[अनुभूति] कन्न छाडेर सन्न्यासतिर

- खगेन्द्र संग्रौला

कतिपय मृत लेखकहरूले कन्दै कलम घोटेर आफूलाई जिउँदो देखाउने बित्थाको अभिनय गरेको देख्छु । तिनको यो छलकारी ढोङ देखेर आफ्नै लेखकीय दशाबारे गम खान्छु, के अर्थहीन खोस्टा लेखिरहनु लेखक जिउँदो हुनु र त्यस्ता खोस्टा लेख्न बिसाउनु लेखक मर्नु हो ? वर्ष दिनयता यो प्रश्न पत्यारिलो उत्तर खोज्दै मेरो किञ्चित थकित र अल्छी चित्तमा हर्दम मडारिइरहेछ । सम्झेर ल्याउँदा मैले खासै नलेखेको वर्ष दिन भएछ । म यो वर्षभरि नै खुद्रा–मसिना बिमारहरूको नित्य सिकार भइरहेँ । ऐय्याआत्था गर्दै गलेर ओछ्यानमा ढल्ने गरी त म बिरामी भइनँ । तर, फुक्काफाल हिँड्ने शारीरिक अवस्थामा र उमंगसाथ लेखपढ गर्ने मानसिक दशामा पनि म रहिनँ । मैले कलम बिसाउनुमा बिमार कारण बन्यो, सिर्जनाको उमेरजन्य अनुर्वरताको लक्षणले यो कारणलाई टेको दियो । 

बस्, अब आफ्नो लेखनको दम वा दुर्दशाबारे सोच्न मलाई यथेष्ट समय हात लाग्यो । आफ्नै लेखनका डोबहरूलाई आलोचनात्मक दृष्टि नियाल्दा मलाई महसुस भयो, अखबारका फ्यालफ्याले भित्ताहरूमा मैले थुप्रो झुर लेखेछु । यो झुर वास्तवमा गोजेरो भर्ने मेरो विवशताको नतिजा थियो । साँझ–बिहान पेट पुटुस्स पार्ने चारो खोज्न मेरो अर्को इलम वा धन्दा केही थिएन । अघिदेखि गरिआएको काम त्यही लेख्नु थियो । र, धेरथोर जानेको पनि त्यही लेख्नु थियो । किञ्चित विषादको मुद्रामा मनको लड्डु घिउसित खाँदै अहिले म कल्पना गर्छु, कुन्नि, झुर लेखेर चुनदाम हात पार्नुपर्ने विवशता नहुँदो हो त व्यर्थमा बितेको त्यो समयमा म सायद केही अर्थपूर्ण सिर्जना गर्न पो सक्दो हुँ कि !

अँ, आफ्नो लेखनको वर्तमान अवस्थाबारे आलोचनात्मक ढंगले गम्दा मलाई लाग्यो, बस् † मैले लेख्न अब पुग्यो । डुब्दो उमेरको ओरालीसँगै मेरो स्मृति–शृंखला राम्रैसँग चाल पाइने गरी सुस्त र शुष्क हुन थालिसक्यो । चिन्तन–प्रक्रियामा मेरा स्मृतिका तारहरू कतै खुकुलिन्छन्, कतै चुँडिन्छन् । कहिले त मेरी आमा † कतिकति पहिलेदेखि चिनेको मानिसको मुखाकृति आँखासामु छर्लंगै देखिन्छ । तर, निजको नाम भने स्मृतिका पत्रहरूभित्र कतै भूमिगत हुन्छ । अनि, उद्विग्न मुद्रामा निधार मुजा पार्दै त्यो नाम सम्झिन घन्टौँ लाग्छ । भन्दा मनै भरंग हुने अनुभव भन्छ, मेरो कल्पनाशीलता शनै:शनै: भुत्ते हुँदो छ । मेरा आवेगहरूमा ऊष्मा सेलाउँदो छ । मेरो शब्दभण्डारमा खिया लाग्दो छ । र, मेरो मन–मानसको लचकता अह्ररो र अटेरी हुँदो छ । नढाँटी भनुँ भने यस्तोमा मैले लेखिरहनु भनेको केवल सुगा शैलीमा अतीतको आफूलाई दोहोर्‍याउनु त हो । हो, शैलीगत चटक वा छलका कारण पाठकलाई लेखनमा केही छ कि भन्ने आभास वा भ्रम दिन त सकिएला नै । तर, हुनलाई जे लेखिन्छ, त्यसमा महत्त्वको तत्त्व प्राय: केही हुँदैन । यसरी उदास आत्मस्वीकृतिको मुडमा मैले कठोर अठोट गरेँ, भो ! आइन्दा लेख्दिनँ, पुग्यो । अन्य सबै पेसा वा व्यवसायकर्मीहरूलाई जीवनको खास मोडमा पुगेर सेवानिवृत्त हुने हक छ भने लेखकलाई चाहिँ किन नहुनु ?

