पहिलोपटक त्यहाँ पाइला राख्दा त्यो सत्यजस्तै लाग्यो । अभाव र गरिबीको के कुरा गर्ने ! अहिले त जुम्लावासीको अवस्था दयनीय र अभावग्रस्त छ भने त्यसबेला कस्तो थियो होला ? ‘कुमारी केटी विवाह गर्ने केको मर्द ? अर्काकी श्रीमती ल्याउने पो त मर्द !’ भन्ने आमप्रचलन रहेछ । त्यसैले त्यहाँका हरेक पुरुष–महिलाले दोस्रो वा तेस्रो विवाह गरेका हुँदा रहेछन् । झ्यालविहीन घरमा आगो बालेर बस्नुपर्ने त्यहाँका बासिन्दाको शरीरको रंग कस्तो होला, भन्नै परेन । ‘तिमीहरूलाई कस्तो रंग मन पर्छ ?’ भनेर सोध्यो भने सहजै जवाफ फर्काउँथे, ‘कालो ।’

जुम्ला, हाडसिंजा गाउँका ठकुरी, बाहुन, सार्की, कामी र दमाइ जातिका २१ घर–परिवारको मानवशास्त्रीय दृष्टिकोणले अध्ययन गर्ने क्रममा निस्किएको निष्कर्ष हो, कर्णाली लोक संस्कृति : दियारगाउँका ठकुरीहरू (खण्ड ३) जनजीवन पुस्तक । मेरो यो पुस्तकसहित जुम्लाको अध्ययनमै आधारित अन्य चार कृतिले संयुक्त रूपमा ०२८ को मदन पुरस्कार प्राप्त गरेका थिए । त्यसअघि अमेरिकाको वीस कन्सन युनिभर्सिटीका मानवशास्त्री जोन हिटककले स्याङ्जामा तीन महिना र बाग्लुङमा ६ महिना मगर समुदायको अध्ययन गर्ने क्रममा म पनि त्यस टोलीमा सहभागी भएर काम गरेको थिएँ । त्यो अनुभवले पनि मलाई हाडसिंजाका मानिसहरूको राजनीतिक, आर्थिक र सामाजिक रूपमा मानवशास्त्रीय अध्ययन गर्न सघाउ पुर्‍याएको थियो ।

मीत अर्थात् इष्ट प्रथा त्यहाँ खुब प्रचलनमा रहेछ । त्यहाँको त्यो प्रथा बेग्लै किसिमको लाग्यो । आवश्यकताले जन्माएको उपजजस्तो । करिब ६ किसिमका इष्ट हुँदा रहेछन्– हितको इष्ट, माटे इष्ट, धर्म इष्ट, संगी, मीत र वैशाली इष्ट । आपत्का बेलामा काँध दिनेलाई हितको इष्ट र जग्गा–जमिनमा आधारित सम्बन्ध जनाउनेलाई माटे इष्ट भनिँदो रहेछ । पसल–बजार भन्ने कुरा कल्पनाभन्दा बाहिर थिए । त्यसैले त्यहाँका मानिसहरू सामानहरूको आदान–प्रदान पनि त्यही इष्टका आधारमा गर्दा रहेछन् । ‘मीतले दिएको दही सिन्कोले नापेर खानू’ भन्ने उखान त्यहाँ खुबै प्रचलनमा रहेछ । २१ घर–परिवारका कुनै पनि व्यक्ति त्यस्तो थिएन, जसको कुनै इष्ट वा मीत नहोस् ।

हाडसिंजाको माथिल्लो गाउँ बोटामा धानखेती हुँदो रहेनछ । जसलाई पावै भनिदो रहेछ । त्यहाँका मानिसहरू सिकर्मी र डकर्मीको काम गर्दा रहेछन् । हाडसिंजामा धानखेती हुँदो रहेछ । धानखेती हुने ठाउँलाई ज्युला भनिँदो रहेछ र त्यहाँका बासिन्दालाई ज्युलेली । खेती–किसानीमा त्यहाँका स्थानीय ज्यादै दत्तचित्त भएर लाग्दा रहेछन् । त्यतिबेला फलाम भन्ने धातु हाडसिंजामा अस्तित्वमै थिएन । खेती किसानी सबै काठका औजारमा निर्भर थियो । किसानहरू हलोको फाली पनि काठकै बनाएर प्रयोग गर्थे ।

बोटा गाउँका स्थानीयले ज्युलाका मानिसहरूका लागि काठका फाली बनाएर ल्याइदिँदा रहेछन् र त्यहाँबाट दुई–चार पाथी धान लिएर गाउँ उकालो लाग्दा रहेछन् । माथि गाउँकाले दुई–चार मुठा काठका फाली सित्तैँमा दिने र तल्लो गाउँकाले दुई–चार पाथी धान सित्तैँमा दिएर मीत लगाउने र इष्ट बनाउने प्रचलन रहेछ ।

वास्तवमा समाज कस्तो छ भन्ने कुरा झ्वाट्ट खुला आँखाले हेरे पत्ता लाग्दैन । हाडसिंजाका २१ घर–परिवारको मानवशास्त्रीय अध्ययन गर्ने क्रममा पत्ता लागेको कुरा हो यो । अध्ययनकै क्रममा थाहा भयो, जुम्लाको हाडसिंजाका बासिन्दाका निम्ति इष्ट सम्बन्ध सामाजिक व्यवस्थाजस्तै महत्त्वपूर्ण रहेछ । आपसी सहयोग, सुरक्षा, आत्मीयता र भावनात्मक एकरूपता त्यहाँको इष्ट सम्बन्धका प्रतिफल रहेछन् ।

(श्रेष्ठ मानवशास्त्री हुन् ।)

प्र स्तुति : ईश्वरी ज्ञवाली

प्रकाशित: चैत्र ६, २०७४

ट्याग: सस्मरण