अलिकति उज्यालो

  • चलेका लेखकहरू फिल्म स्क्रिप्टतिर

- राजकुमार बानियाँ

मध्य माघको चिसोमा २१ दिन पोखरा बसे, आख्यानकार बुद्धिसागर । तर, उनको पोखरा बसाइ उपन्यास लेखनका लागि थिएन । उनी घोत्लिरहेका थिए, फिल्म स्क्रिप्टका लागि ।

एउटै फिल्मको १५ लाख रुपियाँ लिएर महँगा स्क्रिप्ट लेखकमा दरिएका निर्देशक रामबाबु गुरुङले नयाँ फिल्म बर्मजंगको जिम्मा दिएका छन्, बुद्धिसागरलाई । त्यसबापत बुद्धिसागरले १० लाख रुपियाँ पनि पाए । 

“तेस्रो उपन्यासको काम आधाउधि गरिरहेका बेला बीच–बीचमा ह्याङ भएजस्तो लागिरहेको थियो । कताकता ऊर्जा नआएर ब्रेक लिने विचार गरिरहेका बेला फिल्म स्क्रिप्टको अफर आयो,” कर्नाली ब्लुजका लेखक सुनाउँछन्, “फिल्म त हेर्न मात्रै सजिलो रहेछ, लेख्न एकदमै गाह्रो । उपन्यासभन्दा स्क्रिप्ट लेखन चुनौतीपूर्ण छ ।” 

अर्का आख्यानकार उपेन्द्र सुब्बा लिम्बू फिल्म लेखिरहेका छन् । रामबाबु गुरुङसँग मिलेर कबड्डी, कबड्डी कबड्डी, पुरानो डुंगा र एकल रूपमा देश खोज्दै जाँदा अनि तान्द्रोमा स्क्रिप्ट लेखिसकेका छन् उनले । 

रामबाबुले यसपटक उपेन्द्र सुब्बासँग किन स्क्रिप्ट साझेदारी गरेनन् त ? “मैले मात्र लेख्नुपर्छ भन्ने केही छैन । बुद्धिसागर आउनु पनि फिल्मका लागि सकारात्मक कुरा हो,” सुब्बा भन्छन्, “रामबाबुसँग मिलेर लेखेका फिल्म चलेका हुन्, मेरो बलबुतामा लेखेका फिल्म चल्न सकेनन्, पाठक र दर्शक उस्तै–उस्तै छन् नेपालमा ।”

सजिलो भाषामा भन्ने हो भने पटकथा अर्थात् स्क्रिनप्ले अस्थिपञ्जर हो । निर्देशक या कलाकारले त्यसमा मांसपिण्ड थप्ने मात्र हुन् । फिल्मको पहिलो द्रष्टा र स्रष्टा स्क्रिप्ट लेखक नै हो । स्क्रिप्टको रोचक पक्ष सामान्य वर्तमान कालमा लेखिन्छ । प्राविधिक भाषा पनि यसको एउटा सर्त हो । 

स्क्रिप्ट लेखनमा काठमाडौँका आख्यानकारको एकलौटी रहेन । पोखराबासी पैतालाका आख्यानकार गनेस पौडेलले पनि डेब्यु स्क्रिप्टकै लागि पाँच लाख रुपियाँ हात पारे । 

“फिल्म पनि साहित्य नै हो । त्यसैले यसलाई भिजुअल लिटरेचर या भिजुअल पोयट्री भन्ने चलन छ,” गनेस भन्छन्, “सिनेमामा साहित्य, संगीत, पेन्टिङ, नाटक, फोटोग्राफी सबै हुन्छन् । साहित्य र कलाको मिश्रणबाट सिनेमा धनी पनि हुन्छ ।”

त्यसो त फिल्म स्क्रिप्टमा लेखकहरू भर्खरै प्रवेश गरेका होइनन् । आधा शताब्दी पार गरेको नेपाली फिल्मको स्क्रिप्टमा चिनिएका लेखक अविनाश श्रेष्ठ, नयनराज पाण्डे, ब्रजेश आदि पनि लागेकै हुन् । तर, त्यतिबेला निश्चित सूत्र वा मसला अटाउने बनिबनाउ फम्र्याटमा थियो । तिनले हलिउड र बलिउडको ‘कपी पेस्ट’बाहेक अरू सोचेनन् ।