तर, हुँदो रहेनछ । किन ? सिर्जनशील लेखन कसैका खटनको नभई लेखक स्वयंको राजीखुसीको रोजाइको कर्म भएर हो कि ? अथवा, लेखन–कर्मको मालिक लेखक आफैँ र सेवक पनि आफैँ भएर हो कि ? अथवा, कुनै सौन्दर्यशास्त्रीय विधि वा नीतिले सिर्जनशील लेखक बेत बस्ने उमेरको किटानी नगरेकाले हो कि ? अथवा, लेखन–कर्म कसैको नियुक्ति वा अवकाशको कृपा वा बाध्यताबाट मुक्त भएकाले पो हो कि ? थाहा छैन । अहिले मलाई यत्ति थाहा छ, लेखक लेखनबाट निवृत्त हुनलाई पाठकद्वारा स्वीकृत खास समय हुँदो रहेनछ !

 

जब पाठक टाइपको, मित्र महलको वा परचक्री पाँतको, कोही भेट हुन्छ, ऊ प्वाक्क सोधिहाल्छ, ‘हैन, लेख्न किन छाडियो हाव ? के अखबारी झिना–मसिना अलमलबाट पन्छिएर कुनै गहन सिर्जन कार्यमा डट्या हो ?’ सोध्नेहरूलाई दिन चित्तबुझ्दो जवाफ नभएर म त्यसैत्यसै हैरान हुन्छु । वास्तवमा म त्यस्तो गहन वा सार्थक केही नगरी खालि अघि भनेझैँ, खुद्रा–मसिना बिमारहरूको झिज्याटलाग्दो चक्रमा रिङिरहेको छु भन्दा कोही पत्याउँदैन । म नाथे वृद्धतामुखी, किञ्चित थकित र अल्छी लेखकबाट अमृतमय केही झर्ला कि भनेर उता अनुरागी पाठक मलाई अपलक हेर्दै हात थापेर बसेको छ, यता म लम्फू तातोभुत्लो केही नगरी समय बियाँलिरहेको छु । हेर्नूस् त, अपेक्षा र आपूर्तिबीच यो विकराल खाडल ! यो खाडल पुर्ने केले हो, फसाद छ बा !

अलि दिनअघि अभि दाइको ‘पुस्तक वार्ता’को एउटा वचनले मलाई कसोकसो झस्कायो । वचन प्रीतिकर थियो । तर, समय–सन्दर्भले मेरो मानसमा त्यसको प्रभाव कटु भइदियो । आफूले नित्य पढ्ने गरेका लेखकहरूको सानो सूचीमा मलाई पनि पारेर दाइले भनेका रहेछन्, ‘ खगेन्द्र संग्रौलाका पनि पढ्थेँ । तर, अचेल लेख्नुहुन्न ।’ यो ‘लेख्नुहुन्न’ मा अन्तर्निहित गुप्त भावमा मैले कसोकसो नोस्टाल्जियाको छनक पाएँ । र, यो नोस्टाल्जियाबाट मेरो अन्तरमनमा ‘लेखनबाट त्यो त मर्‍यो’ भन्ने शोकमय ध्वनि गुन्जियो । दाइ बूढा पठन र लेखन दुवै कर्ममा सदाझैँ हुनुसम्म क्रियाशील छन् । उनको यो क्रियाशीलताले मानौँ, मेरो अकर्मण्यतालाई गिज्याउँदै भनिरहेछ, ‘को बूढो, तँ कि म ? सिर्जन–कर्ममा जो बेत बस्यो, त्यो बूढो कि जसको सिर्जनाको जायजन्म गतिमान छ, त्यो बूढो ?’