फिल्म समीक्षकहरू खासगरी नवीन सुब्बा, मीनबहादुर भाम, जोयश पाण्डे, रामबाबु गुरुङ, दीपक रौनियार आदि गम्भीर निर्देशकका कारण सिनेमामा साहित्य पनि आउनुपर्छ भन्ने मान्यता सुरु भएको हो । त्यसका लागि कि साहित्यिक कृतिमा फिल्म बनाउनुपर्‍यो कि साहित्यिक लेखकलाई नै 

स्क्रिप्टमा लगाउनुपर्‍यो । 

त्यसै क्रममा उपेन्द्र सुब्बा र रामबाबु गुरुङ मिलेर ताजा कथा दिए, कबड्डीमा । स्क्रिप्टमा बुद्धिसागर मात्र नभएर कुमार नगरकोटी पनि देखापरे । लालपुर्जामा ‘अतिथि लेखक’को अवतारमा । अब आफैँ फिल्म निर्देशनमा डेब्यु गर्दैछन् । 

फिल्मको खास सर्जक निर्देशक नै हो । विगतको विडम्बना के भने निर्देशकले सिर्जनशीलता देखाउने मौकै पाएन । यस्तो कथा, फलानी हिरोइन चाहियो, यतिवटा फाइट र यतिवटा गीत भन्ने निर्माताको फर्माइस पूरा गरिदिनु निर्देशकको एकमात्र ‘ड्युटी’ भइदियो । 

फिल्म फ्लप हुनासाथ निर्माताले निर्देशकलाई, कलाकारले निर्मातालाई गाली गरेर बस्नु पनि नियति भइसक्यो । “पैसावाल त प्रोड्युसर हुने नै भए तर मुख्य समस्या स्रष्टा अर्थात् निर्देशकमै छ,” नगरकोटी भन्छन्, “पछिल्लो समय फिल्मको हिरो त स्क्रिप्ट रहेछ । मेजर रोल उसैले गर्दो रहेछ भन्ने चेतना आएकाले लेखकहरूले अवसर पाएका हुन् ।” 

सुबिन भट्टराईको उपन्यास समर लभमाथि मुस्कान ढकालले फिल्म बनाइरहेका छन् । यतिखेर निर्धक्क के भन्न सकिन्छ भने फिल्म फ्लपै भए पनि लेखक मालामालै भएका छन् ।

पारिश्रमिक १५ लाखसम्म

स्क्रिप्ट लेखनमा लेखकहरूको प्रवेश सकारात्मक किन छ भने कमाइ पनि आकर्षक छ । लेखकहरूले एउटा स्क्रिप्टकै पाँँच लाखदेखि १५ लाख रुपियाँसम्म लिने गर्छन् ।

आम्दानीबारे लेखकहरूबीच मतैक्य भने छैन । “एउटै फिल्ममा एक–दुई करोड रुपियाँ लगानी हुन्छ । स्क्रिनप्लेबापत लेखकले पनि राम्रै दाम हात पार्छ,” नगरकोटी भन्छन्, “सरदर तीन महिनामा एउटा स्क्रिप्ट तयार हुन्छ । एकमुष्ट पाउने हिसाब गर्दा किताबबाट भन्दा बढी कमाउँछ लेखकले ।” 

दामको हिसाबले उपन्यासकै पल्ला भारी हुने बुद्धिसागरको दाबी छ । “तीन महिनामै कमाउन सकिने भन्ने मात्रै हो, रोयल्टी हिसाबमा पैसा त उपन्यासमै छ,” उनी भन्छन्, “फिल्ममा एकपटक मात्रै आउँछ, उपन्यासमा 

वर्षौंसम्म आइरहन्छ ।”

बुद्धिसागर फिल्मको काम सक्नासाथ फेरि उपन्यासमै फर्किन चाहन्छन् । “मस्तिष्कको एउटा मात्रै पाटो चल्दा थकान वा एकरसता हुँदो रहेछ । म सिनेमाको सर्कलसँग जोडिएँ, नयाँ कथासँग जोडिएँ, त्यसले उपन्यास लेखनमा पनि लाभै हुन्छ,” उनको अनुभव छ, “उपन्यासमा सिकेको कुरा फिल्ममा आउँछ, फिल्ममा सिकेका कुरा उपन्यासमा । क्रियटिभ लेनदेन हो ।” 