मै बूढो, अभि दाइ ! उत्तर अकाट्य छ, अकाट्य र निर्विकल्प । व्यक्ति–व्यक्तिको सिर्जनशीलताको उमेर फरक हुँदो रहेछ । यसमा मेरो के लाग्छ ? खोजेर र रोजेर, कनेर र हात थापेर सिर्जनशीलताको उमेर तन्काउन सकिने होइन क्यारे !

बस्, कुराको एउटा पाटो तुरियो । यसको सार के भने सिर्जनामा बेत बसेपछि जिउँदो देखिन कन्दै लेखकले लेख्ने अभिनय गर्नु केवल आत्मवञ्चना हो । र, यो पाठकको एकबारको जुनीको आयु भक्षण गर्ने कुटिल दाउ हो । जीवनको मिति गुज्रिएपछि थपक्क ढल्नु र कलकलाउँदा बिरुवाहरूलाई बढ्न, हुर्किन र फिजिन ठाउँ खाली गरिदिनु प्रकृतिमा वृद्ध र जर्जर वृक्षको धर्म हो । मेरो विचारमा मानवलोकमा, लेखनको फाँटमा पनि हुनुपर्ने उचित कुरा यही हो । विडम्बनावश यस्तो लाग्छ, मानौँ हाम्रो लेखन फाँटमा कतिपय वृद्ध एवं जर्जर जीवहरू संवेदनाशून्य छन् । यी निष्ठुरी जीवहरू हाम्रा सुकसुकाउँदा र निम्छरा बिरुवारूपी लेखकहरू आफ्नो ओसिलो छायाँमा टाक्सिएर मरेको देख्न रहर गर्छन् । यो रहर खसोखास सामन्ती रोग हो । र, यो अतीतपूजक, वर्तमानद्वेषी र भविष्य निषेधी रोग हो ।

विगतको अखण्ड गौरवगान, वर्तमानको घोर उपेक्षा र भविष्यको भयंकर भय, यो हो साहित्यमा सामन्ती चिन्तन र संस्कृतिको चुरो कुरो । हाम्रो साहित्यमा यो कुरूप कुरोका वृद्ध संवाहक र तिनका उमेरदार भक्तहरूको एक प्रकारले जगजगी नै छ । यो जगजगीलाई थरीथरीका अधोमुखी सत्ता र शक्तिपीठहरूको कृपा छ, धाप छ, आशीर्वाद छ ।

कुरो खोलेर गरुँ । एकबारको जुनीमा दीर्घायु, सुखद र अल्पायु दु:खद कुरा हो । तर, एकाध भाग्यमानीको दीर्घायु अगणित अभागीहरूको अल्पायुको उपहासको कारक बन्नु झनै दु:खद कुरा हो । आखिर अन्यायपूर्ण यो भूमिमा भइरहेको यही त छ !

राष्ट्रको बौद्धिक र सांस्कृतिक जीवनमा स्वतन्त्रता र गरिमाको आभा सञ्चार गर्ने चिन्तक र सर्जकहरूलाई गुणग्राही समाजले आज वा भोलि पक्कै आदर गर्छ । त्यो स्वत:स्फूर्त आदरभाव हो, जसमा अतिरञ्जनाको ढोल किमार्थ पिँटिँदैन । तर, हामीकहाँ ढोल पिटिमाग्ने वृद्ध ढोँगीहरू र ढोल पिट्ने अधबैँसे हनुमानहरूले रातोदिन हाम्रा कान खाइरहेका छन् । सुन्नूस् त, कोही ‘शतक मनीषी’ रे ! कोही ‘शताब्दी पुरुष’ रे ! यसरी विचार र कलाको फाँटमा एकाध दीर्घायुका धनीहरूको अन्धाधुन्ध देवत्वकरण गरिँदो छ । यी दीर्घायुका धनीको देवत्वकरणको यो कुटिल नाटकमा घुमाउरो पाराले अल्पायुमा मर्नेजति दानव हुन् भन्ने छनक पाइन्छ । यी दीर्घजीवीहरू देवता हुन् भने बिस्याहार र कुपोषणले मर्ने शिशु र बालकहरू, प्रभावकारी प्रसूति सेवा नपाएर मर्ने आमाहरू र औषधोपचारको अभावमा सस्तोमा सजिलै निको हुने रोगबाट अल्पायुमै मर्ने अगणित गरिबहरू के दानव हुन् ? स्वपूजाको कामना गर्ने वृद्धहरू र धनुषटङ्कार मुद्रामा तिनको पूजा गर्ने हनुमानहरू यसै भनिरहेका छन् त !