स्क्रिप्ट लेखकको कमाइमा त्यति सन्तुष्ट देखिँदैनन् उपेन्द्र सुब्बा । एउटा स्क्रिप्टबाट पाँच–६ लाखसम्म लिएका छन् उनले । “उपन्यास लेख्न नसक्ने मजस्तो अल्छीलाई फिल्म सजिलो हो,” उनी भन्छन्, “फिल्म लेखेर लेखकलाई घाटा छ । मिहिनेत उस्तै हो । उपन्यास लेखेर २०–२२ लाखसम्म कमाइ हुन्छ । उपन्यासको कन्टेन्टमा फिल्म बन्छ । तर, त्यो फिल्म निर्देशकको हुन्छ ।”

उसो त बजारको लय हरेर कविहरू उपन्यासकार भएका छन् । उपन्यासकार स्क्रिप्ट लेखकमा बदलिएका छन् । तर, यसको मतलब कविहरू पनि आख्यानकारको कमाइलाई टुलुटुलु हेरेर बसिरहेका छैनन् । नुमाफुङ निर्देशक नवीन सुब्बा फिल्ममा नयाँ लेखकलाई ‘ग्रुम’ गर्दैछन् । उनकै निर्देशनमा बन्न लागेको लाहुरे जुत्ताका स्क्रिप्ट लेख्दैछन्, कवि स्वप्निल स्मृति । इन्डिजिनियस फिल्म अर्काइभ (आइफा)को एकवर्षे फिल्म स्क्रिप्ट तालिम लिएका स्वप्निल ‘दाम पाउने गरी नै लेखेको’ भनी घुमाउरो पारामा व्यंग्य गर्छन् । “हरेक दृश्य र संवादको औचित्य पुष्टि गर्न कहाँ सजिलो छ र ?” उनी भन्छन्, “मलाई त एकदमै उकुसमुकुसजस्तो अनुभव भयो ।” 

स्वप्निलजस्तै अनुप सुवेदीको निर्देशनका लागि छम गुरुङ, मुक्तान थेवा, राजु स्याङ्तान आदि पछिल्लो छिमलका कवि पनि स्क्रिप्ट लेखनमा लागिरहेका छन् । 

सकारात्मक सुरुआत

सिर्जनशील लेखकहरूले स्क्रिप्ट लेख्नासाथ फिल्मले चमत्कारै गरिहाल्छ भन्ने होइन । अहिलेका लागि उनीहरू फिल्मको मूलप्रवाहमा मिसिनु नै सकारात्मक सुरुआत हो । र, गतिलो फिल्म बनाउने हुटहुटी पनि । “उपेन्द्र सुब्बा, बुद्धिसागर या नगरकोटी आदि एक–दुई जना साहित्यिक लेखक आउँदैमा फिल्ममा तत्काल आनका तान फरक परिहाल्दैन,” नगरकोटी भन्छन्, “तर, फिल्म सर्जकमा सामूहिक चेतना आउनुले निकट भविष्यमा निकै सकारात्मक प्रभाव देखिन सक्छ ।”

खुसीको कुरा के भने निर्माता या निर्देशकले स्क्रिनप्लेलाई महत्त्व नदिएको बोध भएको छ । र, नेपाली फिल्म बिस्तारै–बिस्तारै सुधारको बाटोमा छ । सिनेमा र साहित्यको टाइअप भएको छ । 

“पहिले फिल्मको कार्यशैली सिकर्मीको जस्तो हुन्थ्यो सीप बढी, सिर्जना कम,” गनेस आशावादी छन्, “सिर्जनशील लेखक आएपछि त्यसको परिवेश केही फरक त अवश्य पर्छ ।”

नेपाली फिल्मको धार बदल्ने निर्माता माधव वाग्ले, जसले लुट बनाए, स्क्रिप्टमा लेखकहरूको आगमनलाई स्वागतयोग्य मात्रै मान्दैनन्, सिनेमा साहित्य मिसिएपछि यसको भूगोल नै फराकिलो भएको ठान्छन् ।

वाग्लेको शब्दमा नेपालमा बर्सेनि १ सय २५ फिल्म बन्छन् भने नाफा कमाउने फिल्म पाँचवटा मात्रै । “१ सय २० निर्माताको घरबार जान्छ,” वाग्ले भन्छन्, “पाँचमध्ये तीनवटाले कमाउँछन्, दुई जनाले साउँ मात्र जोगाउँछन् ।” यस्तो अवस्थामा आख्यानकारहरूले नेपाली फिल्मको जय–जय गरिदिन सक्लान् ? 

प्रकाशित: चैत्र ६, २०७४