वृद्धावस्थाका, बेत बसेका विचारक र सर्जक विशेषलाई खाना, छाना र नानाकै दु:ख छ भने राज्यले आफ्नो औकात हेरी केही न केही मद्दत गर्नु बेसै हो । तर, जो सम्पत्तिको चाङमाथि उभिएको छ, उसलाई यो भत्ता र त्यो भत्ता ? यो इनाम र त्यो बक्सिस ? यस्ता वृद्धहरू मर्यादित जीवन र मर्यादित मृत्युका हकदार अवश्य होलान् । तर, यो स्वस्ति र भक्ति, यो पूजा र आराधना, यो चाकरी र पाउलागी, यो बेसोमत हाउभाउ र यो अश्लील भंगिमा, यो सब के हो ? यस्तो लाग्छ मानौँ, यी वृद्धका अन्धभक्तहरूका कानमा यिनको घुराइबाट माधुर्यको वर्षा हुन्छ । र, यी हनुमानहरूका नाकमा यी वृद्धको अपान वायुबाट मानौँ अरबी अत्तरको बास्ना आउँछ । मलाई त लाग्छ, मानिसमा इच्छामरणको सामथ्र्य हुँदो हो त आफ्ना लागि र अरूका लागि आफ्नो जीवनको उपयोगिता निख्रिएपछि फुस्स मर्नु उचित हो । दुर्भाग्यवश † यसरी मर्न सकिन्न । त्यसैले चिन्तन र सिर्जना बेत बसेका वृद्धहरूले त एकान्तमा, चुपचाप जीवन बिसाउने क्षणको प्रतीक्षा गर्नु पो राम्रो हो !

 

के चिन्तक अनि लेखक चिन्तन तथा सिर्जनामा बाँझो पल्टिएर पनि चिन्तन र सिर्जनाको स्वाँगे अभिनय गर्दै धेरै बाँच्नु स्वत: पौरख र गौरवको विषय हो ? के यो स्वत: बढाइँ गरिनलायकको पराक्रम हो ? के बढी बाँच्नु नै रथारोहण र गजारोहणको शान प्राप्त गर्ने योग्यता हो ? हो भने अपेक्षाकृत अल्पायुमा बितेका शंकर लामिछाने, भूपी शेरचन र पारिजातको योग्यताचाहिँ गधारोहणमा सीमित हुने हो कि ! अनि, ३० वर्षको छेउछाउमै बितेका किट्स, शेली र बाइरनको योग्यता नि ? ‘ शतक मनीषी’ र ‘शताब्दी पुरुष’ एवं तिनका भजनकर्मीहरू सके मलाई ओठे जवाफ देलान्, ‘बाबु, तिनको योग्यताले पाउने उच्चतम सम्मान केवल काठको घोडा आरोहरण हो † हेर्नूस् त, यी स्वनामधन्य ख्वामित् र सदाबहार भक्तजनको चिन्तन र संस्कृतिको स्तर !’

म फेरि आफूतिर फर्किन्छु । भनिसकेँ, वृद्ध, थकित र शुष्क मथिंगलले न कुनै नवीन चिन्तन गर्छ, न त नूतन सिर्जना नै । धेरै अघि भूतको भिनाजुले मलाई बडा प्रेमले अर्ति दिएका थिए, ‘बाबु ! कनेर नलेख्नू, लेख्दा नढाँट्नू ।’ लाग्छ, मैले अब पनि लेख्नु भनेको केवल कनेर हो । र, यो कनाइ आफूलाई र लोकलाई जानाजान ढाँट्ने धृष्टता हो । सास छउन्जेल गोजेरो भर्नुुपर्ने बाध्यताले यदाकदा कन्न विवश भइएछ भने बेग्लै कुरा । नत्र अबलाई कटुभाषी तर सत्यभाषी भूतको भिनाजुको आज्ञाकारी शिष्य भइन्छ । 

प्रकाशित: चैत्र ६, २०७४